अब म्यानपावरबाटै कोेरिया जान पाइने, के काममा को जान पाउँछन् ?
दक्षिण कोरियाले अहिलेसम्म नेपालबाट कामदार मात्र लगिरहेको छ । अब भने पेशाकर्मी नै लैजानेछ ।
सजिलोसँग भन्दा अब म्यानेजर, इन्जिनियर, वैज्ञानिक, अनुसन्धानकर्ता, कुक, डिजाइनर, नर्स, युनिभर्सिटी लेक्चररजस्ता दक्ष पेशाकर्मी पनि रोजगारीका लागि कोरिया जान पाउँछन् ।
अब ईपीएस भाषा परीक्षा पास गरेर मात्रै हैन, विशेष सीप र दक्षता भएकाहरु आफ्नो प्रमाणपत्र देखाएर पनि कोरिया जान पाउँछन् । तलब पनि ईपीएसमा गएको भन्दा धेरै ।
नेपाली युवाका लागि दक्षिण कोरिया रोजगारीका लागि आकर्षक गन्तव्य हो । यसको छनोट प्रक्रिया स्वच्छ छ । लागत सस्तो छ । र, त्यहाँ श्रमिकले गर्ने आम्दानी पनि खाडी मुलुकमा भन्दा निकै राम्रो छ । त्यसैले नेपालीहरुको कोरियाप्रति आकर्षण उच्च छ ।
हालै ७ हजार श्रमिकको कोटामा कोरियाली भाषा परीक्षाको आवेदन माग्दा १ लाख जनाले आवेदन दिए ।
अहिले कोरियामा उत्पादनमूलक समूहमा फ्याक्ट्री वर्कर, कृषितर्फ कृषि कामदार र सिप बिल्डिङतर्फ जनरल एसिस्टेन्ट वर्करहरु गइरहेका छन् । अरु क्षेत्र नेपालीका लागि खुला भएको छैन ।
अब भने कोरियामा रोजगारी गर्न जाने अर्को बाटो पनि खुल्दैछ । कुनै काममा तपाईंको सीप र विशेषज्ञता छ भने कोरियामा ईपीएसमा भन्दा राम्रो अवसर पाउने सम्भावना छ ।
कोरिया सरकारले नेपालीलाई पनि ई–७ (सेभेन) भिसाको बाटो पनि खोलेको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० लाई तेस्रो पटक संशोधन गरेको छ ।
२०८० को फागुन १७ मा नै स्वीकृत भएको यो कार्यविधि अस्पष्ट थियो । यो कार्यविधिमा म्यानपावर कम्पनीलाई ई–सेभेन भिसाको जिम्मा दिने उल्लेख थियो । तर, कुन–कुन कामका लागि ई–७ भिसामा पठाउने भन्ने टुंगिएको थिएन ।
त्यसैले म्यानपावर कम्पनीले ई–सेभेन भनेर ईपीएसमै श्रमिक गइरहेका कम्पनीहरुबाट डिमान्ड ल्याउने र शुल्क चाहिँ महंगो शुल्क तिर्नुपर्ने भन्दै विरोध भएको थियो ।
त्यतिबेला ईपीएसलाई नै धक्का दिने गरी म्यानपावर कम्पनीले काम गर्न सक्ने अवस्था थियो । यसैकारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यविधि कार्यान्वयन नगर्न निर्देशन थिए । पछि तत्कालीन श्रममन्त्री डीपी अर्यालले यो कार्यविधिको कार्यान्वयन नै स्थगन गरेका थिए ।
गत असार १३ मा भने श्रम मन्त्रालयले कार्यविधि संशोधन गरेर ई–७ भिसामा कुन–कुन कामका लागि श्रमिक पठाउन पाउने भन्ने स्पष्ट किटान गरेको छ । यो कार्यविधि अनुसार ईपीएस प्रणालीबाट जाने कामदार र ई–७ भिसामा जानेहरुको कार्यक्षेत्र नै फरक हुनेछ ।
ई–७ भिसामा ६७ वटा प्रोफेसनल पेशामा काम गर्नेहरु कोरिया जान पाउँछन् । ९ वटा सेमी प्रोफेसनल, ६ वटा जनरल स्किल्ड वर्कर र ३ वटा स्किल्ड वर्करका रुपमा कोरियामा ई–७ भिसा लिन पाइनेछ ।
कसरी जान पाइन्छ ई सेभेन भिसामा ?
यो भिसा ईपीएसमा जस्तो सरकारी निकायबाट प्रक्रिया थालेर पाइँदैन । म्यानपावर कम्पनीले नै यो भिसामा श्रमिक कोरिया पठाउनेछन् ।
ती कुन–कुन म्यानपावरहरु हुन्छ भन्ने अहिलेसम्म तय भएको छैन । किनभने मन्त्रालयले बनाएको नियमअनुसार मापदण्ड पुगेका म्यानपावरहरुले ई–७ भिसामा श्रमिक विदेश पठाउन पाउनेछन् ।
यस्ता कम्पनीले नै कोरियामा श्रमिक पठाउन सहजीकरण, भाषा तथा आवश्यक सीप प्रशिक्षण सञ्चालनको काम गर्नेछन् । यी म्यानपावरसँग भाषा र सीपको लागि प्रचलित मापदण्ड बमोजिमको आफ्नो तालिम केन्द्र भएको हुने छ । कोरिया जाने नेपालीले कोरियाली सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त संस्था वा अनुमति पाएको संस्थाबाट कोरियाली भाषा परीक्षा र पेशागत सीप परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ ।
भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारको विवरण इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउने छ । यस्तो सूची विभागले अद्यावधिक रुपमा राख्नेछ ।
त्यही सूचीबाट माग बमोजिम भाषा र सीपमा दक्षहरुलाई म्यानपावरहरुले कोरिया पठाउनेछन् ।
अब तपाईंलाई लाग्ला, यस्तो भिसामा जान कति लाग्छ पैसा ? कार्यविधिले सेवा शुल्क श्रमिकले नै तिर्नुपर्ने व्यवस्था गरेको छ । तर, रोजगारदाताले खर्च ब्यहोरेमा म्यानपावर कम्पनीले शुल्क लिन पाउने छैन ।
कमाइ चाहिँ सीप, दक्षता, कामको प्रकृति अनि कम्पनीहरु अनुसार फरक हुन सक्छ ।
यो चाहिँ पक्का हो कि उच्च सीपयुक्त र दक्ष पेशाकर्मीहरुले पाउने भिसा भएकाले कमाइ ईपीएसमा जाने श्रमिकको भन्दा धेरै राम्रो हुन्छ । तर, कति हुन्छ भन्ने जानुअघि म्यानपावर कम्पनीहरुले भन्नेछन् ।
तर, ई ७ भिसा बाहकले कोरियामा के–कस्ता सुविधा पाउने भन्ने पहिले नै तय छ । आश्रित परिवारलाई साथै लान पाउनेसहितका सुविधा यो भिसा लिनेहरुले पाउनेछन् । त्यसैले ई–७ भिसा कोरियमा प्रतिष्ठित र आकर्षक भिसा मानिन्छ ।
तर अहिले कुन–कुन म्यानपावरले ई–७ भिसामा श्रमिक पठाउँछन् भन्ने टुंगो लागेको छैन । त्यसैले यो भिसाका लागि भनेर पैसा बुझाइहाल्न हतार हुनेछ ।
ई सेभेन भिसामा के के काममा कोरिया जान पाइन्छ भन्ने थाहा पाउन भिडियो हेर्नुहोला ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
