बजेटबारे छलफलमा बालेन, तर यस्ता छन् अडान
काठमाडौं महानगरमा मेयर र जनप्रतिनिधिको तीन महिनासम्म लामो सम्वादहीनता तोडिएको छ । आगामी वर्षको बजेट ल्याउन मेयरले सम्वाद थालेका छन् । तर बजेट कसरी आउँछ भन्ने अझै प्रष्ट भइसकेको छैन ।
त्यो भन्दा पेचिलो चाहिँ मेयर बालेनले वडाको बजेटमा विगतको जस्तै मुठ्ठी खुला गर्छन् कि कस्छन् भन्ने देखिएको छ ।
गत पुसदेखि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्न बसेको छैन । पछिल्लो तीन महिनायता मेयर र जनप्रतिनिधिबीच सम्वाद नै हुन सकेको थिएन ।
सम्वादहीनता तोड्दै जेठ २८ गते काठमाडौंका मेयर बालेन, उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्ष टेबलमा बसे । यो छलफलपछि महानगरमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम तथा बजेट समयमै आउने सम्भावना बढेको छ ।
नियमअनुसार सबै प्रक्रिया पूरा गरेर असार १० गतेभित्र महानगरले नगरसभामा बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म बजेट निर्माणको प्रक्रियमा महानगर प्रवेश नै गरेको छैन । वडा र कर्मचारीको तहबाट हुने कामहरु मात्रै भएका छन् ।
त्यसैले महानगरलाई असार १० भित्रै बजेट ल्याउन सकस छ । त्यसमाथि मेयर, अरु जनप्रतिनिधिसँग सम्वादमै थिएनन् ।
तर मेयर बालेनले कांग्रेसबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, एमालेबाट निर्वाचित वडा नम्बर ३२का वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीकाबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलसँग छलफल गरेका हुन् । उपमेयर डंगोलसँग वान टू वान वार्ता पनि गरेका छन् । साथै सम्वादलाई निरन्तरता दिने सहमति पनि भएको छ ।
महानगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष नवीन मानन्धर सबै अन्योल चिरेर महानगरले बजेट ल्याउने बताउँछन् ।
मेयर बालेन र वडाध्यक्षहरुले २८ जेठमा भएको छलफलबारे धेरै खुलाउन चाहेका छैनन् । तर सम्वादका क्रममा मेयर बालेनले केही सन्देश दिएको पाइएको हो ।
पहिलो हो, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कुनै हालतमा स्वीकार गर्दिन ।
उपमेयर र वडाध्यक्षहरुसँग छलफल गर्दा उनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई बोलाएनन् । उपमेयर र वडाध्यक्षहरुलाई पनि उनले आफू बस्ने बैठकमा गुरागाइँको उपस्थिति अस्वीकार्य हुने प्रष्ट सन्देश दिएको स्रोतको दाबी छ ।
काठमाडौं टावरको नक्सापासमा अनियमितता गरेको आरोप लगाउँदै मेयर बालेनले गुरागाईलाई हाजीर गर्न रोक लगाएका थिए । उनलाई सरुवा गरेर अर्को प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका थिए । तर संघीय सरकारले सहयोग गरेन । बरु कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुको सहयोगमा चैत २१ मा गुरागाईँ महानगरमा हाजिर भएपछि मेयर बोलन निकै रुष्ट बनेका थिए ।
मेयर बालेनले गुरागाइँका पक्षमा उभिएका वडाध्यक्षहरुलाई लक्षित गर्दै सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरे । नवीन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वीरेन्द्र प्रजापतिलाई जिम्मेवारी दिए ।
ख्यामराज तिवारीलाई सुशासन समितिको जिम्मेवारीबाट हटाएर दलबहादुर कार्कीलाई राखिएको थियो । सम्पदा तथा पर्यटन समितिबाट आशामान संगतलाई हटाएर विनोद कुमार राजभण्डारीलाई जिम्मेवारी दिइयो । विधायन समितिमा पनि मचाराजा महर्जनलाई हटाएर रोजिना श्रेष्ठलाई संयोजक बनाएका थिए ।
रास्वपाबाट निर्वाचित रोजिनाले जिम्मेवारी लिइन्, तर तीन जनाले संयोजक बन्न मानेनन् ।
त्यसपछि पनि मेयर बालेनले कार्यपालिका बैठक राखेनन् । कार्यपालिका बैठक नै नबसेपछि सिलिङ तोकिएको छैन । विषयगत समितिहरुमा पनि कार्यक्रम र बजेटबारे छलफल हुन पाएका छैनन् ।
गत साता मात्रै उपमेयरसहित सबै कार्यपालिका सदस्यले कार्यपालिका बोलाउन माग गर्दै मेयरलाई निवेदन दिएका थिए । तर बालेन टसका मस भएनन् ।
मेयरको अडानका कारण बजेटबारे महानगरमा कुनै पनि तहमा छलफल भएको छैन । राजश्व परामर्श समितिदेखि बजेट निर्माणका क्रममा बस्नुपर्ने समिति बैठकहरु बस्न पाएका छैनन् । बजेट नै नआउने आउने हो कि भन्ने अन्यौलका बीच मेयर बालेनले उपमेयरसहित दलका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
मेयरसँगको छलफले नयाँ आर्थिक वर्षदेखि नै कार्यान्वयन हुने गरी नयाँ बजेट आउने अवस्था आएको एक वडाध्यक्षले बताए । अब दल र मेयरबीच हुने सहमतिका आधारमा छलफल अघि बढ्नेछ । केही दिनभित्रै बजेटको सिलिङ तोकिनेछ ।
तर बजेट पास गर्न कार्यपालिका बैठक कसरी बस्ने भन्ने तय छैन । किनकी मेयर बालेनले स्पष्ट शब्दमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँसँग कुनै बैठक नबस्ने बताएका छन् । जबकी कानुनतः कार्यपालिका बैठकमा सदस्य सचिवका हैसियतमा प्रमुख प्रशासकीय अधिकृत नै बस्नुपर्ने हुन्छ । नगरसभामा समेत प्रुमख प्रशासकीय अधिकृत सदस्य सचिवका हैसियतमा मञ्चमै बस्नुपर्ने हुन्छ ।
त्यसैले वडाध्यक्षहरुले विकल्पहरु सुझाएका छन् । सहमतिका आधारमा बन्ने बजेट कार्यपालिकामा नलगी सीधै नगरसभामा पेश गर्ने विकल्पमा छलफल भएको छ ।
नगरसभाका बेलामा सरोज गुरागाइँलाई विदामा राखेर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई सभामा उपस्थिति गराउने विकल्पमा पनि छलफल भएको छ ।
बजेट आउनु अगाडि नै सरोज गुरागाइँको सरुवा गराएर नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजीर गराउन पहल गर्ने सम्भावना पनि छ । तर अब बजेट निर्माणको प्रक्रिया चलिहरँदा संघीय मामिला मन्त्रालय र मन्त्रिपरिषदले काठमाडौंमा नयाँ प्रमुख प्रशासकीय अधिृत पठाउने सम्भावना निकै कम मात्र छ ।
‘अब सबै छलफल नगरसभामै गर्ने गरी बजेट प्रस्तुत हुनसक्छ,’ एक वडाध्यक्ष भन्छन्, ‘बजेट आउँदैन कि भन्ने अन्योल हटेको छ, कसरी आउँछ भन्ने चाहिँ छलफलबाट तय हुँदै जान्छ ।’
बजेट आउनुअघि मूल छलफलको विषय छ, वडाले पाउने बजेट । अहिलेसम्म कुन वडाले कति बजेट पाउने भन्ने तय छैन । सिलिङ तोक्न ढिलाइ हुँदा वडाको बजेटबारे अन्योल छ ।
मेयर बालेन बजेट कसरी र कस्तो ल्याउने भन्नेमा आफ्नो मत मिलेमा वडाहरुलाई पहिलो जसरी मन खोलेर बजेट सिलिङ दिन तयार छन् । तर वडाध्यक्षहरुबाट घेराबन्दी हुने अवस्था आयो भने सिलिङमा कैैंची चलाउने बालेन र उनको टिमको तयारी छ ।
बजेटमा असहयोग हुने अवस्था आए यो वर्ष वडाहरुले गरेको खर्चलाई हेरेर त्यही अनुपातमा बजेट दिने र ठूला योजनाहरु महानगरकै विभागहरुमा केन्द्रिकृत गर्ने बालेनको रणनीति छ ।
मेयर बालेनले गत वर्षहरुमा ठूला योजना सीधै वडाहरुलाई कार्यान्वयन गर्न दिएका थिए । तर वडाहरुले आफूलाई नटेरेको र वडाध्यक्षहरु पनि राजनीतिक खेलमा लागेका कारण आफू अप्ठ्यरोमा परेको निष्कर्षमा पुगेका छन् बालेन । त्यसैले आगामी वर्षको बजेटमा बालेन वडालाई बजेट दिने मामिलामा मुठ्ठी कस्ने गृहकार्यमा छन् ।
वडाध्यक्षहरु पनि बालेनको यो रणनीति बुझेका छन् । त्यसैले बजेट पास प्रक्रियामा बालेनलाई फकाएरै भएपनि नियमित ढंगको बजेट ल्याउने उनीहरुको दाउ छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको सरुवाका लागि पहल गरेर होस् या अरु कुनै माध्यमबाट सहज वातावरण बनाएर बजेट पास गर्ने उनीहरुको जोड छ ।

प्रचण्डको ‘आत्मसमर्पण’, ओलीको जित

कान्छा सहससचिवविरुद्ध भ्रष्टाचार मुद्दाको नालीबेली

राजेन्द्र-धवल सम्बन्ध : मित्रताबाट तिक्ततातिर

बजेटमा प्रकाशमानको ब्रम्हलुट, पार्टी कार्यालय बनाउन बाँडे ३३ करोड
