थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
थापाथलीमा ट्राफिक प्रहरीको कार्यालय महानगरले यस्तो बेलामा डोजर लगाउन खोज्यो, जतिबेला मेयर बालेनले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने प्रयास गरेको चर्चा चुलिएको छ ।
एउटा समय बालेन र ओमप्रकाश एकै ठाउँमा थिए । बालेन काठमाडौंको मेयर भएपछि अधिवक्ता अर्यालले कानुनी सल्लाहकार भएर काम गरे । भदौ २३ को जेनजी आन्दोलन अगाडिसम्म अर्याल, बालेनहरुकै समर्थनमा दल खोलेर राजनीतिमा आउने तयारीमा जुटेका थिए ।
जेनजी आन्दोलनसँगै धेरै उथलपुथल भयो । अर्याल, गृहमन्त्री भए । अर्यालको नियुक्तिलाई लिएर सुदन गुरुङहरु सुरुमै असन्तुष्ट थिए । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ नगरेको भन्दै काठमाडौंका मेयर बालेन पनि गृहमन्त्रीसँग असन्तुष्ट भएको खबरहरु आउन थाले ।
बालेन निकट मानिएका भिक्टर पौडेलले एमआरआर ग्रुपमा गृहमन्त्रीको राजीनामा माग गर्दै सामाजिक सञ्जालमा ट्रेन्ड चलाउन अपिल गरेको खुल्यो । त्यसपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई बालेनले होइन, प्रधानमन्त्रीले नियुक्त गरेको स्पष्टीकरण दिए । अनि, प्रधानमन्त्रीको निजी सचिवालयले विज्ञप्ति नै निकालेर बालेनको नाम नै किटान गरेर खण्डन गर्यो ।
बालेन यो विषयमा बोलेनन् ।
बरु कात्तिक १४ गते काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, काठमाडौंको सूचना आयो । जसमा असोज २ गतेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गराउने निर्णय भनिएको छ ।
अनि, सार्वजनिक जग्गामा बनेका र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र हटाउन आग्रह गरिएको छ ।
तर सूचना प्रकाशित भएकै दिन महानगरको नगर प्रहरी डोजर लिएर थापाथली क्षेत्रमा पुग्यो । त्यहाँ बनेका टहराहरु भत्काउन थाल्यो, ट्राफिक प्रहरीहरु बसेको भवन नजिकै गएर पनि माइकिङ गर्यो ।
शनिबार बेलुकी कार्यालय खाली गर्न सूचना दिएको थियो । अनि आइतबार विहानै नगर प्रहरी डोजर लिएर आयो ।
०००
थापाथली चोकदेखि त्रिपुरेश्वरतर्फ जाँदा सडकको देब्रेतर्फ बागमती नदीको किनारमा छ ट्राफिक प्रहरी कार्यालय । यो कार्यालयले उपत्यकाको थापाथली, त्रिपुरेश्वर र माइतीघरको ट्राफिक व्यवस्थापन हेर्ने गरेको छ ।
यहाँ इन्सपेक्टरको कमाण्डमा ५७ जना ट्राफिक प्रहरी कार्यरत छन् ।
उपत्यकामा सबैभन्दा धेरै सवारी साधनको आवतजावत हुने यही क्षेत्र हो । काठमाडौं र ललितपुर दुई जिल्ला जोड्ने विन्दु भएकाले पनि यहाँ सवारी साधनको चाप अत्यधिक हुन्छ, हरेक दिन जाम पनि उत्तिकै हुन्छ ।
ट्राफिक प्रहरीले लामो समय उभिएर ड्युटी गरेपछि एकै छिन आराम गर्ने र पानी खाने ठाउँ यही चौकी हो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार गुठी संस्थानको भवन भाडामा लिएर नेपाल प्रहरीले प्रयोग गर्दै आएको छ ।
जेनजी विद्रोहका क्रममा भदौ २४ गते सिंहदरबार, संसद भवन मात्र होइन, दर्जनौं प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ ।
प्रहरीका अनुसार ४८६ वटा प्रहरी युनिटमा क्षति पुगेको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामै क्षति भएको छ । ट्राफिक प्रहरीको बिटहरु जले । अवस्था कस्तोसम्म भयो भने आन्दोलनपछिका केही दिन ट्राफिक प्रहरीहरु सादा पोसाक र चप्पल लगाएर सडकमा खटिनुपर्यो ।
अहिले केही प्रहरी बिटहरु स्थानीय र व्यवसायीहरुको सहयोगमा मर्मत सम्भार गरेर बस्न मिल्ने बताइएको छ । थापाथलीको ट्राफिक प्रहरी कार्यालय पनि मर्मत सम्भार गरेर बस्न मिल्ने बनाइएको हो ।
त्यो पनि भत्काउन महानगरको डोजर आएपछि ठूलो संख्यामा जनपथ प्रहरी परिचालन भए । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तत्काल प्रहरी कार्यालय नहटाउन भनेर महानगरलाई पत्र नै लेख्यो ।
थापाथली क्षेत्र पर्ने काठमाडौं– ११ का वडाध्यक्ष हीरालाल तण्डुकार पनि फिल्डमा पुगे । उनका अनुसार ट्राफिक प्रहरी कार्यालय, नजिकै पुरानो वडा भवन छ । त्यहाँ महानगरकै महिला प्रहरीलाई राख्ने गरिएको छ ।
ट्राफिक प्रहरीहरु पनि त्यहाँबाट हटाउँदा कहाँ राख्ने भन्ने टुंगो छैन ।
तर मेयर बालेन शाहले कसैसँग सल्लाहै नगरी डोजर पठाए । तन्डुकार भन्छन्, ‘बालेनले जे मन लाग्यो त्यही गरिरहेका छन् ।’
तर उनले तत्काल प्रहरी कार्यालय नभत्काउन फिल्डमा खटिएका नगर प्रहरीका अधिकृतलाई निर्देशन दिए ।
सीडीओ कार्यालयको पत्र, वडाध्यक्षको निर्देशन, अनि स्थानीय व्यवसायीहरुको समेत विरोधपछि नगर प्रहरी रोकियो ।
ट्राफिक प्रहरी कार्यालय जोगियो ।
तर यसले काठमाडौं महानगर र त्यसको नेतृत्व गरिरहेका मेयर बालेन शाहमाथि प्रश्न उठेको छ । सिंगो प्रहरी संगठनको मनोबल उकास्नुपर्ने बेला प्रहरी बिटहरुमा किन डोजर हान्न खोज्दैछन् भन्ने प्रश्न जन्मिएको छ ।
किनभने महानगर प्रहरीले थापाथली मात्र होइन, अन्यन्त्र पनि प्रहरी बिटहरु हटाउन माइकिङ गरेको छ ।
महानगरले २०७९ मा दिएको विवरण अनुसार काठमाडौंका १९ स्थानका प्रहरी बिट अनाधिकृत रुपमा बनाइएको थियो । मैतीदेवी लगायतका केही स्थानमा रहेको प्रहरी बिट त हटाइयो, अरु जस्ताको तस्तै छ ।
त्यही प्रहरी बिटहरु हटाउन भनिएको हो । अनृतकृत रुपमा बनेका ट्राफिक प्रहरीका संरचनाहरु हटाउनुपर्छ, यसमा कसैको विमति छैन । तर अहिले यो काम गर्नका लागि उपयुक्त समय होइन । अझ गृहमन्त्री हटाउन नपाएको झोकमा प्रहरी बिटहरुमा डोजर लगाउन खोजेको हो भने त पटक्कै स्वीकार्य छैन ।
ट्राफिक प्रहरी महाशाखाका पूर्व प्रमुख नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी पनि प्रहरी कार्यालयमा अहिले डोजर चलाउनु विवेकहीन र गैरजिम्मेवार काम हुने बताउँछन् । कुनै पनि विवेकशील व्यक्तिले यस्तो बेलामा प्रहरी कार्यालयमा डोजर चलाउन नसक्ने उनी बताउँछन् ।
राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
दिनरात काम, तलब चाहिँ १५ हजार !
खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी

-1761836913.jpg)







