'स्वीकार गर्नुस्, हर्क युगको सुरुवात भयो'
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी अहिले निर्वाचन आयोगमा दर्ताको क्रममा छ ।
धरान उपमहानगरपालिकामा स्वतन्त्र हैसियतमा जितेका उनी आफ्नो मौलिक शैली र केही लोकप्रियतावादी कामका कारण चर्चामा आइरहन्छन् । चुनाव जित्दा स्वतन्त्र हैसियतमा जितेका उनले विभिन्न दल र समूहबाट आएका व्यक्तिहरु सँग मिलेर पार्टी बनाएका छन् ।
उनको पार्टीको महासचिव छन्, विगतमा मंगोल नेशनल अर्गनाइजेशन पार्टी र राष्ट्रवादी केन्द्र नेपालजस्ता अभियानमा काम गरेका आरेन राई । उनै आरेन राईसँग हर्क साम्पाङसँगको सहकार्य, श्रम संस्कृति पार्टी गठन, हर्क–बालेन सहकार्य लगायतका विषयमा विनोद ढकालले गरेको कुराकानी :
श्रम संस्कृति पार्टीलाई धेरैले धरानको मेयर हर्क साम्पाङको पार्टी भनेर चिन्छन्, तपाईंको आफ्नै पनि राजनीतिक इतिहास होला, तपाईं कहाँ हुनुहुन्थ्यो ?
मैले राजनीति सुरु गरेको राष्ट्रवादी केन्द्र नेपालबाट हो । त्यो एउटा अभियान थियो, त्यसमा डा. सुरेन्द्र केसी प्रशिक्षकको रुपमा हुुनुहुन्थ्यो, अधिवक्ता स्वागत नेपाल, पूर्वसभासद सागर थापाहरु थिए ।
मैले त्यसमा चार–पाच वर्ष काम गरेँ । नेपालमा सर्टिफिकेट धितो राखेर ऋण दिनुपर्छ भनेर त्यतिबेला हाम्रा साथीहरु अनशन बसेका थिए । त्यसबेला हामीले स्वदेशी उद्योगहरुको अवस्था, रोजगारीको सम्भावनाबारे अध्ययन गरेका थियौं ।
मलाई ठूला पार्टी कांग्रेस, एमाले, माओवादी भनेपछि मन नपर्ने । यसको गलत अर्थ नलागोस्, त्यहाँभित्रको विभेद, लुछाचुँडी, सिन्डिकेटले गर्दा मलाइ ती पार्टीमा जान मन लागेन । त्यहाँ गएर सांसद मन्त्री त भइएला, तर मुलुकलाई केही दिन सकिदैन भन्ने लाग्थ्यो ।
राष्ट्रवादी केन्द्र नेपालमा म युवा संगठनको उपाध्यक्ष थिएँ, त्यहाँ हिन्दूराष्ट्रको कुरा उठेपछि भने मलाई त्यहाँ बस्न मन लागेन ।
त्यसपछि कहाँ जानुभयो ?
त्यसपछि म मंगोल नेशनल अर्गनाइजेसनमा गएँ । म देश बनाउने इमान्दार साथीहरुको खोजीमा त्यहाँ पुगेको थिएँ । झन्डै सात वर्ष म होल टाइमर भएर काम गरेँ । त्यहाँ रहँदा मैले धेरै ठाउँ घुम्न पाएँ, नेपालको गरिबी, विकास र विभेद बुझ्न पाएँ ।
पछि मंगोल नेशनल अर्गनाइजेसनमा पनि फुट आयो । थुप्रै साथीहरु तितरबितर भए । कोही जसपातिर हुनुहुन्छ, कोही माओवादीतिर हुनुहुन्छ, कोही राप्रपातिर हुनुहुन्छ ।
मंगोल नेशनल अर्गनाइजेसन छाडेपछि चाहिँ हर्क साम्पाङसँग जोडिनुभयो ?
त्यसपछि म ४–५ महिना स्वतन्त्र नै बसेँ । मलाई कतै पनि फुत्त हामफालिहाल्न मन लाग्दैन । तर धरानमा हर्क साम्पाङको अभियान देखेपछि म उहाँप्रति आकर्षित भएँ । मेयरमा निर्वाचित नहुँदादेखि नै उहाँको अभियानबारे थाहा थियो ।
उहाँले सुधारवादी आन्दोलन, भ्रष्टाचार विरुद्धको आन्दोलन, खानेपानीका लागि आन्दोलन गरिरहनुभएको थियो, उहाँको त्यस्तै त्यस्तै कामबाट हामी नजिकिएका थियौं ।
पछि उहाँ मेयर हुनुभयो । मेयर भएपछि झन् राम्रो काम गर्नुभयो । उहाँले जुन मुद्दा उठाएर चुनाव जित्नुभएको थियो, तयो प्रतिवद्धता पूरा गर्नुभयो । धरानलाई पानी खुवाउँछु भन्नुभएको थियो, खुवाएरै छाड्नुभयो । धेरैले कोकाहा खोलाबाट धरानमा पानी ल्याउन असम्भव भन्थे, तर हर्क साम्पाङले सम्भव गराइदिनुभयो ।
अर्को कुरा, उहाँले विकासका लागि नेता इमान्दार हुनुपर्छ भन्ने देखाइदिनुभयो । उहाँले राजनीतिको संस्कार परिवर्तन गरिदिनुभयो । नेता कस्तो हुनुपर्छ भने उहाले देखाइदिनु भयो । जबसम्म देश र जनता गरिब हुन्छ नेता धनी बन्ने अधिकार छैन ।
उहाँले धरानमा औद्योगिक क्रान्ति पनि सुरु गर्नुभयो ।
औद्योगिक क्रान्ति भनेर केलाई भन्न खोज्नुभएको ?
उहाँले साबुन फ्याक्ट्री, बेसार फ्याक्ट्री सुरु गर्नुभयो नि । त्यो त एउटा उदाहरण हो । त्यसले धरान क्षेत्रको किसानले धेरै राहत पाएका छन् ।
अर्को राम्रो काम उहाँले बहुभाषिक पाठशाला सुरु गर्नुभयो । त्यहाँ राई, लिम्बू, मगर,थारु लगायत नेपालका जुनसुकै भाषा पढाउन सकिन्छ । उहाँले सुम्निमा पारुहाङको प्रतिमा बनाउनुभयो, हिन्दू मठमन्दिर बनाउनुभयो, हाम्रो संस्कृतिको प्रमोट गर्ने धेरै काम गर्नुभयो ।
हर्क साम्पाङसँग मिलेर पार्टी खोल्ने कुराचाहिँ कसरी सुरु भएको थियो ?
उहाँसँग छलफल हुँदा स्वतन्त्र जितेर पालिकाहरु त बनाउन सकिएला, तर देशको कानुन फेर्न सकिँदैन भन्ने निश्कर्षमा पुग्यौं । त्यसको लागि राजनीतिक दल खोल्नुपर्ने कुरा भइहाल्यो । तर अलि चाँडै हुन्छ कि भन्ने पनि लागेको थियो । तर अहिले मुुलुकको परिस्थिति नै फेरियो र हामी पार्टी दर्ता गर्ने चरणमा पुग्यौं ।
यो पार्टीमा को को हुनुहुन्छ ?
यसमा सबै पार्टी बाट आएकाहरु छौं । माओवादीबाट आउनेहरु पनि छन्, राप्रपाबाट आउनेहरु पनि छन् । केही स्वतन्त्र साथीहरु पनि छन् । विशेष त पार्टी खोलेपछि अग्रपंक्तिमा देखिनेहरु भनेको हिजो राजनीति गर्नेहरु नै हुन् ।
धेरैथरि विचारधाराबाट आएका मान्छेहरु एकै ठाउँमा भएपछि पार्टी चाहिँ कस्तो बन्छ त ?
तपाईंले उठाएको सवाल जायज हो, अहिलसम्म नयाँ पार्टीहरु बन्न नसक्नुको कारण त्यही नै हो । अहिले पार्टीमा राजा ल्याउनुपर्छ भन्ने पनि आउलान्, संघीयता खारेज गर्नुपर्छ भन्ने पनि आउलान्, संघीयता राख्नुपर्छ भन्ने पनि आउलान् । लोकतन्त्र बेठीक भन्ने पनि आउलान् ।
सबै किसिमको मान्छेहरु भएपछि पार्टी खिचडी जस्तो हुन्छ कि भन्ने चिन्ता पनि छ । तर हामी पार्टीको आधिकारिक धारणामा सबैलाई कन्भिन्स गर्छौं, सबैलाई मिलाएर लान्छौं । नानाथरिको विचारबाट आए पनि यहाँ काम गरिसकेपछि एक किसिमको छुट्टै राष्ट्रवादी भावना जाग्छ ।
नेपालमा एक जना लोकप्रिय व्यक्तिको नाममा पार्टी खोल्ने र उसको लोकप्रियताको आधारमा पार्टी बनाउने चलन चलेको छ, हिजो रवि लामिछानेको लोकप्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टी बनेको थियो, आज हर्क साम्पाङको नाममा पनि त्यसरी नै पार्टी खोलिएको हो ?
हर्क साम्पाङको श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै फरक छ । हामीले व्यक्ति केन्द्रित पार्टी बनाउन खोजेको होइन, अहिले हर्क साम्पाङको एउटा लोकप्रियता छ, तर हामीले यो लामो समय रहने पार्टी बनाएको हो ।
हर्क साम्पाङ आफैंले पनि म एक्लैले देश बनाउने होइन, मैले त मेरो भागको मात्र बनाउने हो भन्नुभएको छ । देश बनाउने त ३ करोड नेपालीको ६ करोड हातले बनाउने हो भन्ने उहाँको भनाइ छ । एउटा मान्छेको त निश्चित आयु हुन्छ, तर पार्टीहरु भने सयौं वर्षसम्म चल्नुपर्छ ।
अहिले तपाईहरु हर्कपथ, हर्क युग भन्न थालिसक्नुभएको छ, यो त व्यक्तिकेन्द्रित प्रवृत्ति भएन र ?
स्वीकार गरे पनि नगरे पनि हर्क युग सुरु भयो । हर्कपथले हरेक नेपालीलाई श्रम गर, देशलाई स्वाधीन बनाऊ, देशलाई पुरानोतिर नफर्काउ भन्छ । त्यस्तै स्वदेशी बस्तु उत्पादन गर, स्वदेशी बस्तु प्रयोग गर भन्नु हर्क पथ हो । देश बन्छ भने हामी यत्ति कुरा स्वीकार्दिनु के ठूलो कुरा हो र ?
शासकीय स्वरुप, संघीयता जस्ता विषयमा तपाईहरुको पार्टीको धारणा के हो ?
हामी प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा छौं । त्यसका अनेक मोडल हुन सक्छ, त्यसमा हामी छलफल गर्न तयार छौं । तर देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ । अनि हामी संघीयताको पक्षमा छौं ।
धेरै मान्छेले संघीयता खर्चिलो भयो भन्नुहुन्छ, तर संघीयताले हाम्रो जस्तो देशमा धेरै ठूलो काम गरेको छ । १५ वर्ष अगाडि मेरो गाउँमा नुन, तेल, चामल पुग्न गाह्रो थियो । बिरामीले सिटामोल पाउँदैनथे । अहिले त्यो सुविधा त हामीले पाएका छौं । यो संघीयताले गर्दा भएको हो ।
हाम्रो देशमा संघीयता किन चाहिन्छ भने जातीय, भाषिक र धार्मिक रुपमा प्रतिनिधित्व सुनिश्चित गर्न पनि संघीयता चाहिन्छ, छिटो छरितो विकासका लागि पनि संघीयता चाहिन्छ ।
संघीय प्रणालीभित्र केही सुधार गर्नुपर्ने कुराहरु पनि छन् । सांसद घटाउनुपर्ने होला, मन्त्री घटाउनुपर्ने होला । केही काम भएको छैन, ३ करोडको गाडी चढेर हिँड्छन्, त्यसमा सुधार गर्नुपर्यो । अनि अर्को कुरा जिल्लाको काम नै छैन, त्यसलाई खारेज गरौं ।
धेरैको चाहना चाहिँ काठमाडौंको मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङहरु एउटै पार्टीमा आउन् भन्ने थियो, तर त्यो किन सम्भव भएन ?
राजनीतिमा स्थायी मित्र र स्थायी दुश्मन कोही पनि हुँदैन । अर्को कुरा, हर्क साम्पाङले कहिले मिल्दिन भन्नुभयो ? पटक पटक काठमाडौँ आएर बालेन शाहलाई भेट्नुभयो । तर बालेन शाह हर्क साम्पाङ भेट्न कहिल्यै जानुभयो ? हर्क साम्पाङले कुलमानलाई पनि भेट्नुभयो, तर उहाँ हर्क साम्पाङलाई भेट्न कहिल्यै धरान जानुभयो ?
हर्क साम्पाङले धेरै पहल गर्नुभयो, तर अहिले एकै ठाउँमा आउन सम्भव भएन, भोलि विचार मिल्नेहरुबीच सहकार्य र मोर्चाबन्दी हुन सक्छ । हक साम्पाङ सधैं एकताको पक्षमा हुनुहुन्छ ।
पार्टी खोलौं भन्ने हर्क साम्पाङको प्रस्तावमा बालेन शाहको जवाफ के थियो ?
अहिले किन हतारिने, नआत्तिऔं भन्ने खालको थियो ।
अनि पार्टी गठन गर्न निर्वाचन आयोग जाने बेलामा छलफल भएन ?
ठ्याक्कै निर्वाचन आयोग जाने समयमा त छलफल भएन, त्यसको आसपासमा थुप्रै छलफल भएको छ । उहाँहरु पनि विस्तारै आउनुहुन्छ होला, तयारी गर्दै हुनुहोला ।
अनि कुलमान घिसिङले के भन्नुभयो ?
कुलमान दाइसँग २ पटक बसियो । उहासँग लामो कुरा भएकै हो । सँगै सहकार्य गरेर जाऔं भनेको हो, फेरि उहाँले उज्यालो नेपाल अभियान सुरु गर्नुभयो ।
अस्तिको जेन्जी आन्दोलन पछाडि कुलमान दाजु पनि मन्त्रालयतिर जानुभयो, हामी सत्ता बाहिर भयौं ।
अब बालेन र कुलमानसँग सहकार्यको सम्भावना सकिएको हो ?
भोलि उहाँहरुले पार्टी खोल्नुभयो भने वा नखोलेर श्रम संस्कृति पार्टीमा आउँछु भन्नुभएछ भने ठीक छ । होइन मोर्चाबन्दी गरेर जाऔं भने पनि ठीक छ । मिलेर जाने धेरै बाटाहरु छन् ।
'चुनाव जितेर सत्तामा गइहालौं भनेर पार्टी खोलेको होइन'
'०४६ पछि राज्यकोषको ठूलो पैसा राजनीतिक क्षेत्रमा गएको छ, छानबिन हुनुपर्छ'
'म भुइँमान्छेको कथा लेख्छु, तर राजनीतिसँग ठोक्किहाल्छ'
'आउने चुनावलाई जनमत संग्रहका रुपमा प्रयोग गरौं'

-1761836913.jpg)







