नेभिगेशन
एक्सप्लेनर भिडियो

एमालेको 'झोले' ब्राण्डिङ : आलोचना छल्ने मेलो

एमाले पंक्तिले किन आफूलाई झोले भन्दैछ ?

यसको जवाफ पाउन देशको अवस्था र राजनीतिक नेतृत्वबारे आम मानिसको बुझाइ हेर्नुपर्छ । 

दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले समेत डेलिभरी दिन नसक्दा जनता आक्रोशित छन् । तर सरकार तथा दलको नेतृत्वमा बसेकाहरु यसलाई स्वीकार गर्न तयार छैनन् । अनि दलका नेता कार्यकर्ताहरु सरकारले गरेका गलत गतिविधिको खबरदारी गर्दैनन् । आँखा बन्द गर्छन्, देखे पनि नदेखेझैं गर्छन् । 

ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने आँट देखाउँदैनन् । उल्टै आफ्ना नेताका सबै कामकुरा सही भन्छन्, अनि अरुमाथि खनिन्छन् । 

गलत अभिव्यक्तिमा पनि परररर ताली बजाउँछन् । घृणा फैल्याउने भाषणमा सिठ्ठी बजाउँछन् । यही कार्यशैलीसँग आम मानिस वाक्क दिक्क छन् ।

यस्तो दिक्दारी पोख्ने मूल थलो सामाजिक सञ्जाल बनेको छ । त्यसैले सामाजिक सञ्जालमा सबैजसो दलका नेता र कार्यकर्ताहरुमाथि दिक्दारी प्रयोग गर्नेहरुले झोले शब्दको धेरै प्रयोग गर्छन् । रवि, बालेन र हर्कका समर्थकले बढाएको ‘झोले’ शब्दको प्रयोग अहिले राजावादीहरु गरिरहेका छन् ।

आफ्ना दल र नेताको समर्थन गर्दा ‘झोले’ भनेर गाली खानुपरेपछि कतिपय नेता कार्यकर्ता हच्किन्छन् ।

यही कारण प्रधानमन्त्री केपी शर्मा ओली आफैं अघि आएका छन् । उनले केही दिनअघि भएको एउटा कार्यक्रममा आफ्ना नेता कार्यकर्तालाई थम्थम्याउँदै भनेका छन्, ‘हो, म देशको झोले हुँ, एमालेको झोले हुँ ।’ 

प्रधानमन्त्रीको त्यही अभिव्यक्तिलाई टिपेर एमाले नेता कार्यकर्ताले सामाजिक सञ्जालमा झोले अभियान चलाएका हुन् । 

यो ब्राण्डिङ ट्रेन्ड पनि हो । कुनै बेला प्रचण्ड र ओलीलाई मार्सी चामलको भात खुवाएपछि विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धेरैले ‘मार्सी’ भन्दै गाली गरे । मार्सी शब्द ट्रेन्ड भयो । प्रसाईंले नेगेटिभ ब्रान्डिङलाई व्यापारमा बदल्न खोजे । उनले मार्सी बियर बजारमा ल्याए । 

राजनीतिमा पनि यस्तै भएको छ । छिमेकी मुलुक भारतमा कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको चौकिदार हुँ भन्थे, चोर निस्किए भनेर आरोपित गरे । तर मोदी र बीजेपी नेताहरुले ‘म पनि चौकीदार’ भन्ने पोष्टर सामाजिक सञ्जालमा शेयर गर्ने अभियान चलाए । 

प्रधानमन्त्री ओली र एमालेको नेतृत्वले गरेको त्यही हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो