हेटौंडा सिमेन्ट : डुब्दैछ अर्को लोकप्रिय सरकारी ब्राण्ड
एउटा समय हेटौंडा सिमेन्ट गुणस्तरको अर्को नाम थियो भन्दा हुन्छ । अरुको तुलनामा थोरै महंगो भएपनि किन्ने उपभोक्ताको अभाव थिएन । उत्पादन गर्नै भ्याइनभ्याइ थियो ।
तर आज वर्ष दिनमा ६ महिनाभन्दा बढी उद्योग बन्द नै हुन्छ । यही ताल होे भने सदाका लागि बन्द हुने धेरै समय लाग्दैन ।
त्यसपछि यो पनि बासबारी छाला जुत्ता, भृकुटी कागज र हरिसिद्धी इँटा टायल जस्ता बन्द भएका सरकारी उद्योगको सूचीमा पर्न के बेर !
हेटौंडा सिमन्ट उद्योगको गौरबपूर्ण इतिहास छ ।, अहिले टिठलाग्दो वर्तमान भोगिरहेको छ । र यसको अनिश्चित भविष्य अनिश्चित छ ।
गर्विलो इतिहास
२०३२ सालतिर हेटौंडामा धेरै बस्ती फैलिएको नै थिएन । राजमार्ग आसपास मात्रै केही बजार थिए ।
तर ठूलो औद्योगिक क्षेत्र खुलिसकेको थियो । त्यतिबेलै हेटौंडाको लामसुरे हाइटमा रुखहरु फाँडियो, धामधम निर्माणको काम सुरु भयो । स्थानीयहरु सोध्न जान्थे, यहाँ के बन्न लाग्यो ? जवाफ पाउँथे, यहाँ सरकारले ठूलो सिमेन्ट कारखाना खोल्दैछ । भैंसे र ओखरे पहाडको चुन ढुंगा ल्याएर यहाँ सिमेन्ट बनाउने हो ।
यो उद्योगको सबै संरचना निर्माण हुन करिब १० वर्ष लाग्यो । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा स्थपना भएको थियो, हेटौंडा सिमेन्ट । ०४३ मंसिर २६ गतेबाट हेटौंडा सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थाल्ने भयो ।
तत्कालीन राजा महेन्द्रले ठूला विकास निर्माणका काम गर्न चाहिने सिमेन्ट जोहो गर्न यो उद्योग खोल्ने योजना बनाएका थिए । त्यसको अध्ययनन गराएका थिए ।
हेटौंडामा सिमेन्ट कारखाना बनेपछि उद्घाटन भने उनका छोरा एवं तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।
त्यतिबेला यो उद्योगलाई विराटनगर जुट मिल्सपछिकै नेपालकै दोस्रो ठूलो उद्योगका रुपमा चिनिन्थ्यो । यस्ता उद्योगहरु स्थापना गर्नु त्यो समयमा सहज थिएन, तर सरकारले आँट देखाएको थियो । उद्योगले उत्पादन गर्ने सिमेन्टको नाम राखिएको थियो, शक्ति ।
हिमाल र उदयपुर सिमेन्ट थिए । तर दुबै सरकारी थिए । निजी स्तरमा सिमेन्ट उद्योगहरु खुलेको थिएन । भारतबाट आयात हुने सिमित त बजारमा थिए, तर त्यसको तुलनामा सस्तो र गुणस्तरीय भएकाले यो सिमेन्टलाई बजारको अभाव भएन । ब्राण्डनेम शक्ति भएपनि बोलीचालीमा हेटौंडा सिमेन्ट भनिन्थ्यो ।
हेटौंडा सिमेन्टको ठूला सरकारका आयोजनाहरु उच्च माग हुन थाल्यो । त्रिभुवन विश्वविद्यालयदेखि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसम्म । २०७७ सालमा निर्माण सकिएको अपर तामाकोशी परियोजनामा पनि हेटौंडा सिमेन्टको प्रयोग भयो ।
निजी घरहरुको निर्माणका लागि शहरी क्षेत्रमा हेटौैडा सिमेन्ट नै खोज्नेहरु बढ्दै गए । निजी घरदेखि अर्पाटमेन्ट, बिजनेस कम्प्लेक्स, विद्यालय, क्याम्पस, अस्पताल, मल तथा तारे होटल बनाउन पनि हेटौंडा सिमेन्ट नै प्रयोग भयो ।
बजारमा हेटौैंडा सिमेन्टको माग यति थियो कि सिमेन्ट किन्न सोर्सफोर्स समेत लगाउँथे । मन्त्री र सांसदहरुले लेटर प्याडमै पनि फलानो आयोजनाका लागि यति परिमाणमा सिमेन्ट दिनू भनेर पत्र पठाउँथे । सिमेन्ट लिन आयोजनाका हाकिमहरु नै उद्योग पुग्थे ।
पूर्वमा उदयपरको गैंडाछाप सिमेन्ट र काठमाडौंमा हिमाल सिमेन्टको पनि राम्रो बजार थियो । तर हेटौैंडा सिमेन्टलाई कुनै सिमेन्टले बजारमा टक्कर दिन सकेका थिएनन् ।
यो उद्योगको उत्पादन किन पनि भरपर्दो थियो भने यसले ठूलो भण्डारण केन्द्र बनाएको थिएन । उत्पादन भएका सिमेन्ट सिधै गाडीमा लोड हुन्थ्यो र बजार पुग्थ्यो । लोड गर्न पालो कहिले आउला भनेर ट्रकहरु उद्योग परिसरमा लामो लाइन बस्थे । यस्ता कारण हेटौंडा सिमेन्ट उत्पादन भएको केही दिनभित्रै उपभोक्ताले प्रयोग गर्न पाउने अवस्था थियो । ताजा ताजा सिमेन्ट उपयोग गर्दा त्यसको पडक शक्ति बलियो हुन्छ । यो उपभोक्ताका लागि फाइदाकै कुरा थियो ।
त्यतिबेलैदेखि सिमेन्ट उत्पादन गर्दा ल्याब टेस्टलाई अनिवार्य गरिएको थियो । अनि टेस्ट फेल भएमा त्यसलाई बजारमा नपठाउने व्यवस्था पनि गरिएको थियो । यस्ता कारणले साँच्चिकै हेटौैडा सिमेन्ट नामले नै कहलिन पुगेको थियो ।
धेरैको रोजाइ भएको हेटौंडा सिमेन्टको कालोबजारी समेत हुन्थ्यो । डिलरहरुले अभाव देखाएर बजार मूल्यभन्दा बढीमा सिमेन्ट बेच्थे । त्यसलाई रोक्न उद्योगले फरक–फरक रंगका सिमेन्टका बोराहरु प्रयोग गरेर निगरानी गर्नु परेको थियो । एउटा आयोजनामा पठाएको सिमसन्ट अन्यत्र नपुगोस् भनेर यस्तो उपाय लगाइन्थ्यो ।
अनि आयो समस्या..
यस्तो बजार पिटिरहेको सिमेन्ट उद्योगको ओरालो यात्रा २०६४ पछि सुरु भएको देखिन्छ । उद्योगमा कहिले श्रमिकहरुले हड्ताल गर्न थाले त कहिले उत्पादनका लागि समयमै पर्याप्त कच्चा पदार्थ आपूर्ति नभएर समस्या देखिन थाल्यो ।
हेटौंडामा स्थानीयहरु पनि उद्योगको विपक्षमा देखिए । त्यसको कारण थियो, उद्योगले फाल्ने धुँवा र धुलो । उद्योगको चिम्नीबाट लगातार धुलोको मुस्लो उडिरहन्थ्यो । स्थानीहरुलाई लुगा सुकाउन समेत समस्या पर्थ्यो । उद्योगको धुलोको कारण कृषियोग्य जमिनहरु रुखो बन्ने समस्या थियो । सिमन्टको धुलो घरभित्रै पस्ने मात्रै होइन, स्वास्थ्यसम्बद्ध समस्याहरु बढ्न थालेका थिए ।
उद्योगले विकल्पबारे अध्ययन गर्यो । अध्ययनबाट थाहा भयो, उद्योगले उडाइरहेको धुलो रिभर्स गर्ने हो भने त्यसबाट पनि आय गर्न सकिन्छ । त्यसपछि उद्योगले धुलो उड्ने समस्या हल गर्यो । स्थानीयका गुनासा सकिए । तर उद्योगको संकट टरेन ।
बजारमा निजी सिमेन्ट उद्योगहरु थुपै आइसकेका थिए । उनीहरुले नयाँ प्रविधि ल्याइरहँदा हेटौंडा सिमेन्ट उद्योगको प्रविधि अपडेट भएन । किनकी उदारीकरणमा गएपछि सरकारी उद्योगलाई हेर्ने नजर बदलियो । सरकारमा बस्नेहरु, हेटौंडा सिमेन्टमा एकैपटक ठूलो लगानी गरेर प्रविधि बदल्न तयार भएन ।
इतिहास फर्केर हेर्दा यो उद्योगले सबैभन्दा ठूलो मार लोडसेडिङका कारण भोग्यो । लोडसेडिङ सुरु भएपछि उद्योगले जेनेरेटर चलाएर उत्पादन गर्न सकेन । खोजेको बेला नपाएपछि उपभोक्ताले विकल्प खोजे । हेटौैंडा सिमन्ट उद्योग भने कहिले हप्ता दिन, कहिले महिना दिन त कहिले ६ महिनासम्म बन्द हुने अवस्थासम्म आयो । यसै आर्थिक वर्षमा मात्रै उद्योग ६ महिना बन्द भएको थियो ।
व्यापार नभएपछि उद्योगको दायित्व आयभन्दा ठूलो हुन थाल्यो । कम्पनी धेरैजसो वर्षमा घाटामै जान थाल्यो । उद्योगमा जति समस्या बढ्न थाल्यो, कर्मचारीहरु पनि उत्तिकै बढी आन्दोलित हुन थाले । अन्तत: हेटौंडा सिमेन्ट थला पर्यो ।
उद्योगमा सञ्चालक समिति अध्यक्ष र महाप्रबन्धकको नियुक्ति मन्त्रीले गर्ने व्यवस्था छ । यसले पनि उद्योगमा समस्या समाधान गर्नेुपर्ने थप्ने काम गर्यो । स्थानीय नेताहरु उद्योगको अध्यक्ष बन्न दौडिने र उद्योगभित्र पसेर राजनीति गर्ने अवस्था रह्यो ।
मन्त्रीले छानेर पठाएका दर्जनौं महाप्रबन्धक फेरिँदा पनि उद्योगको हालत फेरिएन । उल्टै बिग्रिँदै गयो । हेटौंडाको ब्राण्डलाई निजी सिमेन्ट उद्योगहरुले हाइज्याक गर्न थाले । जस्तो शिवम् सिमन्ट हेटौंडामा खुल्यो, शिवम्ले उत्पादन सुरु गरेपछि यसको ब्राण्डिङ नै हेटौंडाको सिमेन्ट भन्ने स्लोगनमा गर्यो ।
यसले उपभोक्ता झुक्किए । उपभोक्ताले नै विरोध गरेपछि शिवम् आफूलाई हेटौंडाको सिमेन्ट भनेर प्रचार गर्न छाडेको छ । तर ऋद्धिसिद्धि सिमेन्टले पनि आफ्नो प्रचार हेटौंडामा उत्पादित सिमेन्ट भनेरै गर्यो । हेटौंडा सिमेन्टको ब्राण्ड नेम शक्ति भएकाले त्योसँग मिल्दोजुल्दो नाम राख्ने सिमेन्ट पनि धेरै छन् । शक्तिका अघिपछि अरु केही नाम थेर थुप्र्रै सिमन्ट बजारमा ल्याइएका छन् ।
र, आफैंका बलियो नाम बनेको हेटौंडा सिमेन्ट भने अहिले बजारमा पाउनै मुस्किल छ । उद्योग समस्याग्रस्त छ । हेटौंडा सिमेन्ट आफ्नो अस्तित्व जोगाउन अन्तिम संघर्षमा छ ।
उद्योगले दिनमा ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्नसक्छ । यो भनेको वर्षमा २५ लाख बोरा हो । तर उद्योग अहिले वर्षमा मुस्किलले ५ लाख बोरा मात्रै उत्पादन गर्छ । उद्योगले आफ्नो क्षमताको २५ प्रतिशत मात्रै उपयोग गर्न सकेको छ ।
वर्षमा कम्पनीले ८० करोड भन्दा बढी घाटा ब्यहोर्दैछ । २०६८ यता २०७१ र २०७४ बाहेक सबै वर्षमा कम्पनीले घाटा बेहोरेको छ ।
घाटामा चलिरहेको उद्योगका मेसिन यति पुराना भइसके कि मर्मत सम्भारका लागि पाटपूर्जा पाउन कठिन छ । मेसिनहरु फेर्नु र अपग्रेड गर्नुपर्ने भएपनि यो कहिल्यै कसैको योजनामा परेन । गत वर्ष हेटौैडा सिमेन्टले मेसिन अपग्रेड गर्न १ अर्ब ९ करोड ऋण मागेको पनि थियो, तर अर्थ मन्त्रालयले रुची दिएन ।
हेटौंडा सिमन्टको अहिलेको प्रविधिले कोइला धेरै खान्छ, बिजुली पनि उत्तिकै खपत गर्छ । म्यानुअल काम गर्नुपर्ने भएकाले जनशक्ति पनि धेरै लाग्छ । कुनै पाटपूर्जा बिग्रिएपछि सार्वजनिक खरिद ऐन अनुसार किन्न लाग्दा महिनौं लाग्ने गरेको छ । यस्तै कारणले उद्योग लामो समय बन्द हुन्छ र बजारमा सिन्मेट पुग्नै सक्दैन ।
बिजनेसमा रिनाउन ब्राण्ड र लोयल कस्टमर भएर मात्रै हुँदैन, त्यसबाट फाइदा उठाउने इच्छाशक्ति, योजना र क्षमता पनि चाहिन्छ भन्ने यसले देखाएको छ । बजारमा चर्को माग हुँदाहुँदै पनि यो स्ट्रङग ब्राण्ड लो प्रोडक्सन र कमजोर मार्केटिङको शिकार भएको छ ।
निजीकरणले देला समाधान ?
हेटौंडा सिमेन्टलाई चुनढुंगाको अभाव छैन । धादिङको जोगिमारा र मकवानपुरको ओखरे, मजुवा र भैँसेमा गरी ४ वटा खानी छन् । यहाँ थप सय वर्ष खन्दा पनि नसकिने परिमाणका चुनढुंगा छन् । रातोमाटो उद्योग परिसरमै प्राप्त हुन्छ ।
नाम आफैंमा काफी छ । चुनौती छ त पुरानो भएको प्रविधि । अनि खाँचो छ त्यसलाई प्रतिस्थापन गरेर चलाउने आँट भएको नेतृत्व । तर सरकार थप लगानी गर्न तयार छैन ।
बरु निजी क्षेत्रलाई भित्र्याउने योजना छ । पूर्वसचिव रामेश्वर खनाल अध्यक्षताको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग दिएको सुझा कार्यान्वयन गर्न बनेको ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’मा सरकारले एक वर्षभित्र हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको ‘डीडीए’ गरेर गाभ्ने योजना बनाएको छ ।
त्यसपछि सरकारको केही हिस्सामात्र राखेर निजी क्षेत्रलाई शेयर बिक्री गर्ने भनिएको छ । व्यावसायिक सम्भावना धेरै भएकाले यो उद्योग चलाउन निजी क्षेत्र उत्सुक नै छ ।
तर हामीले बिर्सन नहुने के छ भेन निजीकरण गरेको सबै उद्योग चलेका छैनन् । निजीकरण भएका १८ उद्योगमध्ये १४ वटा बन्द छन् । किनकी उद्योगीको आँखा उद्योगका जग्गामा मात्रै हुने गरेको छ ।
हरिसिद्धि इटाँ र बासबारी छाला जुत्तामा भएको यही हो । हेटौंडा सिमेन्टसँग पनि ३३८ विगहा जमिन छ । कतैं, निजिकरणको नाममा यही जग्गा हत्याउने खेल मात्र त हुने होइन भनेर सजग हुन जरुरी छ ।
हेटाैंडा, नेपालमा सिमेन्टको पायोनियर मात्रै हैन, ३०० भन्दा बढी श्रमिकको कर्मथलो हो । बजारमा निजी क्षेत्रका उद्योगले मूल्यमा गर्ने कार्टेलिङ रोक्न सहयोगी उद्योग हो ।
तर, ठूलो बजार र व्यावसायिक सम्भावना भएर पनि हेटौंडा सिमेन्ट अहिले जीवन र मरणको दोसाँधमा छ ।
यो गौबरपूर्ण विरासत बोकेको उद्योगलाई यो वा त्यो बहानामा बन्द गराउने छुट सरकारलाई छैन । सरकारमा बस्नेहरुले बुझ्नुपर्छ, लगानी थपेर वातावरण बनाइदिने हो भने हेटौंडा सिमेन्ट फेरि आफैं आफ्ना खुट्टामा उभिन सक्छ, विगतमा जस्तै विकास ठूला पूर्वाधारलाई बलियोसँग उभ्याउन पनि सक्छ ।

अस्थायी शिक्षकको परीक्षामा कुरा मिल्यो, बढुवामा अल्झियो

घरजग्गामा असाधारण मन्दी, के अझै घट्छ मूल्य ?

प्रधानन्यायाधीश नै अल्पमतमा परेको एउटा फैसला

स्पष्टीकरण माधव नेपालसँग सोध्ने कि रामकुमारीसँग ?

कुलिङ पिरियडमा पानीमाथिको ओभानो बन्दै सांसदहरु
