पुनर्जीवन पाउँदैछ लगनखेलको सप्तपाताल पोखरी
लगनखेलबाट सातदोबाटोतर्फ जाँदै गर्दा सडक छेउमै बनिरहेको पोखरीले धेरैको ध्यान खिच्छ । अझ सम्पदालाई माया गर्ने र शहरमा खुला क्षेत्र चाहिन्छ भन्नेहरुका लागि त यो दृश्यले अपार खुशी नै दिन सक्छ ।
लिच्छविकालको यो पोखरी फेरि यसरी अस्तित्वमा आउने कुरा धेरैको कल्पना भन्दा बाहिरको थियो । तर, यो साँच्चिकै सम्भव हुँदैछ ।
अहिले पोखरीको भुइँमा रातो इँटा र कालो माटो राखेर पानी अडिने बनाइँदैछ । यही वर्षायाममै पोखरीमा इँटा बिछ्याउने काम सकिने छ ।
अनि यहाँ पानी भरिनेछ । पोखरीको बाहिर चारैतिर बगैंचा बनाउने काम हुँदैछ । अब सप्तपाताल पोखरी बाँच्ने छ, निसास्सिएको र तिर्खाएको शहरलाई पनि बचाउनेछ ।
पुनर्निर्माण नथाल्दासम्म त सप्तपाताल पोखरी इतिहासमा मात्रै थियो, वर्तमानले यसलाई मासिकेकेको थियो । यो पोखरी पाका स्थानीय बासिन्दाले सुनाउने कथामा मात्र भेटिन्थ्यो, तर यथार्थमा भेटिंदैनथ्यो, देखिदैनथ्यो ।
यही पोखरी मिचेर नमुना मच्छिन्द्र माविका भवनहरु बनेका थिए । सडकका छेउमा अलिकति बचेको भाग पनि फोहोर फाल्ने झाडी थियो । त्यही पनि मासेर विद्यालय भवन थप्ने काम भइरहेको थियो ।
यही पोखरीसँगै रहेको अर्को पलेस्वाँ पुखु अर्थात् कमलपोखरी पनि २०२६ देखि सेनाको कब्जामा थियो । जुन पोखरीमा पानी थिएन, पुरेर मैदान बनाइएको थियो ।
२०३० ताकासम्म ललितपुरको लगनखेलमा पोखरीहरु मात्र २०० रोपनी क्षेत्रफलमा थिए । ती पोखरी सर्वसाधारणको पहुँचमा पनि थिए । पाटनका ढुंगेधारा र इनारहरुको पानीका मुहान यीनै पोखरी थिए ।
लगातार अतिक्रमणको चपेटामा परेपछि पोखरीहरुको अस्तित्व मासिँदै गयो । भएका पोखरीको पनि संरक्षण भएन, कतिपय त लगनखेलमा नेपाली सेनाको टेक्निकल सेन्टर नियन्त्रण क्षेत्रमा परे ।
२०३० सालपछि सप्तपाताल (पोखरी) मै विद्युत प्राधिकरणको सबस्टेसन, मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला पशुसेवा कार्यालय र नमूना मच्छिन्द्र माविका संरचनाहरु बने । पोखरीहरु कथामा सीमित भए ।
यी ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्वका पोखरी मच्छिन्द्रनाथ र मीननाथको जात्रासँग पनि जोडिएका थिए । जात्रा सकिएको पातालका राजा नागराजकोमा पुर्याउन सप्तपातालमा एक जोडी माछा यही पोखरीमा छोड्नु पर्ने परम्परा अहिले पनि छ ।
तर, पोखरी नै नभएपछि स्थानीय र पानेजुले स्कुल छेउको चौरमा खाल्डो खनेर पानी हाल्थे । त्यसमै माछा छाडेर जात्रा विधि पूरा गर्थे ।
त्यही बचेको भागमा पनि मच्छिन्द्र माविले थप संरचना बनाउन खोज्यो । सप्तपाताल पोखरीका लागि निरन्तर लडिरहेका स्थानीय बासिन्दा सर्वोच्च अदालत पुगे । २०७६ मा सर्वोच्चले पोखरीको जग्गामा विद्यालय भवन बनाउन रोक लगायो ।
सर्वोच्चको फैसलापछि ललितपुर महानगर पनि पोखरीको जग्गा संरक्षण गर्न र पोखरी ब्यूँताउन अघि सर्यो । स्कुलले अतिक्रण गरेको र सेनाको तारबारले घेरिएर बसेका ठाउँमा फेरि पोखरी बनाउने योजना बनायो । तर, यो काम सहज थिएन । महानगरको पहलमा नेपाली सेना पनि ३० रोपनी पोखरी क्षेत्रको तारबार हटाउन सहमत भयो । त्यसपछि अवस्था बदलियो ।
स्थानीयको चाहना र महानगरको योजनामै यी सप्तपाताल र सेनाको नियन्त्रणमा रहेको गरी दुई पोखरीहरु अहिले पुनर्जीवित हुँदैछन् । यी पोखरीलाई पुनर्जीवन दिन धमाधम काम हुँदैछ ।
सेनाको कब्जाबाट उम्किएको पोखरीमा अहिले पर्खाल लगाउने काम भइरहेको छ । यो पोखरीमा पनि केही समयपछि नै कालो माटो छापेर इँटा बिछ्याइनेछ ।
अब सप्तपाताल पोखरी ब्यूँतिनेछ । करिब २३ सय वर्ष पुरानो अशोक स्तूप वरपर २ वटा सुन्दर पोखरी तयार हुनेछ । सप्तपातालमा अब टीकाभैरवबाट आउने राजकुलो जोड्ने योजना छ ।
यी पोखरीहरु ब्युँताएपछि पाटन सहरका सुकेका ढुंगेधारा र इनारमा पानी पलाउने अपेक्षा महानगरको छ । यो पोखरी बनेपछि अतिक्रमित क्षेत्र खुला भएर जनताको पहुँचमा आउनेछ । यसले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा सहयोग पुग्नेछ ।
अब सप्तपाताल पोखरी नयाँ पुस्ताले पनि चिन्ने छ । कुनै बेला काठमाडौंको रानीपोखरी जत्तिकै महत्व राख्ने यो पोखरीमा अब फेरि माछा पौडिनेछ । यो पोखरीले फेरि रातो मच्छिन्द्रनाथको जात्रा विधि पूरा गर्न सघाउनेछ । स्थानीयबासी र ललितपुरमा घुम्न आउनेका लागि टहल्ने थप ओपन स्पेस दिनेछ ।
शहरमा यस्ता धेरै पोखरीहरु छन्, जो इतिहासमा छन्, तर भूगोलमा छैन । स्थानीयले चाहँदा ललितपुरमा सप्तपाताल पोखरीको पुनर्जीवन पाउनसक्यो भने अन्यत्र पनि यस्ता पाखेरीहरु ब्यूँताउन सकिंदैन र ?
तस्वीर र भिडियो : अभिषेक लम्साल

मन्त्रीज्यू ! घरमै सुत्नुस् संसदमा होइन

महिला टी–२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

झण्डै २ लाख भत्ता बुझेका थिए, अहिले परिवार नै बेपत्ता

'बाँदरका कारण गाउँमा मान्छे सक्किसके, हामी अपजस खेपेर बस्नुपरेको छ'

मुम्बईबाट २ हप्ताअघि आएका दिदीबहिनी भक्तपुरमा मृत भेटिए
