विनोद चौधरीसँग किन रिसाए शेखर कोइराला ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा डा. शेखर कोइराला र विनोद चौधरीबीच सवाल जवाफ भयो । यसको कारण हुन् कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल ।
पार्टी कार्यालय, सानेपामा असार १६ गतेदेखि कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ । बैठकको पहिलो दिन नै डा. शेखर कोइराला बोले । लिखित सम्बोधन गरेका उनले विनोद चौधरीमाथि पनि प्रश्न उठाए ।
खासगरी चौधरीको केन्द्रीय सदस्य बन्न योग्यता थियो कि थिएन ? भनेर उनले प्रश्न गरेका थिए । चौधरीले त्यसको जवाफ असार १७ गते दिए ।
कांग्रेसमा केन्द्रीय सदस्य बन्न क्रियाशील सदस्य भएको १० वर्ष पूरा भएको हुनुपर्छ । १० वर्ष नपुगेकै कारण कुनै समय गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई केन्द्रीय सदस्यको चुनाव लड्न नदिएको स्मरण गर्दै उनले सभापति शेरबहादुर देउवालाई चौधरीबारे प्रश्न गरे, ‘क्रियाशीलको १० वर्षे अवधि पुग्यो ?
पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सांसद बनेका चौधरी २०७४ मा कांग्रेस प्रवेश गरेका थिए । त्यही वर्ष समानुपातिकतर्फबाट सांसद बनेका उनले ०७८ मा भएको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मधेशी कोटामा प्रतिस्पर्धा गरे । र, चुनाव जिते । चार वर्ष एउटै कमिटीमा बस्दा डा. शेखरले कहिल्यै अर्बपति व्यापारी चौधरीको योग्यतामा प्रश्न उठाएनन् ।
तर कार्यकाल सकिने बेलामा प्रश्न गरेपछि चौधरीले प्रतिवाद गरे । मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा उनले आफू विधि र विधानअनुसार निर्वाचित भएर आएको बताए । अनि, डा. शेखरमाथि सीमा नाघेर गुटको राजनीति गरेको आरोप लगाए ।
दुई नेता यसरी सवाल जवाफमा उत्रिने परिस्थिति भने तेस्रो व्यक्तिका कारण आएको हो ।
उनी हुन्, कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाल । उनी पश्चिम नवलपरासीका हुन् ।
२०७९ को चुनावमा कांग्रेसबाट पश्चिम नवलपरासी १ मा विनोद चौधरी र २ मा देवेन्द्रराज कँडेल उम्मेदवार बने । लुम्बिनी प्रदेशका महामन्त्री खनालले भने प्रदेशमा समेत टिकट पाएनन् ।
अघिल्लो पटक खनाल लडेको निर्वाचन क्षेत्र १ को २ मा विश्वप्रेम पाठक उम्मेदवार बने । जिल्लामा कांग्रेसका अरु उम्मेदवारले चुनाव जिते, तर कँडेल, राप्रपाका ध्रुवबहादुर प्रधानसँग पराजित भए ।
चुनावपछि खनालविरुद्ध अनुशासन समितिमा उजुरी पर्यो । उजुरी दिनेमा चुनाव हारेका कँडेलदेखि चुनाव जित्ने चौधरीसम्म थिए । आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिले स्पष्टीकरण सोधेर खनालमाथि कारबाहीको तयारी गरेको थियो ।
यो केन्द्रीय कार्यसमितिको बैठकमा अनुशासन समितिको प्रतिवेदन पनि पेश गर्ने कार्यसूची थियो ।
त्यही कारण डा. शेखरले विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाएका हुन् । अनुशासन आयोगका सदस्यहरुमाथि समेत दर्जनौं प्रश्न गरे । समितिका सदस्यहरु कमजोर भएको, कारबाहीमा विभेद गरेको मात्र बताएनन्, अबका दिनमा केन्द्रीय समितिमा नभएका सिनियरहरु बस्नुपर्ने बताए ।
यसो भन्नुमा शेखरको स्वार्थ छ, ताकी लुम्बिनीका महामन्त्री खनाललाई कारबाहीबाट जोगाउन सकियोस् ।
खनाल, लुम्बिनीमा डा. शेखरका प्रमुख सारथि हुन् । १४औं महाधिवेशनमा प्रदेश सभापति अमर सिंह पुन र प्रदेश महामन्त्री खनाल दुबैले डा. शेखरलाई साथ दिएका थिए । तर पछिल्लो समय सभापति पुन, महामन्त्री गगन थापातिर ढल्किएका छन् । त्यसैले प्रदेशमा डा. शेखरका लागि खनालको उपस्थिति महत्वपूर्ण छ ।
महाधिवेशनको मुखमा उनलाई अनुशासनको कारबाही भयो भने आफूलाई अठ्यारो पर्छ भन्ने उनले बुझेका छन् । त्यसैले विरोध गरेका हुन् ।
तर यो कदमले उनलाई ब्याकफायर गर्ने देखिएको छ । भएछ के भने डा. शेखरले बोल्दा अनुशासन आयोगले खनालबारे केही निर्णय गरिसकेको थिएन । ६ महिनाका लागि निलम्बन गर्ने छलफल चलिरहेको थियो । नेताहरु त्यसलाई टार्ने कोशिसमा थिए ।
तर डा. शेखरले प्रश्न उठाएपछि अनुशासन समितिका सदस्यहरु रुष्ट बनेका छन् । लगत्तै समितिको बैठक बस्यो र बहुमतले लुम्बिनी प्रदेशका महामन्त्री खनाललाई एक वर्षका लागि निस्कासन गर्ने निर्णय गरेको छ ।
अनुसासन समितिका संयोजक आनन्द ढुंगानाले के निर्णय भएको छ भनेर त खुलाउन चाहेनन् । तर लगभग निर्णय भएको र सही गर्न मात्र बाँकी रहेको बताए । उनले भने, ‘सम्भवतः, आइतबार वा सोमबार प्रतिवेदन पेश गर्छु, अनि भनौंला ।’
एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवालाई मनाएर कारबाही रोक्ने प्रयत्न पनि भइरहेको छ ।
तर देउवाले रोकेनन् भने लुम्बिनी प्रदेशका महामन्त्री खनाल एक वर्षका लागि निष्कासनमा पर्नेछन्, जुन १५ औं महाधिवेशनको तयारीमा रहेका कोइरालाका लागि पनि धक्का हुनेछ ।
किनकी अनुशासन समितिले निर्णय गरेपछि फाइनल सरह हुन्छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने मात्र हो, त्यसलाई उल्टाउन सक्दैन ।

कुलिङ अफ पिरियडको छलछाम छानबिन गर्न समिति गठन

सुनिताले भेटिन् बालेन, भन्छिन्–गुरागाईंलाई बाहिर राखेर बैठक हुँदैन

कुलिङ पिरियडबारे छानबिन गर्न ७ सदस्यीय संसदीय समिति बन्ने

नेतृत्वमा नयाँ अनुहार हेर्न चाहन्छन् नागरिक
