नेभिगेशन
एक्सप्लेनर भिडियो

स्पष्टीकरण माधव नेपालसँग सोध्ने कि रामकुमारीसँग ?

एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालबारे बोलेको विषयलाई लिएर स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।

उपमहासचिव एवं कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अनुशासन आयोगले पार्टी नीति विपरीत किन बोलेको भनेर सोधेको छ, र ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । 

स्थायी कमिटी सदस्य झाँक्रीले पार्टीकै एक कार्यक्रममा असार १५ मा बोलेको विषय पार्टी नीति विपरीत भनिएको हो । 

उनले के बोलेकी थिइन् त ? यो जान्नु अगाडि किन त्यसो बोलिन् भन्ने बुझ्न जरुरी छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध जेठ २२ गते नै भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

प्रधानमन्त्री भएका बेला २०६६ मा पतञ्जलीको जग्गा सट्टा पट्टाको निर्णयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता भएसँगै नेता नेपालको सांसद पद स्वतः निलम्बनमा पर्‍यो । 

भ्रष्टाचारकै मुद्दा लागेर निलम्बनमा परेपछि नेताहरुले अध्यक्ष र संसदीय दल पद छाड्न सुझाएका थिए । नेताहरुले राजीनामा माग गर्छन् भन्ने बुझेपछि नेपालले भने पार्टीको बैठक नै बोलाएनन् । 
०६४ सालको जस्तो गल्ती गर्दिन भन्दै संसदीय दल र अध्यक्ष दुबै पद नछाड्ने प्रष्ट सन्देश दिए । 

०६४ मा पहिलो संविधानसभा चुनावमा एमालेले नराम्रो हार व्यहोर्‍यो । त्यसबेला एमालेको महासचिव थिए नेपाल । चुनावी हारको जिम्मेवारी लिँदै महासचिव पदबाट राजीनामा दिए । 

तर त्यसपछि उनी कहिल्यै एमालेको नेतृत्वमा फर्किन सकेनन् । एमालेको आठौं महाधिवेशनमा उनको प्यानलका धेरै पदाधिकारीले चुनाव जित्दा नेपाल भने अध्यक्षमा हार्न पुगेका थिए ।  

नेपालले २०७८ भदौमा एमाले फुटाएर आफ्नै नेतृत्वमा एकीकृत समाजवादी बनाए । गत वर्ष भएको महाधिवेशनबाट उनले निकै ठूलो सकस व्यहोरे । हलबाट अध्यक्ष चुन्न आँट नभएपछि नेताहरुको गठजोड दिलाए र सर्वसम्मत अध्यक्ष बने । अब अहिले पद छाड्ने हो भने फेरि शक्तिमा फर्किन सकिन्न भन्ने उनले प्रष्ट बुझेका छन् । त्यसैले बैठक नै राखेनन् । 

नेताहरुले पनि अदालतको प्रारम्भिक सुनुवाइ नहुँदासम्म धेरै दबाव दिएनन् । असार ११ गते नेता नेपाल विशेष अदालतमा हाजिर भए । अदालतले निर्दोष हो भन्ने अवस्था नरहेको भन्दै ३५ लाख धरौटीमा माग्यो । पूर्वप्रधानमन्त्री नेपाल बैंक ग्यारेन्टी बुझाएर आधा रातमा छुटे । 

अनि, त्यसको दुई दिनपछि सचिवालय बैठक राखेर भ्रष्टाचारको मुद्दालाई षड्यन्त्रको श्रृङ्खला हो भन्ने निर्णय गराए । बैठकपछि पदाधिकारीहरुले खुलेआम रुपमा अब माधवकुमार नेपालले अध्यक्ष र संसदीय दलको नेता दुबै पद छाड्नु हुन्न भनेर बताउन थाले । 

यो पृष्ठभूमिमा रामकुमारीले बोलेकी हुन् । १५ गते युवा संघको लुम्बिनी प्रदेश भेलामा उनले के भनेकी थिइन्, एक पटक सुनौं । 

निकै भाइरल भएको यो भिडियोमा उनले तीन वटा कुरा भनेकी छन् । पहिलो, पार्टी र नेतृत्वमा संकट आयो । 

पार्टीको मूल नेता भनेको अध्यक्ष हो । अध्यक्षमाथि नै भ्रष्टाचारको मुद्दा लागेपछि संकट आएकै हो । 

दोस्रो, संकटको समाधान छ । त्यो भनेको अर्ली महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने वा केन्द्रीय सदस्यहरुको मतदानबाट नयाँ अध्यक्ष चुन्ने हो । 

तेस्रो, दुई विकल्पमध्ये आफ्नो रोजाई भनेको अर्ली महाधिवेशन गर्ने र हलबाट नेतृत्व चयन गर्ने हो । किनकी मनोनितहरुबाट नेतृत्व चुन्ने हो भने पार्टी बन्न सक्दैन भन्ने उनलाई लाग्छ । 

उनले यसो किन भनेकी हुन् भने गत वर्ष भएको एकीकृत समाजवादीको महाधिवेशनमा नेतृत्व छनोट प्रक्रिया भद्रगोल थियो । 

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकार नै प्रयोग गर्न पाएनन् । नेताहरु बसेर अध्यक्ष र महासचिव सर्वसम्मत घोषणा गरे । उनीहरुसहित केही नेताहरु बसेर केन्द्रीय सदस्यहरुको सूची बनाए । अनि, मनोनित केन्द्रीय सदस्यले पदाधिकारी चयन गरे ।

यसरी नेताहरु बसेर सीमित मतदाता तोक्ने र उनीहरुको भोटबाट आफ्नो अनुकुल पदाधिकारी छनोट गर्ने होइन, महाधिवेशन प्रतिनिधिहरुको मतबाट नेतृत्व चुन्नुपर्छ, भन्ने रामकुमारीको मत देखिन्छ । 

उनले भनेको यत्ति हो । रामकुमारीले के चाहिँ गलत भनिन् ? हालै भएको एउटा अध्ययनले भन्छ कि धेरै नागरिक राजनीतिक दलका नेताहरुले भ्रष्टाचारीलाई संरक्षण गर्छन् भन्ने ठान्छन् । 

सरकार वा शक्तिमा हुँदा निकटलाई जोगाउँछन्, भ्रष्टाचारका ठूला प्रकरणहरुमा दलहरुबीच मिलोमतो जस्तै हुने गरेको भन्ने धेरैलाई लागेको छ । त्यही कारण राजनीतिक दलप्रति नागरिकमा कम विश्वास छ । 

अनि, भ्रष्टाचारको मुद्दा खोपेको र प्रारम्भिक सुनुवाइ अदालतले समेत निर्दोष हो भन्ने नमिल्ने भएकाले ३५ लाख रुपैयाँ धरौटी मागेको व्यक्तिलाई अध्यक्ष नराखौं भन्दा के गलत भयो त ? 

नेताहरु पनि यसमा धेरै विमती राख्न सक्दैनन् । तर जिम्मेवार नेताले कहाँ बोल्ने ? कस्तो शब्द बोल्ने भन्ने ख्याल गर्नुपर्छ भन्छन् । कस्तो बोल्ने भनेर ‘अब काँधमाथि मरेको सिनो हालेर हिड्न सकिँदैन’ भन्ने रामकुमारीको शब्दतिर संकेत गरेका हुन् । 

तपाईंलाई वात्स्यायनको एउटा कार्टुन याद त ? तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तामा हातमा लिएपछि दलहरु गणतन्त्रको पक्षमा उभिए । कांग्रेसका युवा नेताहरु गणतन्त्रको पक्षमा थिए । तर कांग्रेसले विधानबाट संवैधानिक राजतन्त्र हटाएको थिएन । सभापति गिरिजाप्रसाद कोइराला नै दोधारमा थिए । 

त्यही सन्दर्भमा कार्टुनिस्ट वात्स्यायनले गिरिजाप्रसाद कोइरालाले मरेको घोडा काँधमा बोकेर हिँडेको देखाएका छन् । मरेको घोडा भनेर उनले संवैधानिक राजतन्त्रलाई भनेका हुन् । 

रामकुमारीले पनि आफ्नो भाषणमा मरेको सिनो भन्ने शब्द लाक्षणिक रुपमा प्रयोग गरेको देखिन्छ । उनले माधव नेपाललाई नाम किटेर मरेको सिनो भन्न शब्द प्रयोग गरेकी छैनन् । त्यही आधारमा उनलाई स्पष्टीकरण सोध्नु आफैंमा लाजमर्दो हो । 

यो प्रकरणमा भ्रष्टाचारको मुद्दा लाग्नासाथ त माधव नेपालले आफैं राजीनामा दिनुपथ्र्यो । तर उनले राजीनामा दिएनन् । त्यसपछि एकीकृत समाजवादीले तपाईँलाई पदबाट किन नहटाउने भनेर माधव नेपाललाई सोध्नुपर्थ्यो । तर उल्टो बाटो रोज्यो । 

भ्रष्टाचारको अभियोग लागेको व्यक्तिलाई अध्यक्ष राख्न हुन्न भन्दा स्पष्टीकरण सोधेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो