नेभिगेशन
एक्सप्लेनर भिडियो

एउटा मन्दिरले निम्त्याएको थाइल्याण्ड र कम्बोडिया सैन्य संघर्ष

मध्यपूर्वी एसियाका दुई देश थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा झडप हुँदा १२ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै थाइ नागरिक हुन् । कम्बोडियातर्फ भएको मानवीय क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन ।

गत मे महिनामा भिडन्त हुँदा एक जना कम्बोडियाली सैनिकको मृत्यु भएपछि विवाद झन् बढेको थियो । त्यही क्रममा कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग गरेको फोनवार्ता सार्वजनिक भएपछि थाइ प्रधानमन्त्री पेतोङतान थाक्सिन निलम्बनमा छिन् ।

अहिले त तनाव यति बढेको छ कि, दुई देशको सीमा नै बन्द गरिएको छ, त कति बेला भिडन्त हुन्छ केही टुंगो छैन ।

थाइल्याण्ड र कम्बोडिया दुबै एसिया महादेशको मध्यपूर्वी क्षेत्रमा पर्छन् । यी दुई देशबीच राम्रो आर्थिक तथा राजनीतिक सम्बन्ध छ । तर सीमा विवाद निको हुन नसकेको घाउजस्तो बनिरहेको छ ।

थाइल्याण्ड र कम्बोडियाबीच ८१७ किलोमिटर लामो सीमा छ । अहिले यही सीमाका कारण दुई छिमेकी आमने सामने भइरहेका छन् ।

उनीहरुको सीमा विवाद १०० वर्ष भन्दा पुरानो छ । सन् १९०७ मा कम्बोडिया फ्रान्सको उपनिवेश रहेका बेला दुई देशको सीमा रेखा कोरिएको थियो । त्यसबेलादेखि नै सीमा विवाद सुल्झिएको छैन ।

दुई देशबीचको सीमा विवाद इमेराल्ड ट्रयांङ्गल नाम गरेको ठाउँमा छ । यो भनेको थाइल्याण्ड, कम्बोडिया र लाओस गरी तीन देशको सीमा विन्दु हो । विवादित भूमिमा एक हजार वर्ष पुरानो प्रे विहेर मन्दिर छ ।

सन् २००८ मा कम्बोडियाले यो मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न खोजेपछि थाइल्याण्डले विरोध गर्‍यो ।

विवाद संयुक्त राष्ट्रसंघको इन्टरनेशनल कोर्ट अफ जस्टिससम्म पुग्यो । उसले यो मन्दिर कम्बोडियामा पर्ने निर्णय सुनायो । यही निर्णय नै दुई देशबीच तनाव बढ्नुको कारण बन्यो ।

२०११ मा भएको तनावका क्रममा दुबै देशतर्फ गरी २० भन्दा बढी मानिस मारिए भने हजारौं विस्थापित भए । कम्बोडिया फेरि इन्टरनेशनल कोर्ट अफ जस्टिसमा गयो । कोर्टले २०१३ मा पनि कम्बोडियाकै पक्षमा निर्णय सुनायो ।

थाइल्याण्डले भने यो विषय अन्तर्राष्ट्रिय कोर्ट अफ जस्टिसको क्षेत्राधिकारमा नै नपर्ने दाबी गर्दै आएको छ ।

पछिल्लो विवाद भने मे महिनामा कम्बोडियाको सैनिक मारिएपछि सुरु भएको हो । यसले दुई देशको सम्बन्ध पछिल्लो एक दशककै सबैभन्दा कमजोर विन्दुमा ल्याएको छ ।

किनकी कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनले थाइ प्रधानमन्त्री पेतोङत्रान सिनावात्रासँग गरेको टेलिफोन सम्वाद सार्वजनिक गरिदिए । त्यही सम्वादका कारण पेतोङत्रान सिनवात्रा अहिले निलम्बनमा परेकी छन् ।

पछिल्लो दुई महिना दुबै देशले अर्को देशलाई बोर्डरमा कडाइ गर्दै आएको छ । कम्बोडियाले पेट्रोलियम पदार्थ थाइल्याण्ड निर्यातमा रोक लगाएको छ । थाइ आर्मीले कम्बोडियामा इन्टरनेट सेवा बन्द गराएको छ भने कम्बोडियाले थाइल्याण्डतर्फको इन्टरनेट लिङ्क्स बन्द गराएको छ ।

थाइल्याण्डले कम्बोडियाबाट आफ्नो भूमिमा प्रवेश नै गर्न नमिल्ने गरी सीमा बन्द गराएको छ । त्यही कारण कम्बोडियाबाट हजारौं पर्यटकहरु थाइल्याण्ड जान पाएका छैनन् । सीमा क्षेत्रमा तनाव बढेकै कारण थाइल्याण्डले ४० हजार सर्वसाधारणलाई अन्यत्र सारेको छ ।

बिहीबार त गोली हानाहान नै भयो । दुबै देशले अर्कोलाई दोष देखाएका छन् र, आफूहरु जवाफी कारबाही मात्र गरिरहेको दाबी गरेका छन् ।

बिहीबार बिहान कम्बोडियाको सेनाले सीमा क्षेत्रमा आफ्ना सैनिकहरुको जासुसी गर्न ड्रोन उडएको र बम जडित रकेटहरु बोकेर भेला भएको दाबी गरेको छ ।

त्यही क्रममा कम्बोडियाली सेनाले गोली चलाएपछि आफ्नो सेनाले जवाफी प्रतिक्रिया मात्र दिएको थाइल्याण्डको दाबी छ ।

कम्बोडियाले भने थाई सेनाले सीमावर्ती क्षेत्रमा रकेट लञ्चर र गोला बारुदसहित अस्त्रहरु तैनाथ गरेको, सर्वसाधारणको घरमा पेट्रोल बम हानेको दबी गरेको छ ।

भिडियो हेर्नुस् 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो