नेभिगेशन
विश्व

भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार

भेनेजुयलामा गत बुधबार गएको विनाशकारी भूकम्पमा १४ सयभन्दा बढीले ज्यान गुमाए । हजारौं मानिस भग्नावशेषमा पुरिएका छन् ।

त्यसरी पुरिएका ३२ घण्टापछि १८ दिनका नवजात शिशु र उनकी आमाको भने सकुशल उद्दार गरिएको छ ।

३२ घण्टापछि उनीहरुको सकुशल उद्दार हुनुलाई धेरैले मिराकल बनेका छन् ।  १८ दिनका बालक जुवान डेभिड आशाको प्रतीक बनेका छन् । आमाछोराको उद्दार गरेको भिडियो फुटेज अहिले विश्वभरि फैलिएको छ ।

०००

गेरसन र डायना पाटिनोको परिवार भेनेजुयलाको ला गुएरा क्षेत्रको एक अपार्टमेन्टको आठौं तलामा बस्थे ।

गेरसन भूकम्प आउँदा भर्खरै घरभित्र छिरेका थिए । कार पार्किङ गर्दै थिए । भूकम्प गएपछि भागेर ज्यान जोगाए ।

तर आमा-छोरा भूकम्पले अपार्टमेन्ट भत्किँदा भग्नावशेषमा पुरिए । डायनाले बताएअनुसार भूकम्प गएका बेला उनी घर सफाइ गरिरहेकी थिइन् । एक्कासी घर हल्लिन थालेपछि छोरालाई अंगालो हाल्न भ्याइन्, त्यही बेला अपार्टमेन्ट गर्ल्यामगुर्लुम ढल्यो ।

'पहिला त मलाई उडिरहेको जस्तो महसुस भयो । त्यसपछि मलाई हिलो माटोमा डुबेको जस्तो महसुस भयो । र त्यसपछि म एउटा खाल्डोमा खसेँ । मलाई थाहा छैन मैले कसरी बच्चालाई समाइरहेँ, किनकी म त उडिरहेकी थिएँ', डायनाले बीबीसीसँग भनेकी छन् ।

खाल्डामा खस्दा उनको खुट्टा र कन्चट ढुंगाले च्यापिएको थियो । तर काखमा बच्चा समाइरहेकी थिइन् । उनले सहयोग माग्दै चिच्याइन् । तर सबैतिर तहसनहस भएकाले उनले तत्काल उद्दार पाउने सम्भावना थिएन । वरिपरि कोही मान्छे छैन भन्ने लागेपछि उनलाई चिच्याएर बल खेर फाल्नु हुँदैन भन्ने ठानिन् ।

नजिकै मान्छेहरु आएको थाहा पाएपछि मात्र चिच्याउने विचार गरिन् । डायनाका अनुसार उनी छोराले सास फेरेको छ कि छैन भनेर बेला बेला नाकमा हात लैजान्थिन् । त्यसरी बसेको बेला उनले भग्गावशेषहरुको थुप्रोमा अलिकति उज्यालो देखिन् ।

आफ्नो दाइले नाम लिएर बोलाइरहेको सुनिन् । त्यसपछि उनलाई लाग्यो यही हो मौका । उनी बेस्सरी चिच्याइन् ।

उननका दाइले म जसरी पनि तिमीलाई निकाल्छु भनेर आश्वासन दिए । नभन्दै भूकम्प गएको ३२ घण्टापछि बिहीबार राति आमाछोराको जीवितै उद्दार भयो ।

आमा डायनालाई दुबै खुट्टामा चोट लागेको छ भने उनका छोरालाई सामान्य चोट मात्र छ ।

नवजात शिशुकी आमा डायना पाटिनोले आफू छोराकै आशाले जिउँदो रहन सकेको प्रतिक्रिया दिएकी छन् । उनले छोराबारे बीबीसीसँग भनेकी छन्, 'ऊ जतिबेलासम्म जिउँदो रहन्थ्यो म पनि त्यतिबेलासम्म जिउँद हुन्थेँ ।'

श्रीमती र १८ दिनको छोरालाई जीवित भेट्नुलाई गेरसनले चमत्कार भनेका छन् । सामाजिक सञजालमा भेटिएको फुटेजमा गेरसन छोरालाई अंगालो हालेर भावुक भएको देखिन्छ ।

उनले भनेका छन्, यो कुरा म वयान गर्न सक्दिन मैले सोचेको थिएँ, अब उनीहरुसँग मेरो भेट हुँदैन । अनि जब मैले छोरालाई देखेँ मलाई पुनर्जन्मको महसुस भयो ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व