विद्युतीय गाडीमा विश्वभर कब्जा जमाउँदै चीन
- चीन कुनै समय साइकलको देश भनेर चिनिन्थ्यो, आज विद्युतीय गाडीमा विश्वकै अगुवा बनेको छ ।
- चिनियाँ ईभीको विकास र विस्तार, विश्वका ठूला गाडी उत्पादकका लागि टाउको दुखाइ बनेको छ ।
- चीन कसरी विद्युतीय गाडी उत्पादकको लिडर बन्यो ? अनि अरु देशले चीनलाई भेट्टाउन सक्लान् ?
चीनमा विद्युतीय गाडीको विकासक्रमबारे कुरा सुरु गर्दा विश्लेषकहरुले वाङ गाङलाई सम्झिने गर्छन् ।
जर्मनीमा पढेका इन्जिनियर वाङलाई फादर अफ चाइनाज ईभी इन्ड्रस्ट्री पनि भनिन्छ । उनको एउटा भनाइ चर्चित छ ।
आफ्नो देशको अटोबजारलाई लिएर उनले भनेका थिए, हामी विश्वको सबैभन्दा ठूलो कारको बजार भयौं, यो खुशीको खबर हो ।
तर दुःखको कुरा के छ भने मैले बेइजिङ, सांघाइ, ग्वाङझाउ जस्ता शहरका सडकहरु विदेशी ब्रान्डले भरिएको देखेँ ।
त्यतिबेला विश्वभर अटोबजारमा पेट्रोल गाडीकै एकछत्र राज थियो । चिनियाँ ब्राण्डले युरोपली, अमेरिकी र जापानका ठूला कार उत्पादकसँग प्रतिस्पर्धा गर्न सक्ने सम्भावना नै थिएन । किनकी चिनियाँ ब्राण्डमा गुणस्तर र ग्राहकको विश्वास दुबै थिएन । अमेरिकी, युरोपेली र जापानी कार नै ग्राहकको रोजाइमा पर्थ्यो ।
जबकी चीनसँग कार उत्पादनका लागि स्रोत साधन र जनशक्ति प्रशस्त थियो । त्यसैले वाङले नयाँ खेल खेल्ने निधो गरे ।
त्यो खेल थियो विद्युतीय गाडी उत्पादन । उनकै अगुवाइमा चीन सरकारले इभीलाई प्रोत्साहन गर्ने नीति लिएको थियो ।
वाङले ईभीसम्बन्धी पहिलो योजना सन् २००० मा चाइनिज स्टेट काउन्सिलमा पेश गरेका थिए ।
जसमा उनले क्लिन इनर्जी टेक्नोलोजीको विकासबाट मात्र चीनले अटोमोवाइल इन्ड्रस्टीमा विश्वमा प्रतिस्पर्धा गर्न सक्ने बताएका थिए ।
चीन सरकारले उनको प्रस्तावलाई स्वीकार गर्यो । चीनले सन् २००१ मा नै आफ्नो ५ वर्षे आर्थिक रणनीतिमा विद्युतीय गाडीलाई राखेको थियो । तर ईभी उद्योगले गति लिन सकेको थिएन ।
जब सन् २००७ मा वाङ आफैं मन्त्री भए, त्यसपछि ईभीको विकास र विस्तारले फड्को मार्न थाल्यो ।
सरकारले इभीको अनुसन्धान, विकास र पूर्वाधारमा ब्यापक लगानी गर्यो । अनि इभी कम्पनीलाई आर्थिक सहुलियत र कर छुटहरु पनि दियो ।
सन् २००९ देखि २०२२ को बीचमा सरकारले इभी कम्पनीलाई २ खर्ब चिनिया युआन आर्थिक सहुलियत दिएको छ ।
सरकारको सहुलियत पाएका ईभी कम्पनीले सुरुमा राम्रो बिक्री नभए पनि नयाँ नयाँ अनुसन्धान र विकास गर्दै गए । सरकारले इभीको घरेलु बजार विस्तारका लागि पनि काम गर्यो ।
चार्जिङ स्टेशनमा पनि ब्यापक लगानी गर्यो । हाल चीनमा १८ लाख वटा त चार्जिङ स्टेशन मात्र छन् । जुन अमेरिकामा भन्दा १४ गुणा बढी हो ।
चीनको निङ्दोमा रहेको ब्याट्री उत्पादक सीएटीएल ईभीको ब्याट्री उत्पादनमा विश्वकै तेस्रो ठूलो मानिन्छ । सन् २०११ मा स्थापित यो कम्पनी अहिले टेस्ला, फक्सवागन र फोर्डलाई ब्याट्री आपूर्ति गर्छ ।
चीन सरकारले इभीको बजार विस्तारका लागि पूर्वाधार, रिसर्च र उत्पादकलाई सहुलियतको इकोसिस्टम नै बनाएको छ ।
परिणाम, ईभीमा चीन विश्वमै अब्बल सावित गरेको छ । ‘जब विद्युतीय गाडी सुरु भयो, चीन अरु देशभन्दा १० वर्ष अगाडि बढ्यो र १० गुणा राम्रो भयो’ अटो विश्लेषक माइकल डनले बीबीसीसँग भनेका छन् ।
०००
चिनियाँ इभीको कुरा गर्दा बीबाईडीको नाम सबभन्दा अगाडि आउँछ । यो कम्पनी कुनै बेला स्मार्टफोनको ब्याट्री उत्पादक थियो । चीन सरकारले सुहलियत दिन थालेपछि बीवाइडीले विद्युतीय गाडी उत्पादन थाल्यो ।
आज बीवाइडीले अमेरिकी अर्बपति एलन मस्कको टेस्लालाई समेत उछिनेको छ । सन् २०२४ मा बीवाइडीले १७ लाख ८९ हजार गाडी बेचेको छ । जबकी टेस्लाले १७ लाख ६५ हजार मात्र बेचेको छ ।
चीनमा ईभी उत्पादकमा नयाँ नयाँ स्टार्टअपहरु पनि आएका छन् ।
त्यसमध्ये एक हो, एक्सपेङ । यो कम्पनी स्थापना भएको मुश्किलले एक दशक पुग्दैछ, तर कारोबार र नाफाका आधारमा हेर्ने हो भने यो विश्वको १० ईभी उत्पादकभित्र पर्छ ।
कम्पनीले हालै आफ्नो नयाँ गाडी मोना म्याक्सको टेस्ट ड्राइभ गरेको छ । यसको मूल्य चीनमा २० हजार डलर पर्छ । यो मूल्यमा सेल्फ ड्राइभिङ, भ्वाइस एक्टिभेसन, फिल्म र म्युजिक स्ट्रिमिङ जस्ता सुविधा पाउन सकिन्छ ।
चीनका युवा उपभोक्ताहरु उच्च प्रविधियुतm गाडीको खोजीमा हुन्छन् । सरकारले सहुलियत दिएका कारण सुविधासम्पन्न ईभीहरु पनि ठिक्क मूल्यमा पाइन्छ ।
सर्वसाधारणले आफ्नो पेट्रोल तथा डिजेल गाडीलाई ईभीसँग साट्न चाहेमा करमा छुट पाउँछन् । सँगै चार्जिङ स्टेशनको शुल्कमा पनि छुट पाउँछन् ।
यही कारण इलेक्ट्रिक गाडी किन्ने र पुरानो पेट्रोल गाडीसँग साट्नेहरु बढिरहेका छन् ।
ग्वाङझाउको एक चार्जिङ स्टेशनमा गाडी चार्ज गरिरहेका एक चालक लु युङफेङ कम आम्दानी हुनेले पनि ईभी चढ्न सक्ने बताउँछन् । उनले पहिले २०० युआन तिरेमा ४०० किलोमिटर यात्रा गर्न सक्थे । अहिले यसको एक चौथाइ मात्र खर्च हुन्छ ।
चीनमा पेट्रोल गाडी दर्ताका लागि धेरै शुल्क लिइन्छ, कहिले त कारको मूल्य जति नै शुल्क लाग्छ । सरकारले सडकमा गाडीको चाप नियन्त्रण र वातावरण संरक्षणका लागि यस्तो शुल्क लिने गरेको थियो ।
तर हरियो नम्बर प्लेट रहने इभीमा यस्तो शुल्क लाग्दैन ।
हिजो आज त इभी चार्ज गर्न चार्जिङ स्टेशनमा बसिरहन पनि पर्दैन । धेरै शहरमा इभी मेकर नियोले ब्याट्री परिवर्तनको सुविधा दिएको छ । तीन मिनेटभित्र मेसिनले गाडीबाट ब्याट्री झिकेर अर्को फुल चार्ज ब्याट्री हालिदिन्छ ।
यसले पनि चीनभित्र इभीको बिक्री ह्वात्तै बढाउन सहयोग गरेको छ ।
चीनमा सन् २०११ मा जम्मा एक हजार बिजुली गाडी बिक्री भएका थिए । तर २०२३ मा पुग्दा ९० लाख ४९ हजार गाडी बिक्री भएका छन् ।
त्यसको धेरै गुणा ठूलो हिस्सा चाहिँ विदेश निर्यातको छ ।
सन् २०२४ मा चीनले १ करोड १० लाख वटा गाडी बिक्री गरेको छ । सन् २०२४ को डिसेम्बर महिनामा मात्र १३ लाख वटा इभी बिक्री गरेको थियो । उसको बिक्री सन् २०२३ को तुलनामा ४० प्रतिशतले बढेको हो ।
कतिपयले चीनको यस्तो नीतिलाई राज्य संरक्षित पुँजीवाद भन्छन् । पश्चिमा देशहरुले यसलाई अनफेयर बिजनेस प्राक्टिस मान्छन् ।
अमेरिका, क्यानडा र युरोपियन युनियनले चिनियाँ विद्युतीय गाडीमा भारी मात्रामा आयात कर लगाएका छन् । तर जलवायु संकटका कारण अहिले धेरै देशहरु विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने बाध्यतामा छन् ।
यसको स्वभाविक फाइदा भने चीनलाई नै हुनेछ ।
‘चिनियाँहरु भविष्यमा विश्वभर गुड्ने हरेक कार आफैंले उत्पादन गर्नुपर्छ भन्ने सोच्न थालेका छन्’, अटो विश्लेषक माइकल डन भन्छन्, ‘उनीहरु वरिपरि हेर्दै भन्दै छन्, के हामी भन्दा अरु कसैले राम्रो गर्न सक्छ’ ?’
चिनिया ईभीप्रति आशंका पनि उत्तिकै छ । चिनियाँ प्रविधिमा भर पर्दा भविष्यमा कुनै समस्या आउने त होइन भन्ने धेरैको मनमा परेको छ ।
बेलायती खुफिया एजेन्सी एम १६ का पूर्व प्रमुख रिचार्ड डियरलभले हालसालै भनेका छन्, चीनको इभी भनेको पाङ्ग्रामा जोडिएको कम्प्युटर जस्तै हो, त्यसले भविष्यमा बेइजिङबाट कन्ट्रोल गर्न सक्छ ।’
तर सत्य के हो भने चीनमा विद्युतीय गाडी उत्पादन निकै फस्टाइरहेको छ । सँगसँगै प्रतिस्पर्धा र नयाँपन पनि बढिरहेको छ ।
‘चीन सरकारले त्यही गरिरहेको छ, जुन तपाई युरोप र अमेरिकामा देख्नुहुन्छ, नीतिगत सहयोग, उपभोक्तामा जागरण र पूर्वाधार विकास’, इभी मेकर एक्सपेङका अध्यक्ष ब्रेन गुले बीबीसीसँग भनेका छन् ।

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
