लाइसेन्स छाप्ने मेसिन नै जल्यो, इम्बोस्ड नम्बर पनि खरानी
भदौ २४ गतेको आन्दोलनमा जलेर नष्ट भएको एउटा कार्यालय हो, यातायात व्यवस्था विभाग । काठमाडौं नयाँ बानेश्वरमा संघीय संसद भवन नजिकै रहेको यो कार्यालयमा अहिले सग्लो केही पनि छैन ।
यो कार्यालयको काम भनेको देशभरिका सवारी साधनको रेकर्ड राख्ने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को रेकर्ड राख्ने र वितरण गर्ने अनि इम्बोस्ड नम्बर प्लेट वितरण गर्ने हो ।
अहिले यहाँ प्रिन्ट भएर आएका हजारौं लाइसेन्स नष्ट भएका छन् । यातायात व्यवस्थ विभागले समयमा लाइसेन्स प्रिन्ट गरेर दिन सकेको थिएन । उसले विदेश जानेहरुका लागि भने लाइसेन्स प्रिन्ट गरेर दिने गरेको थियो ।
विदेश जाने दिन आइसकेका कतिपय सर्वसाधारण आफ्नो लाइसेन्सको हाल बुझ्न शुक्रबार विभाग पुगेका छन् । तर सबै जलेको देखेपछि उनीहरु अब के गर्ने भन्ने अन्योलमा छन् । कर्मचारीहरु पनि शुक्रबारदेखि कार्यालय आएका छन् ।
विभागले समयमा लाइसेन्स छापेर दिन नसक्दा र हालै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेका कारण नागरिकमा चर्को असन्तुष्टि थियो । तर यत्ति कारणले मात्र यो भवन सबै जल्यो भन्न सकिने अवस्था छैन ।
एक त यो संसद भवनको नजिक थियो र यहाँ सशस्त्र प्रहरीको गण पनि थियो । त्यसैले संसद जलाउन आएको समूहले यातायात कार्यालयलाई पनि बाँकी राखेन । भवनको कुनै भाग काम लाग्ने छैन, सबै कोठा जलेका छन्, झ्याल ढोका कुनै सद्दे छैन ।
यातायात व्यवस्था विभागको डेटा सर्भर भएको कोठा सबै जलेको छ । अब यातायातको प्रणालीमा भएका कागजातहरु पनि पाउन मुश्किल छ । पुराना कागजात राखिएको कक्ष पनि पुरै जलेको छ ।
थप विवरण भिडियोमा हेर्नुहोस् :

बालेन बन्लान् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ?

मीनबहादुर गुरुङलाई महंगो परेको एउटा दान

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए

आशा जगाउने मन्त्रीहरु

फेरि फर्किन सक्छ कागजकै लाइसेन्स
