आर्यघाटबाट 'अस्तु बेचेको' घटनामा प्रहरी अनुसन्धानले के देखायो ?
२०८२ साउन २३ गते । कालगतिले मृत्यु भएका काभ्रेका राम शाहीको अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगियो । पशुपतिको आर्यघाट सेवा केन्द्रले सदगतका लागि गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई खटायो ।
शव जलाउने पालो आएको छ भन्ने थाहा पाएपछि ढकाल र मैनाली आर्यघाटको २ नम्बर चितामा पुगे । चिता तयार गरे, हिन्दू धर्मको विधि अनुसार शव जलाउन थाले ।
शव जलेर आधा भइसकेको थियो । त्यही बेला नजिकै बागमती किनारबाट कसैले शव जलाइरहेका ढकाललाई बोलायो ।
त्यसरी बोलाउने मान्छे थिए, सर्लाहीको लालबन्दी नगरपालिका–४ का ४२ वर्षका रामनन्दन ठाकुर । उनले आफूलाई पूजाका लागि हड्डी र खरानी चाहिएको सुनाए ।
शव जलाउँदै गरेका ढकालले जलिरहेको चिताबाट केही खरानी र हड्डी बाँसको घोचाले बागमती नदीतिर धकेलेर झारिदिए । विनायक मैनालीले त्यो खरानी र हड्डीलाई कपुरको बट्टामा राखेर रामनन्दनलाई दिए ।
यो सबै दृश्य मलामीहरुले हेरिरहेका थिए । उनीहरुले होहल्ला गरे, प्रहरी वृत्त गौशालालाई खबर गरे ।
प्रहरीले शव जलाउने जीवनाथ र विनायकलाई नियन्त्रणमा लियो । त्यसपछि सनसनीपूर्ण शीर्षकहरु राखेर खबरहरु फैलिए । आर्यघाटमा पुर्याएको शवबाट मासु निकालेर गायब, कसले खान्छ मान्छेको मासु ? अघोरी बाबाले खान्छन् मान्छेका मासु, जस्ता अनेक हेडलाइन बन्यो ।
मानिसहरुले पनि अनेक लख काटे । अवस्था यस्तो आयो कि अन्त्येष्टिका लागि शव लिएर पशुपति पुग्नेहरुमा चिन्ता बढ्यो । अनि, आँखा दानका लागि काउन्सिलिङ गर्न खटिएकाहरुलाई समेत घाट क्षेत्रमा जान गाह्रो हुने अवस्था आयो ।
०००
यो घटनाको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्यो । दुई साता लामो अनुसन्धानले यो घटना बाहिर प्रचार गरिए जस्तो नभएको प्रहरीको निष्कर्ष छ ।
प्रक्राउ परेका जीवनाथ ढकाल र विनायक मैनालीको बयानका आधारमा हड्डी र खरानी लिएर जाने रामनन्दन ठाकुर र मिश्रीलाल यादवलाई पनि पक्राउ गर्यो ।
रामनन्दनले प्रहरीलाई दिएको बयान अनुसार उनी विगत २५ वर्षदेखि काठमाडौंमा फर्निचर व्यवसाय गर्दै आएका छन् । पशुपति दर्शनका लागि नियमित जान्थे ।
करिव २ महिनाअघि पशुपति मन्दिर दर्शन गर्न गएको बेला एक जना जोगीसँग भेट भएको थियो । हात हेराउँदा उनले तिमीलाई एउटा संकट आउन सक्छ भनिदिए ।
संकट आउन सक्छ भनेपछि रामनन्दन डराए । जोगीलाई संकटबाट बच्ने उपाय केही छ कि भनेर सोधे ।
जोगीले मानिस जलाएको खरानी लिएर पूर्वतर्फ फर्किएर पूजा गरेर बागमतीमा बगाइदिनू, संकट टर्छ भनिदिए । त्यसपछि उनी खरानी जोहो गर्नतिर लागे । त्यसक्रममा उनी साउन २३ गते दिउँसो २ बजेतिर आर्यघाट पुगे ।
२ नम्बर चितामा शव जलिरहेको थियो । उनले शव जलाइरहेका जीवनाथलाई बोलाएर थोरै खरानी पूजाका लागि दिन आग्रह गरे ।
ढकालले खरानी दिनसक्ने बताए । तर त्यसका लागि एक हजार रुपैयाँ मागे ।
रामनन्दनले चार सय रुपैयाँ दिए । केहीबेरमा विनायकले एउटा बट्टा थमाइदिए । खरानी पाएपछि भष्मेश्वर पुगे । पानीको धारा आगाडि पुगेपछि जोगीबाबाले भने झैं आफ्नो टाउकोमा घुमाएर बागमतीमा बगाइदिएको उनको बयान छ ।
रामनन्दनको दाबीसँग शव जलाउने काममा संग्लन जीवनाथ र विनायकको बयान पनि धेरै हदसम्म मिल्छ ।
यति फरक छ कि रामनन्दनले आफूले खरानी मागेको र जीवनाथले केही रकम लिएर सहजै दिएको दाबी गरेका छन् । जीवनाथले भने आफूले हड्डी र खरानी दिन मिल्दैन, मलामीले कुट्छन् भनेको बताएका छन् ।
विनायकको सल्लाहअनुसार चिताबाट केही खरानी र हड्डी बागमती नदीतिर धकेलेर झारिदिएको र विनायकले कपुरको बट्टामा राखेर दिएको उनको दाबी छ । उनको दाबीअनुसार नै विनायकले प्रहरीलाई बयान दिएका छन् ।
सबैको बयानबाट के प्रष्ट हुन्छ भने जीवनाथ र विनायक मैनालीले साउन २३ गते अपरान्ह २ नम्बर चितामा जलिरहेको शवबाट हड्डी र खरानी निकालेका हुन् । त्यो रामनन्दनले लगेका पनि हुन् । यसका लागि उनले ५ सय रुपैयाँ दिएको देखिन्छ । यसमध्ये ३०० रुपैयाँ जीवनाथले लिए, २०० रुपैयाँ विनायकले पाए ।
तर यो घटनामा सुरुमा जसरी प्रचार गरिएको थियो, त्यो तहको होइन रहेछ भन्ने प्रहरीको निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार यो घटना आएपछि सुरुमा प्रहरी आफैं अचम्ममा परेको थियो ।
कतै आर्यघाटबाट यस्ता घटना नियमित हुने गरेको त छैन ? भन्ने लागेर एसएसपी अधिकारी आफैंले यो घटनालाई नजिकबाट हेरे । शव जलाउने दुई जनाको बयान त आफैंले लिए । र उनी यो निश्कर्षमा पुगे कि सुरुमा जुन तहको अनुमान गरिएको थियो, त्यो होइन रहेछ ।
साउन महिनामा अस्तुले पूजा गरेमा संकट टर्छ भन्ने भ्रममा यो घटना भएको प्रहरीको निष्कर्ष छ । यद्यपि यो धार्मिक आस्था विपरीतको काम भएको र यसमा आर्थिक लेनदेन भएको देखिएकाले प्रहरीले धर्मसम्बन्धी कसुर भएको ठहर गर्यो ।
हाम्रो कानुनले कसैले सनातनदेखि अपनाउँदै वा चलि आएको अरुको धार्मिक रीतिस्थितिमा जानीजानी बाधा पुर्याउन हुँदैन भनेको छ । यस्तो काम गर्ने र गराउनेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन्छ भनेको छ ।
अहिले प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शव जलाउने जीवनाथ ढकाल र विनायक मैनाली अनि त्यो खरानी किन्ने रामनन्दन ठाकुरलाई एक वर्ष कैद वा १० हजार जरिवाना वा दुबै सजाय माग गरेको छ ।
ठाकुरलाई मोटरसाइकलमा बोकेर घरसम्म पुर्याइदिने मिश्रीलाल यादवलाई चाहिँ त्यसको आधा सजाय माग गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






