नेभिगेशन
विश्व

टेक जाइन्टको महंगो प्रेम, छाड्नुपर्‍यो आफ्नै अर्बौंको साम्राज्य

विश्वकै ठूलो प्रविधि कम्पनीका सीईओ, जसले विवाहेत्तर सम्बन्ध विवादमा परेपछि राजीनामा दिनुपर्‍यो । उनको राजीनामा विश्वभर चर्चाको विषय बनेको छ । 

सूचना प्रविधि क्षेत्रमा मात्र होइन, सेयर बजार र राजनीतिमा पनि यसको तरंग फैलिएको छ । अमेरिका र चीनबीचको सम्बन्धमा पनि उनकै नाम जोडिएर आएको छ । ती व्यक्ति हुन्, जेन्सेन हुवाङ । 

ताइवानमा जन्मेको, ९ वर्षको हुँदा अमेरिका छिरेको, अनि रेष्टुरेन्टमा काम गर्दै पढेको एउटा युवक कसरी विश्व हल्लाउने ठाउँमा पुग्यो ? उसको कम्पनी कसरी विश्वकै मूल्यवान कम्पनी बन्यो ? 

को हुन् जेन्सेन हुवाङ ? 

एनभिडिया एक यस्तो प्रविधि कम्पनी हो, जसले एडभान्स्ड आर्टिफिसियल इन्टेलिजेन्स बजारमा ९० प्रतिशत हिस्सा ओगट्छ । 

नयाँ टेक्नोलोजीका लागि अति महत्वपूर्ण मानिएको माइक्रो चिप्सको बजारमा एनभिडियाको दबदबा छ । यो कम्पनीको भ्यालू अहिले करिब ४ ट्रिलियन डलर रहेको छ । 

आइफोन निर्माता एप्पलपछि विश्वकै मूल्यवान कम्पनी एनभिडिया नै हो । यसले आफ्ना उत्पादनहरु गुगल, मेटा, अमेजन, माइक्रोसफ्ट, स्पेस एक्स, टेस्ला, ओपन एआई, एन्थ्रोपिक जस्ता ठूलो टेक कम्पनीहरुलाई बिक्री गर्छ । 

एनभिडियाका संस्थापक र ३३ वर्षसम्म सीईओ रहेका जेन्सेन हुवाङ विश्वका अर्बपतिहरुको सूचीमा टप टेनभित्रै पर्छन् । उनको सम्पत्ति १४५ बिलियन अमेरिकी डलर छ । 

जेन्सेन हुवाङको जन्म सन् १९६३ मा एसियाली देश ताइवानमा भएको हो । उनका बुबा हुवाङ सिङ ताइ केमिकल इन्जिनियर थिए भने आमा लो साइ प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । 

जेन्सेङ हुवाङ ५ वर्षको हुँदा उनीहरुको परिवार ताइवानबाट थाइल्याण्ड बसाइँ सर्‍यो । त्यही बेला उनका बुबा एउटा तालिममा अमेरिका जान पाएका थिए । जब उनले अमेरिका देखे, तब आफ्ना छोराहरुको भविष्यका लागि अमेरिका नै उपयुक्त ठाउँ ठहर गरे । 

भियतनाम वारका कारण दक्षिण पूर्वी एसिया क्षेत्र नै तनावपूर्ण थियो । त्यसैले जेन्सेन हुवाङका बाबुले ठाने कि, थाइल्याण्ड पनि अब सुरक्षित छैन । त्यसपछि उनले छोराहरुलाई अमेरिका पठाउने निधो गरे । 

सन् १९७२ मा हुवाङ ९ वर्षको हुँदा उनी र उनका दाजु अमेरिका पुगे । वासिंङ्टन डीसीमा काका थिए । उनकै हेरचाहमा हुवाङ दाजुभाइले स्कुल पढ्न थाले । 

२ वर्षपछि उनीहरुका बाबुआमा पनि अमेरिका पुगे, परिवारमा फेरि पुनर्मिलन भयो । अमेरिकामा सुरुका दिनहरुमा जेन्सेन हुवाङले धेरै कठिनाइ झेले । एक त आप्रवासी, त्यसमाथि उनी अंग्रेजी राम्रो जान्दैनथे । त्यसैले स्कुलमा धेरै बुलीको शिकार भए । 

हाइस्कुल पढ्दा जेन्सेन हुवाङले पैसाका लागि रेष्टुरेन्टमा डिसवासर र वेटरको काम पनि गरे । सन् १९८४ मा जेन्सेन हुवाङले अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा ग्रयाजुएट गरे ।

त्यसपछि उनी काम खोज्न सिलिकन भ्यालीमा गए । त्यहाँ उनले सुरुमा एडभाइन्स माइक्रो डिभाइस कम्पनीमा काम गरे । त्यहाँ एक वर्ष काम गरेपछि एलएसआई लजिक कर्पोरेसन नामक कम्पनीमा जागिर पाए । 

एलएसआई लजिक सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी थियो । हुवाङले यो कम्पनीको इन्जिनियरिङ, मार्केटिङ र जनरल म्यानेजमेन्ट सबै विभागमा काम गरे । त्यहाँ उनी प्रमोसन हुँदै डिरेक्टरसम्म पनि भए । विभिन्न भूमिकामा गरेको कामले उनलाई एउटा कम्पनी कसरी चलाउने भन्ने अनुभव पनि दियो । 

त्यहाँ काम गर्दा गर्दै उनले इलेक्ट्रिकल इन्जिनियरिङमा नै स्टानफोर्ड युनिभर्सिटीबाट मास्टर्स गरे । 

जेन्सेन हुवाङ र हालकी उनकी पत्नी लोरी मिल्सको भेट ओरेगन स्टेट युनिभर्सिटीमा स्नातक पढ्दै गर्दा भएको थियो । उनीहरु दुबैजना इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थी थिए । उनीहरुले सन् १९८५ मा विवाह गरेका थिए । उनीहरुका एक छोरी र एक छोरा छन् । दुबै एनभिडियामा उच्च तहमा काम गरिरहेका छन् । 

कसरी भयो एनभिडियाको स्थापना ? 

सन् १९९३ को एक दिन जेन्सेन हुवाङ उनका २ जना साथीहरु क्रिस मालाचोस्की र कुर्टिस प्रियमबीच एउटा डिनरमा बसेका थिए । 

उनीहरुको उद्देश्य एउटा टेक कम्पनी खोल्ने थियो । त्यसका लागि ४० हजार डलर पुँजी जुटाउने सल्लाह गरे । 

व्यवसाय दर्ताको कागजी कामका लागि तीनै जनाले जनही २–२ सय डलर छुट्याए । त्यही कम्पनी नै आजको एनभिडिया हो । हुवाङले सीईओको रुपमा काम सुरु गरे । 

त्यतिबेला उनीहरुले गेमिङमा फोकस गरेका थिए । उनीहरुको सोचाइ थियो, कि अब कम्प्युटर गेमिङको मार्केट धेरै फस्टाउँछ, त्यसका लागि शक्तिशाली ग्राफिक्स प्रोसेसिङको आवश्यकता पर्छ । 

उनीहरुले छोटै समयमा भेन्चर क्यापिटल फर्मबाट २ करोड अमेरिकी डलर लगानी पनि जुटाउन सफल भए । कम्प्युटर गेमिङमा उनीहरु धेरै सफल भएनन्, तर त्यो बेला सिकेको सीपले नै एनभिडियालाई आजको उचाइमा पुर्‍यायो । 

एनभिडियाले पछि आर्टिफिसियल इन्टेलिजेन्स, मोबाइल कम्प्युटिङ, अटोनोमस भेहिकल टेक्नोलोजी र सोसल नेटवर्किङको क्षेत्रमा काम गर्‍यो । यद्यपि पावरफुल गेमिङहरुको विकासले एनभिडियालाई एआई क्रान्तिका लागि धेरै सहयोग गर्‍यो । 

उनीहरुले सुरुमा गेम डेभलपमेन्टका लागि डिजाइन गरेको चिप्सले पछि मेसिन लर्निङ अल्गोरिदम सञ्चालन गर्न पनि काम दियो । 

सन् १९९९ मा एनभिडियाले यस्तो प्रविधि विकास गर्‍यो, जसलाई विश्वको पहिलो ग्राफिक्स प्रोसेसिङ युनिट मानिन्छ । यी चिप्सले एडभान्स कम्प्युटर ग्राफिक्स बनाउन सक्थे, जसले भिडियो गेमहरुमा उच्च स्तरको थ्रीडी इन्भाइरोमेन्ट तयार गर्थ्यो । 

धेरै समय नबित्दै उनीहरुले बुझे कि यसको उपयोग गेमिङमा भन्दा धेरै परसम्म हुन सक्छ । त्यसको केही समयमा त एआई युगको सुरु भइहाल्यो । 

सन् १९९९ मा एनभिडिया कम्पनी पब्लिक कम्पनी बन्यो । कम्पनीको सेयर मूल्य १०० डलर पुगेको दिन हुवाङले आफ्नो पाखुरामा एनभिडियाको लोगोको टाटु खोपाएका थिए । 

धेरैले भन्छन् कि एनभिडियाका चिप्स बेजोड छ, यसको माग यति उच्च छ कि, कतिपय कम्पनीहरुले ती चिप्स पाउन धेरै मिहिनेत गर्नुपर्छ । यही कारण एनभिडियाको ग्रोथको आँकडाले धेरैलाई चकित पारेको छ । 

सन् १९९९ मा सेयर बजारमा लिस्टिङ भएयता यसको सेयर भ्यालू ४ लाख ७७ हजार प्रतिशतले बढेको छ । पछिल्लो ५ वर्षमा मात्र पाँच गुणाले बढेको छ । 

एनभिडियामा हुवाङको ३.५ प्रशिशत सेयर छ । एनभिडियाको भ्यालू बढेसँगै उनको सम्पत्ति पनि तिब्र गतिमा बढेको छ । फोब्र्स म्यागजिनका अनुसार सन् २०१७ मा उनको सम्पत्ति २ बिलियन डलर थियो । सन् २०२६ को नोभेम्बरको सुरुमा उनको सम्पत्ति १६० बिलियन डलर थियो । यद्यपि उनको विवाद सार्वजनिक भएपछि पछिल्ला ४ दिनमा मात्र उनले १९ बिलियन अमेरिकी डलर सम्पत्ति गुमाएका छन् । 

जेन्सेन हुवाङ काममा अत्यधिक खट्ने, कडा स्वभावका कार्यकारी प्रमुखका रुपमा चिनिन्छन् । एउटा विवादास्पद घटनापछिको उनको बर्हिगमनले ग्लोबल स्टक मार्केटमा नै अनिश्चितता ल्याएको छ । अनि एन्भिडियाको भविष्यमाथि पनि प्रश्न उठेको छ । 

जेन्सेन हुवाङको विवाहेत्तर सम्बन्ध विवाद

हुवाङले एनभिडियाको प्रमुख कार्यकारीका रुपमा ३३ वर्ष काम गरे । 

तर गत अक्टोबर २९ मा हुवाङको बारेमा एउटा समाचार सार्वजनिक भयो– उनी एक महिलासँग अफेयरमा छन् । ती महिलाको नाम हो, एलिस हुवाङ, जो सिंगापुरमा रहेको प्रविधि कम्पनी मेगास्पिडकी पूर्वप्रमुख कार्यकारी अधिकृत थिइन् । अमेरिकी अधिकारीहरुको दाबी छ कि एलिस हुवाङ चिनियाँ गुप्तचर निकायकी सहयोगी हुन् । 

जेन्सेन हुवाङ र एलिसको सम्बन्धलाई लिएर अमेरिकाको राष्ट्रिय सुरक्षामै प्रश्न उठ्यो । किनकी अमेरिका आफ्नो देशमा बनेका अत्याधुनिक एआई चिप्स चीनमा निर्यात गर्नहुन्न भन्ने पक्षमा छ । हुवाङले चीनमा एनभिडियाको चिप्स बिक्रीमा लगाएको प्रतिबन्धविरुद्ध वर्षौंसम्म लबिङ गरेका थिए । 

सन् २०२५ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाको एच२०० चिप चीन निर्यात गर्न स्वीकृति दिएका थिए । तैपनि अमेरिकामा यो प्रविधिले चीनको एआई क्षमतालाई सुदृढ पार्न सक्ने चिन्ता थियो । 
यो चिप चीनमा पाइने एच२० मोडलका चिप भन्दा ६ गुणासम्म शक्तिशाली थियो । 

चिनियाँ कम्पनीहरुले एनभिडियाको एच२०० चिप्स २० लाख वटा भन्दा धेरै अर्डर गरेका थिए । जसको सम्भावित मूल्य ५४ बिलियन अमेरिकी डलर हुन्थ्यो । 

आलोचकहरुले भने यसरी चीनमा एडभान्स्ड एआई चिपहरु निर्यात गर्दा चीन पनि एआई प्रविधिमा सक्षम हुँदै जाने र भोलि अमेरिकालाई भेट्टाउन सक्ने आशंका गर्थे ।

अमेरिकाले चिनियाँ स्पाइ भनेकी महिलासँग जेन्सेन हुवाङको सम्बन्धले यसमा प्रश्न उठाएको थियो । कतै तिनै महिलाको प्रभावमा परेर हुवाङले चीनमा चिप्स निर्यातको लबिङ गरेका त होइनन् भन्ने आशंका पनि भयो । 

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ठूला टेक कम्पनीका मालिकहरु नै हुवाङको पक्षमा उभिए । एनभिडियाको बोर्ड हुवाङको पक्षमा उभियो । गत आइतबार एनभिडियाले हुवाङको नेतृत्वप्रति आफूहरुको विश्वास रहेको भनेको थियो । अनि उनी चिनियाँ गुप्तचर निकायको निशानामा परेको हुन सक्ने आशंकामा अनुसन्धान पनि सुरु गरेको थियो । 

यो सम्बन्धको खुलासापछि हुवाङले आफ्नी श्रीमतीलाई विश्वासघात गरेकामा माफी मागेका थिए । यो घटना अब यत्तिकै सेलाउने धेरैको अनुमान थियो । 

तर यो घटना सेलाउन नपाउँदै फेरि सञ्चार माध्यमहरुमा अर्को घटना सार्वजनिक भयो । जेन्सेन हुवाङको एनभिडियामै काम गर्ने वरिष्ठ अधिकारीसँग पनि लभ अफेयर थियो । 

१८ वर्षदेखि एनभिडियामा काम गरेकी स्वास्थ्य सेवा विभागकी उपाध्यक्ष किम्बर्ली पावेलसँगको हुवाङको अफेयर रहेको समाचारहरु आएपछि भने हुवाङ राजीनामा दिन बाध्य भए । 

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार एनभिडियामा नै काम गर्ने अर्की महिलासँग पनि हुवाङको अफेयर थियो । तर ती महिलाको नाम खुलाइएको छैन । हुवाङले राजीनामा दिएपछि एनभिडियाका चिफ फाइनान्सियल अफिसर कोलेट क्रेस अन्तरिम सीईओ बनेकी छन् । 

जेन्सेन हुवाङले राजीनामा दिएपछि धेरै प्रश्न उठेको छ । यो उनीमाथि भन्दा पनि एनभिडिया र टेक कम्पनीको भविष्यलाई लिएर छ । किनकी यो घटनापछि एनभिडियाको सेयर मूल्यमा निकै गिरावट आएको छ । अब प्रश्न उठेको छ, एन्भिडियाको नेतृत्व कसले सम्हाल्छ र भविष्यमा एआई प्रविधि क्षेत्र कसरी अगाडि बढ्छ ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व