नेभिगेशन
विश्व

चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ

विश्वमा सडक मार्ग छोट्याउन हजारौं सुरुङमार्गहरु बनिसके । तर यस्तो सुरुङमार्ग कमै बनेका छन् । 

३ हजार मिटरको उचाइ, हिमपातका कारण ६ महिना आवतजावत नै बन्द हुने जटिल भौगोलिक क्षेत्रमा १३ किलोमिटर लामो सुरुङ । 

भारतले चीन र पाकिस्तानको बोर्डर क्षेत्रका सैन्य क्याम्पमा बन्दोबस्तीका सामान लैजान सहज बनाउने गरी यो सुरुङमार्ग बनाइरहेको छ । 

यो सुरुङमार्गले जम्मु–कश्मिर र लद्दाखलाई जोड्नेछ । हिमपातका कारण ६ महिना बन्द हुने सडक सुरुङ बनेपछि बाह्रै महिना चल्नेछ । 

सन् २०२० मा गलवान घाँटीमा चीनसँगको भिडन्तमा आफ्ना २० सैनिक मारिएपछि भारतलाई हिमाली क्षेत्रमा पूर्वाधार अभाव खट्किएको थियो । त्यसैले ६ हजार ८०० करोड भारतीय रुपैयाँ खर्चेर ठूलो सुरुङमार्ग बनाउँदैछ । 

जोजिला टनेलले जम्मुकश्मिरलाई लद्दाखसँग जोड्नेछ । जम्मुकश्मिरको श्रीनगरबाट लद्दाख जाने सडक हिउँदका कयौं महिना हिमपातले अवरुद्ध हुन्थे । अब त्यही ठाउँमा सुरुङमार्ग बनेको छ । 

यो सुरुङ मार्गलाई भारतको महत्वाकांक्षीमध्ये एउटा पहाडी पूर्वाधार परियोजना हो । 

हिमपात भइरहने, हिमपहिरो पनि झरिरहने र ३ हजार मिटर अग्लो ठाउँमा यति ठूलो विकास आयोजना बन्न लागेकाले यसलाई विश्वकै अप्ठेरो भौगोलिक क्षेत्रको पूर्वाधार मानिन्छ । 

सुरुङको लम्बाई १३ किलोमिटर, चौडाइ ९.५ मिटर र उचाइ ७.५ मिटर रहेको छ । 

सुरुङमा मोर्डन भेन्टिलेसन सिस्टम राखिनेछ । अटोमेटिक फायर डिटेक्सन सिष्टम, एडभान्स सीसीटीभी सर्भिलेन्स र पैदलयात्रीका लागि छुट्नै क्रस प्यासेज रहनेछ । 

टनेलमा ८ वटा कट एण्ड कभर सेक्सन, ४ वटा पुल अनि ४० वटा कल्भर्ट र हिउँ जम्मा हुने स्नो ग्यालेरी पनि बनाइनेछ । 

यो टनेलले सोनामार्गदेखि मिनामार्गसम्मको यात्रालाई ९० मिनेटबाट १५ मिनेटमा झार्नेछ । यसले समय र इन्धनको वचत त हुन्छ नै दुर्घटना पनि कम गर्नेछ । 

त्यो क्षेत्रमा पर्यटक बढाउनेछ भने व्यापार व्यवसाय पनि फैलनेछ । ग्रामीण क्षेत्रमा यातायातको सुविधा पनि बढाउनेछ । 

जोजिला पासमा जाडो मौसमको तापक्रम माइनस ३५ डिग्री सेल्सियससम्म झर्छ । भारी हिमपात, हिमपहिरो खस्ने जस्ता कारणले जाडो महिनामा सडक बन्द गर्ने गरिएको थियो । दशकौंदेखि यो सडक वर्षमा १६० देखि १८० दिनसम्म बन्द हुँदै आएको थियो । 

तर पछिल्ला वर्षमा छिटोछिटो हिउँ हटाउने र सडक मर्मत सम्भार गर्ने क्रम बढेकाले बन्द हुने समय घटिरहेको छ । सन् २०२४ मा ३५ दिन, सन् २०२५ मा ३२ दिन र २०२६ मा ७३ दिन बन्द भयो । 

००० 

यो सुरुङ मार्ग भारतको राष्ट्रिय सुरक्षाका दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । चीन र पाकिस्तानको सीमा क्षेत्रमा रहेका भारतीय सैनिक क्याम्पमा आवश्यक बन्दोबस्तीका सामान लैजान यो सुरुङ निकै महत्वपूर्ण हुनेछ । 

जाडो महिनामा सडक बन्द हुँदा सीमा क्षेत्रका सैन्य क्याम्पहरुमा सामान लैजाने हेलिकप्टर प्रयोग गर्ने गरिएको थियो । सुरुङ बनेपछि बाह्रै महिना सडक सञ्चालन हुनेछ र ढुवानी सहज हुनेछ । 

भारतले सन् २०२० अक्टोबर १ तारेखमा सुरुङ निर्माण सुरु गरेको थियो । सुरुङ निर्माणमा ३ हजार भन्दा धेरै कामदार खटिएका थिए । 

जोजिला टनेल न्यू अष्टियन टनेलिङ मेथडबाट खनिएको हो । यो प्रविधि विशेषगरि हिमाली भेग र कडा चट्टान भएका ठाउँमा उपयोगी मानिन्छ । सुरुङको निर्माण फेबु्रअरी २०२८ मा सकिने अनुमान गरिएको छ । 

सन् १९९९ मा भएको कारगिलको युद्धपछि भारतले लद्दाखलाई धेरै सुरक्षा चुनौती भएको ठाउँको रुपमा लिएको छ । 

यो टनेल चिनियाँ सीमादेखि ३०० किलोमिटर दूरीमा छ भने पाकिस्तानबाट १५० किलोमिटरको दूरीमा छ । दुई देशसँगको सीमा क्षेत्र भएकाले भारतले लद्दाखमा धेरै सैन्य क्याम्पहरु राखेको छ । त्यहाँ सैनिकहरु आवतजावत गर्नुका साथै उनीहरुका खाद्यान्न र बन्दोबस्तीका सामान धेरै ओसारपसार गर्नुपर्छ । 

चीनको सीमा क्षेत्र गलवान घाटीमा सन् २०२० मा चीन र भारतीय सेनाबीच झडप समेत भएको थियो, जसमा २० जना भारतीय सेनाले ज्यान गुमाएका थिए । 

त्यो घटनाबाट भारतले हिमाली क्षेत्रमा तत्काल रेस्पोन्स र सैनिक सहायता पुर्‍याउन बाटो चाहिने पाठ सिकेको थियो । त्यसैको एउटा हिस्साका रुपमा अहिले जोजिला सुरुङ निर्माण भैरहेको छ । यो सुरुङ सन् २०२८ मा सञ्चालनमा आउने भनिएको छ । 

हेर्नुहोस् भिडियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व