नेभिगेशन
विश्व

पुटिनले अंग्रेजी बोल्दा ट्रम्प दंग, विश्वभर तरंग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित भेटवार्ता अलास्कामा निकै सौहार्दपूर्ण रह्यो ।

यद्यपि यो भेटवार्ताले तत्कालका लागि कुनै उपलब्धी दिएन । किनकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुसबीच युद्धबिराम चाहेका थिए । 

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा भने रुसी राष्ट्रपति पुटिनले अंग्रेजीमा बोलेर ट्रम्पलाई अचम्ममा पारिदिए । रुसी राष्ट्रपति पुटिनले अंग्रेजीमै बोलिदिए, नेक्स्ट टाइम इन मस्को ।’ 

उनले ट्रम्पलाई अर्को वार्ताका लागि रुसमा निम्तो गरेका हुन् । यो कुनै नौलो विषय थिएन । नौलो थियो त उनले अंग्रेजी बोल्नु । 

त्यसैले अलास्का वार्तामा युद्धबिराम सम्झौता हुन नसकेको भन्दा पुटिनले अंग्रेजी बोलेको विषयले चर्चा भयो । पुटिनले एक वाक्य अंग्रेजी बोलेको भिडियो देखेपछि धेरैले कमेन्ट गरे, के उनले अंग्रेजी बोल्छन् ? 

किनकी द्धिपक्षीय भेटवार्ता होस् वा अन्तराष्ट्रिय मञ्चहरुमा होस्, पुटिनले रुसी भाषा मात्र बोलेको देखिन्छ । अन्तर्वार्ता र विश्व नेताहरुसँगको राजनीतिक भेटवार्तामा पनि अनुवादक प्रयोग गर्छन् । 

बेलायतबाट प्रकाशित हुने पत्रिका डेली एक्सप्रेसका अनुसार रुसी राष्ट्रपति पुटिन राम्रो अंग्रेजी बोल्छन् । 

पुटिनका प्रवक्ता डिमित्री पेस्कोभका अनुसार अनौपचारिक कुराकानी र साइडलाइन भेटवार्ताहरुमा भने पुटिनले अंग्रेजी नै बोल्छन् । पुटिनले अंग्रेजी राम्रो बुझ्छन् भन्ने कुरा भेटवार्ताहरुमा उनको भाव भंगिबाट पनि थाहा हुन्छ । अनुवाद नगर्दै उनले कुरा बुझिसकेको थाहा पाइन्छ । अझ कहिलेकाहीँ त पुटिनले अनुवादकले बिगारेको बेलामा सच्याइदिने पनि गर्छन् ।

गत मे महिनामा ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको थियो । पुटिनका प्रवक्ता डिमित्री पेस्कोभका अनुसार ट्रम्पले के भनेका छन् भनेर अनुवादकले भन्नु अगाडि नै पुटिनले बुझिसकेका थिए । 

तर द्धिपक्षीय भेट र कूटनीतिक वार्ताहरुमा भने उनी अनुवादक राखेर रुसी भाषामै कुराकानी गर्छन् । आफ्नो मातृभाषामा बोल्न सजिलो मान्ने हुनाले पुटिनले अनुवादक प्रयोग गरेका हुन् । मातृभाषामा बोल्दा अन्तर्राष्ट्रिय फोरममा बढी कन्फिडेन्ट र कम्फरटेबल देखिने हुनाले पनि उनले रुसी भाषा नै बोलेको हुनसक्छ ।

पुटिनले आफ्नो मातृभाषासँगै जर्मन भाषा पनि राम्रोसँग बोल्छन् । सन् १९८० तिर रसियाको इन्टेलिजेन्स इकाइ कमिटी फर स्टेट सेक्युरिटी (केजीबी) मा रहँदा पुटिन केही समय जर्मनीमा पनि बसेका थिए । 

उनले त्यहीँ जर्मन भाषा सिकेको हुन सक्छ । उनले पूर्वजर्मन चान्सलर एन्जेला मर्केलसँग जर्मन भाषामै कुराकानी गर्थे । 

पुटिनले द्धिपक्षीय वार्ताको समयभन्दा बाहिर राम्रो अंग्रेजी बोलेका उदाहरणहरु छन् । सन् २००८ मा उनले जर्जिया युद्धको विषयमा सीएनएनलाई अन्तर्वार्ता दिँदा पुटिनले अंग्रेजी बोलेका थिए । 

यो पटक अलास्का भेटवार्तापछि ट्रम्पलाई ‘नेक्स्ट टाइम इन मस्को’ भनिदिए । यसले राजनीतिभन्दा उनीहरुको अन्तर्क्रियाको मानवीय पक्ष देखाएको छ । तर उनको जम्मा एक वाक्य अंग्रेजी रुसी भाषामा बोल्ने सयौं शब्द भन्दा अर्थपूर्ण थियो । ट्रम्पले स्वभाविक मुस्कानका साथ जवाफ दिए । 

भेटवार्ता पछिको पत्रकार सम्मेलनमा ट्रम्पले आफू तत्कालै युद्धबिराम हुनुपर्ने पक्षमा रहेको बताए । तर रुस तयार भएन ।

अब उनीहरुबीचको अर्को वार्ता पुटिनले भनेको र ट्रम्पले स्वीकार गरेजस्तो मस्कोमा होला वा नहोला ? धेरैको चासो छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व