यसपाली 'बालोन डिओर' कसको ?
लमिन यमाल भर्खर १७ वर्षका भए । तर उनको खेलले धेरैलाई लोभ्याएको छ । जो कोही पनि उनको तारिफ गरेर थाक्दैनन् ।
लिओनल मेसी र क्रिष्टियानो रोनाल्डोले समेत यमालको फुटबल कलाको प्रशंसा गरेका छन् ।
धेरैलाई लाग्छ, उनले एक दिन प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि’ओर जित्नेछन् ।
तर त्यो एक दिन २२ सेप्टेम्बर २०२५ नै होला ?
वा यस पटकको असली हकदार यमालभन्दा उस्मान डेम्बेले हुन् कि ?
अहिले फुटबल समर्थकहरुको चर्चाको विषय यही छ । किनकी युरोपका सबै लिगले च्याम्पियन पाइसक्यो । अब पालो प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डि’ओरकै हो ।
फ्रान्सको फुटबल म्यागजिनले हरेक वर्ष सर्वश्रेष्ठ खेलाडीलाई यो अवार्ड दिने गरेको छ ।
बालोन डिओरका लागि अगष्ट ७ मा ३० जनाको नाम सार्वजनिक हुन्छ । त्यसपछि फिफाको विश्व वरियतामा १०० भित्र परेका देशको एक–एक फुटबल पत्रकारले टप १० प्लेयर छनोट गर्छन् ।
यसका लागि तीन वटा क्राइटेरिया तोकिएको छ ।
पहिलोः व्यक्तिगत प्रदर्शन
दोस्रो: टिमसँग मिलेर हात पारेको उपाधि
तेस्रो : फेयर प्ले
अघिल्ला वर्षहरुमा करियर लेगेसीलाई पनि हेरिन्थ्यो । तर, यस पटक हटाइएको छ । र, इण्डिभिजुअल पर्फर्मेन्समा डिसाइसेभनेसलाई थप गरिएको छ ।
यही क्राइटेरियामा रहेर १०० देशका १०० फुटबल पत्रकारले टप १० को लिस्ट बनाउनुपर्छ । यसमा शीर्षबाट क्रमशः १५, १२, १०, ८, ७, ५, ४, ३, २ र १ अंक पाउँछन् ।
यसरी आएको मतमा सबभन्दा धेरै जसले पाउँछ, उसलाई नै २२ सेप्टेम्बरमा प्रतिष्ठित बालोन डि’ओर अवार्ड प्रदान गरिन्छ ।
को हुन् सम्भावित विजेता ?
यो वर्ष उस्मान डेम्बेले, यमाल, मोहम्मद सलाह, राफिन्हा र केभिचा काभारात्खेलिया मुख्य दावेदार मानिएको छ ।
सुरुमा डेम्बेलेको कुरा गरौं । उनले यो पटक पीएसजीबाट जे जति सम्भव थियो, सबै पुरस्कार जिते । पीएसजीले फ्रान्सको तीन वटै उपाधि जित्यो । त्यो भन्दा महत्वपूर्ण चाहिँ क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि समेत हात पार्यो ।
यो सफलताको केन्द्रमा थिए डेम्बेले । बोरुसिया डर्टमुन्डबाट बार्सिलोनामा गएपछि उनी चोट, आउट अफ फर्म जस्ता कारण हराएका थिए ।
पीएसजीमा पनि उनले संघर्ष गर्नुपर्यो । तर यो सिजन प्रशिक्षक लुइस इनरिकले उनमा लोभलाग्दो लय ल्याएका छन् । ४९ खेल खेलेका उनले ३३ गोल गरेका छन् ।
१३ गोलका लागि असिस्ट गरेका छन् । च्याम्पियन्स लिग र लिग वानका प्लेयर अफ् दि सिजन हुन् ।
उपाधिका हिसाबले हेर्ने हो भने डेम्बेलेभन्दा लमिन यमाल एक कदम पछाडि छन् ।
उनले बार्सिलोनाबाट ला लिगासहित तीन उपाधि जिते । तर उनको टिम च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरियो । गोलको संख्यामा पनि उनी पछाडि छन् । उनले ५५ खेलमा १८ गोल गरेका छन् । अनि, २१ गोलका लागि असिस्ट गरेका छन् ।
तर महत्वपूर्ण खेलमा कसको प्रभाव बढी भनेर हेर्ने हो भने यमाल अगाडि हुनसक्छन् । त्यसैले होला, जब फ्रान्स फुटबलले क्राइटेरियामा करियर लेगेसी हटाएर डिसाइसेभनेस थप्यो, धेरैले यमालले बालोन डिओर जित्ने आकलन गर्न थालेका छन् ।
यो सिजन बार्सिलोनाले चारवटै एल क्लासिकोमा रियल मड्रिडलाई हरायो, त्यसमा यमालको महत्वपूर्ण भूमिका रह्यो । अनि, नेसन्स कपको सेमिफाइनलमा डेम्बेले र यमाल आमने सामने भएका थिए । त्यसमा पनि यमालले बाजी मारे । फ्रान्सलाई ५–४ ले हराउँदा यमालले गोल समेत गरेका थिए ।
क्राइटेरियामा उल्लेख नभएको, तर अर्को महत्वपूर्ण पक्ष भनेको पीआर पनि हो । यसै पनि यमालको क्रेज जबर्जस्त छ । अहिले नै उनलाई फुटबल स्टार मानिन्छ । एकसेएक फुटबल स्टारहरु उनको फुटबल खेल्ने शैलीबाट मोहित भइसकेका छन् । यदि अवार्ड पाए भने उनी सबभन्दा कम उमेरको विजेता बन्ने छन् ।
तर, बालोन डिओरमा यमाललाई डेम्बेले मात्र होइन, आफ्नै टिममेट राफिन्हाको पनि चुनौती छ ।
सिजनको सुरुवातबाट अन्त्यसम्म आइपुग्दा उनको जीवनमा ठूलै उलटफेर भएको छ । आर्थिक संकटसँग जुधिरहेको बार्सिलोना स्टार खेलाडीहरु बेच्न चाहन्थ्यो, त्यो लिस्टमा राफिन्हा पनि थिए । तर ब्राजिलियन फुटबलरले क्लब छोड्न चाहेनन् ।
जब बार्सिलोनामा हान्सी फ्लिक, नयाँ प्रशिक्षक बने । उनको नेतृत्वमा राफिन्हा गोल मेसिनका रुपमा परिणत भए । उनले ५७ खेलमा ३४ गोल गरेका छन्, २२ गोलका लागि असिस्ट गरेका छन् । एल क्लासिको जस्ता महत्वपूर्ण खेलहरुमा समेत गोल गरे । च्याम्पियन्स लिगको १४ खेलमा १३ गोल गरेका छन् ।
जसरी यमालबारे कुरा गर्दा बार्सिलोनाका राफिन्हालाई छाड्न सकिन्न । त्यसरी नै पीएसजीको सफलताको कुरा गर्दा डेम्बेलेसँगै केभिचा काभारात्खेलियालाई भुल्नु हुन्न ।
यो सिजन नेपोलीबाट पीएसजी आएका उनले ४४ खेल खेल्दा १२ गोल गरेका छन् । ८ गोलका लागि असिस्ट गरेका छन् । गोल र असिस्टको नम्बर थोरै भएपनि पीएसजीले यो सिजन चार उपाधि जित्दा उनको पनि उल्लेख्य भूमिका छ ।
बालोन डिओरका अर्का दावेदार हुन्, मोहम्मद सलाह । उनले यो सिजन लिभरपुरबाट प्रिमियर लिगको उपाधि जिते । ५२ खेलमा ३४ गोल गरेका छन् । २३ गोलका लागि असिस्ट गरेका छन् । प्रिमियर लिगको प्लेयर अफ सिजन भएका उनले गोल्डेन बल र प्ले मेकर अवार्ड पनि हात पारेका छन् ।
यसबाहेक रियल मड्रिडका केलियन एम्बाप्पे, इन्टर मिलानका लौटारो मार्टिनेज, बार्सिलोनाका पेड्री, पीएसजीकै डिजायर डू पनि सम्भावित उम्मेदवार हुन् ।
तपाईंको विचारमा यो सिजनको बालोन डिओरको असली हकदार चाहिँ को हुन् ?

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
