दुर्गा प्रसाईँको नेता अवतार !
पछिल्लो दशक सार्वजनिक वृत्तमा निकै सुनिएको नाम हो दुर्गा प्रसाईं । सुरुमा उनी झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालकका रुपमा चिनिए । राजनीतिक शक्तिको आडमा मेडिकल कलेज चलाउन खोजेका कारण मेडिकल माफियाको ट्याग समेत पाए ।
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै घरमा भेट गराएर मार्सी चामलको भात खुवाएपछि भने उनी राजनीतिक वृत्तमा चिनिए ।
२०७४ को चुनाव अगाडि माओवादी र एमालेले वाम गठबन्धन बनाउने तयारी गरे । त्यसको छलफलका क्रममा एक दिन प्रसाईंको घरलाई भेटवार्ता स्थल बनाएका थिए । दुई नेतासँग टेबल शेयर गरेको फोटो सार्वजनिक भएपछि प्रसाईं धेरैको नजरमा परे । उनले पनि त्यसलाई आफ्नो शक्तिका रुपमा शो गरे ।
चुनावमा वाम गठबन्धनको बहुमत आयो, प्रसाई प्रचण्डभन्दा बढी केपी शर्मा ओलीतिर निकट भए । ओलीलाई सार्वजनिक रुपमा नै हजुरबा भनेर सम्बोधन गर्न थाले । झापाकै भएकाले ओलीले पनि उनलाई स्थान दिए ।
कतिसम्म भने नेकपा विभाजनपछि २०७८ सालमा ओलीले उनलाई एमालेको केन्द्रीय सदस्य समेत बनाएका थिए । प्रसाई राजनीतिमा आउन चाहन्थे, तर ०७९ को चुनावमा ओलीले टिकट नदिएपछि बिच्किए । लघुवित्तको चर्को ब्याज र सहकारीमा राखेको रकम फिर्ता नपाएर आक्रान्त बनेका सर्वसाधारणलाई ऋण मिनाहाको नारा दिएर भीड जम्मा पार्न थाले । त्यसक्रममा उनले आम मानिसमा कति आक्रोश छ भन्ने राम्ररी बुझे ।
पूर्व राजा ज्ञानेन्द्र शाह पनि जनतामा रहेको त्यही असन्तुष्टिलाई उपयोग गर्न चाहन्थे । उनीहरु दुबैको स्वार्थ मिल्यो । प्रसाईले हिन्दु राष्ट्र र राजतन्त्रको नारा दिएर अभियान चलाए, पूर्वराजा ज्ञानेन्द्र उनको कार्यक्रममा जान थाले ।
पूर्व राजा ज्ञानेन्द्रले २०८१ फागनु ६ गते प्रजातन्त्र दिवसको अवसरमा आफूलाई साथ दिन आह्वान गरे । फागुन २५ गते उनी पोखराबाट काठमाडौं आउँदा स्वागतका लागि विमानस्थल परिसरमा भीड उर्लियो । त्यही भीड देखेर प्रसाईले आन्दोलन घोषणा गरे ।
प्रसाईलाई लागेको थियो, लघुवित्त तथा सहकारी पीडित, हिन्दु धर्म र राजतन्त्रको पक्षमा रहेकाहरुलाई मिलाउने हो भने व्यवस्था नै उल्टाउन सकिन्छ ।
पूर्व राजा ज्ञानेन्द्रको समेत साथ पाएपछि नवराज सुवेदीको नेतृत्वमा राजावादी र हिन्दुवादीहरुको मोर्चा बन्यो । दुर्गा प्रसाईं चाहिँ आन्दोलनको कमाण्डर तोकिए ।
तर आन्दोलनको पहिलो दिन २०७९ साल चैत १५ गते तीनकुनेमा जे भयो, त्यसले प्रसाईंलाई रातारात देश नै छाडेर भाग्नु पर्ने बनायो । तीनकुनेको प्रदर्शन हिंसात्मक भएपछि उनी भागेर भारत पुगे । त्यसमा उनले राजनीतिक संरक्षण पाएनन् । पक्राउ परे । पुर्पक्षका लागि कारागार चलान भए ।
प्रसाई मात्र होइन, उनकी श्रीमती, छोरा बुहारीले समेत मुद्दा खेप्नुपर्यो । निकटवर्तीहरुका अनुसार जेलमा हुँदा नै उनी आफ्नो सुरक्षाका लागि भए पनि दल खोल्ने निष्कर्षमा पुगिसकेका थिए । २०८२ साउन १९ गते २८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका उनले मंगलबार दल खोल्ने निर्णय सुनाए ।
भक्तपुरस्थित आफ्नै घरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँ गेरु बस्त्रमा उपस्थित भएका थिए । उनले चैत १५ सम्मको अवधिलाई एउटा अध्याय बताए । र, अब आफूले नयाँ अध्याय सुुरु गर्ने निर्णय लिएको सुनाए ।
प्रसाईंले आफ्ना गतिविधि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नामबाट गर्दै आएका छन् । प्रसाईंले अहिलेसम्म भीडको बलमा शक्ति आर्जन गर्न खोजेका थिए ।
अब संविधान, कानुन अनुसार राजनीतिक दल खोल्ने निर्णय पुग्नुलाई नयाँ अध्याय भन्न खोजेको देखिन्छ ।
हिजो निश्चित समुदाय लक्षित गाली गलौज, अपशब्दहरु बोल्थे । घृणा फैलाउन खोज्थे । त्यसमा पनि टोन डाउन गरेर सच्चिन खोजेको सन्देश दिएका छन् ।
उनले दलको नाम के हुन्छ ? यसमा को–को अटाउने छन् भनेर केही बताएका छैनन् । तर आफूले बनाउने दलको एजेण्डाहरु केके हुनेछ भनेर बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको ऋण २५ वर्ष अवधिका लागि हुनुपर्ने, व्याजदर निकै कम हुनुपर्ने मुद्दा उठाएका छन् । नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने बताएका छन् ।
आजको पत्रकार सम्मेलनमा प्रसाईं राजतन्त्रबारे अलमलमा देखिए । शायद, हिजोको दिनमा उनले पूर्वराजाबाट धेरै अपेक्षा गरेका थिए । त्यसअनुसार पूर्वराजाबाट साथ नपाएपछि उनको विश्वास टुटेको हुनसक्छ ।
पत्रकार सम्मेलनमा पटक पटक आफू राजवादी नभई राष्ट्रवादी भएको बताए । राजतन्त्रबारे तपाईँको पार्टीको धारणा के हुन्छ भन्ने प्रश्नमा पूर्व राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्ने जवाफ दिएका छन् ।
यसरी हेर्दा अहिले उनले अर्थतन्त्रको संकटका कारण मानिसहरुमा व्याप्त निराशा र हिन्दु धर्मप्रति रुझान राख्नेहरुलाई लक्षित गरेर पार्टी बनाउन खोजेको देखिन्छ ।
दुर्गा प्रसाईँले भीडलाई भड्काएर शक्ति आर्जन गर्ने बाटो छोडेर जनतामा गएर आफूलाई परीक्षण गर्ने निर्णय लिएको देखिन्छ । त्यसो हो भने सकारात्मक मान्नुपर्छ ।
तर त्यो दलले नेपाली राजनीतिमा कस्तो प्रभाव छाड्छ, भोलिका दिनहरुले नै बताउँछ । पहिलो त, उनको दलको संरचना कस्तो बन्छ ? त्यो दलमा को को अटाउने छन् भन्ने हेर्नुपर्छ ।
अनि, राष्ट्रिय राजनीति कता जान्छ भन्नेले पनि धेरै निर्भर गर्छ । किनकी ०८४ को चुनावलाई लक्षित गरेर अझै धेरै दलहरु खुल्ने सम्भावना छ । खासगरी धेरै मानिसले रुचाएका कुलमान घिसिङले उज्यालो नेपाल अभियान चलाइरहेका छन् भने काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क सम्पाङबारे पनि अनेक अनुमान छ । पुराना दलहरुमा पनि नेतृत्व पुस्तान्तरणको आवाज चर्को बन्दै गएको छ ।
यदि पुराना दलहरुको कार्यशैली सुध्रिएन र आम नागरिकमा रहेको चर्को असन्तुष्टि निराशामा बदलियो भने त्यो भीडले त्यही अनुसारको दल र नेता छान्ला ।
शासन सत्तामा बस्नेहरु सुध्रिए, पुराना दलहरुमा पुस्तान्तरण भयो भने अर्को खाले परिस्थिति होला । त्यसैले ०८४ को परिणामबारे अहिले अनुमान गर्नु हतार हुनेछ ।
आजको दिनमा यति भन्न सकिन्छ, दुर्गा प्रसाईले आफ्नै दल बनाउने भए, अनि नेपालको राजनीतिमा नयाँ एउटा दल थपिने भयो ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
