नेभिगेशन
एक्सप्लेनर भिडियो

चीनलाई भैंसीको मासु बेच्न २७ अर्बको फ्याक्ट्री खुल्दै

नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात हुँदैछ । त्यसका लागि २७ अर्ब लगानीमा ठूलो फ्याक्ट्री खुल्दैछ । यो फ्याक्ट्री खोल्न २० अर्ब रुपैयाँ विदेशी लगानी ल्याउन सरकारले अनुमति दिइसकेको छ । आउँदो वर्षभित्र उद्योग खुलेर दैनिक ५ सय टन मासु चीन पठाइनेछ । 

नेपालमा पनि राँगाभैंसीको मासु धेरै खपत हुन्छ । काठमाडौं जस्ता ठूला शहरमा बिक्री हुने मःम र अरु खाजा परिकारमा राँगाभैंसीको मासुको हिस्सा धेरै छ । 

छिमेकी चीनमा भने बंगुर र गाईको मासुको प्रयोग बढी हुन्छ । चीनमा प्रत्येक व्यक्तिले वर्षमा औसत ४५ किलोग्राम मासु खान्छन् । 

पछिल्लो समयमा चिनियाँहरु राँगा भैंसीको मासुमा पल्किएका छन् । तर, मागअनुसार मासु त्यहाँ आपूर्ति नै हुँदैन । त्यसैले नेपालबाट राँगा भैंसीको मासु लैजान चीन इच्छुक थियो । 

गत २०८१ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा चीनमा राँगा भैंसीको मासु निर्यात गर्ने प्रोटोकलमा हस्ताक्षर भयो । त्यसपछि चीनमा रागाभैंसीको मासु निर्यात गर्न बाटो खुलेको हो । तर, दुबै देश सहमत भएको त्यस प्रोटोकल अनुसार मासु निर्यात गर्नसक्ने उद्योग नेपालमा छैनन् । 

चीनले नेपालबाट ‘थर्मल्ली प्रोसेस्ड बफेलो मिट’ मात्रै लिने भनेको छ । निश्चित तापक्रममा पकाएको मासुलाई तापक्रम मेन्टेन गरेर मात्रै चीनमा निर्यात गर्नुपर्छ । 

हो, अहिले यही कामका लागि चिनियाँ लगानीमै नेपालमा ठूलो वधशाला र मासु प्रशोधन केन्द्र खुल्न लागेको हो । यसमा लगानी गर्दैछ, चीनको ‘चेङ्दु जियान फुड कम्पनी लिमिटेड’ले । 

यो कम्पनीले हालै २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल ल्याउन उद्योग विभागबाट स्वीकृति लिएको छ । अरु ७ अर्ब रुपैयाँ लगानी स्वीकृति लिने चरणमा छ । 

नेपालमा चिनियाँ कम्पनीले हिमालयन फुड इन्टरनेशनल प्राकिो सहयोगमा यो परियोजना अघि बढाउँदैछ ।

हिमालयन फूड इन्टरनेशनलका अध्यक्ष डा. नवीन शर्माका अनुसार यो लगानी सिन्धुलीको मरिण गाउँपालिका वडा नं ४ मा खुल्न लागेको मासु प्रशोधन केन्द्रमा हुनेछ । 

मरिण गाउँपालिका पशुजन्य रोगमुक्त क्षेत्र घोषणा भएको पालिका हो । त्यसैले कम्पनीले मरिणमै प्रशोधन केन्द्र राख्ने निर्णय गरेको हो । 

करिब १०० बिघा क्षेत्रफलमा खुल्ने उद्योगमा अत्याधुनिक उपकरण र चिस्यान प्रविधिको प्रयोग हुनेछ । यो उद्योगले पाँच हजार १५६ जनालाई रोजगारी दिनेछ । वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने लक्ष्य राखेको छ ।  

उद्योगले दैनिक ५ सय देखि ८ सय मेट्रिक टन मासु चीन पठाउने तयारी गरेको छ । चीनमा रागाभैंसीको मासुको बजार अभाव छैन । त्यसैले चिनियाँ लगानीकर्ता नै ठूलो लगानी लिएर नेपालमा रागाभैंसीको मासु उत्पादन गर्न आउन लागेका हुन् । 

नेपालबाट अहिले राँगा र भैंसीको मासु खाडी मुलुक र भियतनाममा निर्यात भइरहेको छ । भियतनाम पठाइएको नेपाली राँगा भैंसीको मासु चीनमा पनि पुग्ने गरेको उद्योगीहरु बताउँछन् । 

नेपालको राँगा–भैंसीको मासुको स्वाद चिनियाँले मन पराएपछि निर्यातको ढोका खोलिएको हो । विशेषगरी चिनको सिचुवान प्रान्तको बजारलाई हेरेर राँगा–भैंसीको मासु निर्यात गर्न लागिएको हो । नेपालबाट स्थलमार्ग भएर नै चीनमा मासुपठाउने तयारी छ । 

तर, नेपालमा बध गर्ने, मासु प्रशोधन गर्ने र प्याकेजिङ गर्ने काम त्यति स्तरीय छैन । जसले गर्दा चीनले मागेको गुणस्तरमा मासु दिन नेपाली उद्योगहरुलाई सकस छ । चीनले मासु आयात गर्दा स्रोत मुलुकका राँगाभैंसी रोगमुक्त हुनुपर्ने मापदण्ड बनाएको छ । 

खाद्य स्वच्छता कायम गरेर उत्पादन भएको मासु हुनुपर्छ । वध गर्दा वैज्ञानिक प्रविधिको प्रयोग हुनुपर्ने उसको मापदण्ड छ । 

अब सिन्धुलीमा खुल्ने उद्योगले सबै मापदण्ड पूरा गरेर चीनमा मासु पठाउनेछ । 

चेङ्दु जियान फुड कम्पनीले मरिणमा किन्ने जग्गाको बैनापट्टा गरिसकेको छ । अब चीनबाट पैसा आएपछि जग्गा खरिदको प्रक्रिया टुंगिनेछ । 

यसपछि उद्योगको निर्माणसुरु गरिहाल्ने योजना छ । तीन वटा ठेकेदारहरु यसका लागि काम गर्न तयार भएर बसेका छन् । 

यो उद्योगले वर्षमा २ लाख मेट्रिक टन मासु उत्पादन गर्नेछ । वार्षिक ५५ हजार मेट्रिक टन छाला, टाउको, हड्डी, आन्तरिक अंग पनि उत्पादन हुनेछ । 

कम्पनीले हड्डीको प्रयोगबाट दाना बनाउनेसहितका सहायक उद्योग पनि खोल्नेछ । यस्तै प्याकेजिङका लागि कार्टुनसहितका उद्योग पनि खुल्नेछन् । 

चिनियाँ कम्पनीले एक वर्षभित्र ६ अर्ब रुपैयाँ, २७ महिनासम्म अर्को ४ अर्ब रुपैयाँ भित्र्याउनेछ । ३६ महिनाभित्र थप ४ अर्ब र त्यसपछि ७ अर्ब ल्याएर यो उद्योगलाई वृहत्त बनाउने चिनियाँ कम्पनीको योजना छ । 

शतप्रतिशत विदेशी लगानी र स्वपुँजीमा आधारित यो उद्योगका लागि कम्पनीले चीनकै बैंकबाट ऋण लिने छ । 

यसरी पूर्णतः विदेशी लगानीमा खुल्ने यो उद्योगले आफ्नो उत्पादन मूलतः चीन मात्रै पठाउनेछ । चीनको बजारलाई नेपाली मासुको स्वाद चखाउनेछ । यसले भविष्यमा नेपालका अन्य पशुजन्य उत्पादनको बजार विस्तारको बाटो समेत खोल्न सक्छ । 

झट्ट हेर्दा नेपालमा राँगा–भैंसीको मासु निर्यात गर्ने चिनियाँ उद्योग खुल्दा के हुन्छ र भन्ने लाग्छ सक्छ । तर, यसले प्रत्यक्ष रोजगारीको अवसर दिन्छ । अप्रत्यक्ष रुपमा राँगाभैैंसी पालनलाई पनि प्रोत्साहन गर्नेछ । 

अहिले नेपालमा भैंसीपालन निरुत्साहित छ । पाडा पाल्ने त झन् चलन नै हराइसक्यो । भविष्यमा राँगा र भैंसीको माग बढेमा र त्यसले अझै राम्रो मूल्य पाउने र किसानहरु पनि यसतर्फ आकर्षित हुनसक्छन् ।

नेपालमा अहिले ३० लाख राँगाभैंसी रहेको अनुमान छ । दूधका लागि भैंसी पाल्ने क्रम समेत घटिसकेको छ । त्यसैले भविष्यमा यो संख्या बढाउन पनि चिनियाँ लगानीले सहयोग पुर्‍याउने छ । 

यस्तै अरु सम्भाव्य परियोजनामा पनि यसले विदेशी लगानी आकर्षित गर्नसक्छ । अरु लगानीकर्तालाई पनि नेपालभित्र लगानी गर्न प्रोत्साहित गर्नसक्छ । 

अहिले नेपालबाट वर्षमा करिब ५ अर्बको मासु र दुग्धजन्य पदार्थ निर्यात हुने गरेको छ । वर्षमा एउटै उद्योगले एक खर्बभन्दा बढीको मासु निर्यात गर्ने लक्ष्य राख्नुले नै देखिन्छ, यसले देशबाट हुने निर्यात वृद्धिको सम्भावनालाई पनि दर्शाउँछ । 

नेपाललाई राँगाभैंसीको मासु निर्यातको केन्द्र बनाउने हो भने उत्पादन अनुमतिसहित क्वारेन्टिन तथा निरीक्षण प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउन जरुरी छ । लगानीमैत्री कानुन र प्रशासनिक तथा राजनीतिक व्यवहार जरुरी छ ।

उत्साहपूर्वक आउन लागेको चिनियाँ उद्योगलाई वातावरणीय प्रभाव मूल्यांकन, जग्गाको हदबन्दी फुकाउने नीतिगत निर्णयजस्ता काममा सरकारबाट सहजीकरण चाहिएको छ । 

सरकारले सहज वातावरण बनाएर भविष्यमा चीनमा निर्यात सम्भावना भएका अरु वस्तुका उद्योगहरु पनि नेपालमा खुल्न सक्छन् । 

अरुको देशमा २७ अर्ब रुपैयाँ लगानी कुनै खेलाँची हैन । त्यसैले चिनियाँ लगानीकर्ता ठूलो उत्साह र विश्वासहित नेपाल आउँदैछ, त्यसैले उद्योग विभाग, लगानी बोर्डसहित सम्बद्ध सरकारी निकायले प्रक्रियाको उल्झनबाट उनीहरुलाई निरुत्सहित नगरुन् । 

नेपालबाट भैंसीको मासु चीन निर्यात गर्ने अवसरलाई सदुपयोग गर्न सके भविष्यमा देशको अर्थतन्त्रलाई ठूलो योगदान पुग्ने पक्षलाई ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो