यांगोले हल्लाएको पठाओ–इन्ड्राइभको बजार
हिजो टुटललाई पठाओले पछार्यो, पठाओलाई इन्ड्राइभले धक्का दियो । अहिले याङगोले सबैलाई अत्याएको छ । यो राइड सेयरिङ बजारमा खहरे मात्रै हो कि यांगोले साँच्चिकै पठाओ र इन्ड्राइभको बजारलाई खोस्न सक्छ ?
पछिल्लो समयमा राइड सेयरिङ बजारमा यांगोको उपस्थितिको अर्थ र बजार सम्भावनाबारे चर्चा गराैं ।
नेपालमा २०७२ सालमा भारतीय नाकाबन्दी सुरु भएपछि सामाजिक सञ्जालमार्फत कारपुलिङको कल्चर सुरु भयो । सवारी धनीले आफू जाने रुटबारे सामाजिक सञ्जालमा जानकारी दिएर बाटोबाट लिफ्ट दिनुलाई कार पुलिङ भनिन्थ्यो ।
त्यसअघिसम्म नेपालमा आफ्नो सवारीमा अन्जान मान्छेलाई बसाउन गाह्रो मान्ने धेरै थिए । भारतीय नाकाबन्दीका कारण तेलको चर्को अभाव भएका बेला सर–सहयोगका रुपमा कार पुलिङ कल्चर सुरु भयो ।
यसलाई व्यावसायिक रुप दिन २०७३ देखि टुटलले एप नै बनाएर राइड सेयरिङ सेवा सुुरु गर्यो । हुन त त्यतिबेला अमेरिकामा उबर र भारतमा ओला क्याबले धमाका मच्चाइसकेका थियो । काठमाडौंमा भने ट्याक्सीको भाडामा मनपरी थियो । ट्याक्सीले जति भन्छ, त्यति शुल्क तिरेर जानुको विकल्प थिएन । ट्याक्सीमा मिटर मात्रै थिए, ती चल्दैनथे ।
दुई पांग्र्रे सवारीमा त्यो पनि विकल्प थिएन ।
टुटल विकल्प बनेर आयो । मोरटसाइकलले ट्याक्सीको काम गर्न थाल्यो । यो नेपालका लागि नौलो प्रयोग थियो । अनलाइनबाट बुकिङ गरेपछि भनेको ठाउँमा बाइक आइपुग्यो । भाडा कति पर्छ भन्ने पहिले नै थाहा हुन्थ्यो । छिटो पुगिने, अनि ट्याक्सीजस्तो महँगो पनि नपर्ने भएकाले यो सेवा लोकप्रिय हुन समय नै लागेन ।
रोजगारीको खोजीमा भएका युवाहरुले पनि कमाउने बाटो देखे ।
त्यसैले काठमाडौंमा राइड सेयरिङ कल्चर प्रोमोटको श्रेय टुटललाई जान्छ ।
टुटलले राइडर र यात्रुहरुलाई जोड्दै लगेको थियो । यद्यपि सेवालाई सुरक्षित र विश्वसनीय बनाउन धेरै काम गरेन । अर्को विकल्प नभएकाले प्रयोगकर्ता बढेकै थियो ।
२०७५ मा टुटलको मार्केट इन्टरेप गर्न पठाओ आयो । यो बंगलादेशी राइड सेयरिङ एप थियो । केही नेपाली युवाले यसलाई नेपाल ल्याएपछि राइड सेयरिङ बजारमा ठूलो धक्का दियो ।
यहीक्रममा अनेक नामका नयाँ राइड सेयरिङ एप र कम्पनीहरु आए । साहारा, सवारी, सजिलो, जुमजुम, लुजुम, साथी, फिलिलि, एटेन्ड, पुर्याइदेऊ, जाउँ गुरु, ट्याक्सीमान्डु, जस्ता स्थानीय एप पनि खुले । यसले टटुटलाई थप अठ्यारो बनायो । अन्ततः टुटलले घुँडा टेक्यो । २०७८ मा सेवा नै बन्द गर्यो ।
लोकल एपहरु पनि फैलिन सकेनन् । पठाओ राइड सेयरिङ बजारमा किङ कहलियो । कतिसम्म भने सर्ज चार्जका नाममा विहान बेलुका चर्को शुल्क असुल्न थाल्यो ।
केही विवादहरु पनि आएपछि पठाओले यात्रु र राइडलको सुरक्षा चासोलाई सम्बोधन गर्न खोज्यो । जसका कारण राइडका क्रममा दुर्घटना भएमा यात्रुको उपचार खर्च बीमाबाट भुक्तानी गर्न सकिने भयो । कल सेन्टर राख्नेदेखि कस्टमर केयरका विभिन्न पक्षमा ध्यान दिएका कारण पठाओ राइड सेयरिङको पर्यायबाची बन्न पुग्यो ।
जुन सुकै एपमा राइड बुक गर्दा पनि ‘पठाओ’ गर्ने भन्न थाले । बजार विस्तारका लागि पठाओ उपत्यका बाहिर जाने रणनीति समेत बनाउन थाल्यो ।
तर २०८० को सुरुवातमा इन्ड्राइभले नेपालमा अनअफिसियल रुपमै नेपालमा सेवा थाल्यो ।
इन्ड्राइभले सुरुमा ड्राइभरबाट कमिसन नै लिएन ।
अनि सेवाग्राहीलाई भाडामा बार्गेनिङ गर्न मिल्ने सुविधा पनि दियो । आफूलाई चित्त बुझेको रेटमा यात्रुले जान पाउने भए । राइडर पिक अप लोकेसनभन्दा कति टाढा छ भन्ने हेरेर राइडर छान्न पाइने सुविधा ल्यायो । यसले पठाओ दबावमा आयो, शुल्क घटाउन र राइडहरुलाई थप सुविधा दिन बाध्यता पर्यो ।
इन्ड्राइभले पठाओको एकाधिकारमा धावा बोलिरहेका बेला याङ्गोको इन्ट्री भयो । यसले गत जेठ महिनाबाट नेपालमा सेवा थालेकोे हो ।
याङ्गोले अहिलेसम्म ठूलो बजार हिस्सा लिइसकेको छैन । तर तीन महिनाको छोटो अवधिमै राइड सेयरिङ गर्ने धेरैको ध्यान भने तानेको छ । ३ महिनाको छोटो अवधिमा यांगोलाई नेपालमा राइड सेयरिङको एउटा राम्रो विकल्प हो भन्ने स्थापित गर्न सफल भएको यांगोका प्रवन्ध निर्देशक अर्जुन केसी बताउँछन् ।
याङ्गो यूएईमा विकास भएको एप हो । यो एप अहिले विश्वमा ३० भन्दा बढी देशमा राइड सेयरिङमा प्रयोगमा रहेको कम्पनीको दाबी छ । नेपालमा भने ट्याक्सीमान्डूसहित विभिन्न स्थानीय साझेदारहरुसँग मिलेर सेवा सुरु गरेको हो ।
यांगोले सुरुबाटै आक्रामक मार्केटिङ गर्यो । ट्याक्सीहरुमा यांगोको प्रोमोसनल स्टिरक टाँस्नेदेखि सामाजिक सञ्जालमार्फत अनेक क्याम्पेन चलाएर गज्जबकै प्रचार गर्यो ।
यांगोले अरुको तुलनामा सस्तो भाडादर राख्यो । अनि राइडरहरुलाई आकर्षित गर्न बोनस योजना ल्यायो । हरेक राइडमा निश्चित बोनस दियो भने दिनभरमा निश्चित माइलस्टोन पार गरेपछि थप बोनस दिने बतायो । राइडबापतको रकमसँगै बोनस समेत पाइने भएपछि धेरै चालक यांगोमा आकर्षित भए ।
अहिले पनि यांगोले कमिसन कम लिन्छ । न्युनतम् ४० रुपैयाँमै सेवा दिन्छ, ट्याक्सी पनि न्युनतम् १८० रुपैयाँमै बुक गर्न मिल्छ । राइडरहरुबाट ३ प्रतिशत प्रतिशत कमिसन राख्छ ।
जबकी पठाओले २० प्रतिशत र इन्ड्राइभले ११ प्रतिशत कमिसन लिन्छन् ।
यांगोमा अरुमा भन्दा एउटा विशेषता फरक छ । राइड बुक गर्दा नजिकका चालकलाई राइडका लागि रिक्वेस्ट जान्छ । तर यो राइडमा कति भाडा पाउँदैछु भन्ने उसलाई थाहा हुँदैन । त्यसैले छोटो रुटमा थोरै भाडा पाइने भएकाले राइडरले राइड एसेप्ट नगर्ने समस्या यांगोमा हुँदैन ।
इन्ड्राइभमा जस्तो बार्गेनिङ सुविधा छैन । पठाओमा जस्तै नजिकका राइडरलाई रिक्वेस्ट जान्छ र, एसेप्ट भएपछि राइड बुक हुन्छ । त्यसरी हेर्दा पठाओकै मोडलमा छ याङ्गो ।
यसरी हेर्दा अहिलेलाई राइडरसँग कम कमिसन लिनु र तुलनात्त्मक रुपमा अरु राइड एपभन्दा सस्तो हुनु नै यांगोको विशेषता हो । यो भनेको कम्पनीले अहिलेसम्म आफ्नै खर्चमा कस्टमर र राइडरलाई जोडिरहेको छ ।
अब प्रश्न आउँछ, के यो मोडालिटीले राइड सेयरिङ बिजनेसमा टिक्न सकिन्छ ? याङ्गोका लागि मुख्य च्यालेन्ज नै यही हो ।
नेपालमा १५ लाखभन्दा बढी मानिसले राइड सेयरिङ एप प्रयोग गर्ने गरेको अनुमान छ । करिब २ लाख सवारीहरु राइड सेयरिङ गर्छन् । कम्पनीहरुले ट्याक्सी र मोटरसाइकल मात्र होइन, तीनपांग्रे टुक–टुकेलाई समेत यो सेवमा जोडेका छन् ।
चितवन, पोखरासहितका ठूला शहरमा समेत सेवा विस्तार भइसकेको छ । एउटा शहरबाट अर्को शहरसम्म जान मिल्ने गरी लामो दूरीको राइड सेयरिङ बुक समेत गर्न पाइन्छ । पार्सल र समान डेलिभरी सेवा समेत सुरु भइसकेका छन् ।
व्यापारको विविधीकरणले गर्दा राइड सेयरिङ सेवाको बजार ठूलो हुँदै गएको छ । स्टाटिस्टाले गरेको विश्वव्यापी अध्ययन अनुसार नेपालमा बजार राइड सेयरिङको २०२४ मा झण्डै ९ अर्ब २१ करोड रुपैयाँको थियो । २०२५ सम्ममा यो बढेर १० अर्ब ४५ करोडको हुने प्रक्षेपण छ । यसले वर्षमा झण्डै १० प्रतिशतका दरले यसको बजार बढ्न सक्ने देखिन्छ ।
यही अनुपातमा मात्र बजार बढ्यो भने पनि सन् २०३० सम्म १८ अर्बको बजार सिर्जना हुनसक्छ । अरु सहरहरुमा पनि अहिले जसरी नै सेवा विस्तार भयो भने त्यतिबेलासम्म ७० लाखभन्दा बढी यात्रुलाई सेवा दिने अनुमान छ । त्यही कारण राइड सेयरिङ कम्पनीहरु बजार विस्तारका लागि लगानी गर्न हौसिएका छन् ।
सम्भावना धेरै भएर पनि नेपाली बजारका केही खास विशेषता छन् ।
नेपालको राइड सेयरिङ बजारमा कुनै एपको लोयल कस्टमर छैनन् । धेरै ग्राहकहरु कुन एपमा सस्तो राइड पाइन्छ भन्ने चेक गरेर मात्रै राइड रिक्वेस्ट गर्छन् ।
जुन एपले सस्तोमा राइड दिन्छ, त्यतै झुम्मिन्छन् । राइडरहरु पनि जसले धेरै कमिसन दिन्छ, त्यतै जान्छन् । जो हिजो टुटल चलाउँथे, पछि पठाओमा झुम्मिए । इन्ड्राइभ आएपछि त्यतै गए । अहिले त्यही भीड यांगोमा गएका छन् ।
यांगोका प्रवन्ध निर्देशक अर्जुन केसी पनि जसले उपभोक्तालाई कम मूल्य र राइडरलाई बढी लाभ दिन सक्छ, उसैले बजार लिने अवस्था रहेको स्वीकार गर्छन् । ‘यो प्राइस बेस बजार हो, यहाँ अरु कुराले खास अर्थ राख्दैन,’ उनी भन्छन् ।
राइड सेयरिङ एपहरु प्राइस वारमा व्यस्त हुँदा गुणस्तरमा भने समस्या बढ्दो छ ।
अहिले नै राइड सेयरिङ सेवामाथि यति धेरै प्रश्न छन् । एक त सधैं चाहेका बेलामा राइड पाइँदैन ।
शहर उन्मुख र धेरै जाम हुने क्षेत्रमा राइडरहरु जानै रुचाउँदैनन् । एक झर पानी पर्यो भने राइड सेयरिङको रेट बढिहाल्छ । रातमा राइड सेयरिङ सेवा लिन सकस छ ।
सुरक्षाको विषय पनि उत्तिकै टड्कारो छ । चालकहरु तालिम प्राप्त छैनन् । कतिपय राइड दिने सवारीको अवस्था राम्रो छैन । चालकहरुले यात्रुलाई गर्ने व्यवहारबारे प्रशस्तै गुनासा छन् ।
चोक–चोकमा ढुकेर अफलाइनबाटै यात्रु ओसार्नेहरु पनि छन् । यस्ता समस्या समाधानका लागि राइड सेयरिङ कम्पनीले काम गरेका छैनन् ।
कतिपय देशमा राइड सेयरिङ कम्पनीहरुले नै सवारी साधनमा लगानी गर्ने र डेडिकेटेड चालकमार्फत सेवा दिन थालिसके । तर हामी कहाँ यति ठूलो लगानी गर्न कोही तयार छैनन् । सेवालाई पूर्ण व्यावसयिक र सुरक्षित बनाउन ड्रेसकोड समेत तोकिएको छैन ।
बरु सबै कम्पनी एकसाथ, एकै ठाउँमा, एकै शैलीमा प्राइस वारमा छन् । यो खालको प्राइस वारमा को कति दिन टिक्छ र कसले कतिबेला घुँडा टेक्छ राम जाने !

अहिलेसम्म २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ?

वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३२ करोडको सुन र ४ करोड नगद लुटपाट

जलेका नोट साट्न जानेलाई हुन सक्छ कारबाही

कुलमानको प्राथमिकता : ट्रंकलाइनको पैसा उठाउने, पुनर्निर्माण कोष बनाउने

सरकारी कार्यालय केही महिनामै दुरुस्त सेवा दिने बनाउनुपर्छ : अर्थमन्त्री खनाल
