नेभिगेशन
एक्सप्लेनर भिडियो

महानगरको रिपोर्ट कार्ड : बालेन र वडाध्यक्षको काम कस्तो ?

देश–विदेश सबैतिर बालेनको चर्चा छ, पुराना पार्टी र नेताले केही गर्दैनन्, बालेनजस्तो नेता चाहिन्छ भन्नेहरु धेरै छन् ।

काठमाडौंका मेयर बालेनको कामको प्रशंसा गर्ने धेरै छन् । उनी  युवाको त आइकन नै बनेका छन् । काठमाडौंको फोटो र भिडियोलाई क्याप्सनमा ‘बालेन सिटी’ लेखेर रिल्स र टिकटक धेरै बनेका छन् ।

खासमा काठमाडौं महानगरमा काम चाहिँ कस्तो भइरहेको छ ? अनि बालेनले कस्तो काम गरिरहेका छन् ?

यो थाहा दिने गरी गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले आफ्नो कामको रिपोर्ट कार्ड बनाएको छ ।

यो रिपोर्ट कार्डमा मेयर बालेन मातहतको निकायले गरेको खर्च र वडाध्यक्षहरुले गरेको खर्च दुबै देखिन्छ । के छ त यो रिपोर्ट कार्डमा ?

महानगरले विगतदेखि नै बजेटको तुलनामा गरिरहेको न्युन खर्च गर्दैछ । अनि ठूला विकासे योजनाको अभाव देखाएर यदाकदा बालेनको आलोचना समेत हुन्छ ।

पछिल्लो ६ महिना त काठमाडौं महानगरपालिकामा राजनीतिक विवादले कार्यपालिका बैठक समेत बस्न सकेन । ३ महिना त भएका कामको भुक्तानी समेत रोकियो । बजेट ल्याउन ढिला भइसकेका बेला असारको अन्तिम हप्ता कामचलाउ रुपमा मात्र कार्यपालिका बैठक गरियो । यस्तो अवस्थामा रिपोर्ट कार्ड हेरेर ‘यति भएपनि भएछ’ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छ ।

गत पुसमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि मेयर बालेनले काठमाडौं टावरको नक्सापासमा अनियमितताको आरोप लगाएदेखि महानगरभित्र झगडा मात्रै छ ।

बालेनलाई साइजमा राख्न गुरागाइँलाई संघीय सरकारले महानगरबाट सरुवा नै गरेन । संघीय सरकार कांग्रेस–एमालेको संयुक्त भएकाले बालेन र यी दुई दलका जनप्रतिनिधिबीचको दूरी पनि बढेको छ ।

अझै पनि मेयर र अरु जनप्रतिनिधिबीचको तिक्तता अन्त्य भएको छैन । महानगरभित्रको यो झगडाको असर गत वर्षको बजेट कार्यान्वयनमा समेत परेको रिपोर्ट कार्डबाट देखिएको छ ।

यद्यपि अस्थिरता र कचिंगलमा पनि महानगरपालिकाले बितेको वर्षमा विगत ६ वर्षयताकै धेरै काम गरेको छ । बजेटको हिसाबले काठमाडौं देशका अरु महानगरपालिका भन्दा धेरै ठूलो छ । अरु ५ वटा महानगरको बजेटलाई एक ठाउँमा राख्दा पनि काठमाडौं महानगरको जति हुँदैन । तर काठमाडौंमा बजेट खर्चमा भने सधैं समस्या छ । खर्च हुने बजेट भनेको करिब आधा जसो मात्र हो ।

गत वर्षको रिपोर्टअनुसार आर्थिक वर्ष २०८१/८२ मा महानगरपालिकाले ५२.१३ प्रतिशत बजेट खर्च गरेको छ । योभन्दा अघिल्लो वर्ष ५१.०४ प्रतिशत बजेट खर्च भएको थियो ।

गत आर्थिक वर्षमा महानगरको कुल बजेट थियो, २५ अर्ब ८६ लाख । त्यसमध्ये महानगरले १३ अर्ब ३० करोड ८५ लाख खर्च गरेको छ ।

यसमध्ये चालु अर्थात् तलबभत्ता र कार्यालय सञ्चालनका लागि ६ अर्ब २२ करोड खर्च भएको छ । चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख बजेट छुट्याएकामा साढे ३ अर्ब भन्दा बढी बजेट फ्रिज भयो ।

महानगरपालिकाले पूँजीगत अर्थात विकास खर्चका लागि १५ अर्ब ६ करोड ५६ लाख छुट्याएको थियो । तर, ६ अर्ब ७३ करोड ९३ लाख मात्रै खर्च गर्नसक्यो । यसरी हेर्दा महानगरपालिकाले पूँजीगत खर्च भने आधा पनि गर्न सकेको देखिएन ।  महानगरले वर्षभरिमा करिब ४५ प्रतिशत मात्रै विकास खर्च गर्न सक्यो ।

बितेको वर्षमा महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ७७.०२ प्रतिशत खर्च गरेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत मात्रै खर्च भएको छ ।

आर्थिक विकासर्फ ३७.६७ प्रतिशत, सामाजिक विकासतर्फ ४७.९१ प्रतिशत, पूर्वाधार विकास ५२.५२ प्रतिशत मात्रै खर्च भएको छ । यसरी हेर्दा समग्रमा महानगरले ठूलो मात्रामै चालु खर्च गरिरहे पनि त्यसको तुलनामा पूँजीगत खर्च गर्न सकेको देखिंदैन । महानगरले गत वर्ष खर्च गर्न नसकेको रकम ११ अर्ब ९७ करोड रुपैयाँ छ ।

महानगरपालिकाको बजेट खर्च मूलत: महानगर अन्तर्गतका विभागहरु र ३२ वटा वडा कार्यालयहरुले गर्छन् । विभागहरुको नेतृत्व मेयर बालेन शाहले गर्छन् भने वडाको वडाध्यक्षहरु आफैंले ।

महानगरका विभागहरुले वर्षभरिमा कुल ११ अर्ब ८ करोड पूँजीगत खर्च गर्नुपर्ने हो । ४ अर्ब ४४ करोड मात्रै खर्च गरे । यसले के देखाउँछ भने वडा मात्रै हैन, मेयर बालेन मातहतका निकायले पनि योजनाअनुसार पर्याप्त विकासका काम गर्न सकिरहेको छैन ।

सरकारको कामको मूल्यांकन उसले गर्नसक्ने खर्चको क्षमताबाटै देखिने हो । तर, काठमाडौं महानगरमा वर्षभरिमा आधा पनि विकास बजेट खर्च नहुने पुरानै रोग हो । बालेन मेयर भएदेखि त्यसमा सुधार हुने अपेक्षा थियो ।

तर, अपेक्षाअनुसार नतिजा आइरहेको छैन । कतिपयले बालेनले अनावश्यक खर्च जोगाएकाले बजेट खर्च कम देखिएको तर्क गर्ने गरेका छन्, तर, महानगरको प्रशासनिक खर्चमा निरन्तर वृद्धि भइरहेको छ । विकास खर्च भने अझै पनि निराशाजनक नै छ ।

महानगरपालिकाको वडा कार्यालयले गर्ने खर्च भने ज्यादै न्यून छ । महानगरका २५ वटा वडाहरुले पनि ७० प्रतिशत खर्च समेत गर्न सकेनन् । कतिपय वडाले १५ प्रतिशत पनि खर्च गर्न नसकेको रिपोर्ट कार्डमा देखिन्छ ।

महानगरको कार्यासम्पदनमा सबैभन्दा कमजोर वडा नम्बर ११ हो । बबरमहल क्षेत्रको यो वडाका वडाध्यक्ष हिरालाल तण्डुकार छन् । ११ नम्बर वडाले वर्षभरिमा १४.७६ प्रतिशत मात्रै बजेट खर्चिएको छ । १६ करोड ७९ लाख विकास बजेट पाएको यो वडाले १ करोड ६८ लाख मात्रै खर्चिन सक्यो ।

केही वडा अब्बल 

तर, केही वडाहरुको काम महानगरका अरु वडाहरुको तुलनामा अब्बल छ । तथ्यांकलाई हेर्ने हो भने कतिपय वडाहरुले महानगरको औसत खर्चको तुलनामा निकै राम्रो काम गरेका छन् । ती वडाहरु कुन–कुन हुन् त ? चिनौं है त ?

वडा नम्बर १२ ले ८४.७१ प्रतिशत बजेट खर्च गरेको छ । टेकु क्षेत्रको यो वडाका वडाध्यक्ष बालकृष्ण महर्जन छन् । यो वडाले ७ करोड ८ लाख विकास बजेट पाएकोमा ५ करोड ८८ लाख बजेट खर्च गरेको देखिन्छ ।

अर्को अब्बल काम गरेको वडा हो, वडा नम्बर १९ । यसको वडाध्यक्ष छन् राजेशकुमार श्रेष्ठ । बसन्तपुर दरबार पछाडिबाट विष्णुमती क्षेत्रमा फैलिएको यो वडाले वर्षमा ८४.२९ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगत शीर्षकमा पाएको ७ करोड ७६ लाखमध्ये ६ करोड ४७ लाख खर्चेको छ ।

महाबौद्ध क्षेत्रको वडा नम्बर २७ पनि अब्बल वडाको सूचीमा छ । यहाँ योगेशकुमार खड्गी वडाध्यक्ष छन् । यो वडाले वर्षभरिमा ८३.९५ प्रतिशत बजेट खर्च गरेको छ । ५ करोड ५१ लाख विकास बजेट पाएकोमा यो वडाले ४ करोड ९३ लाख खर्च गरेको छ ।

काठमाडौंमा अर्को अब्बल काम गर्ने सूचीमा १० नम्बर वडा छ । यो वडाका वडाध्यक्ष रामकुमार केसी हुन् । बानेश्वर क्षेत्रको वडाले वर्षभरिमा ८२.८४ प्रतिशत बजेट खर्चेको छ । कुल १६ करोड २५ लाख विकास बजेट पाएकोमा १३ करोड ४३ लाख रुपैयाँ खर्चेको देखिन्छ ।

वडा नम्बर ९ पनि तुलनात्मक रुपमा बढी खर्च गर्ने वडा हो । गौशाला क्षेत्रको यो वडाका वडाध्यक्ष रामजी भण्डारी हुन् । यो वडाले वर्षभरिमा कुल बजेटको ७५.२१ प्रतिशत बजेट खर्चिएको छ । विकासको कामका लागि १६ करोड ४८ लाख पाएको यो वडाले ३२ लाख बजेट खर्च गरेको छ ।

यसपछि महानगरको रिपोर्ट कार्डमा ठीकठाक देखिएको अर्को वडा ६ नम्बर हो । बौद्ध क्षेत्रको यो वडाका वडाध्यक्ष भुवन लामा छन् । उनको वडाले ७३.२ प्रतिशत बजेट खर्च गरेको छ । यो वडाले १५ करोड ५ लाख बजेट पाएकामा १० करोड ७० लाख बजेट खर्च गरेको छ ।

वडा नम्बर ३२ पनि तुलनात्मक रुपमा अरुभन्दा राम्रो काम गरेको वडा हो । कोटेश्वर क्षेत्रको यो वडामा नवराज पराजुली वडाध्यक्ष छन् । यो वडाले ७२.५ प्रतिशत बजेट खर्चेको छ ।

वडा नम्बर ३२ मा १६ करोड ४५ लाख विकास बजेट विनियोजन भएकोमा  १२ करोड ३ लाख खर्च भएको छ । यी बाहेक कुनै पनि वडाले ७० प्रतिशतभन्दा बढी बजेट नै खर्च गर्न सकेका छैनन् ।

रिपोर्ट कार्डको यो विवरण सुनेपछि तपाइँलाई बालेन अनि समग्र महानगरको काम कस्तो लाग्यो त ?  आफ्नो धारणा कमेन्ट बक्समा राख्नुहोला ।

हेर्नुस् यो भिडियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो