नेभिगेशन
एक्सप्लेनर भिडियो

केपी ओलीमा देखिएको विद्याप्रतिको डर

राजनीतिक घटनाक्रमबारे चासो राख्नुहुन्छ भने एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीको टकरावबारे जानकार नै हुनुहुन्छ । यद्यपि संक्षिप्तमा चर्चा गरौं । 

नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारीको ७ वर्ष लामो कार्यकाल २०७९ फागुनमा सकियो । राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन्, राष्ट्रपतिको कार्यकाल सकिएपछि फेरि एमालेमा सक्रिय हुन खोजिन् । 

एमालेको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट उनको सदस्यता नै नवीकरण नगर्ने निर्णय गराए ।

पार्टीले सदस्यता नवीकरण नगर्ने औपचारिक निर्णय गराउँदा समेत न भण्डारी रोकिइन्, न उनलाई साथ दिएका नेताहरु रोकिए । 

बरु भदौ २० गते सुरु हुने एमालेको विधान महाधिवेशनमै भण्डारी पक्षका नेताहरुले फरक मत राख्ने सम्भावना बढेको छ ।

यसले ओली दबावमा देखिएका छन् । त्यही कारण हुनसक्छ, भदौ १३ गते बोलाइएको केन्द्रीय समिति बैठक समेत रोकिएको छ ।

अनि ओलीले डर देखाएका छन्, भण्डारीले एमाले अध्यक्षका लागि चुनाव लडिन् भने नराम्ररी हार्छिन् । हारेपछि भीम रावल जस्तै असन्तुष्ट हुुन्छिन्, त्यसपछि पार्टीले स्पष्टीकरण सोध्नुपर्छ । राष्ट्रपति भइरहेको व्यक्तिलाई स्पष्टीकरण सोध्नु राम्रो हुन्न । त्यसैले भण्डारी सक्रिय राजनीतिमा नआएकै बेस । 

जबकी साउन पहिलो साता पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दा एमालेले संविधानको विभिन्न धारा कोट गरेको थियो । निर्णयमा राष्ट्रपति भइसकेको व्यक्ति दल विशेषको सदस्य हुनु संविधानको मर्म विपरीत हुने भनिएको थियो । 

एमालेको निर्णय त्यसबेला नराम्रोसँग एक्पोज भयो, जतिबेला राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन हुन्छ, विद्या भण्डारी पनि एमाले अध्यक्ष बन्न सक्छिन् भनेर ओली स्वयंले दुईवर्ष अघि बोलेको भिडियो क्लिप्स भाइरल भयो ।

नेताहरुका अनुसार यथार्थ के हो भने भण्डारी राष्ट्रपतिकै रुपमा शीतल निवासमा रहेका बेला सक्रिय राजनीतिमा फर्किने आकांक्षा जगाउने एमाले नेताहरु नै हुन् । 

त्यसबेला ओली र एमाले संकटमा थियो । नेकपा विभाजनपछि संकटमा परेका ओलीहरुले भोलिका दिनमा वाम एकताको कार्ड हुनसक्छ भनेर पनि भण्डारीलाई राजनीतिमा आउन हौस्याएको हुनसक्छ । 

त्यसैले २०७९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी धेरै समय चुप बसिनन्, उनले पार्टी सदस्यता नवीकरण गर्न निवेदन दिइन् ।

त्यसबेला नै नेताहरुले नगर्नुस् भनेको भए शायद भण्डारी रोकिन पनि सक्थिन् । तर नेताहरुले सदस्यता नवीकरण गरिदिए । हुन त एमाले अध्यक्ष ओलीले कर्मचारीलाई झुक्याएर सदस्यता नवीकरण गरेर हुन्छ ? भन्ने प्रश्न पनि भनेका छन् । 

संगठन विभागका प्रमुख काशीनाथ अधिकारी हुन्, उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई नसोधी पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण गरे होलान् भन्ने पत्याउन सकिन्न ।

एमाले नेताहरुका अनुसार गएको वैशाखसम्म पनि केपी ओली र विद्या भण्डारीको सम्बन्ध बिग्रिएको थिएन । तर जब भण्डारीले मदन स्मृति दिवसको अवसर पारेर असार १४ मा सक्रिय राजनीतिमा आउने र आसन्न महाधिवेशनबाट अध्यक्ष हुने योजना बनाइन्, त्यहीँबाट समस्या सुरु भयो ।

किनकी ओलीको अर्कै योजना थियो । उनी विधान महाधिवेशनबाट ७० वर्षको सीमा हटाउने र फागुन–चैतमा महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा थिए । त्यसैले ओलीले रोक्न खोजे, भण्डारी मानिनन् । 

असार १४ गते भन्दा अगाडि भएको ओली र भण्डारीको भेट अति तिक्ततापूर्ण नै रह्यो । त्यसपछि जे जस्ता घटनाक्रम भयो, सबैलाई थाहा छ । 

ओली जसरी पनि भण्डारीलाई रोक्न चाहिरहेका छन्, भण्डारी रोकिने संकेत देखिएको छैन । त्यही क्रममा ओलीले, भण्डारीले एमाले अध्यक्षमा चुनाव हार्ने र पार्टीले कारबाही गर्नुपर्ने दिन आउनसक्ने अभिव्यक्ति दिएका हुन् । 

झट्ट सुन्दा ओलीले ठीकै त भनेका होलान् भन्ने लाग्नसक्छ । किनकी पार्टीभित्र ओलीको बलियो पकड छ । पछिल्लो केन्द्रीय कमिटी बैठकलाई नै हेरौं न । त्यतिधेरै नेताहरुमध्ये एकाधले मात्र भण्डारीलाई पार्टीमा फर्किनबाट रोक्नुहुन्न भनेका छन् । बहुसंख्यकले ओलीलाई नै साथ दिएका छन् । 
तर यो अभिव्यक्तिको अर्को पाटो पनि छ । यो हो, भण्डारीलाई लिएर ओलीको डर ।

एकछिन कल्पना गरौं त, एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गर्‍यो र पूर्व राष्ट्रपतिले ११ औं महाधिवेशनमा अध्यक्ष उठ्ने निर्णय गरिन् । 

त्यो बेला ओलीलाई आफू पनि अध्यक्षमा उठ्ने कि नउठ्ने निर्णय गर्न नै सहज हुने छैन । 

ओलीले चुनाव लड्ने निर्णय पनि लिए । तर गोप्य मतदान हो, जितिन्छ भन्ने के ग्यारेन्टी ? 

अहिले पो ओलीलाई चुनौती दिने अरु देखिएका छैनन् र उनी निर्विकल्प देखिएका हुन् । विद्या भण्डारी आफैं चुनावी मैदानमा उत्रिएपछि कित्ताकाट सुरु भइहाल्छ । त्यो बेला ओलीसँग को को रहन्छ भन्न गाह्रो छ । 

किनकी एमालेभित्र लामो समय ओली र विद्या भण्डारी एउटै खेमामा थिए । त्यही समूहमा अरु पनि थपिएपछि २०७१ सालमा ओली, एमालेको अध्यक्ष बन्न सफल भए । 

राष्ट्रपति बन्नु अगाडिसम्म पनि भण्डारी ओली समूहमै थिइन् । एमाले र माओवादी मिलेर नेकपा बन्यो, त्यसमा पनि भण्डारीको झुकाव ओलीतिर रह्यो । त्यसैले नेतृत्व तहका थोरै नेताहरु बाहेक ओली समूहमा रहेका को भण्डारीतिर लाग्छन्, को ओलीतिर नै रहन्छन् भन्न गाह्रो छ । 

माधवकुमार नेपाल झलनाथ खनालहरु एमालेबाट अलग भए, ठूलो समूह एमालेमै रह्यो । त्यो समूहले पनि ओलीलाई साथ दिन्छ भन्ने कुनै ग्यारेन्टी छैन ।  

विद्या भण्डारीले एमालेमा फर्किन्छु भन्ने घोषणा गर्नु अगाडि एमालेमा भएका चुनाव नै हेरौं न । प्रदेश र जिल्लाको नेतृत्वमा भएको चुनाव होस् वा भ्रातृ संगठनहरुमा भएको चुनाव होस् । ओलीले नरुचाएका नेताहरुले जितेका छन् । नजिते पनि संस्थापन पक्षलाई कडा चुनौती दिएका छन् । 

त्यसैले पूर्व राष्ट्रपति भण्डारीसँग चुनाव लड्नु ओलीलाई पक्कै सहज हुने छैन । 

मानिलिनुस्, ओलीले नै चुनाव जिते । तर मतान्तर एकदमै कम भयो भने के होला ?

भनिन्छ नि, राजनीतिमा जितेर पनि हारिन्छ, हारेर पनि जितिन्छ । ओलीका लागि यो जितको पनि ठूलो अर्थ हुन्न । किनकी भण्डारी अर्को शक्ति केन्द्र बन्ने छिन् । 

ओली यी कुनै पनि अवस्थाका लागि तयार छैनन् । त्यसैले उनी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई हर हालतमा एमालेमा सक्रिय हुन रोक्न चाहन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप एक्सप्लेनर भिडियो