नेभिगेशन
विश्व

५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?

अफ्रिकामा पनि प्रशस्त अर्बपतिहरु छन् । सबैभन्दा धनी व्यक्ति हुन् नाइजेरियाका अलिको डांगोटे । 

सन् २००८ मा पहिलो पटक अर्बपतिमा समावेश डांगोटे अफ्रिकाका सबैभन्दा धनी त भइहाले, विश्वका अर्बपतिहरुको सूचीमा ७५ औं स्थानमा छन् । 

हालै सार्वजनिक ब्लुमवर्ग इन्डेक्सले उनको कुल सम्पत्ति ३० बिलियन डलर पुगेको देखाएको छ । 

अलिको डांगोटे डांगोटे नाइजेरियन उद्योगपति हुन् । उनी डांगोटे ग्रुपका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । 

डांगोटे ग्रुपले सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ रिफाइनरी, रासायनिक मल, चिनी, नुन, तेल र प्याकेज फुडका उद्योग सञ्चालन गर्छ । 

अहिले डांगोटे ग्रुपको सबैभन्दा ठूलो सम्पत्ति तेल रिफाइनरी नै हो । डांगोटे ग्रुपले सञ्चालनमा ल्याएको पेट्रोलियम रिफाइनरीले सन् २०२४ को अन्तिममबाट उत्पादन सुरु गरेको थियो । 

यो रिफाइनरी अफ्रिका महादेशकै सबैभन्दा ठूलो हो । यसको लागत नै २० बिलियन अमेरिकी डलर छ । 

त्यसमा डांगोटे ग्रुपको ९२.३ प्रतिशत स्वामित्व छ । 

त्योबाहेक डांगोटे ग्रुपको सबैभन्दा राम्रो मुनाफा दिने कम्पनी सिमेन्ट हो । डांगोटेको सिमेन्ट कम्पनी पनि अफ्रिकाको सबैभन्दा ठूलो हो । 

पेट्रोलियम रिफाइनरीलाई छाड्दा उनका कम्पनीहरुको कुल आम्दानीमध्ये ८५ प्रतिशत सिमेन्टबाटै प्राप्त हुने गरेको छ । नाइजेरियामा उत्पादन हुने ८६ प्रतिशत सिमेन्ट डांगोटेले उत्पादन गर्छ । 

डांगोटेको अर्को ठूलो सम्पत्ति रासायनिक मल कारखाना हो । यसले वर्षमा २.८ मिलियन टन युरिया उत्पादन गर्न सक्छ । डांगोटे ग्रुपका धेरै कम्पनीहरु नाइजेरियाको स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । 

नाइजेरियन स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनीहरुको कुल बजार पुँजीकरणमध्ये डांगोटे ग्रुपका कम्पनीकै हिस्सा ७५ प्रतिशत छ । 

को हुन् अलिको डांगोटे ?

अलिको डांगोटेको जन्म सन् १९५७ मा नाइजेरियाको कानो शहरमा भएको हो । उनी धनाढ्य परिवारकै सदस्य हुन् । 

उनका बुढा हजुरबा पश्चिम अफ्रिकाकै धनी व्यक्ति थिए । उनी कोला र बदामका ब्यापारी थिए । 

अलिकोका बाबुको भने उनी ८ वर्ष हुँदा नै मृत्यु भयो । त्यसपछि उनलाई मामाघरका हजुरबाले हुर्काए । मामाघरका हजुरबा पनि ठूला व्यापारी हुन् । 

उनले ब्यापारको आधारभूत कुरा मामाघरका हजुरबाबाट सिके । उनले प्राथमिक तहमा पढ्दा चकलेटको ब्यापार गरेर नाफा गर्न जानिसकेका थिए । चकलेटको कार्टुन नै किनेर उनी साथीहरुलाई बिक्री गर्थे र नाफा कमाउँथे । 

हाइस्कुलको पढाइ सकिएपछि इजिप्टको अल अझर युनिभर्सिटीमा पढ्न गए । त्यहाँबाट स्नातक तहको पढाइ सकिएपछि ब्यापार सुरु गरे । 

स्नातकको पढाइ पूरा गर्दा उनी जम्मा २१ वर्षका थिए । सन् १९७८ सालतिर उनले आफ्नो काकासँग ५ लाख नाइजेरियन नाइरा सापट लिएर खाद्य पदार्थको व्यापार सुरु गरे । 

उनले त्यो पैसाबाट मुख्य गरी चामल र चिनी आयात गरे र, नाइजेरियाको बजारमा बिक्री गरे । 

चामल उनले थाइल्याण्डबाट किन्थे भने चिनी ब्राजिलबाट ल्याउँथे । उनको ब्यापार तुरुन्तै सफल भयो ।

३ महिनामै उनले राम्रो आम्दानी गरे र काकालाई पैसा फिर्ता गरे । व्यापारको सिलसिलामा उनी उनी आफ्नो जन्मभूमि कानोबाट लागोसमा बसाइँ सरे । खाद्यान्नसँगै सिमेन्टको व्यापार पनि सुरु गरे ।

विदेशबाट सिमेन्ट आयात गर्दै नाइजेरियामा बिक्री गर्ने उनको त्यो ब्यापार पनि निकै राम्रो भयो । 

सन् १९८१ मा उनले आफ्नो व्यापार व्यवसाय अघि बढाउन एउटा कम्पनी सुरु गरे, त्यही कम्पनी पछि डांगोटे ग्रुप बन्यो । 

सन् १९८० र १९९० को दशकमा अलिको डांगोटेले आफ्नो ब्यापारलाई विविधिकरण गर्दै लगे । उनी सिमेन्ट, चिनी, मैदामा मात्र अडिइनन्, माछा, चामल, दूध र फलामको व्यापार पनि गरे । 

अलिको डांगोटेले करिब डेढ दशक सामान आयात गरेर बिक्री गरे । त्यसपछि म्यानुफ्याक्चरिङतिर चासो बढ्यो । 

ब्राजिल गएर म्यानुफ्याक्चरिङ उद्योगबारे बुझे । त्यसपछि सन् १९९६ मा उनले आफ्नो कारोबार व्यापारबाट उत्पादनतिर सिफ्ट गरे । उनले बुझेका थिए कि नाइजेरियामा जनसंख्या बढिरहेको छ, उनीहरुको आवश्यकता पूरा गर्ने गरी उद्योग सुरु गर्ने हो भने राम्रो नाफा कमाउन सकिन्छ । 

नाइजेरियाको राजनीतिक वातावरणले पनि उनलाई सहयोग पुर्‍यायो । 

१९९० को दशकको अन्त्यमा नाइजेरियामा सैनिक शासनबाट प्रजातान्त्रिक शासन व्यवस्था सुरु भयो । 

त्यसपछि सरकारले देशभित्र उद्योगधन्दा स्थापना गर्न प्रोत्साहन गर्‍यो । डांगोटेले त्यसलाई मौकाको रुपमा उपयोग गरे । उनले सुगर मिल, मैदा कारखाना र सिमेन्ट फ्याक्ट्री स्थापना गर्दा सरकारले कर छुट दिएको थियो । 

सन् २९९७ मा उनले नाइजेरिया सरकार मातहमा रहेका बेन्यु सिमेन्ट कम्पनी किने । सन् २००५ मा उनले यसलाई व्यापक विस्तार गरेर करोडौं डलरको म्यानुफ्याक्चरिङ प्लान्ट बनाए । यसका लागि ३१९ मिलियन डलर उनी आफैंले खर्चिए भने बाँकी ४७९ डलर वल्र्ड बैंकको भगिनी संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसनलबाट ऋण लिए । 

सिमेन्ट उद्योगबाट अलिको डांगोटेले अथाह पैसा कमाए । किनभने सिमेन्टमा उनले ६० प्रतिशतसम्म नाफा लिएका थिए । 

डांगोटेले वर्षमा ४८.६ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन गर्छ । र अफ्रिकाका १० देशमा बिक्री गर्छ । 

सन् २०२३ मा डांगोटेले १.३९ बिलियन डलरको सिमेन्ट बेचेको थियो । 

नाइजेरियाको चिनी बजारको ७० प्रतिशत डांगोटेको छ । चिनी उद्योगमा ११ हजार भन्दा धेरै मानिसले काम गर्छन् । डांगोटेको सुगर रिफाइनरी विश्वकै तेस्रो ठूलो मानिन्छ ।

डांगोटेले आफ्नो सञ्जाल अफ्रिकाको १७ देशमा विस्तार गरिसकेको छ । 

उनको कम्पनी फोब्र्सको ग्लोबल २००० (टु थाउजेन्ड) कम्पनीको लिस्टमा समावेश पहिलो नाइजेरियन कम्पनी हो । 

सन् २००८ देखि त उनी अर्बपतिको सूचीमा छन् । विश्वप्रसिद्ध म्यागेजिन फोब्र्सले उनलाई सन् २०१४ मा नै मस्ट पावरफुल म्यान इन अफ्रिकाका रुपमा सूचीकृत गरेको थियो । 

अफ्रिकामा अरु ब्यापारीलाई जितेर उनी अघि बढ्नुको कारण हो, जोखिम लिने र पुनः लगानी गर्ने क्षमता । 

अफ्रिकाका धेरै व्यापारीहरु नाफाजति बैंकमा राख्ने गर्थे, तर डांगोटेले कमाएको नाफा पुनः लगानी गरिहाल्थे । 

पछिल्लो समय उनले टेलिकम्युनिकेसन, रियल स्टेट र स्टिल म्यानुफ्याक्चरिङमा पनि लगानी गरिरहेका छन् । 

अलिको डांगोटेले भारतमा पनि लगानी सुरु गरेका छन् । गत नोभेम्बरमा उनी भारत  भ्रमणमा आएका थिए । त्यतिबेला उनले भारतमा अमेरिकी ब्यापारिक घराना हनिवेल इन्टरनेशनलसँग मिलेर तेल रिफाइनरी सञ्चालन गर्न खोज्दैछन् । 

उनीहरुबीच सन् २०२८ भित्र १.४ मिलियन ब्यारेल तेल प्रशोधन गर्ने गरी प्लान्ट स्थापना गर्ने सम्झौता भएको छ । त्यस्तै भारतमा रासायनिक मल कारखाना पनि सञ्चालन गर्ने डांगोटेको तयारी छ । 

समाजसेवामा पनि सक्रिय 

अलिको डांगोटे बिजनेसम्यान मात्र होइन समाजसेवी पनि हुन् । सन् २०१४ मा उनले १.२ बिलियन डलर राखेर अलिको डांगोटे फाउन्डेसन सुरु गरेका थिए । फाउन्डेसनले स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तिकरणमा पैसा खर्च गरिरहेको छ ।  

अलिको डांगोटे फाउन्डेसनले यही डिसेम्बर ११ मा १०० बिलियन नाइजेरियन मुद्राको छात्रवृत्ति कोष खडा गरेको छ । यो पैसाले लाखौं नाइजेरियन बालबालिकालाई विद्यालयको पहुँचमा पुर्‍याउने भनिएको छ । सन् २०२६ देखि फाउन्डेसनले नाइजेरियाका ४५ हजार बालबालिकाको शिक्षामा सपोर्ट गर्नेछ । 

अलिको डांगोटे फाउन्डेसनले अफ्रिकाको पोलियो निवारणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँग सन् २०१३ देखि सहकार्य गरेको थियो । सन् २०२० मा अफ्रिकी महादेश आधिकारिक रुपमा पोलियो मुक्त घोषणा भइसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व