नेभिगेशन
एक्सप्लेनर भिडियो
क्याबिनेट श्रेष्ठ

राजनीतिक परिवारमा जन्मिएका सफल व्यवसायी 

शार्क ट्यांक नेपालमा कुल शार्क हुन् क्याबिनेट । आफूलाई इन्ट्रेस्ट नभएको बिजनेसबारे धेरै सोधीखोजी गर्दैनन् । 

जब उनको मन जान्छ, अफर गरिहाल्छन् । उनी सकेसम्म थोरै स्टेक लिने गरी डिल गर्न खोज्दैनन् । ठूलो लगानी दिएर भएपनि राम्रै हिस्सा लिन चाहन्छन् । 

६ एपिसोडसम्म आइपुग्दा उनले ९ वटा डिल क्लोज गरेका छन् । कृषि फार्मदेखि तयारी खानासम्म । आधुनिक पटुकीदेखि स्यानेटरी प्याडसम्म । सफ्टवेयरको कोडिङदेखि रोबोटिक्ससम्म । फर्निचरदेखि पोतेसम्म उनले लगानी गरेका छन् । कतै उनी एक्लै त कतै अरुसँग मिलेर ९ करोड ३५ लाखको डिल गरेका छन् ।

राजनीतिक परिवारमा जन्मिएका क्याबिनेट श्रेष्ठ, परिवारका पहिलो पुस्ताका व्यवसायी हुन् । 

परिवारिक पृष्ठभूमिमै रमाएको भए उनी आज उद्योग–व्यवसायमै हुँदैनथे । उनको बुवा मात्र होइन, ठूलोबुवा र दाइ र भिनाजुसमेत मन्त्री भइसकेका थिए । 

अनि नाम राख्ने बेलामा पूर्वमन्त्री दिलबहादुर श्रेष्ठको सपना थियो, मेरो कान्छो छोरा कुनै दिन क्याबिनेट अर्थात् मन्त्रिपरिषदमा पुगोस् । तर उनले राजनीतिमा कहिल्यै रुची देखाएनन् । बरु युवा अवस्थाबाटै उद्योग व्यवसायतिर होमिए । 

क्याबिनेटको बिजनेस यात्रा सुरु भएको थियो, २५ वर्षको उमेरमा । त्यतिबेला उनको विवाह भइसकेको थियो । श्रीमती सुजन वैद्य श्रेष्ठको प्रोत्साहनमा उनले ‘हिमालय बिजनेस सिस्टम’ नामको कम्पनी खोलेका थिए ।

हिमालय बिजनेसमार्फत उनले त्यतिबेला टेलिफोन सेट, टाइपराइटर, फ्याक्स मेसिन जस्ता उत्पादन आयात गरेर बेच्थे । विशेषतः भारतमा खुलेका बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु नेपालमा ल्याएर बेच्दा व्यापार त भइरहेको थियो, ठूलो सफलता मिलेको थिएन ।

उनको व्यवसायिक जीवनको टर्निङ प्वाइन्ट बन्यो, महिन्द्रा गाडीको डिलरसिप । यसको संयोग पनि रोचक छ । क्याबिनेट एउटा भेटका लागि होटल सोल्टी पुगेका थिए । त्यही होटलमा महिन्द्राको उत्तर प्रदेशस्तरीय कन्फ्रेन्स भइरहेको थियो । अनि महिन्द्राका अध्यक्ष एलन डुरान्ट पनि आएका थिए । चुरोट खाइराख्नुपर्ने उनी बीच बीचमा उठेर बारमा आइरहन्थे । त्यहीँ क्याबिनेटसँग संक्षिप्त कुरा भयो । 

त्यही क्रममा अलि लामो छलफलका लागि भेट्ने सल्लाह भयो । भोलिपल्टै एलनले क्याबिनेटसँग भेट गरे । 

कुराकानीका क्रममा एलनले वर्षमा कतिवटा गाडी बेच्छौ भनेर सोधे । क्याबिनेटले तुरुन्त जवाफ दिए, १४ । यो नम्बरको अर्थ थियो । किनकी पछिल्लो १० वर्षमा महिन्द्राको जम्मा १४ वटा गाडी नेपालमा बिक्री भएको थियो । क्याबिनेटले त्यति गाडी एकै वर्षम बेच्छु भने । 

लामो छलफलपछि डिल बन्यो । क्याबिनेटको कम्पनी अग्नि इन्कर्पोरेटेडलाई महिन्द्राले गाडीसँगै ट्र्याक्टरको आधिकारिक विक्रेता अर्थात् अथराइज्ड डिलरसिप दिने भयो । 

डिलरसिप त पाए, अटोमोबाइल्स क्षेत्रको धेरै ज्ञान थिएन । ठूलो पूँजी पनि थिएन । बैंकबाट ऋण पाउन पनि सजिलो थिएन । तर सहज के भयो भने त्यो बेला शो रुम राखेर गाडी बेच्ने चलन थिएन । 

ग्राहकले आएर एड्भान्स रकम दिन्थ्यो । त्यसपछि एलसी खोलेर गाडी ल्याउने प्रक्रिया अघि बढायो, भन्सारमा आएपछि तपार्इंको गाडी आयो भनेपछि भन्सारको पैसा पठाइदिन्थ्यो । यसले क्यास फ्लो म्यानेज भयो । १४ वटागाडी बेच्छु भनेका क्याबिनेट वर्षदिनमै २५ वटा गाडी बेच्न सफल भए ।

त्यसपछि उनले गाडी बेच्ने मात्र होइन, गाडी बिक्रीपछिको सेवालाई ध्यान दिए । त्यतिबेला अरु कम्पनीहरुको बिक्रीपछिको सेवा खासै राम्रो थिएन । क्याबिनेटले यसमा आक्रामक ढंगले काम गरे । जसले गर्दा गाडीको व्यापार बढ्दै गयो । नेपालमा अपरिचित रहेको ‘महिन्द्रा’ ब्राण्डलाई गाडी पारखीले चिन्न थाले ।  

गाडी त बिक्यो, तर ट्याक्टर विक्री भएन । त्यसपछि उनले वीरगञ्जमा शो रुम खोले । गाडी शोरुम लिएर उपत्यका बाहिर जाने उनी पहिलो व्यवसायी थिए । वीरगञ्जसँगै उनले अन्य जिल्लामा पनि डिलर विस्तार गरे । 

अनि महिन्द्राको एकपछि अर्को गाडीले बजार लियो । १९९५ ताका महिन्द्राको ‘आर्माडा’ जिप नेपालमा ल्याइयो । १० जना बस्न मिल्ने भएकाले फिल्डमा जानुपर्ने सरकारी निकायले यसको प्रयोग गरे । त्यसपछि ‘मार्सल’ आयो । पहाडी भेगका बाटोमा गुड्ने यो गाडीलाई थानीयले मार्सल भनेनन्, ‘सवारी’ बरु नाम दिए । 

सन् १९९८ मा ‘बोलेरो’ आएपछि त क्याबिनेटको व्यवसायिक यात्राले अर्कै गति लियो । यो गाडी यति लोकप्रिय भयो कि तराई र पहाडको ढुवानीमा मुख्य साधन बन्यो । सार्वजनिक यातायातका रुपमा पनि यसको व्यापक प्रयोग भयो । एक टनसम्म बोक्ने क्षमताका कारण पहाडमा घोडा र गधालाई नै लगभग विस्थापित गरिदियो । 

महिन्द्राको स्कोर्पियो राजनीतिक नेताहरुको नजरमा पर्‍यो । २०६४ को संविधानसभा चुनावमा पहिलोपटक स्कोर्पियो नेपाल आएको थियो । ७१ वटा गाडी सरकारले नै किन्यो । त्यसपछि लामो समयसम्म नेताहरुको रोजाइ नै स्कोर्पियो बन्यो । 

नेपालमा पहिलो ईभी पनि अग्निले नै ल्याएको थियो । महिन्द्राको सानो ईभी पुन्टे कार ई–टूओले राम्रो सफलता पाएको थियो । तर पछिल्लो समय चिनियाँ गाडीले विश्वबजारमा दबदवा कायम गर्दा महिन्द्राका विद्युतीय कार आएनन् । त्यसैले ईभी सेगमेन्टमा हराए जस्तो देखिएको छ ।

अग्नि इन्कर्पोरेटेडले मात्र वर्षमा १० अर्ब रुपैयाँ भन्दा बढीको बिजनेस गर्छ । अनि, क्याबिनेट श्रेष्ठ नेपालमा सफल उद्यामीका रुपमा आफूलाई स्थापित गरिसकेका छन् । 

क्याबिनेट दर्जनभन्दा बढी सफल कम्पनीको नेतृत्व गर्छन् । बालाजु अटो वक्र्स, अग्नि मोटोइन्क, अग्नि होल्डिङ्स, अग्नि हायर पर्चेज, अग्नि लजिस्टिक, अग्नि इक्विपमेन्ट, अग्नि टेक्निकल इन्ष्टिच्युट, अग्नि अटो सपोर्ट, अग्नि आस्था, भेर्दा इन्भेष्टमेन्ट सहितका कम्पनीको लिडर उनै हुन् । उनको लजिस्टिक कम्पनी अन्तर्गत ठूला र आधुनिक वेयर हाउसहरु छन् । कार रेन्टलदेखि ढुवानीसम्मका सेवा दिन्छ । 
अग्नि इक्विपमेन्टले टनेलिङदेखि ठूला पूर्वाधारका लागि आवश्यक ठूला यन्त्र उपकरणहरु बेच्छ । अग्नि होल्डिङले लगानी कम्पनी हो, यसले जलविद्युत, बीमा, बैंकिङ, शिक्षा, कृषि र पर्यटन क्षेत्रमा लगानी गरेको छ । 

टेक्निकल इन्ष्टिच्युटले विभिन्न व्यवसायिक तथा सीपमूलक तालिमहरु चलाउँछ । क्याबिनेटले पछिल्लो समयमा विलासी होटलहरुमा पनि लगानी बढाएका छन् । लाँकुरीभञ्ज्याङको टेरेस रिसोर्ट क्याबिनेटकै हो, नेपालगञ्जको सेन्ट्रल प्लाजा होटलमा पनि उनको लगानी छ ।

क्याबिनेट रातारात अर्बपति भएका होइनन् । स्थापना भएको १७ वर्षसम्म उनको कम्पनीले खुद नाफा कमाउन सकेको थिएन । यो यात्रामा क्याबिनेट कयौंपटक थाके तर, विचलित भएनन् ।

अनुशासित ढंगले काममा समर्पित भइरहे । र, सफलताको उनको मूल मन्त्र हो, प्रयास गर्ने, सिक्ने, सच्चिने र अघि बढ्ने । 

त्यही अनुभव शार्क ट्यांक नेपालमार्फत आफ्नो व्यावसायिक यात्राको अनुभव नयाँ पुस्तासँग साटिरहेका छन् । ताकि जुन गल्ती आफूले गरेका थिए, त्यो गल्ती नयाँ पुस्ताले गर्नु नपरोस् । अनि, थोरै मद्दत गर्दा व्यक्तिसँगै समुदायलाई पनि लाभ होस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप एक्सप्लेनर भिडियो