नेभिगेशन
एक्सप्लेनर भिडियो
स्थलगत

चोभार गल्छीको जग खोतल्दैछ सरकार, भविष्यमा पहिरो झरे के हुन्छ ?

सरकारले काठमाडौं उपत्यका भित्र बाढी बढेको भन्दै चोभारको गल्छी खोल्ने योजना बनाएको  छ । काठमाडौंको पानी निस्किने एकमात्रै यो गल्छीका ५ वटा ठूला ढुंगा हटाउन सेनालाई जिम्मा पनि दिएको छ ।  

काठमाडौंको कीर्तिपुर–६ र ललितपुरमा १८मा पर्ने यो गल्छीमा वर्षायाम अगावै काम सुरु हुने भनिएको  छ । तर, न चोभार गल्छी किन र कसरी खोल्ने अनि खोलेपछि के हुन्छ भन्नेबारे सामान्य अध्ययन भएको छ, न स्थानीय र सरोकारवालासँग कुनै छलफल भएको छ । 

सिंहदरबारभित्र बैठक बसेर गल्छीका ढुंगा हटाउने निर्णय भएको छ । जुन आत्मघाती हुने भन्दै स्थानीय, सम्पदा अभियान्ता, विज्ञ र सरोकारवालला सबैले विरोध गरिरहेका छन् । 

तलाउका रुपमा रहेको काठमाडौं उपत्यकामा मञ्जुश्रीले खड्गले काटेर यही गल्छीलाई खोलेपछि पानी बाहिर निस्किएपछि मानव सभ्यता विकास भएको जनविश्वास छ । त्यसैले यो गल्छी प्राकृतिक रुपमा मात्रै हैन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ । 

सरकारले काठमाडौंलाई बाढीबाट जोगाउन भनेर गल्छी चलाउन खोजेको भएपनि स्थानीयहरु गल्छीका कारण काठमाडौंभित्र बढी बढेको मान्दैनन् । उनीहरुको भनाइ छ, काठमाडौंमा खोलामाथि घर बनेको हो, खोला घर पसेको हैन । बाढी बढेको मान्छेका कारण हो, गल्छीका कारण हैन । 

उनीहरुको स्पष्ट कुरा छ, चोभार गल्छी खोलेर बाग्मती, विष्णुमती र नख्खुको बाढी कम हुँदैन । त्यो कम गर्न पानीको बहाब क्षेत्र नै बढाउनुपर्छ । खोला मिचेर घर बनाइएका घर हटाउनुपर्छ । भूमिगत जल पुनर्भरणको योजना बनाएर काम गर्नुपर्छ । 

चोभार गल्छीमा यहाँ माटो र ग्रेग्रान थुप्रिएको छैन, अझै खुला गर्न गल्छीका ढुंगा नै निकाल्नु पर्छ  । स्थानीयहरुका अनुसार त्यसो गर्नु भनेको घरको जग निकाल्नु जस्तै हो । 
यसरी ढुंगा खोतल्दा भविष्यमा गल्छीमै पहिरो गएर बाग्मती थुनिन सक्छ । पानी निकासको बाटो बन्द भएर सिंगो काठमाडौंले कहिल्यै नसोचेको विपद भोग्नुपर्ने हुनसक्छ । 

स्थानीयबासिन्दाले सरकारले गर्न खोजेको काममा धेरै जोखिम देखेका छन् । तर, सरकार नख्खुका खोला छेउका हाउजिङ प्लप्टिङ डुबेको देखाएर  गल्छी खोतल्ने तयारीमा छ । 

यसका लागि वातावरणीय प्रभाव मूल्यांकन अनि स्थानीय सामाजिक प्रभावको अध्ययन समेत भएको छैन । चोभर गल्छीभित्र रहेका गुफाहरु, १०० थरीभन्दा बढी चराको वासस्थान, पानीका मुहान, जलविनायक मन्दिर, बासुककी नाग थान, आदिनाथ मन्दिर जस्ता प्राकृतिक, पुरातात्विक तथा धार्मिक सम्पदामा पर्ने असरहरुबारे पनि अध्ययन भएको छैन ।

सरकारको हचुवा निर्णयका विरुद्धमा अहिले स्थानीय एक ढिक्का छन् । उनीहरुको स्पष्ट कुरा छ, यो गल्छीका साँघुरो भएका कारण बाढी बढेको हुँदै होइन । यो खोल्दैमा बढीको जोखिम घट्ने पनि हैन । 
यो गल्छी सम्पदा मात्रै हैन, काठमाडौं उपत्यकाको सभ्यता जोगाइरहेको महत्वपूर्ण धरोहर हो । त्यसैले यसलाई छुन समेत नदिने स्थानीयको अडान छ । 

केही गरी सरकारले गल्छीलाई हचुवाका भरमा खोतल्ने गल्ती गरे त्यसको प्रतिरोध गर्ने उनीहरुको चेतावनी छ । यो भिडियोमा हामीले स्थानीयहरुको आवाज जस्ताको तस्तै राखेका छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो