विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
सन् २०२५ मा विश्वका धेरै देशहरु युद्धबाट प्रभावित भए । रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धमा विश्वका धेरै देशहरु प्रत्यक्ष अप्रत्यक्ष संलग्न भए । अनि धेरै देशहरु आन्तरिक द्वन्द्वमा रुमल्लिए, कतिपय देशमा ठूला आन्दोलनबाट सत्तापलट भए, कतिपय देशमा सेनाले शासन हातमा लियो ।
यति हुँदाहुँदै पनि विश्वका कतिपय देशहरु भने लगातार शान्त रहेका छन् । त्यहाँ बाह्य युद्धको त कुनै गुन्जायस छैन, देशभित्रै पनि आन्दोलन हुँदैन । दिन होस् कि रात होस्, गाउँ होस् कि शहर मानिसहरु निर्धक्क छन् ।
देशको आर्थिक अवस्था राम्रो छ, राज्यले दिने सेवा सुविधा र सुरक्षाको प्रत्याभूति बलियो छ । इन्ष्टिच्युट अफ इकोनोमिज एण्ड पिस नामक संस्थाले हरेक वर्ष ग्लोबल पिस इन्डेक्स सार्वजनक गर्दै आएको छ ।
त्यही ग्लोबल पिस इन्डेक्स २०२५ का आधारमा हामी टप ५ शान्त देशको विषयमा जानकारी दिनेछौं ।
१. आइसल्याण्ड
विश्वको सबैभन्दा शान्त र सुरक्षित देश हो, आइसल्याण्ड । यो देश सन् २००८ देखि लगातार ग्लोबल पिस इन्डेक्सको शीर्ष स्थानमा कायम छ । ग्लोबल पिस इन्डेक्सको मुख्य तीन क्षेत्र सुरक्षा, जारी युद्ध र सैनिकीकरण तीनवटैमा आइसल्याण्डले धेरै अंक पाएको छ ।
अझ यसले गत वर्षहरुमा भन्दा आफ्नो शान्तिको स्थितिमा २ प्रतिशतले सुधार गरेको छ ।
आइसल्याण्डको जनसंख्या करिब ४ लाख छ ।
आइसल्याण्ड विश्वमै कम अपराध हुने देश हो । यहाँका प्रहरीहरुले बन्दुक पनि बोक्दैनन् भनिन्छ ।
यहाँका बासिन्दाले सुरक्षाको चिन्ता लिनुपर्ने कुनै ठाउँ छैन । रातिमा पनि मानिसहरु सार्वजनिक स्थलमा ढुक्कले हिँडडुल गर्छन् । क्याफे र पसलहरुमा पनि बच्चाहरु ढुक्कले निदाइरहेका हुन्छन् र, उनीहरुका आमाबाबु काम गरिरहेका हुन्छन् वा खानेकुरा खाइरहेका हुन्छन् ।
आइसल्याण्ड लैंगिक समानतामा पनि विश्वकै अग्रणी देश हो । रोजगारी र आम्दानीको हिसाबले पनि यो देश निकै राम्रो छ ।
आइसल्याण्डमा सन् २०२२ मा प्रहरीले आतंकवादी गतिविधि गर्न खोजेको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो । यस्तो खालको घटना त्यो नै पहिलो थियो । त्यसपछि आजसम्म पनि यस्तो अर्को घटना भएको छैन ।
२. आयरल्याण्ड
आयरल्याण्ड विश्वको शान्त र सुरक्षित देशको सूचीको दोस्रो नम्बरमा छ । योदेश विश्वकै धनी, विकसित र खुशी देशमा पनि पर्छ ।
सन् २०२० मा आयरल्याण्ड एकै पटक सात स्थान माथि उक्लेर ग्लोबल पिस इन्डेक्सको चौथो स्थानमा आएको थियो । त्यसपछि कहिले दोस्रो त कहिले तेस्रो स्थानमा कायमै छ । यसको मतलब यहाँ असन्तुष्टि छैन भन्ने होइन । कोरोना महामारीका बेला यहाँ लकडाउनको विरोधमा प्रदर्शन पनि भएको थियो ।
तर विरोध प्रदर्शनको आर्थिक क्षति भने यहाँ विश्वका अरु देशको तुलनामा धेरै नै कम छ । आयरल्याण्ड रातारात शान्त मुलुक बनेको होइन । आयरल्याण्डको बेलायतसँग शताब्दीऔं लामो झगडा र विवाद थियो ।
आयरल्याण्डले वर्षैसाल आफ्नो सैनिकीकरण घटाउँदै लगिरहेको छ । अहिले यहाँ आन्तरिक र बाह्य द्वन्द्वको खतरा छैन । यो देशका मानिसहरुमा सामाजिक र साथीत्वको भावना बढी छ ।
बलियो सामाजिक सुरक्षा र सामुदायिक भावनाका कारण आयरल्याण्डमा असमानता र तनाव धेरै कम छ । यहाँका बासिन्दाले एक अर्काको हेरचाह गर्छन् । ग्लोबल स्टेजमा आयरल्याण्डले सैनिक न्युट्रालिटी पनि कायम राखिरहेको छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को आधिकारिक सदस्य नभएको चार युरोपेली देशमध्ये आयरल्याण्ड पनि एक हो ।
३. न्युजिल्याण्ड
विश्वको शान्त र सुरक्षित देशको सूचीमा तेस्रो नम्बरमा छ न्युजिल्याण्ड । न्युजिल्याण्ड यो वर्ष सूचिमा २ स्थान माथि चढेर तेस्रो नम्बरमा पुगेको हो । यसले आफ्नो सुरक्षासम्बन्धी सूचकमा निकै राम्रो प्रगति हासिल गरेको छ ।
न्युजिल्याण्ड प्रशान्त महासागरको एक टापु देश हो । भौगोलिक अवस्थाका कारण पनि यो देशमा बाह्य आक्रमणको खतरा छैन । तर आन्तरिक नीतिका कारण पनि यहाँका बासिन्दाले शान्तिको महसुस गर्छन् ।
न्युजिल्याण्डको बन्दुकसम्बन्धी कानुन विश्वकै कडामध्ये एक मानिन्छ, यही कारण पनि सुरक्षासम्बन्धी सूचकमा यो देशले धेरै अंक पाएको देखिन्छ । यो यस्तो देश हो, जहाँका बच्चाहरु हिँडेरै स्कुल जान्छन् । मानिसहरुले आफ्नो घरको ढोका खुला राख्छन् । सडकमा कुनै गाडी बिग्रियो भने अर्को गाडीको चालकले मद्दत गर्छ । यहाँका बासिन्दाहरु एक अर्कालाई विश्वास गर्छन् र उनीहरुमा सामूहिक भावना देखिन्छ ।
न्युजिल्याण्ड प्राकृतिक रुपमा पनि सुन्दर देश छ । यहाँ घुम्न आउने पर्यटकहरु सुरक्षाप्रति ढुक्क हुन्छन् ।
४. अष्ट्रिया
विश्वको शान्त र सुरक्षित देशको चौथो स्थानमा रहेको छ अष्ट्रिया । अघिल्लो वर्ष तेस्रो स्थानमा रहेको अष्ट्रिया यस वर्ष एक स्थान तल झरेको हो । आयरल्याण्डजस्तै अष्ट्रिया पनि असंलग्नको नीतिमा लगातार अडिग छ । यो देश पनि नेटो जस्तो सैनिक संगठनमा आवद्ध छैन ।
सैनिक क्षेत्रमा लगानी गर्नु नपरेका कारण अष्ट्रियाले आफ्नो स्रोत साधन र ध्यान आन्तरिक अवस्था मजबुत बनाउनमा लगायो । यो देशको दशकौं लामो असंलग्न नीतिको अर्थ हो, यसले आफ्नो जनताका लागि लगानी गर्छ, युद्धका लागि होइन ।
अष्ट्रियामा सामाजिक सुरक्षाको व्यवस्था बलियो छ, स्वास्थ्य उपचारमा विश्वमै अब्बल छ, अनि शिक्षामा पनि उत्तिकै राम्रो छ । यहाँका मानिसहरु मध्यरातमा पनि नदी किनारमा घुमिरहेका हुन्छन्, घरका ढोकाहरु खुलै छाडिएको हुन्छ, साइकलहरु क्याफे बाहिर साङ्लाले नबाँधी राखिएका हुन्छन् ।
आम्दानी, रोजगारी र आवासमा सूचकले राम्रो देखाए पनि अष्ट्रियामा पछिल्ला वर्षहरुमा असन्तोषहरु देखा परिरहेका छन् । पछिल्ला वर्षहरुमा दक्षिणपन्थी फ्रिडम पार्टीले आप्रवासीविरुद्ध अभियान चलाइरहेको छ । सन् २०२० को नोभेम्बरमा आइएसआइएसका लडाकुको गोली लागेर ४ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
सन् २०२५ को क्ष्लोबल पिस इन्डेक्सको रिपोर्ट आउनु भन्दा केही दिनअगाडि पनि बन्दुकधारीले एक हाइस्कुलमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो ।
५. स्वीटजरल्याण्ड
विश्वकै शान्त देशको सूचीको पाचौं नम्बरमा रहेको छ स्वीटजरल्याण्ड । यो देश राजनीतिक स्थायित्वमा विश्वकै अग्रणी छ । स्वीटजरल्याण्ड नेपालजस्तै भूपरिवेष्ठित र संघीयता भएको देश हो । भौगोलिक र जातीय विविधता भएको यो देश प्राकृतिक रुपमा पनि उत्तिकै सुन्दर छ ।
तर यहाँको सैनिक संख्या भने अचम्मलाग्दो गरी धेरै छ । करिब ९० लाख जनसंख्या रहेको देशमा डेढ लाख देखि २ लाखको संख्यामा सैैनिकहरु रहेका छन् ।
६. सिंगापुर
शान्त र सुरक्षित देशको छै्रटौं नम्बरमा रहेको छ, सिंगापुर । शाान्त देशको सूचीमा शीर्ष १० भित्र पर्ने एक मात्र एसियाली देश यही हो । एसियाली देश जापान १२ औं र मलेसिया १३ औं स्थानमा छन् । सिंगापुर शान्त देशमा अगाडि आउनुको कारण यसको सुरक्षा अवस्था हो । तर सैनिक क्षेत्रमा यहाँको लगानी उच्च छ ।
सिंगापुरको कुनै पनि देशसँग युद्ध छैन र आन्तरिक सुरक्षा पनि मजबुत छ ।
ग्लोबल पिस इन्डेक्स २०२५ को टप टेनमा पर्ने अरु देशमा पोर्चुगल, डेनमार्क, स्लोभेनिया र फिनल्याण्ड रहेका छन् ।
ग्लोबल पिस इन्डेक्समा नेपाल ७६ औं स्थानमा छ । यो वर्ष नेपालले ८ स्थान सुधार गरेको हो ।
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?



-1765351207.jpg)



