इमरानलाई महंगो पर्यो सेनासँगको लडाईं, मुनिरले लिइरहेका छन् बदला
इमरान खान र असिम मुनिर ।
पाकिस्तानका दुई शक्तिशाली व्यक्ति हुन् । तर एक अर्काका कट्टर विरोधी ।
कुनै बेला प्रधानमन्त्री इमरान खानले लेफ्टिनेन्ट असिम मुनिरलाई आईएसआईको प्रमुखबाट बर्खास्त गरेका थिए ।
तिनै असिम मुनिर अहिले पाकिस्तानकै सबैभन्दा शक्तिशाली बनेका छन्, उनलाई संविधान नै संशोधन गरेर असीमित अधिकार दिइएको छ ।
अनि तिनै असिम मुनिरलाई बर्खास्त गर्ने इमरान खान १७ वर्षका लागि जेल पठाइएका छन् ।
पाकिस्तानमा चिफ अफ डिफेन्स फोर्स असिम मुनिरको राइज र पूर्वप्रधानमन्त्री इमरान खानको फल कसरी एक आपसमा सम्बन्धित छन् ?
०००००
सुरुमा कुरा गरौं इमरान खानको ।
पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको सत्ता राजनीतिका नयाँ पात्र हुन् ।
उनी सन् १९९२ मा पाकिस्तानले विश्वकप जित्दाको कप्तान थिए ।
सन् २०१८ मा परम्परागत शक्तिलाई चुनावबाट हराउँदै इमरान खान अस्वभाविक रुपमा पाकिस्तानको राजनीतिमा उदाए ।
उनी नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टी (पीटीआई) ले ३४२ सिटको पाकिस्तानी संसद नेशनल एसेम्बलीमा १५७ सिट जितेको थियो ।
शहरी मध्यमवर्ग, युवा र महिलाहरु उनको पार्टीका समर्थक थिए । जसले पाकिस्तानको राजनीतिको मूलधारलाई विश्वास गरेको थिएन ।
उनीहरुकै भोटको बलमा इमरान खानले पाकिस्तानमा शक्ति आर्जन गरे ।
उनले प्रधानमन्त्रीका रुपमा ४ वर्ष काम गरे । तर सन् २०२२ मा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भयो । पाकिस्तानमा अविश्वास प्रस्तावमार्फत पद गुमाउने उनी पहिलो प्रधानमन्त्री बन्न पुगे ।
प्रधानमन्त्री पदबाट हटेको एक वर्ष पछि सन् २०२३ को अगस्ट महिनादेखि जेलमा छन् ।
शनिबार पाकिस्तानी अदालतले इमरान खान र उनकी पत्नी बुस्रा बिबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ र १७ वर्ष जेल सजाय सुनाएको छ ।
उनीहरुमाथि इमरान प्रधानमन्त्री हुँदा विभिन्न देशका राष्ट्रप्रमुखहरुले दिएको उपहार सस्तो मूल्यमा बिक्री गरेको आरोप छ ।
पाकिस्तानमा प्रतिष्ठित व्यक्तिहरुले पाएको उपहार बजार मूल्यमा किन्नुपर्ने र त्यसको बिक्रीबाट भएको नाफा घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
इमरान खान र उनकी पत्नीले साउदी अरेबिया सरकारले दिएको उपहार बजार मूल्य भन्दा धेरै सस्तोमा बेचेको आरोप छ ।
इमरानमाथि १०० भन्दा धेरै मुद्दाहरु छन् । उनले ती सबै मुद्दाहरु राजनीति प्रेरित भएको बताएका छन् ।
०००
अब सेना प्रमुख असिम मुनिरको कुरा गरौं ।
फिल्ड मार्शल असिम मुनिर सन् १९८० मा पाकिस्तानी आर्मीमा भर्ती भएका थिए । उनी चलाख सैनिक अधिकृत भएकाले छोटो समयमा नै पदोन्नति भएर माथिल्लो निकायमा पुगेका थिए ।
सन् २०२३ मा असिम मुनिर पाकिस्तानको चिफ अफ डिफेन्स फोर्स थिए ।
गत नोभेम्बरमा संविधान संशोधन गरेर उनलाई एयर फोर्स र नेभी फोर्सको पनि प्रमुख बनाइएको छ । त्यसैले अहिले उनको पदहो फिल्ड मार्शल ।
पाकिस्तानको संविधानको २७ औं संशोधनको एक्ला लाभकर्ता फिल्ड मार्शल असिम मुनिर नै हुन् भनिन्छ ।
जनरल असिम मुनिर त्यसै शक्तिशाली व्यक्ति थिए । अब त झन् उनी पाकिस्तानको इतिहासमै सबैभन्दा शक्तिशाली सेनाप्रमुख बनेका छन् ।
यसअघि सत्ता हातमा लिएका सेनापति परवेज मुसर्रफ भन्दा पनि बढी ।
अनि उनको पाँच वर्र्षे कार्यकाल अब सुरु हुने भनिएको छ । कार्यकाल थप गर्न सक्ने प्रावधान पनि संविधानमा राखिएको छ ।
यति मात्र होइन, उनलाई जीवनभरका लागि फौजदारी अभियोजनबाट उन्मु्क्ति दिइएको छ ।
कश्मिरको पहलगाममा आतंकवादी हमलापछि भारतसँग बढेको तनावका बेला खेलेको भूमिका कारण पाकिस्तानमा सेनापति मुनिरको प्रशंसा भएको थियो ।
पहलगाममा आतंकवादी हमला भएको विरोधमा भारतले पाकिस्तानी क्षेत्रमा सैन्य आक्रमण गरेको थियो । त्यतिबेला पाकिस्तानी सेनाले जवाफी कारबाही गर्दै भारतको डटेर सामना गरेको थियो ।
त्यतिबेला असिम मुनिरले सैन्य मात्र नभएर कूटनीतिक भूमिका पनि निर्वाह गरेका थिए ।
असिम मुनिरले घरेलु राजनीतिमा मात्र नियन्त्रण राखेका छैनन् । कूटनीतिक सम्बन्धहरु पनि विस्तार गरिरहेका छन् ।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि सम्बन्ध विकास गरेका छन् । यसले लोकतन्त्रको पक्षमा अमेरिकाले पार्न सक्ने अप्ठेरोको खतरा पनि उनीमाथि नरहेको विश्लेषण गरिएको छ ।
०००
अब इमरान खान र पाकिस्तानी सेनाको सम्बन्धबारे कुरा गरौं ।
पाकिस्तानको राजनीति सेनाबाट नियन्त्रित छ । त्यहाँ सेनाको सपोर्ट नपाउने राजनीतिज्ञ सत्तामा बस्न सम्भव नहुने मात्र होइन, अनेक समस्या झेल्नुपर्छ । पाकिस्तानमा जेल नपर्ने पूर्वप्रधानमन्त्री नै छैनन् ।
सन् २०१८ को चुनावबाट इमरान खान पाकिस्तानको सत्तामा उदाए । तर उनी पाकिस्तानको स्थायी सत्ता भन्दा बाहिरका मानिस थिए ।
सेनाले इमरान खानलाई सम्भावित मित्रशक्तिको रुपमा हेरेको थियो । सेनाको चाहना उनले आफ्नो अनुकुल काम गरिदेओस् भन्ने थियो । पर्दा पछाडिबाट गर्ने कामलाई इमरान खानले पनि बैधता देहोस् भन्ने चाहना राखेको थियो ।
तर उनी सत्तामा आएसँगै सेनाको त्यो चाहना पूरा भएन । बरु सन् २०२२ मा अविश्वास प्रस्तावमार्फत उनी प्रधानमन्त्रीबाट हटाइए ।
त्यसपछि इमरान र उनका समर्थकले यो घटनाको योजनाकार सेना हो भनेर दोषारोपण गरे । यो घटनाले इमरान र पाकिस्तानी सेनाको दूरी झन् बढ्यो । इमरान खानले सेना आफूविरुद्ध लागेको बुझे । सेनाले पनि इमरानलाई विरोधी देख्यो ।
इमरान खानका समर्थक शहरी मध्यमवर्ग, महिला र युवाहरु, जो राजनीतिबाट टाढा थिए । उनीहरुले पाकिस्तानी सेनालाई पाकिस्तानी राजनीतिको बाधाको रुपमा हेर्न थाले ।
उनीहरुले इमरान खान प्रधानमन्त्रीबाट हट्नुमा विपक्षी राजनीतिक दल भन्दा सेनालाई नै मुख्य दोषी देखे ।
इमरान खान पदमुक्त भएपछि सेनाको अफिसरहरुको नामै लिएर आरोप प्रत्यारोप गर्न थाले । उनले पटक पटक लिने नाम थियो असिम मुनिर ।
इमरानले असिम मुनिरले आफ्नो पार्टीलाई समाप्त पार्न खोजेको आरोप लगाउने गर्थे । यसमा उनीहरुको व्यक्तिगत इगोले पनि काम गरेको छ ।
सन् २०१९ मा तत्कालिन सेना प्रमुख कमार जावेद बाज्वाले असिम मुनिरलाई गुप्तचर निकाय आइएसआईको महानिर्देशक बनाएका थिए । उनको कार्यकाल ३ वर्ष थियो ।
तर असिम मुनिर आठ महिनामै बर्खास्तमा परे । भएको के थियो भने आईएसआई प्रमुख हुँदा असिम मुनिरले प्रधानमन्त्री इमरान खानकी पत्नी बुस्रा बिबी जोडिएको भ्रष्टाचार आरोपको छानबिनमा चासो देखाएका थिए ।
तर यो कुरा इमरान खानलाई मन पर्ने कुरा भएन । त्यसपछि उनले असिम मुनिरलाई आइएसआइको प्रमुखबाटै हटाएर अन्तै सरुवा गरिदिएका थिए ।
देशको गुप्तचर निकायको प्रमुखलाई बीचैमा त्यसरी हटाउनुले असिम मुनिरलाई निकै चोट परेको थियो ।
नोभेम्बर २०२२ मा असिम मुनिर पाकिस्तानको चिफ अफ डिफेन्स फोर्स भए ।
सन् २०२३ को मे महिनामा इमरान खान पक्राउ परे । खान पक्राउ परेकामा ठूलो विरोध भयो । उनका समर्थकहरु रावलपिन्डीमा आर्मी जनरलको हेडक्वार्टरको गेट नै तोडफोड गरेर भित्र प्रवेश गरे ।
उनीहरुले पाकिस्तानी सैनिक मुख्यालयभित्रको तस्वीर र भिडियोहरु सोसल मिडियाबाट सार्वजनिक गरे ।
धेरै पाकिस्तानीले आफ्नो सेनाको विलासी अवस्था पहिलो पटक देखेका थिए । त्यो भिड नियन्त्रण सेनाका लागि निकै चुनौतीपूर्ण बनेको थियो ।
सेना प्रमुख असिम मुनिरले त्यो दिन अर्थात् मे ९ तारेखलाई पाकिस्तानी इतिहासकै कालो दिन भनेका छन् ।
त्यसपछि सरकारले इमरान खानको पार्टीका नेताहरुलाई पक्राउ गर्न थाल्यो । प्रदर्शनकारीमाथि सैन्य अदालतमा मुद्दा चलाउन थाल्यो ।
नेताहरुलाई पार्टी छोड्न दबाब दिन थाल्यो ।
मे ९ तारेखको घटनालाई सेना र इमरान खानले आआफ्नो तरिकाले ब्याख्या गरे । सेनाले इमरान खानले आफ्नो रेडलाइन पार गरेको घटनाको रुपमा लियो भने इमरान खानले आर्मी आफ्नो पार्टी समाप्त पार्न लागि परेको निश्कर्ष निकाले ।
इमरान खानले आफू जेल पर्नुमा असिम मुनिर जिम्मेवार भएको आरोप लगाउने गरेका छन् ।
सन् २०२४ को मे महिनामा इमरान खानले बेलायती पत्रिका टेलिग्राफमा समाचार लेखेर असिम मुनिरप्रति आक्रोश पोखेका थिए । असिम मुनिर नेतृत्वको पाकिस्तानी सेनाले आफ्नो पार्टीलाई पाकिस्तानको राजनीतिबाट समाप्त पार्न हरसम्भव प्रयास गरिरहेको उनको आरोप थियो ।
उनले यो पनि भनेका छन् कि, आफू र आफ्नी पत्नीलाई केही भइहाल्यो भने त्यसको जिम्मेवार असिम मुनिर हुनेछन् ।
इमरान खान र उनको दल तेहरिक ए इन्साफका नेताहरुले पाकिस्तानको राजनीतिमा सैनिक हस्तक्षेपको विरोध गर्दै आएका छन् ।
इमरान खानसँग निकट रहेकाहरु कि लखेटिएका छन्, कि पक्राउ परेका छन् । इमरान प्र्रधानमन्त्री हुँदा मन्त्री रहेकाहरु र पीटीआईका कयौं नेता पाकिस्तान बाहिर छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत सेनाविरुद्ध टिप्पणी गरिरहेका छन् ।
पीटीआईका नेता कार्यकर्ताबाट सेना र त्यहाँको सत्ता डराएको छ ।
०००
इमरान खान र असिम मुनिरको झगडामा केही जातीय पक्ष पनि देखिएको छ ।
पाकिस्तानको सैनिक र केन्द्र सरकारका निकायहरुमा पञ्जाबीहरुको बाहुल्य छ ।
खैबर पख्तुन र बलुचिस्तानमा पठानहरुको बाहुल्य छ । उनीहरुले केन्द्र सरकारको निकायमा पठानहरु किनारामा पारिएको महसुस गरेका छन् ।
संघीय सरकारको बजेटमा पञ्जाबको नियन्त्रण भएकाले खैबर पख्तुन अविकसित भएको अन्यायको भावना उनीहरुमा छ ।
पञ्जाब बहुल पाकिस्तानको संस्थापन आफूहरुको विरुद्धमा रहेको पठानहरुको बुझाइ छ ।
इमरान खानको पठान आइडेन्टिटी र खैबर पख्तुनमा पीटीआईको प्रभावले पनि यसमा भूमिका खेलेको छ ।
यसरी हेर्दा इमरान खान र असिम मुनिरको विवाद व्यक्तिगत झगडाभन्दा धेरै माथि पुगिसक्यो ।
पाकिस्तान आर्थिक संकट, आन्तरिक सुरक्षा चुनौती जस्ता समस्याको सामना गरिरहेका बेला प्रभावशाली सैनिक नेतृत्व र लोकप्रिय राजनीतिक व्यक्तिको विवादले मुलुक अनिश्चिततामै रहिरहने देखिन्छ ।
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्





-1767872172.jpg)
