भाटभटेनीका १६ वटा स्टोर शनिबारदेखि खुला
जेनजी आन्दोलनका क्रममा आगलागीबाट धेरै क्षति व्यहारेको भाटभटेनी सुपरमार्केटले आफ्ना १६ वटा स्टोर शनिबारदेखि खुला गरेको छ ।
भाटभटेनी सुपर मार्केटले शनिबार एक सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका ९ वटा र काठमाडौं उपत्यका बाहिरका ७ वटा गरी १६ वटा स्टोर खुला हुने जानकारी दिएको छ ।
उपत्यकामा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, वल्र्ड ट्रेड सेन्टर, पाटन, कलंकी, भक्तपुर र बालाजुको स्टोर खुला हुनेछ । उपत्यका बाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाको स्टोर खुला हुनेछन् । शनिबारदेखि यी स्टोर दिउँसो २ बजेदेखि राति साढे ८ बजेसम्म खुला हुनेछन् ।
भाटभटेनीको नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक विराटनगर र धरानका स्टोरहरु भने तत्काल खुल्न सक्ने अवस्थामा छैनन् । जेनली आन्दोलनका क्रममा भदौ २४ गते यी शाखामा लुटपाट र तोडफोडपछि आगजनी गरिएको थियो ।
देशभर भाटभटेनीका २८ वटा स्टोर छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भाटभटेनीका २१ वटा शाखामा चोरी, तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । सकुशल अवस्थामा भने जम्मा ७ वटा स्टोर मात्र थिए ।
फेसबुकमा एक सूचना राख्दै भाटभटेनी सुपरमार्केटले भनेको छ, ‘हामी तपाईंले विश्वास गर्नुभएको उही हेरचाह र प्रतिवद्धताका साथ तपाईंको सेवामा फर्केका छौं ।’
काठमाडौं नजिकै एड्भेन्चर पार्क, विश्वकै अग्लो बन्जीसहित डाउनहिल कार्टिङ
नेपालमा कस्ता छन् हाउजिङ र अपार्टमेन्ट, कति छ मूल्य ?
भुंग्रोबाट एक वर्षमै कसरी उठ्यो भाटभटेनी ?
नेपाली स्कुटर यात्री पी २ महँगो कि सस्तो ?
बाढी पीडितलाई दिने भनिएको 'क्याप्सुल घर' कस्तो हुन्छ ?





