कांग्रेसले किन उठायो उपसभामुखको भिसा प्रकरण ?
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय वा न्यायिक समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले डेढ महिनादेखि संसद बहिस्कार गर्दै आएको छ । तर सत्तारुढ कांग्रेस र एमालेले सम्वाद समेत गरेका छैनन् ।
बरु उपसभामुख इन्दिरा राना मगरको भिसा प्रकरण फेरि ब्यूँताएको छ । नेताहरुका अनुसार जसपा नेपाललाई फेरि गठबन्धनमा ल्याउने योजना छ । त्यसो भएमा भिजिट भिसा प्रकरणमा उपसभामुखलाई हटाउने बाटो खुल्ने छ ।
सुरुवात उपसभामुखको विवादबाट गरौं । राजनीतिमा आउनु अघि इन्दिरा राना मगर जेलमा सजाय भोगिरहेका महिलाहरुको सन्तानहरुका लागि काम गर्ने गैरसरकारी संस्था बन्दी सहायता नेपालको अध्यक्षका रुपमा परिचित थिइन् । उनी सन् २०१७ मा बीबीसी १०० विमिनको लिस्टमा समेत परिन् । तर २०७९ को चुनावबाट उदाएको रास्वपाले उनलाई समानुपातिक सांसद बनायो ।
तत्कालीन सत्ता समिकरणको भागवण्डामा उपसभामुख रास्वपाले पायो, राना २०७९ माघ ७ गते प्रतिनिधि सभाको उपसभामुख भइन् । तर त्यसको डेढ वर्षपछि एउटा पत्र सार्वजजिक भयो, जसले उनी गम्भीर विवादमा मुछिइन् ।
भएको के रहेछ भने उपसभामुख भएको एक महिनापछि नै रानामगरले अमेरिकी दूताबासलाई एउटा पत्र लेखेकी रहेछिन् । जसमा उनले न्यूयोर्कमा हुन लागेको एक सम्मेलनमा आफू जान लागेको उल्लेख गरेकी छन् र आफ्नो टिममा रहेको भन्दै ५ जनाको नाम समावेश गरेकी छन् ।
उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ आफ्नो टिममा रहेको भन्दै उनले पत्रमा उनीहरुसँगै आफ्नो अन्तर्वार्ता मिति राख्न आग्रह गरेकी छन् । उपसभामुखको लेटर प्याड प्रयोग गरेर लेखिएको पत्रमा उल्लेख भएका ५ जना गैर सम्वन्धित थिए ।
सुरुमा यसबारे रास्वपामा उजुरी परेको थियो, तर नेताहरु गुपचुप राखे । उपेन्द्र गौतम रास्वपा झापाका नेता थिए भने अरु रकम बुझाएर अमेरिका उड्न खोजेका थिए । रवि लामिछाने गृहमन्त्री भएको बेला यसबारे खोजीविन गर्दा उनीहरु उड्न नपाएको खुल्यो । अनि रकम पनि फिर्ता भएको बताइएपछि नेताहरु चुप बसे ।
तर २०८१ साउनमा उपसभामुख राना मगरले अमेरिकी दूताबासमा लेखेको पत्र सार्वजनिक भयो । कांग्रेस र एमालेका सांसदहरुले मानव तस्करीमा जोडिएको भन्दै उनको राजीनामा मागे ।
सुरुमा त उपसभामुख राना मगरले पत्र आफूले नलेखेको दाबी गरेकी थिइन् । हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने जिकिर गरेकी थिइन् । सभामुखले हस्ताक्षर दुरुपयोग भएको हो भने कीर्तेमा उजुरी गर्नुस भनेपछि पत्र लेखेको स्वीकार गरिन् ।
रास्वपा झापाका नेता गौतमको आग्रहमा पत्र लेखेको भन्दै उनले आफ्नो नियत गलत नभएको बताइन् । सत्तारुढ कांग्रेस र एमालेले त्यसबेला नै उपसभामुख राना मगरलाई हटाउन चाहेका थिए । अविश्वास प्रस्ताव लैजाने समेत छलफल भएको थियो । तर समयक्रमसँगै सत्तारुढ कांग्रेस र एमालेले यो मुद्दालाई यतिकै छाडेका थिए ।
पछिल्लो पटक जेठ दोस्रो साता भिटिज भिसा प्रकरण आयो । किनकी भिजिट भिसामा विदेश जानेहरुसँग सेटिङमा प्रिपेड घुस असुली गरेको आरोपमा त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख तीर्थ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।
भिजिट भिसा प्रकरणमा मुछिएकाहरु सचिवालयमा राखेको खुलेपछि गृहमन्त्री रमेश लेखक समेत विवादमा तानिए । सुरुमा त माओवादीले समेत गृहमन्त्रीको राजीनामा मागेको थियो । संसद अवरुद्ध गरेको थियो । तर सरकार छानबिन समिति बनाउन तयार भएपछि माओवादी सहमतिमा गयो । रास्वपाले संसद अवरुद्ध गरिरह्यो ।
आफ्नो अवरोधका बाबजुद संसद चलाएपछि रास्वपासँगै राप्रपाले बैठकको सुरुमा उभिएर विरोध गर्ने, सभामुखले समय दिएपछि बोल्ने र बैठक बहिस्कार गर्ने गर्दै आएको छ । कांग्रेस र एमालेले संसदको चौथो र पाँचौं ठूलो दलको विरोधलाई सम्बोधन गर्ने रुची देखाएका छैनन् ।
बरु फेरि उपसभामुख इन्दिरा राना मगरको विषय ब्यूँताएको छ । बुधबार संसद बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछाने गृहमन्त्री भएको बेला सबैभन्दा धेरै मानिस भिजिट भिसामा गएको तथ्यांक सुनाए । भिजिट भिसामा रास्वपाले अतार्किक विषय उठाएको बताए, अनि उपसभामुखले अमेरिकी दूताबासलाई लेखेको पत्र देखाएर प्रश्न गरे ।
भिजिट भिसामा त छानबिन भइरहेको, तर रास्वपाकै अडानका कारण उपसभामुखको फाइल पेन्डिङमा गएको बताए ।
उनले यसो भनिरहँदा रास्वपाका सांसदहरु बैठकमा थिएनन्, तर उपसभामुख राना मगर बैठकको अध्यक्षता गरिरहेकी थिइन् ।
नेताहरुका अनुसार कांग्रेस महामन्त्री शर्माले उपसभामुख इन्दिरा राना मगरको विषय प्रशंगबस उठाएका होइनन् ।
शीर्ष तहमा समेत छलफल भएको छ, अब उपसभामुख हटाइन पनि सक्छ ।
संविधानको धारा ९१ अनुसार सभामुख र उपसभामुख तीन अवस्थामा पदमुक्त हुन्छन् । पहिला, प्रतिनिधिसभा सदस्य नरहेमा, राजीनामा दिएमा वा पद अनुकूल आचारण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्यको दुई तिहाईले पास गरेमा ।
उपसभामुख राना मगर संसद सदस्यबाट पदमुक्त हुने अवस्थामा पनि छैन, उनले तक्काल राजीनामा दिने सम्भावना छैन । त्यसले उनलाई हटाउने हो भने पद अनुकूल आचारण नगरेको भन्ने प्रस्ताव संसदमा दर्ता हुनुपर्छ र यसलाई संसदको दुई तिहाईले पास गर्नुपर्छ ।
कांग्रेस र एमाले नेतृत्वको सत्ता गठबन्धनसँग अहिले दुई तिहाई छैन । यसका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन जरुरी छ । जबकी जसपा नेपालले हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेताहरुका अनुसार जसपा नेपालसँग सहमतिका लागि प्रयास भइरहेको छ ।
किनकी जसपा नेपालसँग सहमति हुँदा प्रतिनिधिसभामा दुई तिहाई मात्र पुग्दैन, राष्ट्रिय सभामा पनि सरकारको बहुमत पुग्छ ।
त्यसैले सुरुमा जसपा नेपाललाई लुम्बिनी प्रदेशको सरकारमा सहभागी गराउने र मधेश प्रदेशमा सरकारको नेतृत्व दिने कांग्रेस र एमालेको तयारी छ । त्यसपछि केन्द्र सरकारमा पनि जसपा नेपाललाई ल्याउने दुबै दलको चाहना छ । त्यसो भएमा कांग्रेस र एमालेले भिजिट भिसा प्रकरणमा उपसभामुखलाई हटाउन सक्ने छन् ।

निजी विद्यालयको आपत्ति पूर्ण छात्रवृत्तिमा, शिक्षकको आपत्ति सरुवा, बढुवामा

विश्व सम्पदा क्षेत्रमा कंक्रिट, विरोधमा जनता

अझै सकिएको छैन प्रचण्ड र जनार्दनको टकराव

विवाहेत्तर सम्बन्ध राख्नेलाई दोस्रो विवाहको बाटो खोल्दै सरकार
