मितेरी सहकारीमा धनराज गुरुङ : तथ्यहरुले जोड्छ, सत्ताले जोगाउँछ
भारतीय र ब्रिटिश सेनाबाट अवकाश पाएका पूर्व सैनिकहरुले २०५७ सालमा ललितपुरको महालक्ष्मीस्थानमा एउटा सहकारी संस्था खोले, मितेरी वचत तथा ऋण सहकारी संस्था ।
सहकारीसँग जोडिएका पूर्वसैनिकहरु स्याङ्जाका पनि भएकाले आफ्नो ठाउँका नेता धनराज गुरुङसँग भेटघाट भइरहन्थ्यो । त्यही क्रममा २०५७ साल जेठ १० गते धनराज गुरुङ सहकारीको अफिसमा गए । अनि अध्यक्ष कुम्भराज गुरुङलाई भने, मेरी श्रीमती पढेलेखेकी छन्, संस्थामा जागिर लगाइदिनुपर्यो ।
त्यसको दुई दिनपछि नै जेठ १२ गते मितेरी सहकारी सञ्चालकको बैठकले धनराजकी पत्नी ज्योति गुरुङलाई सहायक स्तरमा नियुक्ति दिने निर्णय गर्यो ।
ज्योतिले छोटो समयमा नै संस्थामा प्रगति गर्दै गइन् । २०५७ साउन २५ गते एकाउन्टेन्ट भइन्, २०७० वैशाख ४ गते सिनियर एकाउन्टेन्ट र २०७५ वैशाख ४ गते महाप्रबन्धक भइन् ।
महाप्रबन्धक भएपछि उनले संस्थाको रकम हिनामिना गर्न थालिन् । वचतकर्ताबाट पैसा लिने, तर सिष्टममा नचढाइदिने, उनीहरुको ठूलो रकम आफुखुशी खर्च गर्ने गर्न थालिन् ।
सहकारी संस्थाको हिसाब मिल्न छाडेपछि कर्मचारीहरुले थाहा पाए । संस्थाका कार्यकारी अध्यक्ष कुम्भराज गुरुङलाई जानकारी गराए ।
सहकारीका पदाधिकारीहरुले २०७६ पुस १६ गते महाप्रबन्धक ज्योति गुरुङ र उनका श्रीमान धनराज गुरुङलाई छलफलमा बोलाए ।
नेपाल मगर समाज सेवा केन्द्रको भवन रानीबुमा भएको छलफलमा ज्योति गुरुङले आफूले गल्ती गरेको स्वीकार गरिन् । करिब ३ करोड रुपैयाँ थाइल्याण्डमा लगानी गरेको जानकारी गराइन् ।
कांग्रेस नेता धनराज गुरुङले पनि यसमा आफ्नी पत्नी ज्योति गुरुङबाट गल्ती भएको स्वीकारे । अनि आफ्नो छोरा अष्ट्रेलियामा इन्जिनियरिङ पढिरहेको र छोराले पढाइ सकेर काम गर्न थालेपछि त्यो रकम तिर्दै जाने आश्वासन दिए ।
संस्थाका कर्मचारी र सेयर सदस्यहरुले धनराज र ज्योति दुबैलाई रकम फिर्ता गर्न लिखित प्रतिवद्धता गराउनुपर्ने भन्दै थिए । तर कार्यकारी अध्यक्षसहित पदाधिकारीले आफ्नो क्षेत्रका नेताले यति भनिसकेपछि कागज गराइरहन पर्दैन भने ।
त्यसको एक महिनापछि २०७६ माघ १८ गतेदेखि ज्योति सहकारीको कार्यालय जान छाडिन् । सहकारी संस्थामा आफ्नो वचतको हिसाब हेर्न आएका वचतकर्ताहरुले हिसाब गडबड भएको पाए । आफ्नो पासबुकमा भएको जति पैसा सहकारीको खातामा नचढाएको देखे । यो कुरा फैलिँदै गयो । अनि कार्यालयमा वचतकर्ताको भिड लाग्न थाल्यो ।
सहकारीका पदाधिकारीले कांग्रेस नेता धनराज गुरुङलाई एक दिन कार्यालयमा बोलाए । उनकी श्रीमती ज्योतिबारे सोधखोज गरे । तर धनराजले भनिदिए, ज्योतिसँग त मेरो सम्बन्धबिच्छेद भइसक्यो, उनको बारेमा मेरो केही सरोकार छैन ।’
त्यसपछि मितेरी सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दियो । कार्यालयले अनुसन्धानका लागि सीआईबीमा पठायो । तर धनराज गुरुङमाथि अनुसन्धान भएन ।
मितेरीका अध्यक्षसहितका पदाधिकारी सहकारीको वचत हिनामिनाबारे छानबिन गर्न गठित विशेष संसदीय समितिमा पनि पुगे । समितिले मितेरी सहकारी र धनराज गुरुङबारे अनुसन्धान गर्न सिफारिस गर्यो । त्यसकै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अध्ययन थाल्यो ।
सीआईबीले गरेको अनुसन्धान अनुसार मितेरी सहकारीको १४२ जना वचतकर्ताको ९ करोड ८८ लाख २५ हजार ११३ रुपैयाँ अपचलन भएको छ ।
२०८१ असोज मशान्तसम्म ब्याज समेत गरेर कुल १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ ठगी भएको सीआईबीको प्रतिवेदन छ । सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले भदौ १ गते सहकारीका कार्यकारी अध्यक्ष कुम्भराज गुरुङ, महाप्रबन्धक ज्योति गुरुङ, लेखाका कर्मचारी विजयकुमार राईविरुद्ध ठगीको मुद्दा चलाएको छ ।
त्यस्तै ज्योतिबहादुर भण्डारी, सुवास खत्री, अर्जुन आरम, प्रदीप भन्ने प्रितम अधिकारी र सुरेश अधिकारीविरुद्ध पनि मुद्दा चलाएको छ । मुद्दा चलेका मान्छेहरु धेरै भएपनि प्रहरी अनुसन्धानमा रकम हिनामिनामा मुख्य भूमिका भने ज्योति गुरुङको देखिएको छ ।
सहकारीबाट केही रकम कांग्रेस उपसभापति धनराज गुरुङले पनि चलाएको देखिएको छ । तर गुरुङविरुद्ध भने मुद्दा चलाइएन । सुरुमा उनको बयानसमेत नलिएको प्रहरीले सहकारी ठगीमा सत्तापक्षलाई जोगाउन खोजिएको भनेर धेरै नै आलोचना भएपछि मात्र बयान लिएको थियो । तर मुद्दा चलाउने बेला उनी फेरि उम्किए ।
मितेरी सहकारी ठगीको घटना अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसपी युवराज खड्का, फौजदारी मुद्दामा जो व्यक्तिको अपराधमा संलग्नता देखिन्छ, उसलाई मात्र मुद्दा चलाइने बताउँछन् ।
उनले धनराजको नाम त लिएनन्, तर मितेरी सहकारी ठगीमा संलग्नता नदेखिएकाले मुद्दा नचलाएको बताए ।
जबकी सीआईबीकै अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौं दायर गरेको अभियोगपत्रमा सहकारी ठगीमा धनराज जोडिने तथ्य फेला परेको छ ।
मितेरी सहकारीको मुद्दती खातामा कमला गुरुङले जम्मा गरेको १ करोड रुपैयाँबाट धनराज गुरुङले ५० लाख चलाएका थिए । यो ऋण थिएन, उनले पैसा बुझेको भरपाइ गरेर ५० लाख लिएका थिए । त्यो सहकारीको महाप्रबन्धक समेत रहेकी ज्योति गुरुङको पदको दुरुपयोग गरेर लिएको अनुचित लाभ थियो ।
सहकारीका अध्यक्ष कुम्भराज गुरुङर र बचतकर्ता कमलाले सीआईबीलाई दिएको बयानले पनि त्यही भन्छ ।
सहकारीका अध्यक्ष कुम्भराज गुरुङका अनुसार वचत गरेको रकम त्यसरी दिन त मिल्ने थिएन तर कमलाले फोन गरेर रकम दिनु भनेपछि र धनराज सहकारीका महाप्रबन्धक ज्योति गुरुङका श्रीमान भएकाले दिइएको हो ।
धनराजले २०७६ असोज १२ गते १३ लाख र १३ गते ३७ लाख रुपैयाँ बुझेका थिए । जसमा लेखा अधिकृतका रुपमा अध्यक्ष कुम्भराज गुरङले हस्ताक्षर गरेका थिए भने बुझिलिने व्यक्तिका रुपमा धनराज गुरुङलदे हस्ताक्षर गरेका थिए ।
वचतकर्ता कमला गुरुङले सीआईबीमा दिएको वयान अनुसार ज्योति गुरुङले आफूलाई केही पैसा चाहियो भनेकी थिइन् । र त्यो रकम धनराज गुरुङलाई बुझ्न लगाएकी थिइन् ।
जब सीआईबीले अनुसन्धान थाल्यो, त्यसपछि बल्ल धनराजले गएको वैशाख २३ गते त्यो रकम फिर्ता गरे । त्यसपछि कमलाले दोस्रो पटकको बयानमा आफूले बैंक खाता चेक नगरेकाले धनराजले पैसा फिर्ता गरेको थाहा नपाएको बयान दिइन् । तर बचतकर्ताको रकम धनराजले कसरी चलाउन मिल्छ ? नचलाएको हो भने किन तिरे भन्ने प्रहरीले खोजी नै गरेन ।
बचतकर्ताले बु्झाएको ९ करोड १० लाख ४४ हजार १६६ रुपैयाँ सहकारीको सिस्टममा इन्ट्री नगरी ज्योतिले हिनामिना गरेको सीआईबीको अनुसन्धानबाट देखिएको छ । सीआईबीका अनुसार १२६ वटा मुद्दती बचत कार्डमा लेखिएको रकम १० करोड ६९ लाख ७७६ रुपैयाँ छ । तर सहकारीको सिष्टममा जम्मा १ करोड ५८ लाख ५६ हजार ६१० रुपैयाँ मात्र इन्ट्री भएको थियो ।
तर जब सहकारीको रकम हिनामिना भएको विषय उठ्यो, उनी ज्योति र आफ्नो डिभोर्स भइसकेको छ भनेर पन्छिए । धनराजले आफूहरुको २०७६ साल फागुन २९ गते डिभोर्स भएको कागज देखाउने गरेका छन् ।
जबकी २०७६ फागुनभन्दा पछाडि धनराजले ६ पटक गरेर मितेरी सहकारीबाट ८४ लाख २५ हजार रुपैयाँ ऋण समेत लिएका थिए । ऋणको फाइलमा हकवाला भनेर ज्योति गुरुङ र नाता श्रीमती लेखिएको छ । सहकारीका ऋण उपसमिति संयोजक हरिबहादुर रोकाले सीआईबीमा गरेको घटना विवरण कागजमा यो विषय प्रष्ट उल्लेख छ ।
त्यति मात्र होइन, सहकारीका अध्यक्ष कुम्भराजका अनुसार सहकारीको रकम फिर्ताको विषयमा कुराकानी गर्न जाँदा ज्योति गुरुङ पनि धनराज बस्ने थसीखेलकै घरमा बस्ने गरेको थाहा पाएको बताएका छन् । त्यसैले उनले पनि यो सम्बन्ध बिच्छेद कागजी मात्र भएको जिकिर गरेका छन् ।
सहकारीका सञ्चालक समितिका सदस्य मोतीप्रसाद आलेले त यतिसम्म भनेका छन् कि धनराज गुरुङ सहकारीको रकम अपचलन गर्ने मुख्य नाइके हुनुपर्छ ।
धनराज गुरुङ श्रीमतीको पदको दुरुपयोग गरी सहकारीको रकम चलाएको, तर अहिले त्यो रकम तिर्नबाट पन्छिन, अनि सहकारीको मुद्दामा नमुछिनलाई मात्र महाप्रबन्धक ज्योति गुरुङसँग सम्बन्ध बिच्छेद गरेको आरोप लगाएका छन् ।
२०७९ सालको प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिँदा धनराजले निर्वाचन आयोगको फर्ममा आफ्नो श्रीमतीको नाम ज्योति गुरुङ लेखेको विषय पनि उनले उठाएका छन् ।
सहकारीका सञ्चालक बोधबिक्रम थापाका अनुसार धनराज र ज्योति दुबै उपस्थित भएर सहकारीको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएपछि एक्कासी सम्बन्ध विच्छेद भयो भन्नु शंकास्पद छ ।
त्यसैले मितेरी सहकारीका सञ्चालकहरुको दाबी छ, धनराज र ज्योतिको सम्बन्धबिच्छेद कागजी मात्र हो ।
तर धनराजले भने ज्योतिसँग सम्बन्ध बिच्छेद हुँदा ऋण आफूले तिर्ने र ज्योतिले सम्पत्तिमा दाबी नगर्ने सहमति भएको दाबी गर्दै आएका छन् ।
त्यसअनुसार सहकारीको रकम अपचलनको विषय बाहिर आएपछि उनले ऋण पनि तिरेको देखिन्छ ।
तर सम्बन्ध विच्छेद गरेकै भरमा धनराजमाथि छानबिन र मुद्दा नलैजानुले प्रश्न उठेको छ । सत्ताको आडमा उन्मुक्ति दिएको आरोप लागेको छ ।
धनराज दोषी हो वा होइन कसैले ठोकुवा गर्ने विषय होइन, तर मुुद्दा लगेको भए दोषी हुन् कि होइनन् भन्ने अदालतले छिनोफानो गर्ने थियो ।
भ्रष्टाचार विरोधी, सुशासनको वकालत गर्ने धनराजका लागि समेत यही बाटो उपयुक्त हुने थियो । तर सत्ताको आडमा उनीविरुद्ध मुद्दा नै लगिएन ।
यसले धनराजलाई आजीवन यो विषयमा जवाफ दिइरहनुपर्नेछ भने कांग्रेस–एमालेले सत्ताको आडमा आफ्ना नेता कार्यकर्ता जोगाएको अपजस खेपिरहनुपर्ने छ ।

नरसंहारको जिम्मा लेऊ, तत्काल राजीनामा देऊ

जेन–जीले फुकेको विद्रोहको बिगुल

दुई पटकसम्म साइन्सको पढाइ छाडे, कानुन पढेर इतिहास रचे

फेसबुक–युट्युब बन्द गर्नुको सरकारी स्वार्थ
