नेभिगेशन
एक्सप्लेनर भिडियो

रिंगरोडमा त्रुटि दोहोरिंदै, कलंकी-बसुन्धरामा अण्डरपास, ओभरपास र साइकल लेन नबन्ने 

चीनले चक्रपथको कलंकी–बसुन्धरा खण्ड विस्तारको काम सुरु गर्दैछ । यो खण्ड पनि यसअघि चीनले बनाइदिएको कलंकी कोटेश्वर सडक खण्डमा भएकै त्रुटि दाहोरिँदैछ । 

कल्पना गर्नुस्, कलंकी बसुन्धरा खण्डमा पनि सडक फराकिलो भयो । तर, चोकैपिच्छे अहिलेजस्तै जाम खेप्नुपर्‍यो भने के काम ? 

साइकल गुडाउने छुट्टै लेन भएन भने भव्य सडकको मात्रै के अर्थ हुन्छ ?  चीनले सडक विस्तारको काम सुरु गर्दै गर्दा हाम्रो सरकारले प्रष्ट अडान लिएन भने हुनेवाला चाहिँ त्यही हो । 

चक्रपथको कलंकीदेखि गोंगबु हुँदै्र बसुन्धरासम्मको खण्ड फराकिलो बनाउने विषयमा चिनियाँ परामर्शदाताले प्रारम्भिक अध्ययन गरिसकेको छ । विस्तारपछि यो सडक ८ लेनको हुनेछ । 

प्रारम्भिक डिजाइनमा चीनले न कलंकीमा जस्तो अन्डरपास प्रस्ताव गरेको छ न, कतै ओभरपास या फ्लाइओभर । 

जबकी कलंकीदेखि बसुन्धरासम्म चक्रपथमा केही यस्ता चोकहरु छन्, जहाँबाट सवारीसाधनको अत्यधिक आवजावत हुन्छ । सीतापाइला, स्वयम्भु, सानोभर्‍याङ, ठूलो भर्‍याङ, ढुंगेधारा, वनस्थली, बालाजु, गोंगबु, सामाखुशी, बसुन्धरा लगायतका चोकहरुमा सवारीको क्रसिङलाई व्यवस्थित गर्नैपर्छ ।  सडक विस्तार मात्रै गर्दा भविष्यमा यहाँ पनि कलंकी–कोटेश्वर खण्डमा जस्तै सवारी व्यवस्थापन चुनौतीपूर्ण हुन पुग्छ । 

अहिले कोटेश्वरमा जामले के हालत बनाएको छ ? ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुमा जामले कति हैरान पार्छ ? बेलैमा सोचिएको भए ग्वार्कोमा ओभरपास त चक्रपथ विस्तारकै बेलामा बन्न सक्थ्यो । 

सडक फराकिलो बनेर मात्रै ट्राफिक समस्या समाधान हुँदैन, त्यो करोडौं खर्च गरिएको सडकमा गुड्दा लाग्ने यात्रा समय पनि त घट्नुपर्‍यो । साधारण संरचनाहरु बनाउँदा जाम हट्छ भने त्यता पनि सोच्नुपर्ने हो । 

सडकको एउटा संरचनाले शहरको ट्राफिक व्यवस्थापनमा कस्तो परिवर्तन गर्न सक्छ भन्ने उदाहरण त कलंकीको अन्डरपास नै छ । यो नबन्दासम्म कलंकीको हालत के थियो, अहिले के भयो ? पक्कै सरकारले समीक्षा गरेकै छ । 

कतिपयलाई लाग्न सक्छ यस्ता संरचना सडक फराकिलो बनाएपछि विस्तारै बनाउँदै गर्दा पनि हुन्छ । 

तर, विस्तारका नाममा ५ वर्ष जनतालाई धुलो खुवाएपछि फेरि अहिले ग्वार्कोमा जस्तै भोलि अन्त पनि ओभरपास या अन्डरपासहरु बनाउन योजना लगाउनु उपयुक्त हुँदैन । किनभने त्यसले फेरि जाम, धुलो र हिलोको सस्ती थप्छ । महँगो लगानी भइसकेको ठाउँ भत्काएर फेरि अर्को लगानी गर्नुपर्छ । 

ठूला निर्माण परियोजनाको काम गर्दा नै स्पष्ट गुरुयोजना बनाएर सबै सडक संरचनाहरु एकसाथ बनाउनु उपयुक्त हुन्छ । 

यो कुरा सरकारलाई थाहा नभएको हैन । तर, चीनसँग मूल चोकहरुमा अन्डरपास र ओभरपास जस्ता संरचना बनाउनुपर्छ भनेर अडान राख्ने अवस्थामा भने सरकारी अधिकारीहरु छैनन् ।  

सडक विभागले विभिन्न छलफलहरुमा कलंकी–गोंगबु–बसुन्धरा खण्डमा कतै अन्डरपास र बढी चाप हुने चोकहरुमा ओभरपास बनाउनुपर्ने बताउँदै आएको छ । 

तर, चीनले प्रारम्भिक डिजाइनमै यसलाई अस्वीकार गरेको छ । चीनले भनेअनुसार नै भयो भने चक्रपथ फराकिलो त हुनेछ, तर चोकहरुमा लामो जाममा बस्नुपर्ने हुन्छ । 

२७ किलोमिटर लामोचक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी खण्ड चीनले चिल्लो र फराकिलो बनाइदिएको हो । कलंकी–गोंगबु–बसुन्धरा खण्डमा विस्तारको तयारी सुरु भएकै ६ वर्ष बितिसक्यो । तर, अहिलेसम्म सडक कस्तो बन्छ भन्ने समेत टुंगो छैन ।  

अहिले चिनियाँ परामर्शदाताले यो खण्ड निर्माण गर्दा के–के संरचना बनाउने र नबनाउने भन्ने विवरण तयार गरेको छ । प्रारम्भिक डिजाइनबारे सडक विभागमा समेत छलफल भएको छ । 
परामर्शदाताको प्रस्तावअनुसार यो खण्डमा एउटा पनि अण्डरपास बन्ने छैन । कतै ओभरपास पनि बन्ने छैन । अरु छाडिदिनुस् साइकल लेन समेत हुने छैन ।  ग्रिनरी बेल्ट र फुटपाथ राख्ने प्रस्ताव गरिएको छ । 

यसअघि कलंकी–सातदोबाटो–कोटेश्वरमा सडक विस्तार गर्दा चीनले फुटपाथ र साइकल लेन बनाएको छैन । सडक बीचमा ग्रिनरी बेल्टसहितको मेडियन पनि राखिएन । कलंकीबाहेक सबै मुख्य चोकहरु भद्रगोल नै छाडियो । सहरी सडकको मापदण्ड नै फलो भएन । यसले दुर्घटनाको जोखिम पनि बढायो । 

चीनले हस्तान्तरण गरे लगत्तै सरकारले नै चक्रपथ भत्काएर सुधारको काम गर्नुपर्‍यो । अब कलंकी–गोंगबु–बसुन्धरा सडकमा पुरानै त्रुटि दोहोरिने जोखिम छ । 

चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझाका अनुसार यसअघि सम्झौताकै बेलामा यस्ता संरचना बनाउने गरी कुनै लिखित सहमति भएको थिएन । त्यसैले चीनले सडक विस्तार गर्दा ओभरपास, अण्डरपास र साइकल लेनजस्ता संरचना नबनाउने भनेको हो । 

‘हामीले त यो–यो संरचना हुनुपर्छ भनेका छौं, अब सबै विषयमा छलफल गरेर चीनलाई लेखेर पनि पठाउँछौं, के गर्ने के नगर्ने भन्ने उसकै कुरा हो,’ उनी भन्छन्  । 

चक्रपथको विस्तार चीन सरकारकै अनुदान सहयोगमा हुन लागेको हो । त्यसैले ठूलो लागत बढ्ने गरी संरचनाहरु थप्न चीन तत्पर देखिएको छैन । तर पनि चीनलाई एकपटक आधिकारिक रुपमा आवश्यक सबै संरचना बनाइदिन अनुरोध गर्ने आयोजनाको तयारी छ । 

ओझाका अनुसार अब ४ महिनाभित्र परामर्शदाताले डिजाइन तयार गर्नेछ । त्यसलाई नेपाल सरकारले स्वीकृत गर्नुपर्छ । त्यसपछि चीन सरकारले ठेकेदार छनोट गर्न टेन्डर गर्छ । ठेकेदारसँग सम्झौता गरेर चीनले नेपालमा काम गर्न पठाउँछ ।  फिल्डमा निर्माण थालेर सबै काम सक्न त कम्तीमा ३ वर्ष लाग्ने अनुमान छ ।  यसरी विना उल्झन प्रक्रिया अघि बढेपनि चीनले नेपालमा चक्रपथ विस्तार थाल्न अझै कम्तीमा एक वर्ष समय लाग्ने देखिएको  छ । 

यो खण्ड सुरुमा महाराजगञ्ज चोकसम्म विस्तार गर्ने योजाना बनेको थियो । चक्रपथ विस्तार आयोजनाले २०७५ जेठ १४ गते कलंकी–गोंगबु–महाराजगञ्ज खण्डको सडकसीमा भित्रका अवैध संरचना हटाउन भन्दै सूचना निकालेको थियो । त्यसपछि धामधम गोपीकृष्णसम्मकै सडक छेउका रुख काटिए, टहरा भत्काइए, पोलहरु सारिए । माछापोखरीको आकाशे पुल समेत हटाइयो । 

पुस २०७६ मा मन्त्रिपरिषदले ३१–३१ मिटरको सडक सीमा कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न सडक विभागलाई स्वीकृति पनि दियो । तर, महाराजगञ्जचोकमा ठूलो रकम मुआब्जा तिर्नुपर्ने देखिएपछि दोस्रो चरणमा बसुन्धरासम्म मात्रै विस्तारको काम गर्ने भनियो । 

त्यसपछि पटक–पटक चीनलाई सरकारले काम थाल्न आग्रह गर्‍यो । तर चीनले सुरुमा कोरोना महामारीलाई देखायो, फेरि साइट क्लियर नभएको भनेर टार्‍यो । 

बल्ल २०८१ भदौ ६ गते अर्थमन्त्रालयमा दोस्रो चरणको कामका लागि सम्झौता भयो । 

त्यसको एक वर्ष हुन लाग्दा समेत अहिले पनि चक्रपथ कस्तो बनाउने भन्ने टुंगिएको छैन । चीनले विस्तारको काम गर्ने खण्डमा अहिले नेपाल सरकार आफैंले सर्भिस लेन निर्माण गरिरहेको छ । मुख्य लेनहरु चीनले नै विस्तार गर्ने भएकाले अलपत्र छ । खाल्डो, धुलो र हिलोले समस्याग्रस्त बनेको छ । 

सडक प्रयोगकर्तादेखि स्थानीयहरुसम्म सडक अलपत्र हुँदा अनेकन समस्या भोग्दैछन् । तर, सरकार न चीनलाई छिटो सडक बनाइदेऊ भन्न सक्छ, न त आफैं काम गर्छु भनेर अघि सर्न सक्छ । चक्रपथ अब पनि चीनले जस्तो चाहेको त्यस्तै र जहिले चाहेको त्यही बेला तयार हुने जोखिम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो