महत्वपूर्ण खेल अगाडि प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स किन ?

एएफसी वुमेन्स एसियन कप छनोटमा नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्नुपर्ने थियो । नेपाली समय अनुसार राति ९ः१५ मा खेल थियो । विहान ११ बजेतिर भिडियो कन्फ्रेन्स भयो ।
उज्वेकिस्तानमा रहेका खेलाडी र प्रशिक्षकलाई एउटै कोठामा भेला पारियो । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईहरु भिडियो कन्फ्रेन्समा जोडिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसक्रममा उनले जितका लागि शुभकामना दिए ।
नेपालका मन्त्री, प्रधानमन्त्रीहरुले महत्वपूर्ण खेलको समयमा चासो दिने गरेका छन् । यो पटक पनि उज्वेकिस्तानलाई हराएको भए नेपालले पहिलो पटक एसिया कप खेल्न पाउने थियो ।
त्यसैले प्रधानमन्त्री ओली शुभकामना दिन भिडियो कन्फ्रेन्समै जोडिएका थिए । तर यस्ता गतिविधिले खेलाडीहरुलाई हौसलाभन्दा बढी दबाव दिने गरेको देखिएको छ ।
नेपाली महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले त भिडियो कन्फ्रेन्स खेलाडीहरुको फाइदाका लागि नभएको टिप्पणी गरेका छन् ।
बेल्जियमका वाइल्ड यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनलाई कहिल्यै ठूला खेलहरुमा यसरी भिडियो कन्फ्रेन्स गरेको थाहा थिएन । नेपालको शैलीले अनौठो लाग्यो ।
उनले उज्वेकिस्तानी अफिसियललाई सोधेछन्, तिमीहरुलाई आफ्नो देशको राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । अन्तराष्ट्रिय फुटबलमा पनि उनले यस्तो गरेको देखेका थिएनन् ।
त्यसैले प्रशिक्षक वाइल्डले भनेका छन्, ‘यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरुको फाइदाका लागि भएको थियो ।’
उनको प्रश्न किन पनि जायज छ भने अघिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकाल्दा बधाइ समेत दिएका थिएनन् ।
आफूभन्दा निकै बलियो प्रतिस्पर्धीसँग खेल्नु अगाडि चाहिँ भिडियो कन्फ्रेन्स गरी गरी जितका लागि शुभकामना दिइएको थियो ।
अनि, त्यो खेल हारेपछि कसैले सम्झिएनन् । जबकी नेपाली महिला टोलीले त्यो दिन उत्कृष्ट खेलेको हो । विश्व वरियतामा ५१औं स्थानमा रहेको उज्वेकिस्तानसंग ३–१ को अवस्थामा रहेको खेल उल्टाएर नेपालले टाइब्रेकरमा पुर्याएको थियो ।
टाइब्रेकर भनेको जहिले पनि ५०–५० हो । ठूला भनिएका टिमहरु पनि अभागी सावित हुनसक्छन् । शनिबार नेपालको दिन थिएन, हार्न पुग्यो । तर खेल अगाडि जितको शुभकामनाका नाममा खेलाडीहरुलाई दबाव दिनेहरु हारपछि सान्त्वना दिन भने आवश्यक ठानेनन् । भिडियो कन्फ्रेन्स गरेनन् ।
यतिले मात्र उनी यो निष्कर्षमा पुगेका हुन् भन्ने चाहिँ होइन । वाइल्ड, एक महिना अगाडि मात्र महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर एक महिनाको अनुभव सुखद रहेन ।
फुटबलमा सामान्य जस्तो भइसकेको जीपीए, क्यामरा लगायतका प्रविधि थिएन । खेलाडीहरुको खाने बस्ने समेत राम्रो प्रबन्ध भएन । खेलाडीहरुलाई होस्टल जस्तो होटलमा राखिएको थियो । कतिसम्म भने उनले प्रशिक्षणका लागि समान्य किट्सहरु मागे, कुनै जवाफ पाएनन् । बरु खेल भएको दिन प्राविधिक प्रमुखले भनिदिए, धेरै चिन्ता नगर्नू, आफूले सक्दो गर्नु ।
अनि कप्तान कसलाई बनाउने भन्ने विषयमा समेत विवाद भयो । महिनादिनभन्दा छोटो अवधिमा अखिल नेपाल फुटबल संघ एन्फाको अव्यवस्थाबाट बाक्क भएका प्रशिक्षक वाइल्ड महिला फुटबलरहरुबाट भने निकै प्रभावित भएका छन् ।
साबित्रालाई नेपालले अहिलेसम्म पाएको सवभन्दा उत्कृष्ट खेलाडी मान्छन् । गीता राना, प्रिति राई र सरस्वती हमालको नाम नै लिएर तारिफ गरेका छन् । उनले कान्तिपुर दैनिकलाई दिएको अन्तरवार्तामा त यतिसम्म भनेका छन् कि म नेपाल फर्किन चाहन्छु, केबल खेलाडीका लागि मात्र ।
त्यसका लागि एन्फामा सुधार हुनुपर्ने उनको शर्त छ । अब हेर्न बाँकी छ, एन्फाले सुधारको प्रत्यत्न गर्छ कि तितो यर्थाथ बोल्ने प्याट्रिक डे वाइल्डलाई गलत देखाएर बस्छ ?

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
