नेभिगेशन
एक्सप्लेनर भिडियो

सातदोबाटो र कोटेश्वरतिर सर्‍यो ग्वार्कोको जाम

ओभरपास चलेपछि ग्वार्को चोकमा लाग्ने लामो जाम हटेको छ । ग्वार्को चोक भएर यात्रा गर्नेहरुलाई यसले धेरै सजिलो बनाएको छ । 

तर, ग्वार्को चोकको जाम सातदोबाटो र कोटेश्वरतिर सरेको छ । 

हो, पिक आवर अर्थात् विहान कार्यालय सुरु हुने र साँझ छुट्ने समयमा ओभरपास भएर हुँकिएका गाडी कोटेश्वर र सातदोबाटोमा लामो जाममा फस्न थालेका छन् । 

कोटेश्वर त यसैपनि पहिलेदेखि नै धेरै जाम हुने ठाउँ हो । चक्रपथमा चल्ने गाडी र भक्तपुरतिर आउने जाने गाडीहरुका कारण कोटेश्वर उपत्यकामै धेरै जाम हुने ठाउँमा पर्छ । अब कोटेश्वरमा जामको समय अझै लामो हुन सक्छ । अनि सातदोबाटो पनि कोटेश्वरजस्तै बन्ने देखिएको छ । 

जाम बढेपछि ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्न थालेको छ । 

एकातिरको गाडी रोकेर अर्कोतिरको गाडी खोल्दा एकैछिनमा जाम लामो भइसक्छ । सातदोबाटो मात्रै हैन, सातदोबाटो चोकभन्दा थोरै अगाडिको चापागाउँ दोबाटोमा पनि जामको समस्या उस्तै छ । 

यसै पनि सातदोबाटो धेरै जाम हुने ठाउँमै पर्छ । ललितपुर महानगरको खुमलटार र हात्तीवन क्षेत्र तथा गोदावरी नगरपालिकातिर वस्ती बढ्दै गएपछि सातदोबाटो भएर चल्ने गाडीको संख्या दिनदिनै बढ्दै छ । 

तर ग्वार्कोमा ओभरपास बनेपछि ग्वार्को चोकमा रोकिने गाडीहरु सिधै सातदोबाटोमा रोकिँदा यहाँ जाम खुल्दा पालो कुर्ने गाडीको संख्या ह्वात्तै बढेको हो । 

सातदोबाटो चोकमा ट्राफिक लाइट त छ । तर, ओभरपास चलेयता विहान र बेलुकाको समयमा ट्राफिक लाइट अफ गर्न बाध्य भएको छ, ट्राफिक प्रहरी ।

ट्राफिक लाइटको नियमित टाइमिङमा जाममा बसेका सबै गाडीहरु कटाउनै नसकिने त्यहाँ खटिएका ट्राफिक प्रहरीहरु बताउँछन् । एकातिरको गाडी कटिनसक्दै अर्कोतिरको गाडीको टाइम सुरु भइसक्छ ।

यसले झन् भद्रगोल हुने भएपछि ट्राफिक लाइट बन्द गरेर ट्राफिक प्रहरीले समय हेरेर गाडी रोक्ने र पठाउने गरिरहेका छन् । सातदोबाटोको पिक टाइमको जाम ट्राफिक लाइटका भरमा हैन, ट्राफिक प्रहरीको हातको इशाराका भरमा व्यवस्थापन गर्न थालिएको छ । 

अब सातदोबाटोमा चक्रपथको मूल लेनमा गाडीलाई चोक क्रस गर्न दिइएको समय बढाउनुपर्ने फिल्डमा खटिएका एक ट्राफिक प्रहरीले बताए ।

‘अहिलेसम्म त टाइम रिभ्यु भएको छैन, तर पिक आवरमा अहिले ट्राफिक लाइटमा राखिएको टाइमलाई रिभ्यु गर्नैपर्ने देखिएको छ’, उनी भन्छन् । सातदोबाटोमा जाममा रोकिएका गाडीहरुले सामान्यतयाः ३ मिनेटमा पालो पाउने गरेका छन् । तर, ग्वार्को ओभरपास बनेपछि ३ मिनेटमा पालो आउन छाडेको छ । 

ओभरपास बनेपछि पहिलोपटक सातदोबाटोमा ट्राफिक लाइट बन्द गरेर सवारी वारपार गराउनुपरेको ट्राफिक प्रहरीहरुको अनुभव छ । 

प्राविधिक गडबडी, भीआईपी सवारी वा आसपासमा ठूला कार्यक्रम भएका बेलामा मात्रै यहाँको ट्राफिक लाइट अफ गरिन्थ्यो । 

अब त सातदोबाटोमा ट्राफिक प्रहरी जनशक्ति समेत नपुग हुन थालेको छ । सडकमा खटिएका एक ट्राफिक प्रहरीका अनुसार यसअघि पिक आवरमा ६ जनासम्म भए सातदोबाटो चोकको जाम सजिलै व्यवस्थापन हुन्थ्यो । तर, अहिले ९ जनासम्म चाहिने अवस्था बनेको छ । 

‘थोरै जनशक्तिले विहान र साँझको जाम तान्न सकिन्दैन, त्यसैले लाइट अफ गरेर जतिसक्दो धेरै जनाले चोकमा काम गर्नुपर्ने भएको छ’, ती ट्राफिक प्रहरी भन्छन् । 

तीन वटा कारणले सातदोबाटो र कोटेश्वरमा जाम बढ्न पुगेको ट्राफिक प्रहरीहरुको अनुभव छ । पहलो त, ग्वार्कोमा रोकिन नपरेपछि कोटेश्वरबाट हुइँकिएर आएका गाडी सातदोबाटोमा मात्र रोकिन्छ । त्यस्तै कोटेश्वरतर्फ जाने गाडीहरु सातदोबाटो चोक पार गरेपछि सोझै कोटेश्वर चोकमै पुगेर रोकिन्छ । 

दोस्रो, विगतमा ग्वार्को चोकको जामले आजित भएर चक्रपथको बाटो हिँड्न छाडेकाहरु पनि अब जाममा बस्नुपर्दैन भनेर यतैबाट हिँड्न थालेका छन् । 

अनि तेस्रो, नयाँ संरचना भएकाले ग्वार्को ओभरपास भएर यात्रा गर्न रहर गर्नेहरु धेरै छन्, उनीहरु ओभरपास हेर्न मात्रै भनेर पनि रिंगरोडमा गाडी चलाउँछन् । यसले पनि जाम बढाएको हुनसक्ने ट्राफिक प्रहरीको आकलन छ ।

सातदोबाटोमा जाम बढेको अनुभव चालकहरुकै पनि छ । 

कारण जस्तो भएपनि ग्वार्को ओभरपास बनेपछि त्यहाँको जाम सातदोबाटोतर्फ सरेको सत्य हो । 

सातदोबाटोको जामको अर्थ हो, शहरी सडकमा एउटा चोकको मात्रै व्यवस्थापनको योजना दीर्घकालीन हुँदैन  । एउटा चोक व्यवस्थित बनाएर अरुलाई त्यसै छाडियो भने समस्या घट्दैन, अन्यत्र सर्छ मात्रै । 

अघि चालकहरुले भनेजस्तै अब रिंगरोडको जाम हटाउन अरु मुख्य चोकहरुमा पनि फ्लाइओभर, ओभरपास र अन्डरपास जस्ता संरचना चाहिन्छन् । विगतमा सडक विभागले एकान्तकुना र सातदोबाटोमा यस्तो संरचना बनाउन अध्ययन गरेकै थियो । तर, ग्वार्कोमा मात्रै बनायो । 

अब सडक विभागले शहरका चोकहरुको व्यवस्थापनका लागि गुरुयोजना नै बनाउनुपर्छ । एउटा चोक वा एउटा सडक खण्ड व्यवस्थापन गरेर अन्यलाई त्यत्तिकै छाड्दा महँगो लगानी पनि बालुवामा पानी बन्न पुग्छ ।

एउटा चोकमा जाम बस्नु नपरेपनि अर्को चोकमा पुगेर त्यो भन्दा लामो र पट्यार लाग्दो जाम खेप्नुपर्छ । त्यसैले शहरभरिका चोकहरुमा के कस्ता पूर्वाधार र प्रविधि आवश्यक छ भनेर अध्ययन गर्नुपर्छ । 

जाममा बस्दा नागरिकको उत्पादनमूलक समय खेर जान्छ । त्यसैले जामलाई हटाउने गरी योजना बनाउनुपर्छ । जामलाई एउटा चोकबाट अर्को चोकमा सारेर मात्रै त्यसले शहरको आवागमन सहज हुँदैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो