नेभिगेशन
विश्व

अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य

अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि विश्वभरबाट विरोध भएको छ । ठूला देशले साना देशमाथि जे गरे पनि हुने हो भन्ने प्रश्न उठेको छ । 

अमेरिकाको आरोप छ कि, निकोलस मदुरोले लागूऔषध र हतियार कारोबार गरेका छन् । बाहिर भन्नलाई जे भने पनि भेनेजुयलामाथि आक्राण गर्नुको अमेरिकी उद्देश्य हो, त्यहाँको तेल भण्डारमा कब्जा जमाउने ।

कुनै बेला भेनेजुयलाका तेल भण्डारहरु अमेरिकाकै कब्जामा थिए, त्यहाँबाट अमेरिकी कम्पनीहरु कसरी निकालिए ?, अमेरिका–भेनेजुयलाको तेल–युद्ध के हो ? र अमेरिका किन भेनेजुयलाको तेल भण्डार कब्जा गर्न चाहन्छ ? 

०००० 

दक्षिण अमेरिकी महादेशमा पर्ने भेनेजुयला कम्युनिस्ट शासन भएको देश हो । करिब ३ करोड जनसंख्या भएको यो देश तेल, राजनीति र सुरक्षा सरोकारले घेरिएको छ । 

भेनेजुयला तेल भण्डारमा विश्वकै पहिलो नम्बरमा आउँछ । खाडी देशहरुभन्दा बढी तेलको भण्डार छ, भेनेजुयलामा । 

सन् २०२३ मा गरिएको एक अध्ययन अनुसार भेनेजुयलाले एक वर्षमा ३०३ बिलियन ब्यारेल तेल उत्पादन गर्न सक्छ । 

दोस्रो स्थानमा रहेको साउदी अरेबियाको क्षमता २६७.२ बिलियन ब्यारेल, इरानको २०८ बिलियन ब्यारेल र क्यानडाको १६३.६ बिलियन ब्यारेल छ । यी चारवटा देशले विश्वको कुल तेल उत्पादनको आधा हिस्सा ओगट्छन् । 

अमेरिकाको क्षमता ९९ बिलियन ब्यारेल रहेको छ । यस हिसाबले भेनेजुयलाको तेल भण्डार अमेरिकाको भन्दा ५ गुणा बढी छ । 

तर भेनेजुयलाले क्षमता अनुसार तेल उत्पादन र बिक्री गर्न सकेको छैन । यसको तेल ब्यापारलाई घरेलु र बाह्य दुबै कारणले प्रभावित पारेको छ । 

बिसौं शताब्दीको सुरुवाततिर अमेरिकी कम्पनीहरुले भेनेजुयलामा तेल खानी खोज्न सुरु गरेका थिए । सन् १९२२ मा उत्तर पश्चिमी क्षेत्रको जुलिया स्टेटमा ठूलो तेल खानी फेला परेको थियो । 

त्यसपछि अमेरिकी कम्पनीहरुले भेनेजुयलाको तेल खानीहरुको खोजी गर्ने र तेल निकाल्ने काममा धेरै लगानी गरे । अनि भेनेजुयलाको कच्चा तेल अमेरिकामा बिक्री गर्न थाले । भेनेजुयला अमेरिकाको प्रमुख तेल आपूर्तिकर्ता नै बन्न पुग्यो । 

सन् १९६० मा तेल उत्पादक देशहरुले आफ्नो संघ ओपेक गठन गर्दा भेनेजुयला पनि संस्थापक राष्ट्र थियो । भेनेजुयला तेल उत्पादन र निर्यातमा निकै अगाडि बढिरहेको थियो, उसले एक दिनमा ३० लाख ब्यारेल तेल निर्यात गथ्र्यो । यसबाट अमेरिकी कम्पनीहरुले राम्रो आम्दानी पनि गरिरहेका थिए । 

तर सन् १९७६ मा भेनेजुयलाका तत्कालिन राष्ट्रपति कार्लोस एन्ड्रेस पेरेजले आफ्ना सबै तेल भण्डारहरुलाई सरकारीकरण गरे । तेलको कारोबार सरकारी कम्पनी पेट्रोलियोस् दे भेनेजुयला मार्फत सञ्चालन हुने व्यवस्था गरे । 

तर भेनेजुयलाले सन् १९९० पछि फेरि तेलमा विदेशी कम्पनीहरुलाई खुला गर्‍यो । त्यसपछि पुनः अमेरिकी कम्पनीहरुले पूर्ववतः अवस्थामा नै काम गर्न थाले । 

सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपति भएर आएपछि पुनः विदेशी कम्पनीहरु समस्यामा परे । उनले सन् २००७ मा तेल क्षेत्रमा अर्को चरणको राष्ट्रियकरण गरे । सरकारी कम्पनीसँगै ज्वाइन्ट भेन्चरमा काम गरिरहेका निजी कम्पनीलाई जबर्जस्ती हट्न बाध्य बनाए । ठूला अमेरिकी तेल कम्पनीहरुको सबै सम्पत्ति जफत गरे । 

आफ्नो देशको तेल भण्डारलाई उनले निर्यात गरेर पैसा आर्जन गर्ने माध्यम बनाएनन्, बरु आफ्नो राजनीतिक चाहना पूरा गर्नतिर लागे । त्यसले अमेरिकासँग सम्बन्ध पनि बिग्रियो र तेल उत्पादन पनि खस्किँदै गयो । 

०००० 

त्यही विन्दुबाट भेनेजुयला र अमेरिकाबीच तेलयुद्ध सुरु भएको हो । 

अमेरिकाका ठूला तेल कम्पनीहरुले भेनेजुयलामा आफूहरुले लगानी गरेको अर्बौं डलर क्षतिपूर्ति लिन बाँकी रहेको बताउँदै आएका छन् । 

भेनेजुयलाले अमेरिकालाई तेल दिन छाडेपछि अमेरिकाले पनि भेनेजुयलामाथि प्रतिबन्ध लगायो । भेनेजुयलाका केही व्यक्ति र कम्पनीको अमेरिकामा रहेको सम्पत्ति रोक्का गरिदियो । उनीहरुलाई अमेरिकी बैंकमा खाता खोल्न, सम्पत्ति बेच्न र बैंकहरुमार्फत पैसा लैजान पनि रोक लगायो । 

त्यसपछि अमेरिका र भेनेजुयला आपसमा सत्रु देशका रुपमा चिनिन थाले । 

ह्युगो चाभेजको मृत्युपछि सन् २०१३ मा निकोलस मादुरो भेनेजुयलाको राष्ट्रपति बने । चाभेज सरकारको मन्त्री भएर काम गरेका मादुरो चाभेज भन्दा फरक थिएनन् । 

अहिले पनि भेनेजुयलाको तेलमा सरकारी कम्पनी पेट्रोलियोस् दे भेनेजुयलाको पूर्ण नियन्त्रण छ । जम्मा एउटा मात्र अमेरिकी कम्पनी शेभरन भेनेजुयलाको तेल उत्खननमा संलग्न छ । 

अमेरिकाको प्रतिबन्धका कारण भेनेजुयलाका कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा ब्यापार गर्न भने सहज छैन । उसले चीन, भारत र क्युबामा मात्र तेल बेच्दै आइरहेको छ । 

०००

विश्वमा पत्ता लागेका तेलखानीमध्ये भेनेजुयला एक्लैसँग १७ प्रतिशत भएको अनुमान छ । तर यसको क्षमताको करिब १ प्रतिशत मात्र उपयोग भइरहेको छ । 

भेनेजुयलाले हाल एक दिनमा १० लाख ब्यारेल मात्र क्रुड आयल उत्पादन गर्दै आएको छ । सन् २००० को सुरुका वर्षहरुमा भेनेजुयलाले दिनमा ३० लाख ब्यारेलसम्म तेल उत्पादन गरेको थियो । 

भेनेजुयलाको तेल क्षेत्रमा १०० बिलियन डलर लगानी गर्ने हो भने दिनमा ४० लाख ब्यारेलसम्म तेल निकाल्न सकिने अनुमान छ । 

एक रिपोर्ट अनुसार भेनेजुएलाले सन् २०२३ मा जम्मा ४.०५ बिलियन डलरको कच्चा तेल निर्यात गरेको थियो । जबकी ऊ भन्दा कम भण्डार भएका साउदी अरेबियाले १८१ बिलियन, अमेरिकाले १२५ बिलियन र रसियाले १२२ बिलियन डलरको कच्चा तेल निर्यात गरेका थिए । 

भेनेजुयला विश्वमै सबैभन्दा सस्तोमा पेट्रोलियम पदार्थ पाउने देश हो । यहाँ एक लिटर पेट्रोलको मूल्य अमेरिकी डलरमा हिसाब गर्दा ०.०३५ डलर मात्र पर्छ । 

तर त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर पैसा आम्दानी गर्न सकेको छैन । पेट्रोलियोस् दे भेनेजुयला कम्पनी धेरै चुनौतीहरुले घेरिएको छ ।

उसँग भएको पूर्वाधार धेरै पुरानो भइसक्यो, थप लगानी गर्न सकेको छैन । त्यसको व्यवस्थापन पनि राम्रो छैन र उसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरु पनि धेरै छन् । 

००००० 

सन् २०२५ को जनवरीमा डोनाल्ड ट्रम्प पुनः ह्वाइटहाउस फर्केपछि उनले मार्च २०२५ मा एउटा कार्यकारी आदेश जारी गरेका थिए । जसमा उनले भेनेजुयलाबाट तेल खरिद गर्ने देशलाई २५ प्रतिशत ट्यारिफ बढाएका थिए । यसले चीन, भारत र रसियाजस्ता भेनेजुयलाबाट तेल किन्ने देशहरुलाई असर पर्‍यो । 

ट्रम्पले विश्वबजारमा बिक्री हुने भेनेजुयलाको तेल कटौती गर्न र निकोलस मदुरोलाई आर्थिक रुपमा दबाब दिन यो नीति लिएका थिए । 

अमेरिकाको दबाबपछि भारतको रिलायन्स इन्ड्रस्ट्रीले भेनेजुयलाबाट तेल किन्न छाडेको छ, तर चीनले नियमित रुपमा किनिरहेको छ । 

सन् २०२५ मै अमेरिकाले राष्ट्रपति मदुरो, उनको परिवार र भेनेजुयलाको तेल बोकेका ट्यांकहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारले मदुरोलाई पक्राउ गरेर ल्याउनेलाई ५० मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । 

अमेरिकाले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई वैधानिक नेताको मान्यता दिन अस्वीकार गरेको छ । अमेरिकी सरकारले मदुरो सरकारमाथि अधिनायकवाद, चुनावी अनियमितता, भ्रष्टाचार र मानव अधिकार उल्लंघनको आरोप लगाएको छ । 

यी आरोपको भेनेजुयलाका अधिकारीहरुले निरन्तर अस्वीकार गर्दै आइरहेका छन् । अमेरिकाको काम सार्वभौम देशमाथिको हस्तक्षेप हो भनेका छन् । 

अमेरिकाले भेनेजुयलाका उच्च पदस्थ व्यक्तिहरु नै लागू औषध ओसार पसारमा संलग्न भएको आरोप लगाएको छ । मदुरो सरकारले भने यो आरोप अस्वीकार गर्दै यसलाई राजनीति प्रेरित भनेका छन् । 

अमेरिकी अधिकारीहरुले भेनेजुयलामा स्थिरता नहुँदा अमेरिकामा आप्रवासीहरुको संख्या बढेको आरोप पनि लगाएका छन् । 

सन् २०२५ को डिसेम्बरमा अमेरिकी सेनाले भेनेजुयलामाथि दर्जनौं आक्रमण गरेको थियो । अमेरिकी आक्रमणका कारण भेनेजुयलामा ११० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । 

अमेरिकाले भेनेजुयलाको तेलमा आफूहरुको ठूलो लगानी भएकाले त्यसमा हक लाग्ने दाबी गर्दै आएको छ । तर अमेरिकाको यो दाबी वैधानिक छैन । 

अन्तर्राष्ट्रिय कानुनले के भन्छ भने कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक क्षेत्रभित्रको प्राकृतिक सम्पदामा त्यही राष्ट्रको नियन्त्रण हुन्छ । यसको मतलब भेनेजुयलाले आफ्नो प्राकृतिक सम्पदालाई आफुखुशी उपयोग र नियन्त्रण गर्न सक्छ । 

बरु भेनेजुयलाको तेलमा अमेरिकाले दाबी गर्नु चाहिँ अन्तर्राष्ट्रिय कानुन विपरीत हुन्छ । 

००००

गत वर्ष राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति मदुरोमाथि दबाब बढाइरहेका थिए । राष्ट्रपति ट्रम्प र उनका नजिककाहरुले लागूपदार्थ र आप्रवासको विषयलाई लिएर भेनेजुयलामाथि आक्रामक अभिव्यक्ति दिइरहेका थिए । 

पहिले भेनेजुयलाको तेल उत्पादनमा गरेको लगानीलाई देखाएर ट्रम्प र अमेरिकी प्रशासनले भेनेजुयलाले अमेरिकाको तेल चोरेको आरोप लगाउने गरेका छन् । 

ट्रम्पले गत महिना भनेका थिए, ‘उनीहरुले हाम्रो सबै इनर्जी राइट्स लिएका छन् । उनीहरुले हाम्रो सबै तेल लिएका छन्, हामी त्यो फिर्ता चाहन्छौं ।’ 

ह्वाइट हाउसले भेनेजुयलामाथि प्रेसर दिन ३ वटा रणनीति बनाएको थियो । मदुरोलाई कब्जामा लिने, लागू औषध कारोबारीविरुद्ध सैन्य बल प्रयोग गर्ने र अमेरिकी कम्पनीका लागि भेनेजुयलाको तेल भण्डारमा पहुँच सुरक्षित गर्ने । 

शनिबार मदुरो दम्पतिलाई नियन्त्रणमा लिएर अमेरिका भेनेजुयलाको तेल भण्डार कब्जा गर्ने आफ्नो रणनीतिमा एक कदम अगाडि बढेको छ । 

मदुरोलाई नियन्त्रणमा लिएको दिन शनिबार ट्रम्पले भेनेजुयलाको तेल उद्योगमा फेरि अमेरिकी कम्पनीहरु संलग्न हुने अभिव्यक्ति दिएका थिए । 
अमेरिकाले भेनेजुयलाका राष्ट्रपतिलाई पक्राउ गरे पनि त्यहाँको तेल भण्डारमा कब्जा जमाउन त्यति सजिलो छैन । भेनेजुयलाको तेलमा अमेरिकाको लगानी सहज बनाउन त्यहाँको कानुनमा ठूलो पुनसंरचना गर्नुपर्छ ।

भेनेजुयलाको राजनीति कसरी अगाडि बढ्छ भन्ने टुंगो छैन, राष्ट्रपति पक्राउपछि त्यहाँ राजनीतिक अस्थिरता गहिरिएको छ । अहिले त्यहाँको अवस्था अमेरिकाले नै नियन्त्रणमा लिएको छ । 

अमेरिका भेनेजुयलाको तेल कब्जा गर्न सफल होला कि नहोला त्यो त भविष्यले नै बताउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व