जेन–जीले फुकेको विद्रोहको बिगुल
भदौ २३ अर्थात् सेप्टेम्बर ८, यो दिन काठमाडौंसहित देशभरमा नयाँ पुस्ता आन्दोलनकारी भएर सडकमा उभिंदैछ । त्यो पनि भ्रष्ट प्रणाली र बेथितिका विरुद्ध, सरकारको मनोमानी विरुद्ध ।
यसलाई जेन–जीको आन्दोलन भनिएको छ । जेनजी–त्यही पुस्ता हो, जो अहिले २८ वर्षसम्मको छ ।
यो अहिले नेपालमा सबैभन्दा बढी हण्डर र ठक्कर खाइरहेको पुस्ता हो । देशभित्र अवसर सीमित छ । क्षमताको कदर छैन । पहुँचवालाको रजगज छ ।
सरकार फेरिरहन्छ, जनताको अवस्था फेरिँदैन, युवाको प्रतिभा र क्षमताले कुनै अर्थ राख्दैन ।
यो पुस्ता कन्फ्युजमा छ, देशमा बस्ने कि विदेश जाने ?
विदेश जाँदा पनि कहाँ जाने ? देशमा बसे के गर्ने ? देश कहिले बन्छ ?
अरु देशहरुले के गरेर जनताको जीवन बदले भन्ने जेनजीहरुलाई थाहा छ । हामी कहाँ जनताको करमाथि सत्ताधारीले गरेको रजाइँ देखिरहेकै छ ।
उनीहरुको रवाफ र शक्तिले दुःखी गरिबहरु पिल्सिएको पनि हेरिरहेको छ । समाजमा नेता र जनताबीचको असमानताको बढ्दो खाडल महसुस गरिरहेको नै छ ।
सीधा भन्दा सामाजिक सञ्जालमा सर्वहाराको कुरा गर्ने नेताका छोराछोरीको विलासी जीवन हेरिरहेको छ, आफ्नो कष्टलाई तुलना गर्दैछ ।
यो पुस्ताले सामाजिक सञ्जालबाट यस्ता पात्र, प्रवृत्ति, हर्कत र अर्कमण्यताविरुद्ध नबोलेको हैन । अहिले नै पनि नेताका छोराछोरीको बिलासी जीवनलाई जनताको दुःखसँग दाँजेर पोस्ट गर्ने ट्रेन्ड चलिरहेको थियो ।
फिलिपिन्सबाट सुरु भएको यो ट्रेन्डले नेपालको सामाजिक सञ्जालसमेत तात्दै थियो । त्यही बेलामा सरकारले दर्ता नभएका सोसल मिडियामाथि प्रतिबन्ध लगाइदियो । यसले बलिरहेको आयोगमा मट्टितेल थप्यो ।
त्यसपछि बोल्न समेत नदिने सरकारको नियत एक्सपोज गर्नुपर्ने आवाज उठयो । सडक आन्दोलन आह्वान भयो । सामाजिक सञ्जालमा झिल्को कसैले खसालेको हो, त्यो आह्वान अहिले फैलिरहेको छ ।
जसरी कोभिड महामारीमा सरकारको गैरजिम्मेवार हर्कतविरुद्ध मान्छेहरु सडकमा ‘इनफ इज इनफ’ भन्दै पुगेका थिए, ठ्याक्कै त्यस्तै ।
यो आन्दोलनका केही कारणले विशेष पनि हुनसक्छ । किनकी यो आन्दोलन विशुद्ध युवा पुस्ताको मात्रै हुनेछ । यो सामाजिक सञ्जालमा बोलेको नसुनिएपछि सडकमा आउने युवा उद्घोष हो ।
अब प्रश्न उठ्न सक्छ, को हो त यसको आयोजक ? अहिलेसम्म यसको संस्थागत आयोजक छैन । नेतृत्व कसले गर्छ त ? त्यो पनि तय छैन । कहाँ हुन्छ त ? त्यो पनि निश्चित ठाउँ छैन ।
तर जेन–जीहरुलाई यति थाहा छ, भोलि सडकमा जाने हो, भ्रष्ट नेता, सरकार र प्रणालीविरुद्ध बोल्ने हो ।
कसैले यो आन्दोलनका लागि संसद भवनको अघि उपस्थित हुन आह्वान गरेका छन् त कसैले नयाँ बानेश्वरमा । अनि कसैले माइतीघर मण्डलमा ।
सम्भवतः बानेश्वर निषेधित क्षेत्र भएकाले माइतीघर मण्डलमा युवाहरु भेला हुनसक्छन् । किनकी प्रशासनले पनि माइतीघरमै आन्दोलन गर्न अनुमति दिएको छ ।
अनि काठमाडौं आउन नसक्नेहरु आफ्नो गाउँ, शहर र टोल सबैतिर जेन–जीहरु भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने छन् । यसलाई सामाजिक सञ्जालमा नाम दिइएको छ, ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप ।’
यो आन्दोलनको आह्वानमा अहिले सयौंले टिकटक पोस्टहरु गर्दैछन् । प्रतिबन्ध लागेका फेसबुक र रेडइटमा पनि यसको व्यापक प्रचार भएको छ ।
जेनजीहरुको प्रमुख माग भ्रष्टाचार र बेथितिको अन्त्य हो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने पनि उनीहरुको अर्को माग छ । अभिव्यक्ति स्वतन्त्रतासँग पनि यसलाई जोडिएको छ ।
यसलाई सरकारले कसरी रियाक्ट गर्छ र यसको खास प्रभाव के हुन्छ भन्ने पनि भन्न गाह्रो छ ।
तर धेरैतर्फबाट समर्थन प्राप्त छ ।
काठमाडौंका मेयर बालेन शाहले त खुलेरै अन्दोलनलाई समर्थन गरेका छन् । उनले विशुद्ध जेनी–जीको आन्दोन भएकाले आफू त्यसमा सहभागी नहुने तर यसमा आफ्नो समर्थन रहने बताएका छन् ।
आन्दोलनलाई समर्थन गर्नेहरुको एउटै कुरा छ, यो आन्दोलनले जेनजीको राजनीतिक चेतना र जागरुक छविलाई उजागर गर्नुपर्छ । सबैले यो आन्दोलनाई शान्तिपूर्ण बनाउनुपर्ने भनेका छन् ।
कुनै दलका नेता कार्यकर्तालाई आन्दोलनमा आएर राजनीतिको रोटी नसेक्न भनिरहेका छन् । राजावादी नेता दुर्गा प्रसाइँले नै यो आन्दोलजमा आउँछु भन्ने आशय जनाएपछि अहिले जेनजीहरुले नै त्यसको विरोध गरिरहेका छन् । उनीहरुले जेनजीको आन्दोलनलाई राजनीतिक नगर्न भनिरहेका छन् ।
गोदावरीमा चलिरहेको पार्टीको विधान महाधिवेशनबाटै प्रधानमन्त्रीले जेनजीले कानुनको परिपालना गर्ने विश्वास व्यक्त गरेका छन् । घुमाउरो अर्थमा उनले आन्दोलनलाई शान्तिपूर्ण बनाउन भनेका छन् ।
जे होस्, जेनजी पुस्ताले एउटा शान्तिपूर्ण विद्रोहको बिगुल फुकिसकेको छ । यो आन्दोलन कस्तो हुन्छ, कति ठूलो हुन्छ, कसरी अघि बढ्छ र के नतिजा दिन्छ, त्यो आज अनुमान लगाउन गाह्रो छ ।
पत्रकार सुधीर शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही दिनयता नेपो बेबिजका नाममा राजनीतिक भ्रष्टाचारविरुद्ध देश विदेशबाट उर्लिरहेको आवाजको आयतनलाई सत्तासीन वर्गले सायद ठम्याउन सकिरहेको छैन । त्यसले ल्याउने बाढीले २०८४ सम्ममा र सायद अहिले नै पनि धेरैलाई बगाउन सक्छ ।’
                                                    बालेनको अशिष्ट स्टाटसभित्रको विशिष्ट राजनीतिक अर्थ
                                                    ओली सरकार छउन्जेल उन्मुक्ति पाए, बल्ल छानबिनमा तानिए
                                                    परिवारले तिरस्कार गर्दा राजेश हमाललाई साथ दिने अष्ट्रेलियन गर्लफ्रेन्ड
                                                    कता अड्कियो चीनको रेल ?
                                                    एकता गर्न हतारिएका प्रचण्ड–माधवलाई घनश्यामको शर्त
                                                    
                    


-1762094516.jpg)


