नेभिगेशन
एक्सप्लेनर भिडियो

अझै सकिएको छैन प्रचण्ड र जनार्दनको टकराव

माओवादी सशस्त्र विद्रोहको समयमा प्रचण्ड माओवादी लडाकुको सेनापति थिए भने जनार्दन चार जर्नेलमध्ये एक थिए । 

माओवादीको भाषामा प्रचण्ड सुप्रिम कमाण्डर, अनि जनार्दन शर्मा, वर्षमान पुन, नन्दकिशोर पुन र चक्रपाणि खनाल ४ जना डेपुटी कमाण्डर । 

शान्ति प्रक्रियामा आएपछि प्रचण्डसँग मोहन वैद्य, किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवको मत मिलेन । उनीहरु छुट्टिएर जाँदा जनार्दन, वर्षमानहरुले प्रचण्डलाई साथ दिए । 

फुटेर गएकाहरुले पार्टी त बनाउन सकेनन्, प्रचण्डहरुले पनि माओवादीको शाख जोगाइराख्न सकेनन् । ०६४ को चुनावमा झण्डै ३१ लाख मत पाएको माओवादी क्रमशः कमजोर बन्दै गयो । २०७९ मा आइपुग्दा १२ लाख पनि भेट्टाउन सकेन । 

त्यसबेलासम्म जनार्दन, प्रचण्डकै विकल्प बन्न त तयार भइसकेका थिएनन्, तर उत्तराधिकारीका लागि दाबी गर्दै आएका थिए । त्यही बिन्दुबाट प्रचण्ड र जनार्दनको टकराव सुुरु भएको मानिन्छ । 

२०७८ मा भएको महाधिवेशनमै जनार्दन महासचिवमा प्रतिस्पर्धा गर्न चाहन्थे । बिरामी भएर उपचारका लागि चीनमा रहेका अर्का नेता वर्षमान पुन पनि आकांक्षी थिए । माओवादीमा दुबै नेताको तल्लो तहसम्म आफ्नो गुट रहेको मानिन्छ । 

त्यसैले प्रचण्डले आफूलाई अध्यक्ष त घोषणा गरे, तर अरु पदाधिकारी छानिएन । वर्षमान पुन चीनबाट फर्किएपछि पनि निर्णय गरेनन् । लामो अलमलपछि दुबैलाई छाडेर तेस्रो व्यक्ति देव गुरुङलाई महासचिव बनाए । 

त्यसयता शर्माले नेतृत्व हस्तान्तरणको विषय उठाउन थाले । २०८० फागुनमा विधान सम्मेलनमा प्रत्यक्ष निर्वाचनबाट पार्टी कमिटी छान्ने प्रस्ताव ल्याए ।

२०८१ साउनको स्थायी समिति बैठकसम्म प्रचण्डले नेतृत्व छाड्नुपर्ने मतसहित फरक मत राखे । बदलामा उनीमाथि पार्टी फुटाउन खोजेको आरोप लाग्यो ।

त्यो स्थायी समितिको बैठकमा लामो छलफलपछि स्वयं प्रचण्डले जर्नादनले पार्टी फुटाउँछन् भन्ने भ्रम चिरिएको टिप्पणी गरेका थिए । 

त्यही सन्देशका साथ माओवादीले सबै पदाधिकारीकै उपस्थितिमा प्रदेशस्तरमा परामर्श बैठकहरु पनि राखेको थियो । तर प्रचण्ड र जनार्दनको टकराब कम भएन ।

बरु २०८१ साउन ६ गते भएको एउटा कार्यक्रम र त्यहाँ जनार्दनले गरेको भाषणले त टकराबमा राम्रैसँगै फ्युलिङ गरिदियो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ६ प्रज्ञा भवनमा एउटा कार्यक्रम भएको थियो । जहाँ माओवादीबाट जनार्दन, नेकपाबाट विप्लव, एकीकृत समाजवादीबाट घनश्याम भुसालहरु बोलाइएका थिए । 

कम्युनिस्ट पार्टीहरुको नेतृत्व पुस्तान्तरण हुनुपर्छ र क्रमशः एकतावद्ध हुनुपर्छ भन्ने मत राख्नेहरुको जमघट थियो । त्यसैले नेताहरुले त्यही आशय राखे । 

जनार्दन शर्माले ४०/४५ मिनेट बोलेका थिए । तर कम्युनिष्ट पार्टीको नेतृत्वबारे गरेको टिप्पणीले माओवादीमा  खैलाबेला मच्चियो । उनले कसैको नाम त लिएका थिएनन्, तर कम्युनिस्ट पार्टीभित्र नेतृत्व प्रश्न सुन्न तयार नभएको, जनवाद हराएको र सामन्ती निरंकुशतामा बदलिएको बताएका थिए । 

त्यही टिप्पणीलाई लिएर प्रचण्ड पक्षधर नेताहरु जनार्दनमाथि खनिए । पार्टीेको शाख गिराएकोदेखि पार्टी फुटाउन खोजेकोसम्म आरोप लगाए । 

गत शुक्रबारदेखि सोमबारसम्म चलेको स्थायी समिति बैठक पनि यही विषय वरिपरि घुम्यो । राम कार्की, परशुराम तामाङ, अञ्जना विशंखे र टंक राई बाहेक सबै नेताहरु जनार्दनको विपक्षमा उभिए । 

नेताहरुले पार्टीको प्रणाली बाहिर गएर धारणा राखेको भन्दै शर्मालाई लिखित आत्मालोचना गर्न निर्देशन दिनुपर्ने बताए । उपमहासचिव शक्ति बस्नेतले त अन्यत्र कतैबाट परिचालित भएर अध्यक्षलाई आरोपित गरेको समेत दाबी गरे । 

तर स्थायी समिति बैठक सकिँदा न उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गरे, न प्रचण्डले आत्मालोचना गर्न निर्देशन दिए । 

यद्यपि बैठक सफल भएको नेताहरुको दाबी छ । प्रचण्ड निकटका नेताहरुका अनुसार जनार्दन निकै पर पुगिसकेका थिए, यो बैठकमा उनलाई धेरै नेताले साथ दिएको भए, परिस्थिति फरक हुन सक्थ्यो । 

तर यो बैठकमा जसरी बहुसंख्यक नेताहरु प्रचण्डको पक्षमा उभिए, त्यसपछि बल्ल जनार्दन पार्टी फुटाउँदिन भन्ने निष्कर्षमा पुगेको उनीहरुको भनाइ छ । 

अनि, पार्टी फुटाउनसक्ने आशंका गरिएका उपमहासचिव जनार्दन शर्मालाई पनि तिम्रो साथमा कोही छैन है भन्ने सन्देश दिएको छ । त्यसैले यो बैठक निकै सफल रह्यो । 

माओवादी अध्यक्ष प्रचण्ड स्वयंले पार्टी एकतावद्ध भएको र सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प गरेको प्रतिक्रिया दिएका छन् । 

उपमहासचिव जनार्दन पक्ष पनि खुसी नै छ । उनीहरुका अनुसार जनार्दनले पार्टी फुटाउन खोजेका थिएनन्  । त्यसैले उनले बैठकमा नै पार्टी छाडेर पनि जान्न, फुटाउँदा पनि फुटाउदिन भनेका हुन् । 
नेतृत्व पुस्तान्तरणबारे उनले जे बोलेका छन्, त्यो चाहिँ सोचविचारी नै बोलेका हुन् । त्यसमा आत्मालोचना गर्ने कुनै सोच पनि थिएन, गर्नु पनि परेन । 

त्यसो भए माओवादीमा प्रचण्ड र जनार्दन शर्माको टकराव अन्त्य भयो त ? यो निष्कर्षमा पुग्न हतारो हुन्छ । किनकी अहिले स्थायी समितिको अंकगणितमा जनार्दन कमजोर देखिएका मात्र हुन् । उनीहरुको द्वन्द्वको बिजारोपण भइसकेको छ । यो कसरी अगाडि बढ्छ भन्ने कुरा आगामी दिनका घटनाक्रमहरुले देखाउँछ । 

माओवादीमा स्थायी समिति बैठकको निर्णय देशभर सर्कुलर गर्ने प्रचलन छ । यो बैठकको निर्णयको सर्कुलरमा आत्मालोचनाको विषय कसरी आउँछ ? र, त्यसमा जनार्दन शर्माको प्रतिक्रिया कस्तो रहन्छ भन्नेले धेरै कुरा निर्धारण गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो