रसुवागढीमा बेलिब्रिज बन्दै, दशैंअघि नै नाका खुल्ने
रसुवागढी नाका भएर व्यापार गर्नेहरुका लागि खुशीको खबर छ । चीनसँगको रसुवागढी नाकाको अवरोध अब दशैं अगावै हट्ने भएको छ ।
नेपाल–चीन जोड्ने केरुङ–रसुवागाढी नाकामा बेलिब्रिज बनाउने काम सुरु भएको छ । बाढीले बगाएको मितेरीपुल पुलभन्दा ठीक ४–५ मिटर माथिबाट चीनले बेलिब्रिज बनाउन सुरु गरेको हो ।
अर्को स्थायी पक्की पुल नबनेसम्म यो नाकामा बेलिब्रिजबाट नै सवारी चलाइनेछ ।
असार २४ मा तिब्बतमा हिमताल फुटेर आएको बाढीले पक्की पुल बगाएको थियो । त्यसपछि केरुङ नाकामा नेपाल चीनबीचको सडक सम्बन्धविच्छेद छ ।
बाढीले पुल बगाएलगत्तै नेपालले बेलिब्रिज राखेर भएपनि नाका सञ्चालन गर्न चीनसँग आग्रह गरेको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार सबै तयारी सकेर चिनियाँ पक्षले पुल निर्माणको काम थालिसकेको छ ।
चीनले बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री केरुङ ल्याइसकेको छ । अहिले बेलिब्रिज जडानको लागि साइट तयार गरिरहेको छ ।
भदौभित्र पुल बनेर सञ्चालनमा आइसक्ने अपेक्षा छ । यो पुल निर्माणका लागि लाग्ने सबै आर्थिक भार चीनले नै बेहोर्नेछ ।
०००
रसुवागढीको मितेरी पुल बगाएपछि चीनसँग हुने व्यापार प्रभावित भएको थियो । चीनबाट हुने विद्युतीय गाडीदेखि लत्ताकपडा, फलफूल, इलेक्ट्रोनिक्स समानसहित कयौं दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति चक्र नै बिथोलिएको छ ।
यसका कारण अहिले तातोपानी नाकामा चाप बढेको छ ।
रसुवागढी–केरुङ नाका औपचारिक रुपमा २०७१ मंसिर १५ गते खुलेको थियो । चिनियाँ पक्षले केरुङदेखि रसुवागढीसम्म सडक तथा भन्सार पूर्वाधार तयार पारेपछि केरुङ नाका भव्य संरचनासहित खुलेको थियो ।
२०७२ वैशाखमा भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाकामा ठूलो क्षति पुर्याएपछि यो नाकाले प्राथमिकता पाउँदै आएको छ । चीनसँगको व्यापारमा केरुङ नाका पहिलो विकल्प हो ।
नेपाल–चीनबीच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो ।
गत आर्थिक वर्ष ०८१/८२ मा केरुङ नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाख बराबरको आयात भएको छ । यस अवधिमा रसुवा हुँदै दुई अर्ब चार करोड ५२ लाखबराबरको निर्यात भएको छ ।
यो बेलिब्रिज जडानपछि केरुङ नाका पूर्ववतः रुपमा सञ्चालन हुने अपेक्षा छ ।
तर बन्दरगाह र सडकमा पनि बाढीले ठूलो क्षति पुर्याएका कारण यो नाकालाई सामान्य अवस्थामा फर्किन भने समय लाग्ने देखिन्छ । ८१ प्रतिशत निर्माण सकिएको टिमुरे बन्दरगाह अहिले बगरमा परिणत भएको छ ।
स्याफ्रुबेंशीसम्मको सडकमा पनि ठाउँ ठाउँमा बाढीले क्षति गरेको छ । त्यसको राम्रो मर्मत सम्भार नभएसम्म मालबाहक सवारीलाई आवतजावतमा सास्ती हुने अवस्था भने कायम छ । सडक विभागका अधिकारीहरुले भने मितेरी पुल बन्दासम्म सडकको अवस्था चुस्त दुरुस्त बनाइसक्ने दाबी गरेका छन् ।
चीनले प्रतिवद्धता जनाएजस्तै भदौ ३० भित्र नै यो पुल बनाएर सञ्चालनमा ल्याएमा दशैंका लागि उपभोग्य वस्तु केरुङ नाका भएर पनि आयात हुनसक्छ ।
तर चाडबाडका लागि आवश्यक धेरै वस्तु केही समय अघि नै किनेर आयात गर्ने प्रचलन भएकाले यसवर्ष तातोपानी नाकामा बढी चाप पर्ने देखिएको छ ।
भदौभित्र बेलिब्रिज चलेर नाका सञ्चालनमा आए चीनसँग व्यापार गरिरहेका व्यापारीलाई भने राहत हुनेछ ।

घरजग्गाको मूल्य आधासम्म घटिसक्यो, अझै घट्न सक्छ
-1753629084.jpeg)
पूर्वाधारका कारण फर्किन सक्छ लोडसेडिङ

सीजी ग्रुपको अर्को साझेदारी, बिकाजीका भुजिया अब नेपालमै उत्पादन

एनसेलको गैरकानुनी चिठ्ठा, सरकारले गरायो बन्द
