दैलेखको ग्यास निकाल्न अझ धेरै छ काम बाँकी
नेपालको दैलेखमा ग्यास खानी रहेको आधिकारिक पुष्टि भएको छ, जहाँबाट नेपालले वर्षौंसम्म ग्यास उत्खनन गर्न सक्छ ।
चीनबाट आएको यो सुखद खबरपछि तपाईको मनमा प्रश्न उठ्न सक्छ, अब कहिलेबाट प्रयोग गर्न पाइएला त नेपालको आफ्नै ग्यास इन्धन ?
दैलेखको नाभिस्थान, श्रीस्थान, पादुका लगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको खानी छ कि छैन भनेर अध्ययन गरिएको थियो । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा ४ हजार मिटर ड्रिलिङ गर्दा ग्यासको भण्डार रहेको संकेत देखिएको थियो ।
तर, व्यवसायिक रुपमा उत्खनन गर्न सकिन्छ कि सकिन्ने भन्ने प्रष्ट भएको थिएन । यसका लागि ड्रिलिङका क्रममा संकलन गरिएका चट्टानका नमुनजा अध्ययनका लागि चीन पठाइएको थियो । त्यही अध्ययनको प्रारम्भीक रिपोर्ट आएको छ ।
उद्योग मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार प्रारम्भिक रिपोर्टमा व्यावसायिक रुपमै ग्यास उत्खनन गर्न सकिने भनिएको छ । घिमिरे भन्छन्, ‘पूर्ण रिर्पोट आएपछि के कति परिमाणमा त्यहाँ ग्यास रहेको भन्ने विस्तृतमा थाहा हुन्छ ।’
नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा यसअघि भएका थुप्रै अध्ययन भएका थिए । तर व्यावसायिक रुपमा नै उत्खननको सम्भावना पुष्टि भएको थिएन ।
त्यसैले चीनबाट पाएको खबरलाई नेपालमै पेट्रोलियम पदार्थको खोजीमा सफलता मान्नुपर्छ ।
यसले तपाईंको मनमा थुप्रै प्रश्न जम्माउन सक्छ । सबको साझा प्रश्न चाहिँ दैलेखमा उत्खनन गरेर कहिले प्रयोग गर्न पाइएला नेपालको आफ्नै ग्यास भन्ने हुनसक्छ ।
यसका लागि समय लाग्छ । उत्खनन गर्न योग्य ग्यास छ भन्ने पुष्टि गर्नै हामीलाई ४७ वर्ष लाग्यो । दैलेखका विभिन्न ठाउँमा विगतदेखि नै अखण्ड ज्योतिहरु बल्थे । खोल्सामा बग्ने पानीमाथि तेल तैरिन्थ्यो । सलाई कोरेर बाल्दा आगो सल्किन्थ्यो ।
यसलाई दैवी शक्ति मान्नेहरु धेरै छन् । खानी विभागले भने पेट्रोलियम खानी रहेको अनुमान गरेको थियो । २०३५ सालतिरै विश्व बैंकको सहयोगमा गरिएको चुम्बकीय सर्वेक्षणमै दैलेखमा पेट्रोलियम भण्डार रहेको अनुमान गरिएको थियो ।
तर, विस्तृत अन्वेषण र व्यावसायिक उत्खननको योजनामा भने दैलेखलाई रोजिएन । सरकारले नेपालमा पेट्रोलियम अन्वेषण गर्न विदेशी कम्पनीलाई लाइसेन्स दियो । मोरङ लगायतका ठाउँमा अन्वेषण प्रयास गरेपछि दैलेखतिर गएनन् ।
२०७२ मा नयाँ संविधान जारी भपछि परिस्थिति बदलियो । भारतले आर्थिक नाकाबन्दी लगाएपछि ग्यास र पेट्रोलको हाहाकार भयो । अनि सरकारले पेट्रोलिमय अन्वेषणमा जाँगर देखायो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा नेपालको पेट्रोलियम अन्वेषणमा चीनले सघाउने समझदारी गरे ।
२०७५ को माघमा दैलेख र बुटवल क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीको विस्तृत अन्वेषण परियोजना स्वीकृत भयो । खानी तथा भूर्गभ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा अन्वेषण तथा उत्खनन गर्ने समझदारी भयो ।
यसका लागि चीनले दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने भयो । २०७६ असारमा प्रारम्भिक सर्वेक्षणको काम थालियो । दैलेखको भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाको केही क्षेत्रलाई रोजियो ।
करिब ३ हजार स्थानमा साना ड्रिलसहित साइस्मिक सर्भे भयो । साइस्मिक सर्भेको प्रतिवेदनका आधारमा मूल स्याम्पल परीक्षणका लागि गहिरो ड्रिल गर्न भैरवी गाउँपालिका–१ स्थित जलजले रोजियो ।
कोभिड महामारी साम्य भएपछि २०८१ को वैशाखमा चीनबाट ठूला ड्रिलिङ उपकरण आए । गहिरो ड्रिलिङको काम भयो । ४ हजार १३ मिटर गहिरो कुवा खनेपछि २०८१ साल २१ पुसमा सो स्थानमा प्राकृतिक ग्यास रहेको पुष्टि हुने चट्टानी स्याम्पलहरु भेटिएका थिए ।
त्यसरी निकालिएका करिब ५ हजार वटा स्याम्पल चीन लगियो । चीनका ल्याबहरुमा यसको परीक्षण भयो ।
त्यही परीक्षणको प्रारम्भीक रिपोर्टले दैलेखमा ग्यासको खानी रहेको पुष्टि गरेको छ ।
कतिपयले यसलाई नेपालमै पेट्रोल भेटिएको भन्ने बुझेका छन् । तर, त्यस्तो भने होइन । न यो डिजेल वा पेट्रोल हो, न यो कुनै पेट्रोलियम विशेषता भएको ग्यास नै हो । यो अहिले हामीले भान्छामा प्रयोग गरिरहेको एलपीजी पनि होइन ।
यो त विशुद्ध प्राृकतिक ग्यास हो । मिथेनबाट बनेको ज्वलनशील ग्यास । लाखौं वर्ष तीव्र ताप र दबाबको अधीनमा रहेका बिरुवा र जनावरहरु कुहिएर प्राकृतिक ग्यास बन्छ । यो पेट्रोलियम ग्यासभन्दा पनि वातावरणमैत्री मानिन्छ । प्रयोगका क्रममा यसले डिजेल पेट्रोलले जस्तो हानिकारक ग्यास उत्सर्जन गर्दैन ।
यो रंगहीन जीवाश्म इन्धन हो । भूमिगत रूपमा पाइने यो ग्यास ड्रिलिङमार्फत जमिनबाट निकालिन्छ ।
यसको उपयोग खाना पकनाउनदेखि बिजुली उत्पादन गर्न र सवारी साधनहरु चलाउन हुन्छ ।
दैलेखमा मात्र १ अर्ब १२ करोड घनमिटर यस्तो ग्यास रहेको प्रारम्भिक विश्लेषण छ । र, यो ग्यास उत्खनन गर्न सम्भाव्य रहेको चीनले दिएको रिपोर्टमा उल्लेख छ ।
चीनबाट आएको प्रारम्भीक रिपोर्टको प्रष्ट सन्देश के हो भने नेपाल सरकारले चाह्यो भने नेपालमै प्राकृतिक ग्यास उत्खनन, प्रशोधन र विक्री वितरण गर्न सक्छ ।
तर, त्यसअघि गर्नुपर्ने थुप्रै काम छन् । कति परिमाणमा र कति समयसम्म ग्यास निकाल्न सकिन्छ भन्नेबारे अध्ययन गर्नुपर्छ । ग्यासको गुणस्तर, प्रशोधन र उपयोगको सम्भावनाबारे पनि अरु अध्ययन गर्नुपर्छ । त्यो सबै अध्ययन गरेपछि बल्ल सरकारले सरकारले ग्यास उत्खनन गर्ने/नगर्ने निर्णय गर्नुपर्छ ।
उत्खनन गर्ने निर्णय भए खानी क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्छ । खानी तथा प्रशोधन प्लान्टहरु खोल्नुपर्छ । खानी चलाउन निजी क्षेत्रलाई दिनसक्छ वा विदेशी कम्पनीलाई पनि दिन सक्छ । सरकार आफैंले खानी चलाउन सक्छ । यसका लागि जनशक्ति तयार गर्नेदेखि प्रविधि भित्र्याउनेसम्मका काम गर्न केही वर्ष लाग्ने देखिन्छ ।
उद्योग सचिव रामप्रसाद घिमिरे चीनले विस्तृत रिर्पोट दिएपछि सरकारले गर्नुपर्ने कामहरु अघि बढाउने बताउँछन् । उनी भन्छन्, ‘फूल रिपोर्टले जे भन्छ, त्यही अनुसार कामहरु अघि बढाउँछौं, हाम्रो प्राकृतिक स्रोत साधनको अधिकतम् उपयोग गर्न हामी प्रतिवद्ध छौं ।’
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
अन्ततः फुट्यो कांग्रेस, देउवा कि गगन अधिकारिक ?
नेपालका शहरमा झन् धेरै छन् गरिब
पेट्रोलमा १० प्रतिशत इथानोल, माइलेज के हुन्छ ?
नागढुंगा सुरुङमार्ग तयार, चिनियाँ रोक्न जापानले हाल्यो तगारो





-1767872172.jpg)