नेभिगेशन
अर्थ

तेल बेचेर एउटै पेट्रोल पम्पले कमाउँछ ९ करोड

नेपालमा सबैभन्दा धेरै तेल बेच्ने पेट्रोल पम्प कुन होला ? अनि सबैभन्दा धेरै कुन पम्पले कमाउला ? 

टप टेनभित्र कुन–कुन पेट्रोल पम्प होलान् ? अनि तिनको कारोबार कति होला ? 

यो सूची हामीले गत आर्थिक वर्ष २०८१/८२ मा देशभरका पेट्रोल पम्पहरुले गरेको डिजेल र पेट्रोल कारोबारको आधारमा तयार गरेका छौं । यो तथ्यांक हामीलाई नेपाल आयल निगमले उपलब्ध गराएको हो । 

तथ्यांकअनुसार देशका ९ वटा पेट्रोल पम्पले वर्षभरिमा १ अर्ब रुपैयाँभन्दा बढीको तेल बेचेका छन् । तर, ७० करोडदेखि एक अर्बसम्म रुपैयाँको तेल बेच्ने पम्पहरुको संख्या १२ वटा छ । 

९ वटा पम्पले त वर्षमै कमिसनबाटै ५ करोड रुपैयाँ भन्दा बढी कमाउँछन् । पम्पहरुले पेट्रोल बेच्दा मूल्यको ६ प्रतिशत र र डिजेल ४.९ प्रतिशत कमिसन पाउँछन् । 

यो सूची हेरे पछि तपाईंले आफैंं थाहा पाइहाल्नुहुन्छ, पेट्रोल पम्प बिजनेस कस्तो हो अनि यसमा यसमा कति नाफा छ भनेर ।  

१० औं नम्बरमा छ, रुपन्देहीको अशोक सप्लायर्स । यो पम्पले वर्षभरिमा ६९ लाख २२ हजार लिटर तेल बेच्यो । यति तेल बेच्दा अशोक सप्लायर्सले ९९ करोड ५९ लाख रुपैयाँको कारोबार गर्‍यो । यसबाट यो पम्पले ४ करोड ९३ लाख रुपैयाँ कमिसन पायो । 

नवौं नम्बरमा छ, नुवाकोटको बट्टारमा रहेको भैरवी आयल स्टोर । यो पम्पले वर्षमा ६८ लाख ६७ हजार लिटर तेल बेच्यो । तेल बेचेर १ अर्ब १ करोड रुपैयाँको कारोबार गर्‍यो । अनि आयल निगमबाट ५ करोड १८ लाख रुपैयाँ कमिसन बुझ्यो । 

आठौं नम्बरमा छ भक्तपुरको बाग्मती आयल । यो पेट्रोल पम्पले वर्षभरिमा ६७ लाख ५० हजार लिटर तेल बेचेर १ अर्ब १ करोडकै कारोबार गर्‍यो । यो पम्पले वर्षभरिमा आयल निगमबाट ५ करोड ४७ लाख रुपैयाँ कमिसन हात पार्‍यो । 

सातौं नम्बरमा छ, साझा पेट्रोल पम्प । नझुकिक्नुस् यो पम्प ललितपुरको हैन, चितवनको हो । चितवनको साझा पम्पले वर्षभरिमै ७१ लाख ७९ हजार लिटर तेल बच्यो । एक वर्षमा एक अर्ब ५ करोडको कारोबार गरेबापत पम्पले ५ करोड ७६ लाख कमिसन बटुल्यो ।

छैठौं नम्बरमा वीरगञ्जको अरबिन्द इम्पोरियम छ । यो पम्पले एक वर्षमा ७८ लाख ३० हजार लिटर तेल बेच्दा १ अर्ब १२ करोडको कारोबार गर्‍यो । यो पम्पले वर्षभरिमा ५ करोड ५० लाख रुपैयाँ कमिसनबापत पायो । 

०००

कुरा गरौं पाँचौं नम्बरको पम्पको । सूचीको पाँचौं नम्बरमा छ, भक्तपुरको भक्तपुर फ्युल सेन्टर । यो पम्पले वर्षभरिमा ७६ लाख लिटर तेल बेच्यो । १ अर्ब १२ करोडको कारोबार गर्दा भक्तपुर फ्युलले ५ करोड ८१ लाख कारोबार गर्‍यो । 

चौथो नम्बर छ, बारा पथलैयामा रहेको प्रहरी कल्याण केन्द्र पम्प । यो नेपाल प्रहरीले चलाएको पेट्रोल पम्प हो । यो पम्पले एक वर्षमा ८६ लाख ६८ हजार लिटर तेल बेचेर १ अर्ब २४ करोडको कारोबार गर्‍यो । यो पम्पले वर्षमा ६ करोड ८ लाख रुपैयाँ कमिसन पायो । 

तेस्रो नम्बरमा छ, साझा सहकारीको पेट्रोल पम्प । ललितपुर पुल्चोकमा रहेको यो पम्पले वर्षभरिमा ९२ लाख ९९ हजार लिटर तेल बेच्दा १ अर्ब ४१ करोडको कारोबार गर्‍यो । एक वर्षमा कमिसन मात्रै ७ करोड ९८ लाख रुपैयाँ हात पार्‍यो । 

धेरै तेल बेच्ने पम्पको सूचीमा दोस्रोमा छ, कैलाश आयल डिस्ट्रिब्युटर्स । यो पेट्रोल पम्प चितवनको नारायणगढमा नारायणी पुलको छेउमै रहेको छ । यो पम्पले वर्षभरिमा १ करोड १२ लाख ६४ हजार लिटर तेल बेच्दा १ अर्ब ६४ करोड ६८ लाखको वार्षिक कारोबार गर्‍यो । अनि ८ करोड ६३ लाख रुपैयाँ कमिसनबाटै कमायो । 

पहिलो नम्बरमा छ, भैरवी इन्टरप्राइजेज । नाम सुन्नुभएको थियो ? यो पम्प धादिङ सदरमुकाम धादिङबेसीको हो । यो पम्प देशभरमै सबैभन्दा धेरै तेल बेच्ने पम्प हो । वर्षभरिमा यो पम्पले १ करोड २४ लाख ६७ हजार लिटर तेल बेचेर रेकर्ड बनाएको छ । यसको वर्षभरिको कारोबार मात्रै १ अर्ब ८० करोड ४८ लाखको छ । यो कारोबारबाट पम्पले ९ करोड २६ लाख रुपैयाँ कमिसन पाएको छ ।

एक नम्बरको भैरवी पम्प राजमार्गमा छैन । तर, पनि यो पम्पले कसरी देशकै धेरै कारोबार गरिरहेको होला त ? कारण हो, धादिङबेसीमा अर्को पम्प नै छैन । यसको एकाधिकार छ । त्यसैले यो पम्पले राजमार्ग र काठमाडौंका पम्पहरुलाई नै माथ खुवाइरहेको छ । 

तपाईंलाई यति सुनेपछि लाग्ला, पेट्रोल पम्पको बिजनेसमा नाफा त गजबकै रहेछ । कमसिनबाटै एटै पम्पले टन्नै कमाएकोजस्तो देखिन्छ । 

तर, कमिसनबाटै पम्पहरुले तेल ढुवानी र पम्प सञ्चालन खर्च जुटाउनुपर्छ । वर्किङ लस पनि पम्पहरुले ब्यहोर्नुपर्छ । निगमले तोकेकै दरमा तेल बेच्नु पर्ने भएकाले उनीहरुले कमिसन जति बचाउन सक्छन्, खुद नाफा उति बढ्ने हो । 

पेट्रोल पम्पको बिजनेस गर्न सुरुमा त आयल निगमबाटै अनुमति लिनुपर्छ । अहिले ग्रमाणी क्षत्रेमा र नयाँ सडकहरुमा मात्रै पम्पको अनुमति खुला छ । अन्यत्र नयाँ पम्प खोल्न पाइँदैन । 

नयाँ पम्प खोल्दा निगमले तोकेको मापदण्डअनुसार पूर्वाधार बनाउनुपर्छ । जग्गाको प्रवन्ध गर्नेदेखि फायर पम्प तयार गरेर फाइटिङसम्मको पूर्वाधार मापदण्डहरु पूरा गर्नुपर्छ । त्यसैले पम्प खोल्दा एउटा लेभलको लगानी गर्नैपर्छ । 

त्यसपछि यही कमिसनबाट पम्पहरुले खर्च जोगाएर नाफा कमाउनुपर्छ । नयाँ लगानी गर्नेहरुलाई लगानी उठाउन समय लाग्छ । तर, लगानाी उठाइसकेकाहरुले पम्प सञ्चालनमा राम्रै मुनाफा कमाउँछन् । नयाँलाई भने सजिलो छैन ।  

टप टेन सूची सुनेपछि तपाईंलाई जिज्ञासा हुनसक्छ । यी बाहेक पनि राम्रो कारोबार गर्ने पम्प कुन–कुन हुन सक्ला त ? 

११ औं नम्बरमा रुपन्देहीकै मिलन ब्रदर सप्लायर्स छ । यसले वर्षभरिमा ९७ करोड २७ लाख ६१ हजार रुपैयाँको तेल बेचेको छ । 

धादिङको ग्रेट हिमाल आयल सेन्टर १२ औं नम्बरमा छ । यसले वर्षभरिमा ८५ करोड ८ लाख ७ हजारको तेल बेचेको छ । 

१३ औं स्थानमा सिन्धुलीको नेहा आयल स्टोर्स छ । यो पम्पले एक वर्षमा ८४ करोड ८२ लाख ८० हजारको तेल बिक्री गरेको छ । 

धेरै तेल बेच्ने सूचीको १४ औं नम्बरमा काठमाडौंको हिमाल इन्टरप्राइजेज छ । यो पम्पले ८३ करोड २४ लाख १० हजार रुपैयाँको कारोबार गरेको छ । 

१५ औं नम्बरमा रहेको तनहुँको सुगम आयल सप्लायर्सले एक वर्षमा ८२ करोड ५१ लाख रुपैयाँको तेल बेचेको छ । 

१६औं स्थानमा हेटौंडाको बलराम दास एण्ड सन्स छ । यो पम्पले एक वर्षमा ७८ करोड ८७ लाख २२ हजार रुपैयाँको तेल बेचेको छ । 

१७ औं नम्बरमा काठमाडौंको रिपुमर्दिनी पेट्रोल पम्प छ । नेपाली सेनाको यो पम्पले वर्षभरिमा ७६ करोड ६५ लाख ७० हजारको तेल बेचेको छ । 

१८ औं स्थानमा धुलिखेलको भगवती आयल स्टोर छ । यो पम्पले वर्षभरिमा ७६ करोड ४६ लाख २७ हजारको तेल बिक्री गरेको छ । 

१९ औं नम्बरमा हेटौंडाको बाबा भोला फ्युल सेन्टर छ । यसले एक वर्षमा ७४ करोड ८४ लाख ८० हजार रुपैयाँको कारोबार गरेको छ । 

२० औं नम्बरमा छ, ललितपुरको बज्रबाराही फ्युल सेन्टर । यो पम्पले एक वर्षमा ७३ करोड ६८ लाख ७८ हजार लिटर तेल बेचेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप अर्थ