मन्त्री गुप्ताले राजीनामा दिए, अधिकारीलाई चाहिँ उन्मुक्ति ?
चौतर्फी दबावपछि घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिए । तर यो प्रकरणको पटाक्षेप भने अझै भएको छैन ।
किनकी यसको सेन्टरमा भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी छन् ।
मन्त्री अधिकारीको आफ्नै अडियो त आएको छैन । तर राजीनामा दिएका गुप्ताले मन्त्री अधिकारीले पैसा खाइसक्यो भनेका छन् भने बिचौलियाहरुले पनि पटक पटक मन्त्री अधिकारीको नाम लिएका छन् ।
सबैभन्दा पहिला बाहिर आएको अडियोमा मन्त्री गुप्ता, बचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी सहअध्यक्ष तथा संसाद रञ्जिता श्रेष्ठबीच कुराकानी भइरहेको सुनिन्छ । जहाँ पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको कास्की जिल्ला अध्यक्ष बनाउनेबारे उनीहरुबीच डिल भइरहेको हुन्छ ।
अडियोमा लामाले मन्त्री गुप्तालाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भोलि विहान फस्र्ट आवरमै २० लाख दिने तयार रहेको कुरा भनिदिन आग्रह गरेका छन् । तर मन्त्री गुप्ताले ढुक्कसँग भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।’
‘सुन्नु न मन्त्रीज्यू, त्यो बलरामलाई भनौं न । बरु, त्यो २० म बुझाइदिउँला के खेमका लागि । भोलि फस्र्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’
बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।
मन्त्री गुप्तासँग मिस कम्युनिकेसन भएको बुझेर बिचौलिया लामाले मन्त्रीलाई सम्झाउँछन्, त्यो होइन क्या, आयोगको कुरा गरिराछु ।
त्यो होइन क्या, आयोगको कुरा गरिरा’को छु के, तपाईंसँग ।
आयोग भन्नाले ?
खेम पुनका लागि के । २० म बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।
यति सुनेपछि तपाईंले बुझ्नुभयो होला, यहाँ अर्को प्रकरण पनि छ, जहाँ पैसाको लनदेन भइसकेको छ ।
त्यो हो, पोखरा मालपोतमा रामचन्द्र अधिकारीको सरुवा गरेर चिरञ्जीवी पौडेललाई सरुवा गरेको प्रकरण । पोखरा पोखरामा पौडेल पठाउन र अधिकारीको सरुवा रोक्न यहाँ पैसाको लेनदेन भएको सार्वजनिक भएका थप अडियोहरुबाट पनि थाहा हुन्छ ।
२० पुस २०७९ देखि रामचन्द्र अधिकारी पोखरा मालपोतका प्रमुख थिए । उनीसँग सुजन लामाको सम्बन्ध राम्रो थियो । बाटुलेचौरको लिच्ची बगैंचाको नापी भएर दर्ता छुट भएको जग्गा चलखेल गरेर दर्ता गर्न उनीहरुले संयुक्त जोडबल लगाएका थिए ।
तर, २४ मंसिर २०८० मा अधिकारीको सरुवा भयो । त्यो बेलामा पोखरा मालपोतमा जान चिरञ्जीवी पौडेल दौडधुपमा थिए । उनी अधिकारीको सरुवा गराएर त्यहाँ जान सफल पनि भए ।
तर रामचन्द्रको सरुवा रोक्न सुजनले तत्कालीन भूमिसधसार मन्त्री रञ्जिता श्रेष्ठलाई हात लिए । एक दिनमै अधिकारीको सरुवाको निर्णय रद्ध भयो र उनी नै थमौती भए ।
त्यसपछि बाटुलेचौरको जग्गा व्यक्तिका नाममा ल्याउन अनेक तिकडम सुरु भयो । तर काम फत्ते नहुँदै २०८१ पुस २१ मा अधिकारीको सरुवा लमजुङमा भयो ।
यो बेलामा भूमिव्यवस्था मन्त्रालयमा बलराम अधिकारी मन्त्री भइसकेका थिए । फेरि अधिकारीको ठाउँ पोखरामा पुगे, उनै पहिला एक दिन मात्रै पोखराको मालपोत प्रमुख भएका चिरञ्जीवी पौडेल ।
सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्वभूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठबीच भएको कुराकानी २०८१ पुस २८ गतेको हो । अडियोमा पूर्वमन्त्री श्रेष्ठले भोलि २९ गते भनेर स्पष्ट नै भनेको सुनिन्छ ।
अनि कुराकनीमा भोलि भूमि आयोगका जिल्ला अध्यक्षहरुको शपथ ग्रहण भन्ने प्रशंग पनि छ । अनि २०८१ पुस २९ गते नै ७१ वटा भूमि आयोगका जिल्ला अध्यक्षहरुले शपथ ग्रहण गरेका पनि थिए । यसरी पौडेल पोखरामा सरुवा भएर पुगेकै ७ दिनपछि यो सम्वाद भएको देखिन्छ ।
यसरी अधिकारीको सरुवा थमौती गर्न लामाले अनुरोध गरेको बुझेर मन्त्री गुप्ताले भनेका हुन् ‘बलरामले पैसा खाइसक्यो ।’
पोखरा मालपोत जाने पहिलो प्रयास असफल भएपछि पौडेल दोस्रोपटक पोखरा पुगेका हुन् । त्यसकै लागि भूमि व्यवस्था मन्त्री अधिकारीले घुस खाएको दाबी तत्कालीन सामान्य प्रशासनमन्त्रीले गरेका हुन् ।
भूमिसुधार मन्त्री अधिकारी पनि यो प्रकरणमा संलग्न भएको अनुमान गर्न सकिने सार्वजनिक भएका थप अडियोहरुले प्रष्ट संकेत गर्छ । सार्वजनिक भएको एक अडियोमा मालोपोत कार्यालयका नायब सुब्बा दीपक सुवेदीले चिरञ्जिवी पौडेललाई ७० लाख खर्चेर ल्याएको बताएका छन् ।
अर्को एक अडियोमा बिचौलिया लामाले मन्त्री अधिकारीका छोरा मनोज अधिकारीसहित निजी सचिव पुडासैनी रकम असुल्ने धन्दामा लागेको दाबी गरेका छन् । पोखरा मालपोत प्रमुख अधिकारीको सरुवा रोक्न मन्त्री क्वार्टरमै जेब्रा झोलामा हालेर ३२ लाख रुपैयाँ बुझाएको कुराकानी अडियोमा सुनिन्छ ।
३२ लाख दिँदा पनि काम नभएको कुराले विचौलिया लामा तनावमा परेको देखिन्छ । काम नभएपछि उनले तत्कालीन भूमिसधार सचिव अर्जुन पोखरेलमार्फत यो काम गराउन प्रयत्न गरेको देखिएको छ । पोखरेललाई २ वटा वन कुखुरा, ग्रिनफिल्ड रक्सीसहित ५ लाख रुपैयाँ घरमै लगेर बुझाएको अडियोमा भनिएको छ ।
यो विषयमा हामीले तत्कालीन भूमिव्यवस्था सचिव अर्जुन पोखरेललाई पनि सोधेका थियौं । उनले घुस लिएको कुरा अस्वीकार गरे । तर केही स्थानीय रुपमा पाइने औषधिजन्य कुरा मगाएको हुनसक्ने बताए ।
यसरी हेर्दा यो प्रकरणमा सामान्य प्रशासनमन्त्री गुप्ता मात्रै हैन, भूमि व्यवस्थामन्त्री अधिकारी पनि जोडिएका छन् ।
घुस लेनदेनमा नाम आएपछि उनी आफैंले नैतिकता देखाएर राजीनामा दिनुपर्ने हो । म माथि अनुसन्धान गर भन्नुपर्ने हो । मन्त्रीले नैतिकता नदेखाएपनि प्रधानमन्त्रीले मन्त्रीलाई राजीनामा दिन भन्नुपर्ने हो । तर उनी राजीनामा दिनुको साटो प्रश्न गर्नेहरुमाथि नै प्रश्न गर्दै हिँडेका छन् ।
यो प्रकरणमा बिचौलियाका रुपमा काम गरेकी नागरिक उन्मुक्ति पार्टीका सहअध्यक्ष रञ्जिता श्रेष्ठ र तत्कालीन भूमिव्यवस्था सचिव पोखरेलको भूमिका पनि विवादास्पद छ ।
एमालेका स्थानीय नेता सुजन लामा त बिचौलिया भइहाले । त्यसैले संघीय मामिलामन्त्री गुप्ताले राजीनामालाई दिइहाले भनेर यो विषय छोड्न हुँदैन । अख्तियार लगायतका सम्बन्धित निकायले तत्काल छानबिन थाल्न जरुरी छ ।

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
