नेभिगेशन
एक्सप्लेनर भिडियो

ओलीप्रति देउवामा बढ्दो अविश्वास

शेरबहादुर देउवा वचनमा पक्का नेता मानिन्छन्, तर उनले आफैं असुरक्षित महसुस गरे भने एक्सन पनि लिइहाल्छन् । देउवाको यो स्वभावले अहिलेको सत्ता गठबन्धनमा फुट त ल्याउँदैन ? 

सरकार परिर्वतन भइहाल्छ भन्न हतारो हुन्छ, तर सम्भावना चाहिँ बढेको छ । किनकी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति देउवाको विश्वास डगमगाएको छ । 

शेरबहादुर देउवा झण्डै चार दशकदेखि नेपाली राजनीतिमा छन् । सांसद मन्त्री मात्र होइन, पाँच पटक प्रधानमन्त्री भइसके । दुई पटक कांग्रेस पार्टी सभापति भएका देउवाका थुपै्रै कमजोरी छन् । उनलाई आलोचना गर्ने विषय थुप्रै छन् ।

तर कांग्रेस मात्र होइन, अरु पार्टीका नेताहरु पनि देउवालाई आफ्नो वचनमा पक्का मान्छन् । 

प्रचण्ड प्रधानमन्त्री थिए, कांग्रेस सरकारमा थियो । प्रतिपक्षमा रहेको एमालेका अध्यक्ष ओली, देउवासँग सत्ता साझेदारीका लागि सम्वाद गर्न चाहन्थे । तर प्रचण्डलाई अविश्वास होला भनेर देउवाले ओलीसँग सम्वाद नै गरेनन् । 

अन्तिममा ओली प्रचण्डलाई नै मनाएर नयाँ सत्ता गठबन्धन बनाउन सफल भए, ओलीले ३० फागुन २०८० को संसद बैठकमा भने, ‘वर्णाश्रम व्यवस्थामा पानी चल्दैन के चन्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भन्ने चाहिँ कांग्रेसबाटै सुनियो ।’

चार महिना बित्दा नबित्दै प्रचण्डलाई हटाएर ओली आफैं प्रधानमन्त्री बन्ने बाटोमा लागे । कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार बनाउने सहमति गरिसक्दा समेत उनले प्रचण्डलाई भनेका थिएनन् । प्रचण्डले देउवालाई फोन लगाए । उनले भनिदिए, सहमति भइसक्यो, सरी ।  

ओली र प्रचण्डले यहाँ देखाएको देउवाको एउटा पक्ष हो, सम्पूर्ण भने होइन । कांग्रेस सभापति देउवा त्यसबेलासम्म वचनमा पक्का रहन्छन्, जतिबेलासम्म उनी असुरक्षित महसुस गर्दैनन् । जब आफैं असुरक्षित महसुस गर्छन्, समीकरण नै फेर्नेसम्मका कदम चाल्न उनलाई क्षणभर पनि लाग्दैन । 

१७ असार २०८० मा ओली नेतृत्वमा सरकार बनाउने सहमति त्यसकै बलियो प्रमाण हो । 

तत्कालीन गृहमन्त्री रवि लामिछानेले संसदको रोष्ट्रममा उभिएर भने जस्तो अनुसन्धानको सुई शक्ति केन्द्रतिर सोझिएकै थियो भन्न सकिन्न । तर गृह मन्त्रालयको नेतृत्व सम्हालेका रविले प्रतिशोधको राजनीति सुरु गरेको गहिरो आभास कांग्रेस नेतृत्वलाई चाहिँ भइसकेको थियो । 

त्यसबेला रास्वपा सभापति समेत रहेका लामिछाने उपप्रधान तथा गृहमन्त्री भएपछि कांग्रेसले सहकारीको रकम अपचलनको मुद्दा उठाएको थियो । कांंग्रेसले यति अठ्यारो बनायो कि सत्तारुढ दलहरु सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न बाध्य भए । त्यही प्रतिवेदनलाई टेकेर भएको अनुसन्धानका क्रममा रवि अहिले पुर्पक्षका लागि भैरहवा कारागारमा छन् । 

त्यसैले सहकारीको रकम अपचलनको मुद्दा उनका लागि कति टाउको दुखाइ थियो भन्ने अनुमान गर्न सकिन्छ । सहकारीको मुद्दामा कान्तिपुर दैनिकले निरन्तर समाचार लेख्यो । त्यही कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता विवादको मुद्दामा ८ जेठमा पक्राउ गरियो । 

सिरोहियाविरुद्ध धनुषामा रास्वपाका कार्यकर्ताले उजुरी हालेका थिए भने गृहमन्त्रीको जोडबलमा पक्राउ गरिएको थियो ।

कांग्रेस नेताहरु के सम्म भन्छन् भने रविमा त्यो बेला बदलाभाव थियो र, उनले एक दिनका लागि भएपनि आरजुलाई पक्राउ गराउँछु भन्न थालेका थिए । भुटानी शरणार्थी प्रकरणमा मात्र होइन, टीकापुरको जग्गा प्रकरणमा समेत आरजुको नाम मुछिएको थियो । 

यद्यपि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएकी छन् । तर गृहमन्त्रीले नै बदलाभाव राखेर धरपकडको प्रयास गर्ने हो भने के होला भन्ने त्रास कांग्रेसमा थियो । 

त्यही असुरक्षा भावका कारण पनि २०८१ असारमा देउवा, एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन सहमत भएको कांग्रेस नेताहरु बताउँछन् ।

एकातिर वचनमा पक्का, अर्कातिर असुरक्षा महसुस गर्दा एक्सन पनि लिइहाल्ने देउवाको दुई पक्षलाई हेरेपछि तपाईंको अहिलेको सत्ता गठबन्धनको अवस्थाबारे कस्तो तस्वीर बन्यो ? 

धमिलो धमिलो तस्वीर बन्यो होइन त ? हो, अहिले सत्ता गठबन्धनको अवस्था यस्तै छ । सरकार परिर्वतन भइहाल्छ भन्न हतारो हुन्छ, तर सम्भावना चाहिँ बढेको छ । किनकी ओलीप्रति देउवाको विश्वास डगमगाएको छ । 

पहिलो : मन्त्रीहरुको असन्तुष्टि । कांग्रेसबाट मन्त्री भएकाहरुले देउवासँग लगातार गर्दै आएको गुनासो हो, प्रधानमन्त्री ओलीसँग काम गर्न कम्फर्टेबल भएन । पछिल्ला दिनहरुमा परराष्ट्रमन्त्री आरजु देउवा राणा समेत ओलीको कार्यशैलीप्रति त्यति सन्तुष्ट नदेखिएको कांग्रेस नेताहरु बताउँछन् । 

दोस्रो : सरकारमा नभएका नेताहरुको असन्तुष्टि । देउवाका विश्वास पात्रका रुपमा रहेका नेताहरुले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । 

खासगरी उपसभापति पूर्णबहादुर खड्काले निरन्तर रुपमा ओलीसँग सकिन्न भन्दै आएका छन् । 

संस्थापन इतर समूहका नेताहरुले त सार्वजनिक रुपमै सरकारको आलोचना गर्दै आएका थिए । यसका बाबजुद देउवाले प्रधानमन्त्री ओलीबारे गुनासो गरेका थिएनन् । 

कतिसम्म भने गर्भनर नियुक्ति विवाद निकै पेचिलो बन्दा समेत उनले सार्वजनिक रुपमा ओलीमाथि भरोसा देखाएका थिए । 

अहिले देउवाको विश्वास डगमगाउनुको मुख्य कारण चाहिँ पतञ्जली जग्गा प्रकरण हो । 

पतञ्जलीको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

देउवालाई लागेको छ, माधव नेपालविरुद्ध मुद्दा लगाउने काम ओलीले नै गरेका हुन् । 

एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपालले त सार्वजनिक रुपमै ओलीले आफूमाथि प्रतिशोध साँधेको भनेका छन् । माओवादीसँगै कांग्रेसमा पनि यस्तो मत राख्ने नेताहरु छन् ।  

माओवादीका एक पदाधिकारीका अनुसार माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्‍बाट जग्गा सट्टापट्टाको जुन निर्णय भयो, त्यो गलत हो । तर विद्यमान कानुन अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णय अख्तियारको क्षेत्राधिकारमा पर्दैन ।

यही भनेर ललिता निवासमा नेपालसँगै अर्का पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्ने अख्तियारको यही टिम हो । त्यसैले पतञ्जलीमा मुद्दा लाग्नु भनेको ओलीले राजनीतिक प्रतिशोध साँधेको अर्थमा बुझ्न सकिने उनीहरुको निष्कर्ष छ । 

कांग्रेसका एक नेताका अनुसार एउटा बैठकमा देउवाले पतञ्जलीको मुद्दाबारे तपाईंको धारणा के हो ? भनेर प्रधानमन्त्री ओलीलाई सोधेका पनि थिए । 

उनले अख्तियार, मन्त्रिपरिषदको निर्णयमा प्रवेश गर्न नपाउने बताए । भोलिका दिनमा यसलाई रोक्नुपर्छ भन्ने आफ्नो मत रहेको पनि सुनाए । तर माधव नेपालविरुद्द मुद्दा लैजानु गलत हो चाहिँ भनेनन् । एक नेताका अनुसार प्रधानमन्त्री ओली ठीकै छ भन्ने भावमा प्रस्तुत भएका थिए । 

अनि, कांग्रेस नेताहरुले प्रधानमन्त्री ओलीले भोलिका दिनमा अख्तियारलाई प्रयोग गरेर जे पनि गर्न सक्छन् भन्ने त्रास देउवालाई देखाएकै छन् । 

त्यसैले प्रधानमन्त्री ओलीप्रति कांग्रेस सभापति देउवाको विश्वास डगमगाएको छ । त्यही बुझेर माओवादीले पनि निरन्तर कांग्रेसलाई फकाउने प्रयत्न गरिरहेको छ । तर अहिले नै सरकार परिर्वतन भइहाल्ने अवस्था भने नबनेको नेताहरु बताउँछन् । 

कांग्रेसका एक नेता भन्छन्, ‘त्यो विन्दुमा पुग्न समय लाग्छ । त्यसबेलासम्म प्रधानमन्त्रीले विश्वास जित्न पनि सक्नुहुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो