नेभिगेशन
विश्व

ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान

मध्यपूर्वी एसियाको एक शक्तिशाली र सम्पन्न देश हो इरान । करिब ९ करोड मानिस बसोबास गर्ने इरान विश्वकै प्रमुख तेल भण्डारमध्ये एक हो ।

कच्चा तेलको भण्डार भेनेजुयला र साउदी अरबपछि इरानमै बढी छ । 

तर आणविक गतिविधि र पश्चिमा शक्ति विरोधी सत्ता रहेका कारण इरानले अमेरिका लगायत शक्ति राष्ट्रको प्रतिबन्ध भोगिरहेको छ । 

इरानमा अमेरिकी डलरको तुलनामा इरानी रियालको भाउ निकै घटेपछि दुई हप्तादेखि प्रदर्शन चर्किएको छ । 

डिसेम्बर २८ मा तेहरानको ग्राण्ड बजारका ब्यापारीहरु आफ्नो पसल बन्द गरेर आन्दोलनमा उत्रिए । इरानी रियालको अवमूल्यन भएका कारण मूल्यवृद्धि ४० प्रतिशतसम्म बढेको छ । 

हरेक दिन खाने तेल, मासुजस्ता दैनिक उपभोग्य वस्तुको भाउ सामानको भाउ उकालो लागिरहेको छ । १६ जनवरीमा १ अमेरिकी डलरको भाउ १० लाख इरानी रियाल रहेको छ । 

त्यसैले ब्यापारीहरुका लागि सामान बेच्दा भन्दा नबेच्दा फाइदा हुने अवस्था आएको छ । किनकी आज सामान बेचेर कमाएको पैसाले भोलि त्यति सामान पनि किन्न सकिँदैन । 

सर्वसाधारणलाई आफूले कमाएको पैसाले आफ्नो खर्च धान्न नै नसक्ने अवस्था आएको छ ।

त्यसैले व्यापारीहरुले सुरु गरेको आन्दोलनमा विश्वविद्यालयका विद्यार्थी र सर्वसाधारण र बौद्धिक बर्ग पनि सहभागी भए । यो प्रदर्शन राजधानी तेहरान र अरु शहरहरुमा पनि छिट्टै फैलियो । देशका ३१ वटै प्रदेशका १८७ शहरमा प्रदर्शन चर्किएको छ । 

आन्दोलनमा सत्ता परिवर्तनको नारा बुलन्द हुँदै गयो । प्रदर्शनकारीहरुले देशका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीविरुद्ध नाराबाजी गरेका छन् । अनि सन् १९७९ मा अपदस्त राजाका छोरा रेजा पहल्बीलाई देश सम्हाल्न आग्रह गरिरहेका छन् । 

०००० 

प्रदर्शनकारीमाथि सरकारले चरम दमन गरेको छ । वाटर क्यानन, रबरको गोलीमात्र होइन, घातक हतियार पनि चलाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार हालसम्म २ हजार भन्दा बढीको मृत्यु भएको छ र १० हजार भन्दा बढी पक्राउ परेका छन् । तर यसको स्वतन्त्र पुष्टि भएको छैन । 

आन्दोलनमा सहभागीलाई इस्लामिक कानुनको उल्लंघन गरेको आरोपमा मृत्युदण्ड दिएको समाचारहरु पनि आइरहेका छन् । तर इरान सरकारले भने मृत्युदण्ड नदिएको दाबी गरेको छ । 

८ जनवरीदेखि इरानमा इन्टरनेट पनि बन्द गरिएको छ, सञ्चार सम्पर्क विच्छेद गरिएको छ । केही इरानीहरुले इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट तथा भीपीएनहरु प्रयोग गरेर त्यहाँको फोटो र भिडियो बाहिर ल्याइरहेका छन् । 

०००

इरानमा प्रदर्शन चर्किएपछि अमेरिका पनि यहाँ घुस्न आइपुगेको छ । जनवरी २ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनताको शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै सैन्य हस्तक्षेपको चेतावनी दिए । 

प्रदर्शनमा उत्रिएकै कारण मृत्युदण्ड दिएको भन्दै ट्रम्प र अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका छन् । 

११ जनवरीमा त ट्रम्पले इरानसँग ब्यापार गरिरहेका देशलाई अमेरिकासँगको ब्यापारमा २५ प्रतिशत ट्यारिफ लगाएका छन् ।  

जवाफमा  आणबिक शक्ति सम्पन्न इरानले भने अमेरिकाले आफ्नो देशमा आक्रमण गरेमा अरेबिया, युएई र टर्कीमा रहेका अमेरिकी अड्डामा आक्रमण गर्ने चेतावनी दिएको छ । 

इरान र अमेरिकाको बढ्दो टकराबले खाडी क्षेत्र तनावमा छ । साउदी अरेबियाले निरन्तर रुपमा इरानमा आक्रमण नगर्न अमेरिकालाई आग्रह गरिरहेको छ । कतार र ओमानले इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन् । 

खाडीका अरु देश पनि अमेरिकाले इरानमा आक्रमण गरेमा त्यस क्षेत्रमा अशान्ति फैलिने डरमा छन् । 

किनकी अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई उनीहरुको निवासबाटै पक्राउ गरेर अमेरिका ल्याएको थियो ।

अहिले उनीहरुविरुद्ध लागू औषधको मुद्दामा अमेरिकी अदालतमा सुनुवाइ गरिरहेको छ । 

तर इरानमा आक्रमण गर्न भेनेजुयलामा जस्तो सजिलो छैन । सन् १९७९ को क्रान्तिबाट सत्तामा आएका अहिलेका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको सत्ता पल्टाउन त्यति सजिलो छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व