फेसबुक–युट्युब बन्दले इन्टरनेट सेवामै धक्का, बढ्न सक्छ मूल्य

सामाजिक सञ्जाल प्लाटफर्महरु बन्द भएपछि इन्टरनेट सेवा प्रभावित हुन थालेको छ । इन्टरनेट कम्पनीको लागत बढेको छ भने इन्टरनेटको गुणस्तर झन् खस्किएको छ । यसले इन्टरनेट सेवा नै महँगिने जोखिम बढेको छ ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालका अनुसार सामाजिक सञ्जाल बन्द भएपछि नेपालभित्र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र ओपन डीएनएसको प्रयोग ह्वात्तै बढेको छ ।
भीपीएनले गर्दा विदेशबाट इन्टरनेटको ट्राफिक उच्च दरमा बढ्दैछ । बढेको ट्राफिकअनुसार नेपालका इन्टरनेट सेवा प्रदायकले अन्तर्राष्ट्रिय ब्यान्डविथ किन्नु परिरहेको छ ।
तर, अन्तर्राष्ट्रिय ब्यान्डविथको खपत बढ्दा इन्टरनेट कम्पनीले त्यसलाई धान्न नसके इन्टरनेट ढिलो चल्छ । अहिले धेरै इन्टरनेट प्रयोगकर्ताले इन्टरनेट सुस्त चलेको गुनासो गरिरहेका छन् ।
वर्ल्डलिंकको तथ्यांकअनुसार सामाजिक सञ्जाल बन्द भएयता अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथको खपत २५ प्रतिशतले बढिसकेको छ । ‘यहाँ साइटहरु ब्लक भएपछि लोकल क्यास सर्भरबाट प्रभावित भयो, मान्छेहरुले ओपन डीएनएस र भीपीएनको प्रयोग गरिरहेका छन्’, सीईओ नेपालले भने, ‘लोकल्ली त हामी बन्द गर्यौं, भीपीएन कनेक्ट गरेपछि ट्राफिक बाहिर जान्छ ।’
अहिले नेपालमा फेसबुकको प्रयोगमा स्थानीय सर्भरबाट ब्यान्डविथ खपत ५४ प्रतिशतले घटिसकेको छ । यस्तै युट्युबमा हुने ब्यान्डविथको खपत २८ प्रतिशत घटेको छ । र, यो अझै घट्ने क्रममा छ । भीपीएन कनेक्ट गरेर युट्युब र फेसबुक चलाउँदा त्यसको लोकेसन नेपाल भन्दा बाहिर देखिन्छ । त्यसले गर्दा इन्टरनेट प्रयोग विदेशबाट गरेको देखिन्छ र लोकल सर्भर काम लाग्दैन ।
अहिले नेपालमा जति पनि डिभाइसमा फेसबुक र युट्युब चलिरहेका छन्, उनीहरु सबैले अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत गर्दैछन् । लागतका हिसाबले अन्तर्राष्ट्रिय ब्यान्डविथ महँगो हुन्छ ।
अहिले सबैजसो सोसल मिडियाले नेपालमा कन्टेन्ट डेलिभरी नेटवर्क राखेका छन् । यसले क्यास सर्भरका रुपमा काम गर्छ ।
तर, भीपीएनको प्रयोगले ती नेटवर्कमा अन्तर्राष्ट्रिय ब्यान्डविथको चाप बढेको बढ्यै छ । जसले गर्दा ब्यान्डविथ खपतसँगै इन्टरनेट कम्पनीको खर्च बढेको छ ।
कतिपय कम्पनीले मागअनुसार ब्यान्डविथ किन्न पनि सक्दैनन् । त्यसले गर्दा उनीहरुले प्राविधिक रुपमा इन्टरनेटको स्पिड घट्न पुग्छ र सेवा गुणस्तर झन् खस्किन्छ ।
‘२५ प्रतिशतले अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत बढ्दा पनि हामीले थेगिरहेका छौं, विदेशमा नै पनि सबैले यो लेभलको क्षमता राख्दैनन्’, वर्ल्डलिंकका सीईओ केशव नेपाल भन्छन्, ‘विस्तारै प्रेसर बढ्दैछ, यसले एकातिर कस्ट बढ्छ, लेटेन्सी बढ्छ अनि इन्टरनेट क्वालिटी घट्छ ।’
युट्युब र फेसबुकमै प्रतिबन्ध लागेपछि इन्टरनेट सेवाको नवीकरण गर्नेहरु पनि घट्न थालिसकेका छन् । किनकी नेपालमा इन्टरनेट सेवा लिने धेरै ग्राहकले सामाजिक सञ्जाल नै चलाउँछन् । फेसबुक र युबट्युब नै नचल्ने भएपछि इन्टरनेट कम्पनीलाई पैसा तिरेर सेवा नवीकरण गर्नेहरु पनि निरुत्साहित छन् ।
सेवा बन्द भएपछि वर्ल्डलिंकको कस्टमर केयर सेन्टरमा फोन गरेर जानकारी माग्नेहरु ७५ प्रतिशतले बढेका छन् । ग्राहकले सामाजिक सञ्जाल नचलेको र इन्टरनेट ढिलो चलेको गुनासो इन्टरनेट सेवा प्रदायकमाथि पोखिरहेका छन् ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्नुअघि नै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको लागत पाँच गुणासम्म महँगिन सक्ने चेतावनी दिएका थिए ।
यसअघि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएका बेलामा पनि अहिलेको जस्तै अवस्था आएको थियो । यसबाट इन्टरनेट कम्पनीले ठूलो घाटा ब्यहोर्नुपरेको थियो ।
सामाजिक सञ्जालमाथि प्रतिबन्धपछि टेलिकम कम्पनीको डेटा प्रयोगकर्ता पनि घट्न थालिसकेका छन् । टेलिकम र एनसेलले सामाजिक सञ्जाल लक्षित गरेर ल्याएका प्याकहरु बेकाम बनेका छन् ।
टेलिकम कम्पनीको डेटाको प्रयोग ४० प्रतिशत सामाजिक सञ्जाल चलाउन नै हुन्छ त्यही नै नचल्ने भएपछि डाटाको खपतमा ठूलो असर पर्ने अवस्था छ । यसले टेलिकम कम्पनीको बिजनेसमै ठूलो धक्का दिनेछ ।
यसरी भीपीएनको प्रयोग अझै बढे इन्टरनेट कम्पनीले खर्च धान्न मूल्य बढाउनुपर्ने चेतावनी इन्टरनेट कम्पनीहरुले दिइरहेका छन् ।
नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले सार्वजनिक रुपमै इन्टरनेटको खर्च बढ्यो भने त्यो खर्च उपभोक्ता मूल्यमै थपिने बताइसकेको छ ।

साउदीको विश्वकपले नेपाललाई खोलेको बन्द ढोका

काठमाडौंमा फास्टोले साँच्चै १० मिनेटमा अनलाइन अर्डर डेलिभरी गर्छ ?

रक्सौल–काठमाडौं रेलमार्ग किन मोडियो युरेनियम खानीतिर ?

जग्गा कारोबारमा कडा नियम, अनुमति नलिए २५ लाख जरिवाना र ६ महिना जेल
