बाढीले १० वर्ष अघि फर्काइदिएको केरुङ नाका
मंगलबार विहानको बाढीले रसुवागढी नाकालाई तहसनहस बनायो । नेपालको रसुवागढी र चीनको केरुङ जोड्ने मितेरी पुल नै बाढीले बगाइदियो ।
रसुवाको टिमुरेमा रहेको सुख्खा बन्दरगाहमा बाढी पस्यो र भन्सार जाँच पासका लागि राखिएका कयौं गाडीहरु बगाए । नदी किनारमा बनिरहेको बन्दरगाह बाढी पसेपछि क्षतविक्षत भएको छ ।
यो बाढीले नेपाल–चीनबीचको व्यापारको मुख्य नाका केरुङलाई अनिश्चितकालका लागि ठप्प बनाइदिएको छ । नेपाल–चीनबीचको व्यापारको मूल कडी नै भाँचिदिएको छ ।
रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ८० अर्ब ९१ करोड रुपैयाँको सामान आयात भएको छ । चीनसँगकै अर्को नाका सिन्धुपाल्चोकको तातोपानीबाट ४६ अर्ब ८९ करोडको मात्रै आयात भएको छ । यसको अर्थ हो, तातोपानी भन्दा केरुङ नाका धेरै चलनचल्तीमा छ ।
रसुवागढी भन्सार कार्यालय अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार रसुवागढी नाका १० वर्ष अगाडिकै अवस्थामा पुगेको छ । चीनबाट हुने विद्युतीय गाडीदेखि लत्ताकपडा, फलफूल, इलेक्ट्रोनिक्स समानसहित कयौं दैनिक उपभोग्य वस्तुहरुको आयात पनि प्रभावित भएको छ । यसले नेपालको सप्लाइ चेनमै असर पर्ने अवस्था ल्याएको छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार टिमुरेमा सुख्खा बन्दरगाह निर्माणकै चरणमा थियो, ८१ प्रतिशत मात्र काम सकिएको थियो । तर, अहिले बाढी पसेपछि बन्दरगाहमा ठूलो क्षति पुगेको छ ।
यो परिघटनाका कारण चीनसँगको व्यापारमा केरुङ नाका प्रयोग गरिरहेकाहरु फेरि एकपटक तातोपानी नाकमै भर पर्नुपर्ने अवस्थामा पुगेका छन् । तातोपानी नाका पुनर्जीवन पाउने चरणमा रहँदा केरुङ नाकाले नसोचेको क्षति ब्यहोरेको छ ।
तातोपानीको पतन र केरुङको उदय
२०७२ सालसम्म केरुङ नाकामा खासै चहलपहल थिएन । त्यतिबेला नाकाबाट नेपाली र चिनियाँ नागरिक वैधानिक राहदानी र भिसा लिएर वारिपारि गर्न पाउँथे ।
रसुवागढी–केरुङ नाका औपचारिक रुपमा २०७१ मंसिर १५ गते खुलेको थियो । चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक तथा भन्सार पूर्वाधार तयार पारेपछि केरुङ नाका भव्य संरचनासहित खुलेको थियो ।
२०७२ वैशाखमा भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाकामा ठूलो क्षति पुर्यायो । नेपाल चीन जोड्ने मितेरी पुलमै क्षति पुग्यो र चीनतर्फको खासा बजार पनि प्रभावित भयो ।
त्यसैवर्ष भोटेकोशीमा आएको भीषण बाढी पछि त तातोपानी नाका सुक्यो नै भन्दा पनि हुन्छ । भूकम्पपछि तातोपानी बजारको मितेरी पुल भन्दापारि रहेको बस्ती र बजार नै चीनले स्थानान्तरण गर्यो ।
यसपछि त सधैं गुल्जार रहने तातोपानी नाका लगभग सुनसान नै बन्न पुग्यो । तातोपानी जाने सडकमार्गमा वर्षैसाल बाढी र पहिरोले क्षति गरिराख्छ । त्यसैले तातोपानी नाका चीनसँगको व्यापारमा दोस्रो विकल्प बन्न पुगेको छ ।
भूकम्पपछि चीनले पनि तातोपानी नाकालाई खासै प्राथमिकता राखेन । बरु चीनले पनि रसुवाको रसुवागढी नाकालाई नै बढी महत्व दिन थाल्यो ।
तर, केरुङ बजार नजिककै यो नाकामा चीनले २०७२ अघि नै भन्सार पूर्वाधारहरु बनाइसकेकाले चीनले यसलाई बढी उपयोग गर्ने नीति लियो । नयाँ मितेरी पुल बनेर सञ्चालनमा आइसकेको थियो । नेपालतर्फ भने धेरै पूर्वाधार बनाउन बाँकी नै थियो ।
त्यसैले धेरैले चीनबाट सामान ल्याउन केरुङ नाका रोजेका थिएनन् । त्यसको मुख्य कारण थियो, काठमाडौं तातोपानीभन्दा केरुङ दूरीका हिसावले पनि टाढा पर्छ । केरुङ नाकासम्म जाने बाटो पनि गतिलो छैन । त्यसैले तातोपानीको विकल्प केरुङ बन्ने अवस्था नै थिएन ।
तर तातोपानी नाकामा बढ्दो तिब्बती गतिविधिलाई ध्यानमा राख्दै चीनले केरुङलाई नेपालसँगको प्रमुख नाकाका रुपमा अघि सारेको थियो ।
२०७२ सालको भूकम्पपछि चीनसँग केरुङ निर्विकल्प नाका बन्यो । संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा चीनले अनुदानमा दिएको पेट्रोल समेत केरुङ नाकाबाटै ल्याइएको थियो ।
तातोपानी नाका चीनको समेत प्राथमिकतामा नपरेपछि केरुङ नाका भएर चीनबाट सामान आयात हुन थाले । तर, बाटोको अवस्था बेहाल थियो ।
उकालो–ओरालो, साँघुरो र घुम्तीयुक्त सडकमा ठाउँ ठाउँमा पहिरो थियो । सडक बिग्रिएर ठूला खाल्डाहरु बनेका थिए । त्यसपछि सरकारले गल्छी–बेत्रावती–धुन्चे–स्याफ्रुबेशी–रसुवागढी सडक स्तरोन्नती गर्न ठेक्का लगायो । यो १२० किलोमिटरको सडक खण्डको विकल्प खोज्न थालियो ।
त्यसै क्रममा सरकारले स्याफ्रुबेसीदेखि मैलुङ हुँदै त्रिशुलीसम्म जोड्ने गरी नदी किनारबाटै ३१ किलोमिटरको नयाँ ट्रयाक खोल्ने निर्णय गर्यो । नेपाली सेनालाई जिम्मा दिएर यो ट्रयाक खोल्ने काम भयो । ट्रयाक खोलेलगत्तै सरकारले त्यसमा कालोपत्रे समेत गर्यो ।
यसले केरुङ नाकासम्मको यात्रा पहिले भन्दा सहज भयो । चीन सरकार आफैंले रसुवागढीदेखि स्याफ्रुबेसीसमम्को १६ किलोमिटर सडक स्तरोन्नती गर्न जिम्मा समेत लियो । कोरोनाकाल अघि काम सुरु गरिसकेको भए पनि महामारीपछि यो काम प्रभावित छ ।
२०७२ मा रसुवागढी नाकामा नेपालतर्फ भन्सार कार्यालय मात्रै खुलेको थियो । तर, चाप नभएकाले यहाँ कर्मचारी पनि थोरै थिए । कार्यालय सानो थियो । चीनतर्फ बन्दरगाह नै बनिसक्दा पनि नेपालतर्फ गाडी पार्क समेत बाटैमा गर्नुपर्ने अवस्था थियो । नेपाल सरकारले पूर्वाधार निर्माण गर्ने र जनशक्ति थप्ने काम पनि गर्न थाल्यो ।
सन् २०१७ को जुनमा नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीच यसलाई अन्तर्राष्ट्रिय नाका बनाउन सहमति भयो । २०७४ मा नेपाल र चीनले यो नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिए । यसपछि यो नाका भएर तेस्रो मुलुकका नागरिकसमेत आउजाउ गर्न मिल्ने भयो । सरकारले पनि केरुङमा अध्यागमनसहितका सेवाहरु विस्तार र स्तरोन्नती गर्यो ।
यसरी केरुङ नाकाले महत्व पाएपछि चीनले टिमुरेमा सुख्खा बन्दरगाह बनाइदिने भयो । त्रिशुली नदी किनारमै बन्दरगाह बनाउन काम थालियो ।
अनि चीन र नेपालका प्रस्तावित अन्तरदेशीय पूर्वाधार परियोजना पनि केरुङमै केन्द्रित भयो । प्रस्तावित केरुङ–काठमाडौं रेल परियोजना यही नाका भएर निर्माण गर्न अहिले विस्तृत अध्ययन भइरहेको छ ।
चीनसँग बन्न लागेको २२० केभीको अन्तरदेशीय प्रसारण लाइन समेत चिलिमेबाट केरुङसम्म प्रस्ताव गरिएको छ । अब केही समयभित्रै यसको निर्माण सुरु गर्ने तयारी छ ।
यति मात्रै होइन, चीन र काठमाडौं जोड्ने सुरुङमार्ग पनि यही नाका भएर प्रस्ताव गरिएको छ । प्रारम्भिक अध्ययनमा काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउसम्म एउटा सुरुङमार्ग बन्ने छ । यो करिब ४.२ किलोमिटरको हुनेछ । अझ लगानी बढाउने हो भने ५ किलोमिटरभन्दा लामो सुरुङ बनाएर सडकको दूरी घटाउन सकिने सडक विभागको प्रारम्भिक अध्ययनले देखाएको छ ।
टोखाबाट थानसिंह फाँट अनि त्रिशुली हुँदै रसुवासम्म बन्ने सुरुङसहितको सडक गल्छी–स्याफ्रुबेंसी खण्डमा जोड्ने योजना छ ।
प्रस्तावित यी सुरुङ र पहुँच मार्ग बनेपछि काठमाडौंबाट चीनको सीमासम्म मालबाहक सवारी पनि दुई घण्टामै पुग्न सक्नेछ । रसुवागढी र काठमाडौंको दूरी ८० किलोमिटर छोटो हुनेछ ।
यसरी नेपालको आपूर्ति व्यवस्थामा सुधार ल्याउन चीनसँगको मजबुत कनेक्टिभिटीका लागि केरुङ नाका महत्वपूर्ण छ । चीनले पनि रेलदेखि प्रसारण लाइनसम्मका योजनाहरु केरुङतर्फ केन्द्रित गरेर यो नाका नै भविष्य हो भन्ने स्पष्ट सन्देश दिएको थियो ।
तर एकाएक आएको बाढीले यस्तो महत्वपूर्ण नाकालाई फेरि एकपटक तहसनहस बनाइदिएको छ । विद्युतीय गाडीको आयातबाट विस्तारै अन्तर्राष्ट्रिय व्यापारमा ठूलो हिस्सा बनाउँदै लगेको केरुङ नाकालाई फेरि शून्यमा झारिदिएको छ ।
फेरि पनि सरकारले बलियो भएर केरुङ नाकालाई पुनर्जीवन दिन काम गर्नुपर्ने भएको छ । चीनतर्फ त्यहाँको सरकारले द्रूत ढंगले नै काम गर्छ भन्नेमा शंका छैन । अब नेपाल सरकारले पनि आपूर्ति व्यवस्थालाई चुस्त राख्न केरुङमा छिटो पुनर्निर्माणको काम थाल्नुपर्ने छ ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गुजुरेल बेलिब्रिज बनाएर भएपनि केरुङ नाका छिट्टै सञ्चालन हुनसक्ने बताउँछन् ।
क्षति पुगेका पूर्वाधारहरु सबै पुनर्निर्माण गर्नुको विकल्प नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘जे जसो भयो, दुर्भाग्यपूर्ण हो, तर केरुङ व्यापारिक नाका मात्रै नभएर कैलाश जाने धार्मिक तीर्थत्रायीको समेत मार्ग हो, त्यसैले यसले छिट्टै पुनर्जीवन पाउँछ ।’
सुनको भाउ एक वर्षमै किन भयो दोब्बर ? अहिले किन्ने कि बेच्ने ?
भारतबाट यसरी आउने छ पाइप लाइनबाट चितवनसम्म पेट्रोल
पश्चिम सेतीको सबै बिजुली हडप्ने भारतको प्रपञ्च
इन्टरनेट सेवामा कुन कम्पनी अब्बल ?
बैंकमा पैसा थुप्रिँदा किन बढ्छ तनाव ?









