नेभिगेशन
अर्थ

ईभीले निल्दैछ डिजेल–पेट्रोल गाडीको बजार

नेपाल विद्युतीय गाडी प्रयोगमा विश्वकै अग्रणी बनिसक्यो । पछिल्लो ५ वर्षयता नेपाली उपभोक्ताले डिजेल र पेट्रोल गाडी भन्दा बिजुली गाडीलाई विश्वास गर्न थालेका छन् । 

उपभोक्ताको रोजाई फेरिँदा अटो बजारमा अधिपत्य जमाएर बसेका ठूला ब्राण्डहरु छोटो समयमै पछारिए । भारत र अन्य देशका डिजेल र पेट्रोल गाडीलाई चिनियाँ ब्राण्डका ईभीले नराम्रो झट्का दिएका छन् । 

२०७३ सालभन्दा अगाडिसम्म नेपालमा १८ घण्टासम्म लोडसेडिङ थियो । घरमा बत्ती बाल्न नपाएका बेला विजुली गाडी चढ्ने कल्पना पनि थिएन ।

कुनै बेला पब्लिक भेहिकल रुपमा त्रिपुरेश्वरदेखि भक्तपुरसम्म बिजुलीबाट चल्ने ट्रलीबस थियो, त्यो पनि निकालेर झाडीमा मिल्काइएको थियो । त्यही बसमा लेखिएको ‘म नै भविष्य हुँ’ भन्ने कुरा विश्वासयोग्य थिएन । 

जब २०७३ कात्तिकबाट नेपालमा लोडसेडिङ हट्यो ।  त्यसपछि नेपालमा महिन्द्राको पुन्टे ईभी ‘ईटुओ’ ले राम्रो बजार लियो । सानो कार भएपनि यो नेपालस्थित विदेशी नियोग र महिला उद्यमीहरुको रोजाइमा पर्‍यो । 

यो कारको ग्ल्यामरले नै भविष्यमा नेपालमा विद्युतीय सवारीको बजार राम्रो छ भन्ने संकेत गरिसकेको थियो । महिन्द्राले यो कारको उत्पादन बन्द गरेपछि बिजुली गाडीको बजार केही समय शून्यमै पुग्यो । 

त्यो बेला चीनमा अहिलेजस्तो विद्युतीय गाडीहरुको उत्पादन सुरु भइसकेको थिएन । तर, विद्युतीय गाडीको अनुसन्धान विकास र उत्पादनमा चीनमा भित्रभित्रै काम भइरहेको थियो, त्यसमा कसैको नजर परेको थिएन । 

किनभने नेपाली बजारमा डिजेल र पेट्रोलबाट चल्ने सुजुकी, हुन्डेई, महिन्द्रा, रेनल्ट, फोर्ड, निसान, मित्सुबिसी, टोयोटा जस्ता ब्राण्डका गाडीको बजार निकै राम्रो थियो । तत्कालै बिजुली गाडी आउँदा पनि उपभोक्ताले सजिलो विश्वास गर्ने र बजार लिइहाल्ने अवस्था थिएन । 

त्यही बेलामा २०७४ मा नेपालमा कोरियन ब्राण्ड कियाका बिजुली गाडीहरु आए । कियाका ईभीले धेरैको ध्यान तान्यो । त्यतिबेला विद्युतीय गाडीले एकपटक चार्ज गरेपछि दिने रेन्ज अहिलेजस्तो राम्रो थिएन । 

केही व्यापारी र पूर्वप्रशासाकहरुले कियाको ईभी रोजे । यसपछि कोरियन ब्राण्ड हुन्डेई र चिनियाँ ब्राण्ड एमजी र बीवाईडीले पनि नेपालमा विद्युतीय गाडी ल्याए । तर, पेट्रोल गाडी भन्दा धेरै नै महंगो भएकाले ती गाडी धेरैको पहुँचमा थिएन । 

त्यतिबेला विद्युतीय गाडीको बजार नै थिएन भन्दा हुन्छ । तर, जब टाटाले २०७६ मा  तुलनात्मक रुपमा सस्तो ईभी बजारमा ल्यायो, त्यसपछि बिजुली गाडीबारेको सोधीखोजी बढ्यो । 

टाटाको बिजुली गाडीले बजार तताउन थालेपछि बीवाईडी र एमजीका गाडीहरुमा मान्छेको चासो बढ्यो । किनभने मूल्य र फिचर्सका हिसाबले चीनमा उत्पादित बिजुली गाडीहरु अरु भन्दा अगाडि थिए । 

उपभोक्तामा ईभीबारे चासो बढेपछि ठूला घरानाहरु ईभी ल्याउने दौडधुपमा लागे । चीनका प्रतिष्ठित ब्राण्डहरुको डिलरसिप लिने क्रम बढेसँगै नेपालको अटोमोबाइल बजार पनि ईभीतिरै सिफ्ट हुँदै गयो । 

नेपालमा ईभीले यति छिटो फड्को मार्‍यो कि अटो बजारका ठूला खेलाडीहरु हेरेको हेर्‍यै भए । 

अहिले ईभी एडप्सनमा विश्वकै पहिलो स्थानमा नर्वे छ, दोस्रोमा सिंगापुर, तेस्रोमा इथियोपिया अनि चौथोमा नेपाल । अर्थात् चार पांग्रे गाडीको बजारमा अधिकतम् हिस्सा ईभीले लिएको मुलुकमा नेपाल टप फाइभभित्र पर्छ । 

नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा  १८ हजार ५२७ गाडी नेपालमा आयात गर्‍यो । त्यसमध्ये ७३.२४ प्रतिशत विद्युतीय गाडी थिए । अर्थात् नेपालको गाडी बजारको चार भागको तीन भाग बिजुली गाडीले ओगटेको छ । 

२०८१ साउनदेखि २०८२ असार मसान्तसम्म नेपालले १३ हजार ५६९ वटा विजुली गाडी आयात गर्‍यो । तर, डिजेल र पेट्रोलबाट चल्ने गाडी जम्मा ४ हजार ९५८ मात्रै आयात गर्‍यो । 

****

५ वर्षअघि तथ्यांक अर्कै थियो । आर्थिक वर्ष २०७७/७८ मा कुल १५ हजार ११३ गाडी आयात हुँदा विद्युतीय गाडीको संख्या २४९ वटा मात्रै थियो । यो भनेको कुल आयातको १.६४ प्रतिशत थियो । 

नेपालमा ईभीको बजार बढ्नुमा सरकारको कर नीतिको ठूलो भूमिका छ । ईभी आयातमा लाग्ने कर सुरुमा शून्य नै थियो, पछि बढाउँदै लगे पनि डिजेल–पेट्रोलको गाडीमा लाग्ने करको तुलनामा यो निकै कम छ । अहिले डिजेल पेट्रोल गाडीमा भन्सार विन्दुमै २८८ प्रतिशत कर लाग्छ । अर्थात् खरिद गरेको मूल्य भन्सार विन्दुमा आइपुग्दा तेब्बर हुन्छ । 

बिजुली गाडीमा भने अहिले ५० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सार मात्र लाग्छ । ५१ भन्दा माथि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्छ ।

यदि अहिले सबैजसो डिजेल गाडी आयात भएको हुन्थ्यो भने सरकारले गाडीबाट उठाउने राजस्व अहिलेभन्दा अत्याधिक धेरै हुन्थ्यो । दुई वर्षअघि सर्वांगीण विकास अध्ययन संस्था (आईआईडीएस)ले गरेको एक अध्ययनमा नेपालमा विद्युतीय सवारीलाई दिइएको सुविधाले वर्षमा १३.६ अर्बको राजस्व गुमिरहेको देखाएको थियो ।

गत वर्ष आयात दोब्बर भएसँगै यस्तो गुमेको राजस्व पनि ३० अर्ब हाराहारीमा पुगेको अनुमान गर्न सकिन्छ ।

अझ डिजेल पेट्रोल गाडीमा प्रयोग हुने इन्धन र स्पेयर्स पार्टस्को आयातमा उठ्ने कर र शुल्कलाई हिसाव गर्ने हो भने गुमेको राजस्व अझ धेरै हुनसक्छ ।

विदेशमा विद्युतीय सवारीको खरिद मूल्य डिजेल पेट्रोलो तुलनामा धेरै महँगो छ । त्यसैले विदेशी मुद्रा पनि धेरै खर्चिनुपर्ने र कर पनि छुट दिनुपर्ने कारण देखाएर केही अर्थशास्त्रीले विद्युतीय सवारीको प्रवद्र्धनलाई नाजायज भन्ने गरेका छन् । 

निजी प्रयोजनका विद्युतीय सवारी  नभई सार्वजनिक विद्युतीय सवारीमा मात्रै कर छुट दिनुपर्ने तर्क उनीहरुको छ । विद्युतीय सवारीमा दिइएको बम्पर कर छुटको लाभ धनी वर्गले मात्रै उठाएको तर्क गर्नेहरुको संख्या भने सानो छ । 

विदेशमा आयातकर्ताले किन्दा महँगो मूल्य तिरे पनि कर कम भएकाले नेपालमा ईभी धेरै महँगो हुन पाएको छैन ।  करमा सहुलियत दिने सरकारी नीति कारण नेपालमा ईभी र पेट्रोल गाडीको भाउ उस्तै–उस्तै परिरह्यो । त्यसैले विजुली गाडीको आयात बढ्दै गयो, पेट्रोल गाडीको घट्दै गयो । 

आर्थिक वर्ष २०७८/७९ मा ईभीको बजार हिस्सा १०.७८ प्रतिशतमा पुग्यो, २०७९/८० मा ४१.४८ प्रतिशत भयो । अनि २०८०/८१ मा केही खुम्चिएर ३६.१९ प्रतिशतमा सीमित रह्यो । 

तर, गत आर्थिक वर्षमा त बिजुली गाडीको बजार यसरी बढ्यो कि एकै वर्षमा दोब्बर भयो । अहिले बिजुली गाडीको बजार ७३ प्रतिशत पुगिसकेको छ । 

यो त अहिलेसम्मको तथ्यांक भयो । अब के हुन्छ त नेपालको ईभी बजार ? यसको जवाफ पाउन भर्खरै सकिएको नाइमा मोबिलिटी एक्स्पोको तथ्यांकले सजिलो गराउँछ । 

नाइमा एक्स्पोमा मात्रै चिनियाँ बिजुली गाडी बीवाईडीले ८ सयभन्दा बढी बुकिङ लियो । बीवाईडी अहिले नेपालको नम्बर वान भेहीकल ब्राण्ड भएर उदाएको छ । 

अर्को विद्युतीय गाडीको ब्राण्ड लिप मोटरले पनि १७५ भन्दा बढी गाडी बुकिङ गरेको छ । फोर्थिङ फ्राइडे, एएलएस अटो जस्ता ब्राण्डले पनि ३० भन्दा बढी गाडी बुकिङ लिएका छन् । धेरै ब्राण्डहरुले विवरण सार्वजनिक नगरेपनि अटो मेलामा बिजुली गाडीको बुकिङ अधिक रहेकामा कुनै शंका छैन । 

भदौ ३ देखि फेरि अर्को अटो मेला हुँदैछ, नाडा अटो शो । नाडामा पनि बिजुली गाडीहरुको वर्चस्व हुनेमा शंका छैन । किनभने गाडीको किन्ने धेरैको ड्रिम नै बिजुली गाडी बनिसक्यो । बिजुली गाडी नकिन्नेहरु अब बुद्धु ठहरिने अवस्था बनिसक्यो । 

अब यो लुकेको विषय हैन कि हिजो बजारमा सबैभन्दा धेरै गाडी बेच्ने ब्राण्डहरु अहिले थला परिसके । 

अझ चीनबाट आएका ब्राण्डहरुले अहिले विजुली गाडी बजारको ठूलो हिस्सा लिंदैछन् । बीवाईडी, एमजी, ओमोडा, डिपलजस्ता ब्राण्डहरुले विगतमा डिजेल पेट्रोलको गाडीमा ठूला नाम बनाएका ब्राण्डहरुलाई नेपाली बजारमा पछाडि पारिसके । 

हुन त टाटा, किया, हुन्डेई, महिन्द्राले पनि विद्युतीय गाडी नल्याएका होइनन् । तर, अहिले मूल्य र फिचरका कारण चीनबाटै आएका बिद्युतीय गाडीहरुले बढी बजार लिएका छन् ।

अहिलेसम्म विद्युतीय गाडी नै नभएको सुजुकीले पनि हालै नेपालमा विद्युतीय गाडी ‘भिटरा’ लन्च गरेको छ । अब बिजुली गाडी नभएका ब्राण्डलाई बजारमा टिक्न नै समस्या छ । 

किनभने अब महँगा र तल्लो रेन्जका मात्रै हैन, इन्ट्री लेभलकै कार पनि विद्युतीय खोजिँदैछ । त्यसैले नेपाली डिलरहरुले तल्ला रेन्जका सस्तो गाडीहरु पनि ल्याइरहेका छन् । 

नयाँ चिनियाँ ब्राण्डहरुको सस्तो ईभीले मान्छे खासै तान्न नसकिरहँदा बीवाईडीले नै एटो वान भित्र्याएर इन्ट्री लेभलमा अब हंगामा मच्चाउने संकेत दिइसकेको छ । 

यो गाडी नाइमा मोबिलिटी एक्स्पोमा मात्रै ५ सय भन्दा बढी बुक भएको छ । अर्थात् अब बीवाईडीको एटो वानले इन्ट्री  लेभलमा रहेका सीमित रोजाइमा भरपर्दो अप्सन दिएको छ । अहिले २५–३० लाख रुपैयाँ तिर्दा नै भरपर्दा ब्राण्डका गाडीहरु चढ्न पाइने अवस्था छ । अझ कतिपय ब्राण्डले त त्यो भन्दा सस्ता मूल्यका गाडी नेपालमा बेचिरहेका छन् ।   

भविष्यमा यो रेन्जमा अरु पनि ब्राण्डका विद्युतीय गाडीहरु लाइनमा छन् । त्यसैले भविष्यमा नेपालमा सबैजसो सेगमेन्टमा विद्युतीय गाडी नै पहिलो रोजाइ बन्नसक्ने देखिन्छ । 

ईभीको बजार बढेपछि डिजेल पेट्रोलका गाडीको रिसेल भ्यालुमा धेरै असर गरिरहेको छ । विगतमा राम्रो रिसेल भ्यालु भएका डिजेल पेट्रोल गाडी अहिले रिकन्डिसन बजारमा सस्तो मूल्यमा पाइन थालेको छ । 

नयाँ बिजुली गाडी चढ्नेहरुले आफूले चढिरहेका डिजेल पेट्रोल गाडीहरु बेच्ने क्रम बढ्दा सेकेण्ड ह्याण्ड बजारमा  गाडीको चाप धेरै छ । तर, यस्तो गाडीको माग भने कम  छ । यही कारण बजारमा रिकन्डिसनिङ गाडीको मूल्यमा गिरावट आएको छ । 

****

बिजुली गाडीमा मान्छे किन आकर्षित छन् त ? यसका केही कारणहरु छन् । पहिलो त बिजुली गाडीको सञ्चालन खर्च कम छ । पेट्रोल–डिजेलमा हुने खर्चको तुलनामा बिजुलीमा हुने खर्च न्युन छ ।

बिजुली गाडीमा सर्भिसिङ गराइरहनुपर्ने तनाव हुँदैन । विद्युतीय गाडीमा करिब ५ हजार पार्टस् हुन्छन् भने पेट्रोल र डिजल गाडीमा करिब १८ हजार । यसमध्ये पनि ईभीमा फेर्नुपर्ने पार्टस् निकै कम हुन्छन् ।

विशेषगरी शहरभिका कामकाजी व्यक्तिलाई बिजुली गाडी बरदान जस्तै छ । केही घण्टा चार्ज गरेर हप्ताभरि ढुक्कसम्म चढ्न पाइने भएकाले बिजुली गाडीमा आकर्षण बढेको हो । 

अहिले बिजुली गाडी चढ्नुलाई प्रतिष्ठाका रुपमा समेत हेरिन्छ । त्यसले पनि धेरैलाई त्यता तानेको छ । 

बिजुली गाडीको संख्या बढ्दाको फाइदा के पनि छ भने यसले स्वदेशमै उत्पादन भएको बिजुली उपभोग गर्छ । डिजेल पेट्रोल गाडीका लागि भारतबाट तेल किन्नुपर्छ । बिजुली गाडीको संख्या बढ्दा डिजेल पेट्रोल आयात पनि कम हुँदै जान्छ । धँुवा नफाल्ने भएकाले बिजुली गाडी वातावरणमैत्री छ । यसले वातावरणलाई माया गर्नेहरु पनि स्वभाविक रुपमा ईभीमा आकर्षित छन् । 

चार्जिङ पूर्वाधारहरु थपिँदै गएकाले राजमार्गमा यात्रा गर्दा पनि चार्जिङको सकस छैन । पेट्रोल पम्प र होटल रेस्टुरेन्टले समेत चार्जिङ स्टेसन राख्न थालेका छन् । यही कारण राजमार्गमा गुड्ने निजी र सार्वजनिक यातायात समेत बिजुली गाडी बढिरहेका छन् । 

****

बिजुली गाडीले विश्वास कमाउँदै गए पनि कतिपय उपभोक्तामा यसबारे संकोचहरु भने छन् । बिजुली गाडी लिएर लामो यात्रमा जाँदा चर्जिङको समस्या झेल्नुपर्ने डर अझै पनि छ । 

विद्युतीय सवारीको सीमित रेन्ज हुन्छ, एक पटकको चार्जमा धेरै टाढा पुग्न सकिंदैन भन्ने सोचाइ हटिसकेको छैन । तर, अहिले एक पटक चार्ज गरेपछि ६ सय किलोमिटरसम्मको रेन्ज दिने गाडीहरु नेपालमा आइसकेका छन् । 

बिजुली गाडी लिएर अफरोडमा निस्किन हिच्किचाउनुपर्ने अवस्था छ । सडकको अवस्था राम्रो नहुँदा डिजेल पेट्रोलको गाडी छाड्न नसकेकाहरु धेरै छन् । 

विद्युतीय गाडीको ब्याट्रीको आयुबारेका दुविधा समेत छ । सञ्चालन खर्च सस्तो भएपनि १०–१२ वर्षपछि ब्याट्री फेर्दा धेरै खर्च गर्नुपर्छ भन्ने मान्यताले समेत कतिलाई ईभीमा अपग्रेड हुन रोकिरहेको छ ।

तर, पछिल्लो समयमा लामो आयु भएका ब्याट्रीसहितका ईभी पनि आउन थालिसकेका छन् । ब्याट्री प्रविधिमा भइरहेको अनुसन्धान र द्रुत विकासले यो समस्या हल गर्नसक्ने अनुमान छ । 

****

संकोचका बीच पनि नेपालमा विद्युतीय सवारीको प्रयोग यसरी बढ्दै गएको छ कि अब कसैले चाहेर पनि यसको स्वीकार्यतालाई रोक्न सक्ने देखिंदैन । सरकारका नीतिहरु पनि विद्युतीय सवारीको प्रयोग बढाउने गरी नै बनेका छन् । 

सरकारले चार्जिङ स्टेसननका लागि छुट्टै सस्तो महसुल तोकेको छ । चार्जिङ स्टेसनहरुले रातमा प्रयोग गर्ने बिजुलीको महसुल दिउँसो भन्दा कम छ । राति प्रतियुनिट ४ रुपैयाँ ४५ पैसामै चार्ज गर्न सकिन्छ । 

नयाँ ट्याक्सीहरु विद्युतीय नै हुनुपर्ने नीतिले पनि विद्युतीय सवारीको प्रयोग बढाएको छ । सरकारी निकायहरुले समेत अहिले बिजुली गाडी किन्ने क्रम बढेको छ । 

तर, अहिलेसम्म सरकारले आफूले किन्ने सवारी विद्युतीय नै हुनुपर्ने व्यवस्था गरेको छैन । यस्तो व्यवस्था गर्न माग भने भइरहेको छ । सरकारले आयोजनाहरु बाहेक कार्यालय प्रयोजनका गाडी बिजुली नै हुनुपर्ने व्यवस्था गर्‍यो भने डिजेल पेट्रोल गाडीको आयात अझै भट्नेमा शंका छैन । 

हो, कतिपय हिमाली र पहाडी बाटोमा धेरै भार बोकेर चल्ने सवारीको विकल्प तत्कालै ईभी हुन सक्दैन । तर, त्यसबाहेक अरु सेगमेन्टमा ईभी नै बलियो, सस्तो र भरपर्दो विकल्प भएर आइसकेको छ । 

अहिलेकै दरमा एडप्सन दर बढ्दै गयो भने नेपाल ईभी एडप्सन विश्वकै पहिलो नम्बरमा पुग्न लामो समय लाग्ने देखिंदैन । त्यतिबेला ईभी उत्पादन नगर्ने अटो ब्राण्डहरु बजारमा अस्तित्वमै रहने छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप अर्थ