नेभिगेशन
अर्थ

ईभीले खोस्यो नेपालमा सुजुकीको बजार, ईभिटाराले टार्ला संकट ?

कुनै बेला नेपालमा कहलिएको ब्राण्ड सुजुकी, आज अटो बजारबाटै हराउने अवस्थामा पुगेको छ । प्रतिस्पर्धी ब्राण्डहरु टाटा, बीवाईडी, हुन्डाइ जस्ता ब्राण्डहरु नयाँ नयाँ बिजुली गाडी लिएर आएका छन्, सुजुकी भने पेट्रोल गाडीमै अल्झिएको छ । 

आजको मितिमा सुजुकी ब्राण्ड नेपाली अटो बजारमा छैंटौ स्थानमा धकेलिएको छ । यही अवस्था रहे अबको वर्ष सुजुकी टप टेन अटो ब्राण्डभित्र पनि रहने छैन । 

तर, सुजुकीको विगत यति कमजोर थिएन । सन् २०२१ सम्म नेपालको नम्बर वान अटो ब्राण्ड थियो । पेसेन्जर कार सेगमेन्टमा यो ब्राण्डको वर्चश्व थियो । 

जापानी ब्राण्ड सुजुकीका गाडी नेपालमा आधिकारिक बिक्री वितरण सन् १९८१ मा सुरु भएको थियो ।

यसले भारतमा मारुतीसँग सहकार्यमा गाडी उत्पादन गर्दै आएको छ । यसले बजेट मूल्यमै कारहरु बनायो र बेच्यो । जापानिज प्रविधि अनि तुलनात्मक रुपमा सस्तो मूल्यका कारण सुजुकी नेपालमा छिट्टै लोकप्रिय बन्यो ।

सन् २०१७ मा आइपुग्दा सुजुकी नेपाली अटो बजारको ४० प्रतिशत हिस्सा ओगट्न सफल भयो । 

नेपालमा पुराना ट्याक्सी त सबैजसो सुजुकीकै मारुती–८०० हुन् । त्यसपछि बजारमा आएका नयाँ ट्याक्सी समेत धेरै सुजुकीकै ‘अल्टो’ मोडलका थिए, त्यसपछि मात्रै आएको हो हुन्डाइका इओन । 

पेसेन्जर कार सेगमेन्टमा समेत सुजुकीका गाडीहरुको माग अरुभन्दा धेरै थियो । नेपालमा सुजुकीको अल्टो गाडी लामो समय इन्ट्री लेभलको गाडीमा एक नम्बर नै रह्यो । 

त्यसकै बलमा सुजुकी धेरै कार बेच्ने र बजार हिस्सा धेरै ओगट्ने कम्पनी बनिरह्यो । बलियो सर्भिस नेटवर्क र राम्रो आफ्टर सेल्स सर्भिसका कारण पनि सुजुकीका गाडीमा आकर्षण रहिरह्यो । 

सुजुकीको एसप्रेसो, वागेन–आर, सेलेरियो, एर्टिगा, भिटारा, ब्रेजा, इग्निस, डिजायर, स्वीफ्ट, बलेनो जस्ता कारहरुले सुजुकीलाई नम्बर वान ब्राण्ड बनाइरह्यो । नेपालमा शहरीदेखि शहरोन्मुख क्षेत्रसम्म नै सुजुकीको बजार राम्रो थियो । 

ओम्नी र इको लगायतका भ्यानले पनि चारपांग्रे सवारीमा सुजुकीको बर्चश्व स्थापित गर्न सघाइरहे । सवारी क्षेत्रमा मान्छेदेखि सामान बोक्नसम्म यस्ता भ्यानहरु सहयोगी सावित भएका थिए । 

सन् २०२० सम्म प्रतिस्पर्धीहरु सुजुकीको नजिक पनि थिएनन् । त्यसैले सुजुकीलाई ढुक्कै थियो । नेपालमा सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटो कर्प यसको आधिकारिक बिक्रेता हो । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका करण चौधरीले सीजी मोटो कर्पको नेतृत्व गर्छन् । चौधरी समूहको स्वामित्वका कारण पनि यो ब्राण्डले नेपालमा छिटै यति नराम्रो धक्का खाला भन्ने अनुमान थिएन । 

तर पछिल्लो ४/५ वर्षमा नेपालमा विद्युतीय गाडीको बहाब यसरी आयो कि सुजुकीलाई बढारेर एकै पटक किनारमा पुर्‍याइदिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल १५ हजार ११३ गाडी आयात हुँदा विद्युतीय गाडीको संख्या २४९ वटा मात्रै थियो । 

त्यसयता बढ्न थालेको बिजुली गाडी र पेट्रोल गाडीको अनुपात गत वर्षसम्म आइपुग्दा उल्टो हुन लागिसकेको देखिन्छ । तर, गत वर्ष २०८१/८२ मा नेपालले १३ हजार ५६९ वटा बिजुली गाडी आयात गर्दा पेट्रोल गाडी भने ४ हजार ९५८ मात्रै आयात भएको थियो । 

नेपाली उपभोक्ताले बिजुली गाडीमा समेत विकल्प खोज्न थालिसक्दा  सुजुकीले पेट्रोल र डिजेल गाडी मात्र बेचिरह्यो । त्यसैको परिणाम, बजारबाटै हराउने जोखिम बढेको छ ।  

अब प्रश्न उठ्छ, किन विद्युतीय गाडीमा गएन त सुजुकी ? यसमा कम्पनीको रणनीतिले काम गरेको छ । 

टाटा र हुन्डाइले बिजुली गाडीको विकासमा लगानी गर्दा सुजुकी हात बाँधेर बस्यो । शायद, भारतमा सुस्त मात्रामा मात्रै बढिरहेको बिजुली गाडीको बजारमा उसले भविष्य देखेन । अहिले पनि भारतमा विजुली गाडीको माग निकै कम छ । 

त्यसको मुख्य कारण भारत सरकारको नीति पनि हो, भारतीय सरकारले करबाटै चिनियाँ गाडीलाई निरुत्साहित गरेको छ । जसले गर्दा भारतीय बजारमा चिनियाँ बिजुली गाडीको माग कम छ । 

भारतमै उत्पादित टाटा र महिन्द्राका बिजुली गाडीमा पनि उपभोक्ताको आकर्षण कम रह्यो । त्यसैले सुजुकीले बिजुली गाडीमा धेरै लगानी गरेन । 

बरु टोयटासँग मिलेर हाइब्रिड गाडी उत्पादन थाल्यो । ग्राण्ड भिटारा, एर्टिगा हाइब्रिड बजारमा ल्यायो । भारतकै तथ्यांक हेर्ने हो भने सुजुकी अहिले पनि नम्बर वान अटो ब्राण्ड हो । 

नेपाली अटो बजारले भने यु–टर्न नै लियो । ६ वर्षमै नेपालको ईभी एडप्सन रेट २ प्रतिशतबाट ७३ प्रतिशत भइसकेको छ । अर्थात् अहिले नेपाली बजारमा बेचिने गाडीहरुमा ७३ प्रतिशत ईभी नै हुन्छन् । यस्तो अवस्थामा बिजुली गाडी नै नभएको सुजुकी नेपालमा नम्बर वान बनिरहन सक्ने कुरै भएन । 

सन् २०२४ कै तथ्यांक हेर्र्नुस् । सुजुकीको ८३१ वटा गाडी नेपालमा आयात भएका छन् । जबकी टाटाले सबैभन्दा धेरै ५ हजार ७ सय ४१ वटा कार भित्र्याएको थियो । 

दोस्रो नम्बरको बीवाईडीले ३ हजार ५३० र तेस्रो नम्बरको हुन्डाइले १ हजार ५५२ वटा गाडी नेपाल ल्याएको थियो । चौैथो नम्बरको महिन्द्राले १ हजार ४०१ वटा र पाँचौं नम्बरको एमजीले ८९६ वटा गाडी आयात गरेको थियो । 

सन् २०२५ को ताजा तथ्यांक नआएपनि अहिले बजार हिस्सामा थप उथलपुथल भइसकेको छ । चिनियाँ ब्राण्डले भारतीय ब्राण्डलाई हायल कायल पारेका छन् । र, स्पष्ट छ, जोसँग बिजुली गाडी छैन, तिनीहरु नेपाली बजारमा अस्तित्वमा रहन सक्दैनन् । 

करण चौधरीले यो नबुझ्ने कुरै भएन । त्यसैले नाडा अटो शोमा ई–भिटारा डिस्प्ले गरिएको छ । यो करण चौधरीको सीजी मोटो कर्पको स्ट्राटेजिक मुभ हो । किनकी यो गाडी भारतमै लन्च भइसकेको छैन । आगामी सेप्टेम्बरमा लन्च हुने अनुमान छ । प्रायः धेरै गाडी त भारतमा लन्च हुनासाथ नेपाल आउँदैनन् । 

नाडामा डिस्प्ले गरिएको ईभिटाराको बुकिङ लिइएको छैन । कम्पनीले गाडीको फिचरहरुबारे सबै खुलाएको पनि छैन । 

तर आधारभूत रुपमा ई भिटारा कस्तो हुन्छ भन्ने थाहा भइसक्यो । यसले सुजुकीका लोयल कस्टमरलाई थोरै भए पनि उत्साहित बनाएको छ । 

कम्पनीको विश्वास छ कि सीजी मोटो कर्पलाई गुमिसकेको अटो बजारमा टिक्न ईभिटारा सञ्जीवनीको काम गर्न सक्छ । 

सुजुकीले अरु मोडलका बिजुली गाडीहरु पनि उत्पादन गर्दैछ । यदि ईभिटाराले थोरै राहत दियो भने नेपाली अटो बजारमा सुजुकीको पुनरागमनको बाटो खुल्नसक्छ । 

तर, तत्काल नै सुजुकीको लाइनअपमा रहेका गाडीले नेपालको ईभी बजारको माग सम्बोधन गर्नेमा भने शंका छ । किनकी अब बिजुली गाडी भएर मात्रै हुँदैन, चिनियाँ गाडीहरुसँग प्रतिस्पर्धा गर्न अब्बल प्रोडक्ट नै चाहिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रवीन्द्र घिमिरे नेपाल शो डटकमका पत्रकार हुन् । 

थप अर्थ