नेभिगेशन
3 Minute

नाडा भर्सेस नाइमा, कुन अटो शो होला भव्य ?


गाडी वा बाइक किन्ने सोचमा हुनुहुन्छ ? केही दिन पर्खिनुस् । किनकी नेपालमा पहिलो पटक एकैसाथ २ वटा अटो शो हुनेवाला छ ।

अटो शोमा नेपालमा उपलब्ध सबैजसो सवारी ब्राण्डहरु सहभागी हुने भएकाले एउटै छानामुनी बुझ्न पाइन्छ । यसले तपाईँलाई कुन चाहिँ सवारी किन्ने भन्ने निर्णय गर्न सहज हुनेछ । अनि अफरहरु पनि हुने नै छ ।

नाइमा मोबिलिटी एक्स्पो

सुरुमा नाइमा अटो शोको कुरा गरौं ।

यसको आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) हो ।

यो संस्था स्थापना भएको ३ महिना मात्र भयो । यसको अध्यक्ष छिन् ऋतुसिंह वैद्य । यो नाडा अटोमोबिल्स एशोसिसन अफ नेपाल टुक्रिएर बनेको संस्था हो ।

नाइमाले आयोजना गर्ने अटो शोको नाम ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ राखिएको छ । यो अटो एक्स्प्रो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुनेछ ।

नाइमामा ४८ ब्राण्डले भाग लिँदै छन् । २१ वटा चारपाँग्रे सवारी र १८ वटा दुईपाँग्रे सवारी ब्राण्डले पनि नाइमा रोजेका छन् । ९ वटा कमर्सियल भेहिकल ब्राण्ड पनि नाइमामा हुनेछन् ।

नाइमामा फोरथिङ, बीवाइडी, सिट्रोन, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागेन र जीकर ब्राण्डका चारपांग्रे सवारी सहभागी हुँदैछन् । 

नाइमामा सहभागी हुने दुई पांग्रे ब्राण्डको सूची झन् लामो छ । बजाज, बेनेली, सीएफ मोटो, एम्पियर, एथर, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे, नाइनबोट, सुजुकी, ट्राइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।

चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलङ र सनलङ ब्राण्डका कमर्सियल सवारी पनि नाइमामा राखिनेछ ।

नाइमामा कुल ४८ वटा स्टलहरु हुनेछन् ।

नाडा अटो शो

नाइमा अटो शो सकिएको दुई हप्तापछि भृकुटीमण्डपमै हुनेछ, नाडा अटो शो–२०२५ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल यसको आयोजक हुनेछ । यो संस्थाले १८ वर्ष देखि अटो शो गर्दै आएको छ ।

यो भदौ ३ गतेदेखि ८ गतेसम्म चल्नेछ । कुल ३५ ब्राण्ड सहभागी हुँदैछन् । नाडामा १८ वटा चारपांग्रे र ४ वटा दुईपांग्रे सवारी ब्राण्डहरु सहभागी हुने छन् । १३ वटा कमर्सियल सवारी ब्राण्ड पनि नाडामा हुनेछन् ।

नाडामा डीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएमडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल र जिनपेङ ब्राण्डका चार पांग्रे गाडीहरु सहभागी हुने तय छ ।

हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा बाइक ब्राण्डहरु नाडामा हुनेछन् । न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी, किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेई–नाभेको र सनलङ ब्राण्डका कमर्सियल भेहिकल पनि नाडामा राखिनेछ । नाडामा कूल ७५ वटा स्टल रहने छन् ।

रोचक पक्ष के छ भने ७ वटा सवारी ब्राण्डहरु नाडा र नाइमा दुबै मेलामा सहभागी हुनेछन् । बीवाइडी, एलएस अटो, रोयल इनफिल्ड, डोङफेङ, सनलङ, किङलङ र कामा ब्राण्ड दुवै अटो शोमा सहभागी हुने छन् ।

दुई अटो शो बीचको तुलना झन् रोचक छ । नाडामा २७ वटा बढी स्टल छन् । नाडामा टायर, स्पेयर्स पार्ट्सदेखि लुब्रिकेन्ट, बैंक, बीमासम्मका स्टल पनि हुनेछन् ।

स्टल थोरै भएपनि नाइमामा नाडामा भन्दा १३ वटा बढी सवारी ब्राण्डहरु सहभागी हुनेछन् । नाइमामा नाडाका तुलनामा दुई पांग्रे सवारीको ब्राण्डहरु ४ गुणा बढी सहभागी हुँदैछन् । ब्राण्डहरुको सहभागितालाई हेर्दा नाइमा नाडाभन्दा पनि ठूलो अटो एक्स्पो हुनसक्ने देखिएको छ ।

तर नाडा र नाइमा दुबै सवारीहरु प्रदर्शन र प्रर्वद्धन मेला हुन् । उठाउने होइन त यसको लाभ ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute