ओली-लिङ्देन टकराव : हेरौंला कसरी चुनाव जित्छौ ?
झापाका दुई नेता केपी शर्मा ओली र राजेन्द्र लिङ्देनको विचार कहिल्यै मिलेन । ओली झापा विद्रोह गरेर आए, २०६२/६३ मा राजतन्त्र अन्त्य भएपछि गणतन्त्रवादी भए ।
लिङ्देन पञ्चायत पक्षधर विद्यार्थी राजनीति गरेर आए, गणतन्त्रकालमा पनि राजतन्त्रको एजेण्डा बोके ।
तर २०७४ को चुनावमा उनीहरुबीच सहकार्य भयो । ओलीले झापा क्षेत्र नम्बर ३ मा लिङ्देनलाई समर्थन गरे भने झापा ५ मा राप्रपाले ओलीलाई साथ दियो । राप्रपाका लागि त ठूलो दलको साथ पाउनु सुखद थियो, तर एमालेकै नेताहरुका लागि पनि ओलीको यो निर्णय अप्रत्यासित लागेको थियो ।
किनकी झापा ५ मा ओली आफैं बलियो स्थितिमा थिए । त्यसमाथि देशभर माओवादीसँग वाम गठबन्धन भएको थियो । सहजै चुनाव जित्ने अवस्था थियो । तर ओलीले फरक निर्णय लिए, उनले आफ्नो दलको उम्मेदवार नउठाई राप्रपा नेता राजेन्द्र लिङ्देनलाई समर्थन गरे । एमाले नेताहरुका अनुसार त्यसबेला झापा ५ मा राप्रपाको करिव ४/५ हजार भोट रहेको अनुमान थियो ।
त्यसको समेत समर्थन जुटाएर ओली ढुक्क हुन खोजेको नेताहरुको बुझाइ छ । तर त्यतिमात्र कारण भने होइन । ओली आफू जित्ने मात्र होइन, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराउने खेलमा थिए । सिटौला झापा ३ मा कांग्रेसका उम्मेदवार थिए ।
यदि एमालेले लिङ्देनलाई समर्थन नगरेको भए सिटौलाले सहजै चुनाव जित्ने अवस्था थियो । तर संविधान निर्माणमा नेतृत्वदावी भूमिका खेलेका सिटौलालाई हराउनु पर्नेहरुको स्वार्थमा ओलीले राप्रपाका लिङ्देनलाई समर्थन गरे ।
सिटौलाले ३१ हजार १७१ मत पाउँदा लिङ्देन ४४ हजार ६१४ मतका साथ विजयी भए ।
झापा ५ मा पनि ओली निर्वाचित भए । ओलीले ५७ हजार १३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २७९ मत पाएका थिए ।
अनि, सिंगो झापा जिल्लामा राप्रपाले ३२ हजार ८२० मत समानुपातिक मत पाएको थियो । यसले के देखाउँछ भने राप्रपाको समर्थन विना पनि ओली चुनाव जित्थे, तर एमालेले समर्थन नगरेको भए लिङ्देनको जित सम्भव थिएन । तर एमालेको समर्थनमा लिङ्देनले चुनाव जिते, राप्रपाको एक्लो सांसद बने ।
संसदको ५ वर्ष कार्यकालमा लिङ्देन, ओलीको नजिक रहे, तर सहयोगी बनेनन् । उनले विश्वासको मत दिए, संसद विघटनको समर्थन गरे, तर सत्ता सहकार्य गरेनन् । बरु राप्रपाको अध्यक्ष बनेपछि राजनीतिक मुद्दामा बेलाबेला जुहारी खेले ।
२०७९ को चुनाव आयो, ओली र लिङ्देन फेरि मिले । दुबैको प्रतिस्पर्धी पुरानै थिए, तर परिस्थिति फरक थियो । कांग्रेसले माओवादी सहितका ५ दलसँग गठबन्धन गरेको थियो । अनि, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावी प्रतिस्पर्धामा थियो । त्यसैले दुबैलाई एकअर्काको साथ चाहिएको थियो ।
झापा–३ मा लिङ्देन ४० हजार ६६२ मतका साथ निर्वाचित भए । कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत ल्याएर पराजित भए । यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २५ हजार ५३५ मत पाएको थियो भने राप्रपा १९ हजार ७४३, एमाले १९ हजार ४६० र रास्वपा ७ हजार ८१२ ।
अनि झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली ५२ हजार ३१९ मतका साथ निर्वाचित हुँदा कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले ३५ हजार ५७२ मत पाउँदा रास्वपाले १८ हजार २०५, कांग्रेसले १६ हजार ८५९ र राप्रपाले ७ हजार ३७० मत पाएको थियो ।
यसले के देखाउँछ भने राप्रपाको अध्यक्ष भएपछि लिङ्देनको समर्थन त बढेको थियो, तर माओवादीको साथ पाएका सिटौला झन् बलियो भएका थिए । यदि एमालेले समर्थन नगरेको भए लिङ्देनले चुनाव जित्ने अवस्था थिएन । ओलीको हकमा चाहिँ राप्रपाले समर्थन नगरेको भए पनि चुनाव जित्ने अवस्था देखिन्छ । तर जित सुनिश्चित गर्न लिङ्देनको समर्थनले काम गरेको छ ।
एकअर्कालाई चुनाव जिताएका नेताहरुले यो पटक सरकारमा पनि सहकार्य गरेका थिए ।
२०७९ पुस १० गते एमाले सहितका ७ दलको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । कांग्रेसको साथ नपाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेको साथ खोज्दै ओलीसमक्ष पुगेका थिए । उनले रास्वपा, राप्रपा सहितका दल जुटाएर बहुमत पुर्याइदिएका थिए । प्रचण्ड सरकारमा लिङ्देनलाई उपप्रधान तथा उर्जामन्त्री समेत बनाइएको थियो । किनकी ओली, लिङ्देनलाई आफ्नो साथमा राखेर प्रचण्ड सरकारमाथि अझ प्रभाव राख्न चाहन्थे ।
आजको कुरा गर्ने हो भने केपी शर्मा ओली र राजेन्द्र लिङ्देनको सहकार्य टुटेको छ । रणनीतिक साझेदारी अब प्रतिद्वन्द्वीतामा परिणत भएको छ र, दुबैले एक अर्कालाई सार्वजनिक मञ्चहरुबाट भन्न थालेका छन्, हेरौैंला, अबको कसरी चुनाव जित्छौं ?
ओली र लिङ्देनको खटपट त्यसबेला सुरु भयो, जब ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री भए । २०८१ असारमा जब ओली प्रधानमन्त्री बने, लिङ्देनले विश्वासको मत नदिने निर्णय लिए । पछिल्लो पटक राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दामा राप्रपाले सडक आन्दोलन थालेपछि दुई नेताको जुहारी सुरु भयो ।
आन्दोलनका क्रममा एक दिन प्रहरीले लिङ्देनलाई पनि नियन्त्रणमा लियो । यसले दुई नेताबीच यति तिक्तता बढ्यो कि भदौ दोस्रो साता पार्टीका नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भनिदिए, राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौंला ।’
राप्रपा अध्यक्ष लिङ्देन पनि के कम ? झापा पुगेर जवाफ फर्काएका छन्, ‘झापा ५ टाढा होइन, समयले खोजेछ भने राजेन्द्र लिङ्देन त्यहाँ गएर पनि लड्न सक्छ ।’
एमाले र ओलीलाई लागेको हुनसक्छ, अब पनि लिङ्देनलाई समर्थन गरिराख्ने हो भने झापामा राप्रपाले अप्ठ्यारो पार्नसक्छ । अब उनलाई रोक्नुपर्छ ।
तर राप्रपाको समर्थन विना झापाका ५ मध्ये अहिले जितेको ३ वटा क्षेत्र नै जोगाउन पनि एमालेका लागि चुनौतीपूर्ण छ । किनकी झापामा राप्रपा मात्र होइन, रास्वपाको प्रभाव बढ्दो छ ।
राजेन्द्र लिङ्देन र राप्रपाका लागि त एमालेको समर्थन बिना झापा–३ मै जित्नु पनि सबभन्दा ठूलो चुनौती हुनेछ । किनकी कांग्रेस, एमाले मात्र होइन, रास्वपा र दुर्गा प्रसाईँले खोल्ने भनिएको नयाँ दल पनि यहाँ प्रतिस्पर्धामा हुने देखिन्छ ।

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
