रुपन्देही-३ उपनिर्वाचन: के छ महामन्त्रीको रिपोर्ट कार्डमा ?
रुपन्देही ३ को उपचुनावमा कांग्रेसको के होला ? शुक्रबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको एउटा बैठकमा लामै छलफल भयो ।
नेताहरुको दाबी छ, कांग्रेसले आफ्नो मत जोगाउने हो भने जित सम्भव छ ।
दिपक बोहोराको निधनका कारण रिक्त भएको रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ गते उपचुनाव तोकिएको छ ।
अरु दलले जस्तै कांग्रेस पनि उपचुनावको तयारीमा जुटेको छ । महामन्त्री विश्वप्रकाश शर्मा आफैं रुपन्देही ३ मा गएका थिए । असार ३१ मा त्यहाँ पुगेका उनले तीन दिनसम्म प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, नगर र वडा स्तरका बैठकहरु गरे । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुसँग पनि छलफल गरे ।
महामन्त्री शर्माले शुक्रबार कार्यसम्पादन समिति बैठकमा रुपन्देही ३ बारे लामै ब्रिफिङ गरे । उनले अघिल्लो चुनावको मत विश्लेषण सुनाए ।
प्रत्यक्षतर्फ राप्रपाका दिपक बोहोरा ३६ हजार ७१७ मतका साथ विजयी भएका थिए । कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए ।
जबकी समानुपातिकतर्फ राप्रपाले ९ हजार १८३ मत मात्र पाएको थियो । कांग्रेसले सबभन्दा धेरै २० हजार २७९ मत पाउँदा एमालेले १६ हजार ९६८ र रास्वपाले १४ हजार १५४ मत पाएको थियो । कांग्रेसको आन्तरिक कहल र बोहोरालाई एमालेको समर्थन भएका कारण मात्र यस्तो परिणाम आएको शर्माको विश्लेषण छ ।
हुन पनि २०७९ को चुनावमा कांग्रेसलाई माओवादी समेतका गठबन्धनको समर्थन त थियो, तर कांग्रेसमा विवाद थियो । खाँण प्रत्यक्ष चुनाव लड्दा उनी पत्नी मञ्जु समानुपातिक उम्मेदवार थिइन् । यसले कांग्रेसभित्र चर्को असन्तुष्टि पैदा गरेको थियो ।
राष्ट्रिय राजनीतिमा पछिल्लो २–३ वषमा धेरै फेरबदल आएको छ । खागसरी जनताको मनोविज्ञान बललिएको छ । प्रमुख दलहरुप्रति आक्रोश र असन्तुष्टि बढ्दो छ, विकल्पका रुपमा नयाँ दलहरु आएका छन् ।
तर रुपन्देहीको हकमा थोरै भिन्न परिस्थिति छ । रास्वपाका सभापति रवि लामिछाने जोडिएको सुप्रिम सहकारी, वुटबलकै हो । अनि, त्यही सहकारीको मुद्दाका कारण उनी पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । आसन्न उपचुनावमा यसको पनि प्रभाव हुने छ ।
स्रोतका अनुसार महामन्त्री शर्माले पार्टी बैठकमा यसबारे समेत ब्रिफिङ गरेका थिए । रवि भैरहवा कारागारमा भएका कारण धेरथोर प्रभाव पर्ने उनको विश्लेषण छ । तर चितवन ३ को उपचुनावमा जस्तो रपन्देही ३ मा रास्वपाको लहर नआउने दाबी गरे ।उनका अनुसार यो क्षेत्रमा रहेका कांग्रेसका केही समर्थन रास्वपातिर ढल्किएका छन् । तर अघिल्लो चुनावमा रास्वपाले मत दिएकाहरु फेरि कांग्रेसतिर फर्किएका पनि छन् ।
बरु मधेश केन्द्रीत दलहरुको मोर्चाबन्दीले नयाँ चुनौती ल्याउन सक्ने उनको विश्लेषण छ ।
मधेश केन्द्रित दलहरुले रुपन्देही ३ को चुनावमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई समर्थन गर्ने निर्णय गरिसकेका छन् । नाउपाले अघिल्लो चुनावमा समानुपातिकतर्फ ६ हजार मत कटाएको थियो । र, जसपा नेपाल, जनमत लगायतका सबैको मत जोड्दा कांग्रेसको हाराहारी हुन्छ । यद्यपि मधेश केन्द्रित दलहरुको मत एक ठाउँमा एकीकृत हुन्छ भन्ने ग्यारेन्टी छैन ।
अनि रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने ७ मध्ये ६ वटा पालिका कांग्रेसले जितेको छ । ३६ मध्ये १८ वटा वडाको वडाध्यक्ष कांग्रेसकै छन् । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, औद्यौगिक क्षेत्र निर्माण लगायतमा कांग्रेसले पनि भूमिका खेलेको छ ।
त्यसैले रुपन्देहीको परिस्थिति धेरै प्रतिकुल नभएको महामन्त्री शर्माको विश्लेषण छ । एमालेले आफ्नो मत सुरक्षित गर्यो र कांग्रसले सबै मत सुरक्षित गर्ने हो भने चुनाव जित्न सकिने उनको दाबी छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, रुपन्देही सभापति रामकृष्ण खाँण र २०७९ का उम्मेदवार बालकृष्ण खाँणले पनि रिपोर्टिङ गरे । उक पदाधिकारी भन्छन्, ‘हामी एक ढिक्का भएर चुनावमा होमिने हो भने जित्न सक्छौं भन्ने नै रिपोर्टिङ छ ।’
कांग्रेसको उम्मेदवार भने अझै प्रष्ट छैन । २०४८ सालदेखि चुनाव लड्दै आएका खाँणविरुद्ध भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा विचाराधीन छ । यो किनारा नलागेसम्म उनी चुनाव लड्ने सम्भावना हुुन्न । कतिपयले रुपन्देही जिल्ला सभापति एवं खाँणका भाइ रामकृष्णलाई उम्मेदवारका रुपमा हेरेका छन् । उनी उठ्ने हो भने रुपन्देही क्षेत्रका उद्योगी व्यवसायीहरुको विश्वास जित्न सकिने उनीहरुको तर्क छ ।
तर खाँण तिलोत्तमा नगरपालिकाका मेयर हुन् । मेयरबाट राजीनामा गराएर उनलाई चुनाव लडाउने सम्भावना कम रहेको एक पदाधिकारीले बताए । उनका अनुसार कांग्रेसले यहाँका प्रभावशाली नेता बालकृष्ण खाँणले रुचाएका नेतालाई नै उम्मेदवार बनाउने छ । त्यसमा रामचन्द्र ढकालको सम्भावना बढी छ ।
ढकाल २०७९ को चुनावमा प्रदेशसभातर्फ ३ खमा उम्मेदवार थिए । तर एमालेका तुलसीप्रसाद चौधरीसँग २०१ मतले पराजित भए । शेखर कोइराला समूहमा रहेका उनी खाँणले समेत रुचाएका नेता हुन् । नेताहरुका अनुसासर उनको सम्भावना बलियो छ, तर अहिले नै यकिन गर्न हतारो हुनेछ ।

धेरै र थोरै जनसंख्या भएका १० निर्वाचन क्षेत्र

नेपालमा २६ अर्बको चिनियाँ लगानीमा भारतको अवरोध

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

अब फ्रि वाइफाइ मोबिलिटी सेवा बन्द

हेलिकप्टरबाट देखिन्न तराई-मधेशको संकट
